त्रिलोक सिंह थापा मगर
(लेखक)

मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्षसमेत रहनु भएका डा. हर्ष बहादुर बुडा मगरको जन्म वि.सं. १९८४ कात्र्तिक ३ गते बाग्लुङ जिल्ला, गलकोट कौलेनीमा भएको थियो । बहुप्रतिभाको धनी डा. हर्ष बहादुर बुडा मगर एक चर्चित राष्ट्रिय व्यत्तित्व हुनुहुन्थ्यो । उहाँको बहुआयामिक प्रतिभालाई संक्षिप्त रुपमा यहाँ चर्चा गर्ने कोसिस गरिएको छ ।
सैन्य सेवा:
उहाँको जीवनको सुरुवात साधारण सैनिक जीवनबाट शुरु भएको थियो । वि.सं. १९९९ मा तेस्रो गोर्खा राईफल पल्टनको सिपाही पदमा भर्ना भई वि.सं.२००१ सालमा हवल्दार पदमा बढुवा भई २००९ सालमा स्पेशल पेन्सनमा अवकास प्राप्त गर्नुभयो । पुनः वि.सं. २०१२ सालमा व्रिटिस सरकारको Queen’s Gorkha Engineers रेजिमेन्ट कल्रकमा भरना र तालिम गर्नु भै २०१३ सालमा मलायबाट फर्कनुभयो । मास्टर मित्रसेन थापा मगर प्रथम विश्व युद्धका योद्धा थिए । त्यस्तै डा. हर्षबहादुर बुडामगर पनि द्वित्तीय विश्व युद्धका योद्धा हुनुहुन्थ्यो । इं.सं. १९३९–४५ मा वर्मा स्टार, र जनरल सर्विस मेडल (साउथ इष्ट एशिया) १९४५–४६ मा इन्डिया इन्डेपेन्डेन्स मेडल, सैन्य सेवा मेडल (जम्मु–काश्मीर) जस्ता सैनिक मेडलहरुबाट विभुषित हुनुभयो ।
डा. हर्ष बहादुर बुढा मगर सैनिक जीवनबाट सेवा निवृत्त भएपछि शिक्षा, राजनीति, साहित्य, अध्ययन, अनुसन्धान, लेखन, समाज सेवा, समाज सुधार आदि क्षेत्रमा जीवनको अन्तिम क्षणसम्म समर्पित हुनुभयो । लामो संघर्षमय जीवनमा उकाली–ओराली पार गरी विश्रान्तिका क्षण गुजार्ने बेलामा पनि कठिन परिश्रम, लगनशीलता र निरन्तर साधनामा लागि राख्ने डा. हर्ष बहादुर बुडा मगर कहिल्यै पनि थाकेको देखिनु भएन । सधै रचनात्मक कार्यमा सक्रिय रहनु हुन्थ्यो । उहाँ नेपालका प्रसिद्ध साहित्यकार, प्राज्ञिक, लेखक, कुशल प्रशासक, राजनीतिज्ञ, समाजसेवी, विभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय रहनु भएको थियो ।
शिक्षाविद् :
वेलायती सेना (वि.सं. २०१३) बाट अवकाश लिनुभएपछि डा. हर्ष बहादुर बुडामगरले इन्डियन आर्मी स्कुलबाट आर्मि स्पेशल सर्टिफिकेट अफ एजुकेशनको परीक्षा वि.सं. २००९ सालमा, प्रमाणपत्र तह इलाहबादबाट २०१६ सालमा तथा स्नातक तह आगरा विश्वविद्यालय भारतबाट २०१९ सालमा उत्तीर्ण गर्नुभएको थियो । त्यसैगरी २०२३ सालमा राजनीति शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको हर्ष बहादुर बुडा मगरले ६५ वर्षको उमेरमा वि.सं. २०४७ मा भारतको पटना विश्वविद्यालयबाट राजनीतिक शास्त्रमै विद्यावारिधी (पी.एच.डी) गर्नुभएको थियो । मगर समाजमा विद्यावारिधी गर्ने वहाँ दोस्रो व्यक्ति हुनुहुन्थ्यो ।
शिक्षासेवी डा. हर्ष बहादुर बुडा मगर पक्लिहवा मा.वि.मा सिद्धार्थनगरको विद्यालय संचालक समितिका संस्थापक अध्यक्ष तथा सो विद्यालयका भू.पू. विद्यार्थी समाजका सल्लाहकार भएर २१ वर्षसम्म विद्यालयको विकासमा शैक्षिक योगदान दिनुभयो । उहाँ बाग्लुङ जिल्लाको भरत चैतन्य मिडिल स्कुलको प्रधानाध्यापक हुनुहुन्थ्यो । यसका साथै सिद्धार्थ कलेज (वर्तमान भैरहवा क्याम्पस) को संस्थापक प्रिन्सिपल पदमा ५ वर्षसम्म रही सेवा गर्नु भएको डा. हर्ष बहादुर बुडामगर शिक्षासेवी तथा शिक्षाविद्को रुपमा चर्चित हुनुभयो ।
प्रशासनीक क्षेत्र : यसै क्रममा नेपाल स्काउटको राष्ट्रिय सचिव, नेपाल बाल संगठनको केन्द्रीय सदस्य र अध्यक्ष पदमा नियुक्त हुनुभयो । वि.सं. २०२९ देखि २०३१ सालसम्म राजदरवारमा प्रमुख निजी सचिवालय अन्तर्गत जाँचबुझ केन्द्रको विशेष अधिकृत रही काम गर्नुभयोको थियो । वि.सं. २०३६ सालदेखि २०३८ सालसम्म तत्कालीन सरकारको बन बसोबास अधिकार सम्पन्न आयोगको अध्यक्ष भई काम गर्नुभयो ।
राजनीति क्षेत्र डा. हर्ष बहादुर बुडामगरले राजनीति शास्त्रमा पि.एच.डि गरेर राजनीतिको सैद्धान्तिक ज्ञान तथा राजनीतिक दर्शनलाई व्यवहारमा उतार्न राजनीतिमै लाग्नुभयो । सोही क्रममा राष्ट्रियता जनता दल (एच) को अध्यक्ष हुनुभयो । डा. के.आई.सिंहले खोल्नु भएको संयुक्त प्रजातन्त्र पार्टीको सक्रिय सदस्य थिए । राजनीतिकै कारणले २०१४ सालमा नेपाल भूतपूर्व सैनिक संगठनबाट र २०४३ सालमा नवलपरासी जिल्लाबाट विघटित राष्ट्रिय पञ्चायत सदस्य पदमा साथै २०४८ सालमा राष्ट्रिय जनता दल एच को तर्फबाट नवलपरासी क्षेत्र नं. ४ मा सदस्यको पदको उम्मेदवारी दिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नुभयो ।
समाज सेवी :
डा. हर्ष बहादुर बुडामगर इमान्दार समाजसेवीको रुपमा चर्चित हुनुहुन्थ्यो । विभिन्न सामाजिक संघ संस्थाहरु खडा गर्नुका साथै कतिपय सामाजिक संघ संस्थाका संस्थापक अध्यक्ष र सल्लाहकार समेत रहनुभएको थियो । २०२८ साल पछि विभिन्न जिल्लाहरुका मगर समुदाय सामाजिक चेतना जगाउन एवं विकास गर्न सक्रिय हुनथाले । सो संस्थाहरुको सम्पर्क र समन्वय गरी एउटै सूत्रमा आवद्ध गर्न गराउन २०३६ सालमा, ‘लाङघाली संघ परिवार’केन्द्रिय तदर्थ समिति डा. हर्ष बहादुर बुडामगर को अध्यक्षतामा गठन भएको थियो । २०३८ सालसम्म यो समितिको नेतृत्व उहाँले गर्नुभएको थियो । वर्तमान नेपाल मगर संघको प्रारम्भ नै लाङघाली परिवार संघ हो । २०४७ सालमा स्थापना भएको ‘मगर समाज केन्द्र’ ललितपुरको सल्लाहकार तथा २०५२ मा गठन भएको सो केन्द्रको विधान मस्यौदा समितिका सदस्य समेत रहनुभयो । डा. के.आ.ई. स्मृति प्रतिष्ठान काठमाडौं (२०६६), को संस्थापक अध्यक्ष रहेर राष्टिूयता र प्रजातन्त्रका सेनानी सिंहको व्यक्तित्व एवं योगदानबारे स्मारिका एवं पुस्तक समेत प्रकाशन गर्नुभयो ।
२०५३ सालमा आफ्नै अध्यक्षतामा मास्टर मित्रसेन स्मृति प्रतिष्ठान स्थापना गरी मित्रसेनको योगदानबारे देश विदेशमा प्रचार(प्रसारसमेत गर्नुभयो । मास्टर मित्रसेनको जीवनी उहाँले नै २०५५ मा प्रकाशित गर्नुभयो ।
इतिहासकार :
“किरात वंश र मगरहरु एक ऐतिहासिक सर्बेक्षण” पुस्तक (२०४९) लेखेर डा. हर्ष बहादुर बुढा मगरले आफूलाई एउटा इतिहासकारको रुपमा प्रस्तुत गर्नु भयो । मगरजातिको उद्गम तथा उत्पत्ति बारे ऐतिहासिक तथ्यहरुको विश्लेषण एवम् विवेचना सो पुस्तकमा गर्नुभएको छ । आदिवासी जनजाती तथा उत्पिडित जातीका हक अधिकारमा मुद्दाहरु यसै पुस्तकमा उठाउनु भएको छ । प्रजातान्त्रिक विकेन्द्रित शासन प्रणालीको माग पनि अघि सार्नु भएको थियो ।
“मगर र मग्यार पुख्र्यौलीको खोजीमा :
(पुस्तक २०५३) ले उहाँको अनुसन्धान कार्यमा एउटा नयाँ आयाम थपेको पाइन्छ । यस पुस्तकमा नेपालको जनजाती र हङगेरीको मग्यार जातीको उद्गम स्थल एउटै हो भनेर सो जातीको उद्गम, विस्तार तथा वसाई सराई बारेमा गम्भीर विश्लेषण गरिएको छ । मगर जनजनतीको सामाजिक, साँस्कृतिक परिचय दिन मगर जाती र उनको सामाजिक संस्कार एउटा ऐतिहासिक सूचनापरक पुस्तकको रुपमा प्रस्तुत भएको छ ।
जीवनी साहित्य :
‘प्रथम शहिद लखन थापा’ प्रख्यात संगीतज्ञ ‘मास्टर मित्रसेन थापा’ तथा ‘अमर सेनानी डा.के.आई.सिंह’ को जीवनका तथ्यपूर्ण घटना क्रियाकलापका क्रमबद्ध सविस्तार विवरण उहाँको कलमको कौशलले प्रदर्शन गर्छ । ‘राष्ट्रको गौरब तथा नेपालको प्रथम शहिद लखन थापामगर द्वितीय’ पुस्तक ऐतिहासिक पृष्ठभूमिमा लेख्नुभएको छ । सो पुस्तकको प्रकाशन पछि लखन थापा द्वितियबारे एउटा सिंगो कृतिले जन्म लिएको छ । साथै मगरजातीको गौरव माथि बढेको पाइन्छ ।
साहित्यिक योगदान :
अतृप्त जिन्दगीको असिमित चाहना, मगर व्याकरण मगर भाषा साहित्यको वर्तमान स्थिति, मगर जातिको संस्कार, मगर नेपाली–लिम्बू शब्द संक्षिप्त शब्दकोष, आदि पनि उहाँको प्रकाशन हुन् । “मगर समाजको उत्थानमा, “मगर समाजको उत्थानमा मगर बुद्धिजीविहरुको दायित्व (लाफा २०५०)”, “गोर्खा जातिको संग्रह सैन्य इतिहास”
(कइरन २०५०), “जसका ठाडा जुँगा कहिल्यै झुक्न जान्दैन” रचना संग्रह (२०५१), राष्ट्रिय सेनाको ऐतिहासिक पृष्ठभूमी (कइरन २०५०) आदि लेखहरुबाट डा. हर्ष बहादुर बुडा मगरको सृजनात्मक क्षमताबारे केही जानकारी प्राप्त हुन्छ । दुई दर्जन भन्दा पनि बढी कृतिका लेख मृदुभाषी एवं सबै उमेरका समूहसँग मिलजुल गर्न सक्नु हुने डा. हर्षबहादुर बुडामगर नेपाली जनमानसमा सदैव अमर रहिरहनुहुनेछ ।
सम्मान र पुरस्कार :
तत्कालिन राजा वीरेन्द्र राज्यभिषेक पदक, मगर समाज केन्द्र, ललितपुरबाट सम्मान पदक, गोपाल पाण्डे असिम पुरस्कार, नेशनल गोल्डेन अवार्ड २०६६, भद्रकुमारी घले पुरस्कार २०६०, महेन्द्र विद्या भूषण, “क श्रेणी” मास्टर मित्रसेन स्मृति प्रज्ञा पुरस्कार (२०५४), कृष्ण सेवा पुरस्कार (२०५४), स्वर्ण पदक हिमाली क्लव(२०५४), ‘अठार मगरात पुरस्कार’ नेपाल मगर संघ जिल्ला समिति काठमाडौबाट पुरस्कार श्री ५ रजत महोत्सव पदक, प्रवल गोर्खा दक्षिण बाहु, वेस्ट स्काउट पदक आदि पदकहरुबाट विभूषित हुनुभएको थियो ।
बहुआयामिक व्यक्तित्व उहाँको बहुमुखी योगदानले गर्दा डा.हर्ष बहादुर बुडामगरलाई बहुआयामिक व्यक्तित्व मान्न सकिन्छ । उहाँ दोस्रो विश्वयुद्धको योद्धा, मगर जातिको दोस्रो पि.एच.डि गर्नुहुने व्यक्तित्व, सीपाहीदेखि कलेजका प्राचार्य, राष्ट्रिय र अन्तराष्ट्रिय पदक तथा सम्मान पाउनुहुने व्यक्तित्व, अनुसन्धनकर्ता, साहित्यकार, इतिहासकार, समाज सेवक, राजनीतिज्ञ, प्रशासक, लेखक, समाजसेवी र प्राज्ञिक हुनुहुन्थ्यो । यसअर्थमा डा. हर्ष बहादुर बुडामगर ले समाज परिवर्तनको क्षेत्रमा पुर्याउनुभएको योगदानलाई नेपाल र नेपालीले कहिल्यै बिर्सने छैन ।
अन्तमा,
डा. हर्ष बहादुर बुढामगरको ८३ वर्षको उमेरमा वि.सं. २०६७ माघ ११ गते निधन भएको थियो । वास्तवमा उनी मगर समुदायको लागि मात्रै नभई सवै जातिका लाहुरे थिए । लाहुरे भए पनि विद्वान लाहुरे बन्ने प्रेरणा दिइरहने आर्दश बहुयामीक व्यक्तित्व थिए । उनको विद्वत् मार्ग को अनुसरण गर्नेहरुको संख्या भविष्यमा क्रमस बढ्दै जानेछ ।
डा. हर्ष बहादुर मगरका प्रकाशित कृतिहरु :
१. किरात वंश र मगरहरु एक ऐतिहासिक सर्वेक्षण (२०४९)
२. बहुमुखी प्रतिभाको धनी मास्टर मित्रसेन थापामगर (२०५५)
३. जसका ठाडा जुँगा कहिल्यै झुक्न जान्दैनन् (रचना) काठमाडौं (२०५१)
४. मगर जाति र उनका सामाजिक संस्कार काठमाडौं (२०५३)
५. राष्ट्रका गौरब तथा नेपालमा प्रथम शहिद लखन थापामगर (द्वितीय) (२०५४)
६. मगर र भग्यार पुर्खौली खोजीमा (जाति भाषा र लिपीको सन्दर्भमा) (२०५३)
७. मगर जाती र उनका सामाजिक संस्कार (२०५३)
८. मगर भाषा र साहित्यको वर्तमान स्थिति (२०५५)
९. जननेता डा. के.आई.सिंहको संक्षिप्त जीवनी भारत (२०१४)
१०. मगर नेपाली लिम्बु अंग्रेजी संक्षिप्त शब्दकोष (२०५०)
११. अतृप्त जिन्दगीका असमित चाहना (उपन्यास) (२०५२)
१२. IS Gorkha land a reality or simply mirage ? (1994)
१३. मगर व्याकरणको प्रारुप (२०५०)
१४. श्री ५ ऐश्वर्य बहुमुखि व्यक्तिगत (२०५४)
१५. राष्ट्र निमार्णमा शाह वंशीय राज महिषीहरुको योगदान (२०५३)
१६. राजा आजको सन्दर्भमा (१४ षौष २०५३)
१७. जडाउरी (कविता संग्रह)
१८. संग्राम र शान्ति (आत्मपरक उपन्यास–२०५८)
१९. श्री ५ महेन्द्र : अन्तरङ्ग र बहिरङ्ग व्यक्तित्व (२०६१)
२०. The Prospective Constitution:Focus on Underprivalaged “Rising Nepal 16 July 1996
२१. The Gorkhas as a Political Group in the Norther Reagion of West Bengal (Thesis) 1990.
जि.पि.ओ. बक्स: ३३३५, काठमाडौं, नेपाल इमेलः triloksthapa@gmail.com
(लेखक मास्टर मित्रसेन स्मृति प्रतिष्ठानका अध्यक्ष हुन)
