किन लेखियो ‘भर्तीको फन्दा’

–मनोज घर्तीमगर  

   नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुन थालेको सन् २०१५ अप्रिल २४ मा दुई शताब्दी हुँदैछ । नेपाल र बेलायत (ब्रिटेन) बीच दौंत्य सम्बन्ध जोडिएको सन् २०१६ मार्च ४ मा दुई शताब्दी पूरा हुँदैछ । यहि अवसरमा नेपाल सरकार र बेलायत सरकारले विभिन्न कार्यक्रम गरि दुई सय वर्ष गाँठ मनाउँदैछन् । तर, यी दुवै सरकार गोर्खालीमाथी परेको अन्यायबारे चुसम्म बोल्न गाह्रो मान्छन् । नेपाल र ब्रिटेनको दौत्य सम्बन्धको कडी बनेका गोर्खा सैनिकलाई ब्रिटेनले किन यति धेरै भेदभाव गरेको होला ? नेपाली र ब्रिटिस शासकले केही निश्चित आदिवासी जनजाति (मगर, गुरुङ, लिम्बु, तामाङ, राई) लाई उर्दि लगाएरै किन भर्ती धपाएको होला ? अनि केही निश्चित जाति (बाहुन) लाई चाँहि नियमै बनाएर किन भर्ती नलिएको होला ?  यस्ता विषय कहिल्यै बाहिर आएनन् । यसबारे बहस पनि भएनन् ।

सार्वभौम राष्ट्रका आफ्नै नागरिकलाई भेडाबाख्रा सरह बेलायती साहुलाई नै किने बेचे नेपाली शासकले ? पहिलो र दोस्रो विश्वयुद्धमा झण्डै ४ लाख ५० हजार नेपाली ब्रिटेनका तर्फबाट लडे । मर्ने मरे, अंगभंग भई फर्किएकाहरुको के हविगत भयो ? कयौं विधवा, टुहुरा बालबालिकाको क्रन्दन कति भयाभह थियो होला ? यसबारे राणा, शाह, प्रजातान्त्रिक र गणतान्त्रिक सबै सरकारले किन वेवास्ता गरे ? अझै पनि बेवास्ता गरिँदैछ । यो वेवास्ता कहिलेसम्म रहन्छ भन्न सकिन्न ।

सुनेको थिएँ, ‘जीवन–अध्ययन नै सबैभन्दा सार्थक पाठ हो जसबाट अथाह ज्ञान प्राप्त हुन्छ’ परम सत्य रहेछ । जब म नेपाली विश्वयोद्धाका जीवन पढ्न तिनका घरआँगन, पिँढी–मटान भौँतारिएँ, वीर गोर्खालीका कैयन् अलिखित इतिहास त्यहाँ असरल्ल रहेछन् । वीर योद्धाका मस्तिष्कमा तिनीहरूबारे पढाइएका झुटका पाठ छरपष्ट रहेछन्, अनि गोरो, चिल्लो आवरणमा छिपेको बेलायती कपटी अनुहार नेपालीमाथि गोर्खा भर्तीका नाममा अझै छलछाम गर्दै रहेछ । देश, परिवार, सन्तति, साथीसङ्गाती र जवानी चटक्क भुलेर बाध्यताले गोर्खा भर्तीमा लागेका,  अनेक युद्ध भोगेका र कालको मुखबाट बाँचेर फर्किएका इतिहास–निर्माताका जीवन स्वादैले पढेँ– सात वर्ष निरन्तर । गोर्खा भर्तीबारे अनेक रहस्य खोतल्न मन लाग्यो । अनि तिनका मस्तिष्कमा छिपेर रहेको बेलायती तस्बिर आम पाठकमाझ सार्वजनिक गर्ने आकाङ्क्षा जाग्यो र विभिन्न सहयोगी हातसमेत जोडिएर यो ‘भूपू गोर्खा–पीडा’ सशरीर उभिएको हो, ‘‘भर्तीको फन्दा’’ किताबको रुपमा ।

 … … … 

सुन्दर नगर पोखरा बस्ने सपना विसं २०५८ मै देखेको थिएँ । सार्थक बनाइदिनुभयो, पत्रकार दाजु केशवशरण लामिछानेले । उहाँकै सुझावमा २०६४ साउन १२ गते म नेपालगंजबाट पोखरा आएँ र अन्नपूर्ण एफएमसँग जोडिएर पत्रकारिता थालेँ । लाहुरेको सन्तति भएर होला, जनजाति र लाहुरे जीवनप्रति अलि बढी नै रुचि थियो । हिमचिम पनि लाहुरे र तिनकै परिवारसँग झ्याङ्गियो पोखरामा । पत्रकारितामा भविष्य खोज्दै गर्दा लाहुरेसँग सम्बन्धित थुप्रै समाचार लेखेँ, बजाएँ । समाचार लेख्दा जातीय रुपमा शुरु गरिएको यो गोर्खा भर्ती ”प्रथा” लाई त्यहि चश्माबाट हेर्ने कोशिस गर्थे । त्यस्तै किताब खोज्थे । जातिय रुपमा सुरु भएको गोर्खा भर्तीलाई जातीय आँखाबाटै लेखिएका किताब धुइँधुइँती खोज्थेँ, लेखिएका भए पो भेटिनू ! छिटपुट भेटिए पनि त्यही गोर्खाली बहादुरिता बखान बाहेक अरु भेटिएनन् । मैले खोजेको उत्तर कहिल्यै पाइन ।

 … … … 

नेपाल–बेलायत सम्बन्धको कडी गोर्खा सैनिकबारे बेलायती आफैले थुप्रै ठेली लेखे, आफ्नो गुणगान र गोर्खा सैनिकको बहादुरी बखान भरेर । ब्रिटेनका तर्फबाट थुपै्र नरसंहारकारी युद्ध लडेका गोर्खाली योद्धाको मनोदशा, उनीहरुले देखाएको वीरता, भोगेका पीडाबारे त अहिलेसम्म लेखिएकै रहेनछ । नेपालीलाई कसरी लाहुरे बनाइयो ? ,कसरी गोर्खाली कहलिए ? गोर्खा भर्तीबारे यस्ता कैयन् सन्दर्भ नेपालीबीच नै रहस्यको थैलीमा गुम्सिएको रहेछ । लाग्यो, नेपाली विश्वयोद्धा मगर, गुरुङ, राई, लिम्बूलगायत युवाका विषयमा लेख्न कतै नेपाली बुद्धिजीवीले कञ्जुस्याइँ पो गरे कि ? १३ वर्ष टेक्दा नटेक्दै लाहुर पलायन भएका यी समुदायका हजारौँ युवा युद्धभूमिमै लापत्ता भए, चाँडै भर्ती लागेकाले यी समुदायका युवाले पढ्न पाएनन्, त्यसैले विद्धान इतिहासकार पनि निस्केनन् र अन्य जातिका स्वनामधन्य विद्वान–इतिहासकारले यसतर्फ सोधिखोजी गर्ने दरकार नै सम्झिएनन् कि ? गोर्खा सैनिकको इतिहासबारे उबेला किताबै लेखिएनन्, यो क्षति सम्झेर पश्चाताप गर्नुको विकल्प रहेन ।

  सोचेँ, ढिलै भए पनि यो प्रयास किन नगर्ने ? अनि २०६४ भदौबाट गोर्खा सैनिकबारे गहिरो खोजबिन सुरु गरेँ । खोज्दै जाँदा ब्रिटेनले नेपालीलाई (विशेषगरी मगर, गुरुङ, राई, लिम्बू) वीर लडाकु भनेर विश्वभर चिनाउनुमा के स्वार्थ लुकेको थियो ? लाहुरेले कमाएको करोडौँ राजस्वमा यो देशका शासकले किन सधैँ गर्व गरे ? नेपालीजनले लाहुरेले हातमा बाँधेको सिकोफाइभ घडी र उसको हाइपाई जीवनशैली अनि लाहुरेनीका शरीरमा झकिझकाउ गरगहनामात्रै किन देखे ? यस्ता थुप्रै प्रश्नको उत्तर खोज्न झन्डै सात वर्ष लगाएँ ।

केही खोज, केही अनुसन्धान, केही विश्लेषण अनि विश्वयुद्ध र अन्य क्षेत्रीय युद्ध लड्ने केही गोर्खा सैनिकका जीवनका पानालाई किताबमा लिपिबद्ध गरेको छु । आशा छ, यो किताबले गोर्खाली इतिहास जान्न चाहने जिज्ञासु, इतिहासका विद्यार्थी, अनुसन्धाता र आम पाठक सबैनिम्ति उपयोगी हुनेछ । गोर्खा सैनिकबारे यस्ता अनगिन्ति इतिहास छन् जुन लेखिन जरुरी छ ।

सदा सम्मान छ, तिनै वयोवृद्ध लाहुरेलाई जो विश्वयुद्धको भुङ्ग्रोबाट बाँचेर आए र युद्धको चिनो पीडै पीडा बोकेर समय काटिरहेका छन् । झिँजो नमानी आफ्ना यावत भोगाइ मेरासामु विछ्याइदिएर लेखन सजिलो बनाइदिए । सम्झिरनेछु, सबै भूपू गोर्खा सैनिक र तिनका परिवारलाई । ठेलीका ठेली किताब पढेरभन्दा जीवन पढेर नयाँ विषय, विचार र शैली पाइँदोरहेछ । यहि नयाँ शैलिका कारणले होला, ‘‘भर्तीको फन्दा’’ ले पाएको सफलताले म हौसिएको छु ।

‘भर्तीको भन्दा’ किताब ११ मे २०१४ मा हङकङमा विमोचन भएको हो । विमोचनकै दिन दुई सयभन्दा बढी बिक्री भएको थियो । हङकङमा विमोचन भएको एक हप्तामै यो किताब हजार प्रति बिक्रि भयो । त्यसपछि एक महिनामा दुई हजार प्रति । कुनै व्यक्तिले छापेको किताब र भर्खरै लेखक बन्न खोज्दै गरेको सिकारुले लेखेको पहिलो किताब नै यति धेरै बिक्री भएको सायद मलाई अरु किताबबारे थाह छैन । नेपालमा पहिलो प्रति छापिने भनेको धेरैको हजार प्रति हो । त्यहि बिक्री गर्न हम्मे हुन्छ । धेरै किताब बाँडेरै सकिन्छ । बाँड्न पनि दुई चार वर्ष लागेको देखेको छु । तर, ‘‘भर्तीको फन्दा’’ को मागले म निकै हर्षित छु । यस किताबले बजारमा गोर्खा भर्तीसम्बन्धी अहिले नयाँ बहस सिर्जना गरेको छ ।

‘तन्नेरी पत्रकार मनोज घर्ती मगरले ”भर्तीको फन्दा”  मार्फत गुर्खा भर्ती सम्बन्धमा अहिले सम्म नछोईएका कतिपय प्रसंगमा क्रुरुरतापूर्वक बयानबाजÞी गरेका छन् । जातीय रुपमा शुरु गरिएको यो ”प्रथा” लाई त्यहि चश्माबाट हेर्ने कोशिस गरेका छन्’ हङकङकको विमोचन कार्यक्रममा टिप्पणीकार वरिष्ठ पत्रकार जेबी पुनमगर दाईले भन्नु भएको थियो,‘किताबमा ईतिहास लेखनको पुनब्र्याख्या गर्न खोजिएको छ । यस्तो दुस्साहस गर्नासाथ स्थापित मान्यताहरु भत्कन थाल्छन्, विवाद शुरु हुन्छ । तरंग पैदा हुन्छ । यस्तो गर्न साहस चाहिन्छ । लेखकले त्यो साहस र खतरा दुबै मोलेका छन् ।’ यस्तो टिप्पणीले मलाई थप उर्जा दिएको छ ।   हङकङमा किताब विमोचनलाई सफल पार्न सहयोग गर्ने हुमबहादुर थापामगर मामा , कार्यक्रम गरिदिने राज्यसत्ता डटकम परिवार, राज्यसत्ता डटकमका सम्पादक भिम थापामगर, मगर सङ्घ, हङकङकी अध्यक्ष चन्द्रज्योति आलेमगर, महासविच विक्रम थापामगर, राज्यसत्ताका  लक्ष्मण थापा, विष्णु थापा, गणेशजंग रानामगर, सुन्दर दाई, वयोबृद्ध प्रेम गलामीमगर किताब प्रकाशक हङकङ नेपाली महासंघकी उपाध्यक्ष एवं नेपाल क्लब हङकङका अध्यक्ष दिदी रीता गुरुङ, आदिवासी जनजाति महासङ्घ, हङकङका अध्यक्ष एमबी थापामगर, नेत्र पहराईसहित हङकङ नेपाली डटकम परिवारलाई सम्झिरहेको छु । साथै कार्यक्रममा उपस्थित भएर किताब खरिद गरि सहयोग गर्ने सम्पूर्ण महानुभावहरुमा आभार व्यक्त गर्न गर्छु । सहारा क्लबका पदाधिकारी हरुलाई धन्यवाद दिन्छु ।

यो किताब तयार पार्न अग्रज पत्रकार दाजु केशवशरण लामिछानेको सबैभन्दा ठूलो हात छ । उहाँकै सुझावमा किताबले यस्तो रूप पायो । किताब सम्पादन गरी पठनीय बनाइदिने यादव थपलियाको गुन कहिल्यै भुल्नेछैन । किताब प्रकाशनको जिम्मा लिइदिने दिदी रीता गुरुङ (नेपाल क्लब हङकङकी अध्यक्ष)ले गरेको सहयोग अविस्मरणीय छ । उहाँप्रति ऋणी छु । भाइ छवि र जीवनसङ्गीनी सुष्माको सहयोगबिना यति छिट्टै किताब तयार हुने थिएन । पत्रकारहरु एमबी आस्थामगर (पोखरा), जेवी पुनमगर (हङकङ), किरण पुन (नवीन विभास), देव पचभैंयामगर (पाल्पा) को हौसलाप्रति नतमस्तक छु । बेलायतका महासचिव बम थापा सूर्य वंशीमगर एवं सांस्कृतिक विभागका सचिव अनिता रानामगर, मगर संघ इजरायलकी महासचिव माया घलेमगरलाई सधैँ सम्झिरहनेछु । समाजसेवी यम पौडेल (अमेरिका), गिरमान थापा गाहामगर, (दुबई), गायक शङ्कर विरही गुरुङ, शिव थापामगर, अनि मोति भुजेल (मुनाल स्टोर्स पोखरा) र ढाकाराम पौडेल (कोरिया) ले दिनुभएको हौसलाप्रति साधुवाद ।

अहिले पनि ‘भर्तीको फन्दा’ विभिन्न ठाउँबाट माग आइरहेको छ । भनेको सबै ठाउँमा पुर्याउन नसकेकोमा म दुःखी छु । मगर संघ, यूके र मगर संघ कतारमा ‘भर्तीको फन्दा’ उपलब्ध छ । बेलायतमा मगर संघ यूकेका उपाध्यक्ष नेम थापा दाजु (७८०९४३०७२५) र महासचिव बम थापा सुर्यवंशी मगर (७८०९४३०७२५), लाई टेलिफोन सम्पर्क गरे ‘‘भर्तीको फन्दा’’ उपलब्ध हुनेछ । यस्तै कतारमा मगर संघ कतारका अध्यक्ष शरण थापामगरलाई ७७६१०७७२ मा टेलिफोनसम्पर्क गरि आफ्नो प्रति सुरक्षित राख्नुहोला ।  उहाँसँग केही थान किताब बाँकी छ । नेम दाई, बम दाई, अनिता दिदी, मित्र दाई र शरण शरको गुन सम्झिरहेको छु । उहाँहरुले प्रदेशमा किताब बिक्रिवितरणमा ठूलो सहयोग गर्नुभा छ । यस्तै हङकङमा भाइ पुरन थापा, सोल्टी अमृत गुरुङ, रविन थापा, तिलक सोमैमगर लगायले गरेको सहयोग छातिमा सजाएर राखेको छु । विशेष गरि हुम थापा मामाप्रति म ऋणी छु । उहाँले ‘‘भर्तीको फन्दा’लाई ठूलो सहयो गर्नु भएको छ ।

नेपालमा काठमाडौंमा प्राइम बुक्स, बागबजार (पुरन सारु ९८४१०५९८०९) पोखराको गोरखापत्र बाजे, महेन्द्रपुल (०६१–५२६०८४) हिमालयन रिडर्स कर्नर (०६१–५३२७२०) र बाग्लुङमा ज्ञानकुञ्ज पुस्तक पसलमा ‘‘भर्तीको फन्दा’’ किताब पाइन्छ । देशविदेशबाट विभिन्न प्रतिक्रियासँगै किताबको माग आइरहेकोमा खुसी छु । तर पुर्याउन सकिएको छैन । अब तेस्रो मुद्रण भयो भने, माग आएका ठाउँ जापान, कोरिया, बु्रनाई, दुवई, मलेसिया, सिंगापुर, भारत, अमेरिका, पोर्चुगल, बेल्जियम, कुवेत, बहराइन, अष्ट्रेलिया, साउदीअरब, सिंगापुर, ओमान लगायतका देशमा पठाउनेछु । साथै ‘भर्तीको फन्दा’ लाई अनलाइनमा पढ्ने व्यवस्था गर्न लागि परेको छु । ‘‘भर्तीको फन्दा’’ लाई अत्यधिक रुचाइदिनु भएकोमा सबैप्रति आभार छु ।

news.manoj7@gmail.com