मुक काजी (काजी) गुरुङ, हङकङ

सुदूर पूर्वी प्रवासी नेपाली संघ हङकङ (फियोना)को आयोजनामा गत २०१२ सालदेखि शुरुवात गरिएको “फियोना रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता”लाई पहिलो र दोस्रो बर्ष (२०१२ र २०१३) मा लगातार आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जाले आफ्नो पोल्टामा पार्दै यस बर्षको फियोना रनिङ्ग शिल्ड प्रतियोगिताप्रति धेरैको चासोको बिषय बनेको थियो । यस बर्ष फियोना हङकङले अफिसियल रेफ्रीको लागि पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री टहलसिंह थापामगरलाई नेपालबाट आमन्त्रण गरिएको थियो भने उक्त प्रतियोगितालाई अझ सुनमा सुगन्ध थप्नको लागि आंधीखोला स्पोर्ट्स क्लब र घान्द्रुक समाज हङकङले नेपालबाट अन्तर्राष्ट्रिय भलिबल खेलाडी क्रमश: चन्द्र कुंवर र सुनिल श्रेष्ठलाई ल्याएका थिए भने पुन क्लबका सबैभन्दा उत्कृष्ट खेलाडी सुजन पुनलाई घान्द्रुक समाजले आफ्नो टिमबाट खेलाएका थिए ।
प्रतियोगितामा आँधीखोला स्पोर्ट्स क्लब स्याङ्जा ए, आँधीखोला स्पोर्ट्स क्लब स्याङ्जा बी, संखुवासभा, पर्वत, बाग्लुङ, मर्दीखोला, पुन क्लब, माछापुछ्रे र घान्द्रुक गरी जम्मा ९ टिमको सहभागिता रहेको थियो। खेलको पहिलो चरण अन्तर्गत संखुवासभा बिरुद्ध स्याङ्जा ए ले प्रतिस्पर्धा गरेका थिए भने माछापुछ्रे बिरुद्ध घान्द्रुक हुंदै बाग्लुङ बिरुद्ध मर्दीखोला र पुन क्लब बिरुद्ध पर्वत बिच रहेको थियो। यसै गरि पहिलो चरणको अन्तमा घान्द्रुक समाज बिरुद्ध स्याङ्जा बी बिच रहेको थियो ।
दोस्रो चरण सेमिफाईनल अन्तर्गत पोल ए बाट स्याङ्जा ए बिरुद्ध बाग्लुङ बिच भएको खेलमा स्याङ्जा ए ले बाग्लुङ माथि २-० को स्कोर बनाउंदै फाइनलमा आफ्नो स्थान सुनिश्चित गरे भने पोल बी बाट पर्वत बिरुद्ध घान्द्रुक बिच भएको खेलमा घान्द्रुकले पर्वत माथि पनि २-० को स्कोर बनाउंदै फाइनलमा प्रवेश गरेका थिए । उक्त सेमिफाइनल खेलबाट आंधीखोला स्याङ्जाका नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय खेलाडी चन्द्र कुंवर र घान्द्रुक समाजका नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय खेलाडी सुनिल श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका थिए ।
वेष्ट अफ फाईवको आधारमा फाइनल खेल आंधीखोला स्पोर्ट्स क्लब ए बिरुद्ध घान्द्रुक बिच रहेको थियो भने खेल निकै नै प्रतिस्पर्धात्मक, रोमाञ्चक तथा विवादरहित ढंगले चौथो सेटमा नै आंधीखोला स्याङ्जाले घान्द्रुक माथि ३-१ को स्कोर बनाउंदै बिगत २ बर्ष देखिको कडा मेहनत र उत्सुकतालाई सफलताको शिखरमा बिसाई दिएको छ र फियोना हङकङले आयोजना गरेको प्रथम रनिङ्ग शिल्ड भलिबल प्रतियोगितालाई आंधीखोला स्पोर्ट्स क्लबले लगातार ३ बर्ष विजयी कायम राख्दै “फियोना रनिङ्ग शिल्ड” आफ्नो कब्जामा पार्न सफल भएको छ ।
विजयी टिम तथा खेलाडीहरूलाई फियोना हङकङका अध्यक्ष गणेश गुरुङ लगायत फियोना हङकङका पदाधिकारीहरुले पुरुस्कार वितरण गरेका थिए भने जितसंगै आंधीखोला स्याङ्जाले ए ले फियोना रनिङ्ग शिल्ड, नगद हङकङ डलर २०,००० (बीस हजार ) सहित प्रथम पुरुस्कार स्वरुप नगद हङकङ डलर ८,१००(आठ हजार एकसय),ट्रफी,मेडल र प्रमाण पत्र हात पारे भने उपविजेता घान्द्रुकले पनि नगद हङकङ डलर ६,१००(छ हजार एकसय), ट्रफी, मेडल र प्रमाण पत्र हात पारेका छन। प्रतियोगितामा आंधीखोला स्याङ्जा ए का नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय भलिबल खेलाडी चन्द्र कुंवर उत्कृष्ट खेलाडी घोषित भए भने घोषितसंगै उत्कृष्ट ट्रफी र नगद हात पारे । नगद पुरुस्कार आंधीखोला स्पोर्ट्स क्लबका अध्यक्ष ईश्वर गुरुङले प्रायोजन गरेका थिए। यसैगरि फाइनल खेल सौहार्दपूर्ण वातावरणमा खेलाउंन सफल भएको भन्दै दुबै टिम आंधीखोला स्याङ्जा ए र घान्द्रुक समाजका प्रबन्धकद्वय रबिन्द्र थापा र धन बहादुर गुरुङलाई फियोना हङकङले ट्रफी प्रदान गरे । यसैगरि संखुवासभालाई अनुशासित टिम घोषित गर्दै हङकङ डलर १,००० (एक हजार) प्रदान गरेका छन ।
कार्यक्रममा फियोना रनिङ्ग शिल्ड भलिबल प्रतियोगिता २०१४ लाई अफिसियल रेफ्रीको भूमिका निभाउंन नेपालबाट आमन्त्रित अन्तर्राष्ट्रिय पूर्व भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री टहलसिंह थापामगर र नेपाल महिला भलिबल टिमका टिम सह कप्तान मञ्जु गुरुङलाई फियोना हङकङले खादा लगाई सम्मान गरे भने टहलसिंह थापामगरलाई मायाको चिनो स्वरुप टोकन अफ लव प्रदान गरे। सह-कप्तान मञ्जु गुरुङ आफ्नो निजी भ्रमणमा हङकङ आएकी हुन ।
यसैगरि प्रतियोगितालाई निकै नै सौहार्दपूर्ण वातवरणमा रेफ्रीहरू पूर्व अन्तर्राष्ट्रिय भलिबल खेलाडी तथा राष्ट्रिय रेफ्री टहलसिंह थापामगर, याम गुरुङ, मन बहादुर् गुरुङ्, बिकास गुरुङ र राजकुमार गुरुङ्ले सञ्चालन गरेका थिए ।
यसरी आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जालाई फियोना हङकङद्वारा आयोजित फियोना रनिङ्ग शिल्डबाट पराजित गराउंन प्रत्यक्ष अप्रत्यक्ष रुपमा केहि कसरतहरु देखिए पनि आखिर आंधीखोलाको भेल उर्लेरै आयो । आंधीखोलाको भेललाई बिशाल बांधले पनि छेक्न सकेनन । फलस्वरुप आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जालाई हङकङको भलिबल खेल जगतमा एक पछि अर्को गर्दै सफलता मिलिरहेको कुरामा जो कोहिलाई अवगत भएकै कुरा हो। भनिन्छ सत्यको सधैं जित हुन्छ ।