मनोज घर्तीमगर
हप्ताभरीको कामले सबैलाई ह्याङ बनाएको हुन्छ । यहि ह्याङलाई आउट गर्न अनेक उपाया अपनाउँछन् पोखरेली ।
(तस्वीर : छवि मगर)
रंग रमाईलो गर्न बानि परेका पोखरेलीले डिस्को, डान्स, गजल मात्र हैन पछिल्लो सयम दोहोरी साँझलाई रोज्ने गरेका छन् । दोहोरी गीतको बढ्दो क्रेजसँगै पोखरामा छ्याप्छ्याप्ती खुलेका दोहोरी साँझले ग्राहकलाई भरपुर मनोरञ्जन त दिएका छन् नै राम्रो व्यापार समेत गरेका छन् । सहर गाउँका मान्छेले बनाएका हुन् । गाउँबाट बसाइ सरेर पोखरा आएका उनीहरुलाई गाउघर अनि पाखा पखेरामा गाईने दोहोरीको रन्कोले छाड्नै कुरै भएन । उनीहरु त्यहि प्यास मेट्छन् दोहोरी साँझमा । पश्चिमाञ्चलका विभिन्न गाउँमा रोधी बस्ने चलन थियो । गाउँका अहिले रोधि बस्ने परम्परा लगभग लोप भईसकेको छ । तर, सहर झरेका तिनै मान्छेले अहिले दोहोरी साँझलाई रोधीको रुपमा लिन थालेका छन् ।
हप्ताभरी काम गरेर एक दिन होस् वा महिना भरि काम गरेर महिनाको अन्तिममा होस् दोहोरी कल्चरमा रमाउनेहरु ह्वात्तै बढेका छन् । पोखराका दोहोरी साँझहरुमा ग्राहको यति चाप बढेको छ की कहिलेकाँही त ग्राहक बस्ने टेबलु नै खालि हुँदैन । पप व्याण्डको राजधानी भनेर चिनिने पोखराका व्याण्ड कलाकारहरु कोही विदेशीएका छन् भने कोही अन्य व्यवसायमा लागेर सेलाएका छन् । ठूला कन्सर्ट यतिबेला हुनै छाडेका छन् । त्यसको ठाउँ लिएका छन् लोकदोहोरी र अनि दोहोरी साँझले । अधबैशे र परिवारसहितको टोली दोहोरीमा जानेहरु त प्रशस्तै हुने नै भए डिस्को थेक, डान्सबारमा रमाउँने तन्नेरी पुस्ता पनि पछिल्लो समय दोहोरी साँझमा झुम्छन् । कन्सर्ट र व्याण्डहरुको लाईभ प्रस्तुतिमा रमाउने पोखरेली अहिले दोहोरी साँझमा भुल्छन् ।
पोखरामा अहिले १४ दोहोरी साँझ ६ डिस्को र १५ बढी डान्स रेष्टुरेण्टहरु छन् । ती सबैमा अहिले दर्शकको चाप बढ्दो छ । तर, सबैभन्दा बढी चाप छ दोहोरी साँझमा । कहिलेकाँही विदेशी पनि छिर्ने दोहोरी साँझमा मध्यमस्तरका नेपाली नै बढी छन् । पोखरामा रहेका विभिन्न सरकारी कार्यालयका कर्मचारी समेत बेलाबेला दोहोरी साँझमा रमाउँन जान्छन् । पोखराको चिप्लेढुंगामा रहेको निरमाया दोहोरी साँझका संचालक जीवन गुरुङ दोहोरीमा बढेको ग्राहकको चापले निकै खुसी छन् । पोखरामा पछिल्लो समय दोहोरी साँझमा रमाउन चहानेहरु ह्वात्तै बढेको उनको अनुभव छ । नेपाल द्धन्दको उत्कर्षमा पुगेको बेला २०६१ सालमा खुलेको निरमाया दोहोरी साँझले त्यतिबेला पनि राम्रै व्यापार गरेको थियो । त्यतिबेलाको अनुपातमा अहिले दोहोरीको व्यापार झण्डै दोब्बर भएको छ । मुलकुमा छाएको शान्तिको वातवरणले झन् रात्री जीवनलाई सजिलो बनाईदिएको छ । ‘पछिल्लो समय नेपालीहरुमा रंग रमाईलो गर्नका लागि दोहोरी साँझमा जाने चलन ह्वात्तै बढेको छ, हप्ता अनि महिनाभरी काम गरेर एक दिन मनोरञ्जन गर्नुपर्छ भन्ने जमात बढेको छ’ जीवन भन्छन्‘तन्नेरीदेखि सबै उमेरका व्यक्तिको लागि आजभोली दोहोरी साँझ रोजाई बनेको छ ।’
निरमाया, फेवा, मान्द्रो, बिसौनी, दोभान, देउराली, दौतरी, भञ्ज्याङ, गाउँ शहर, निम्तो, सुसेली, तिरुपति, भेटघाट, माछापुछ«े, पोखरा रोदिघर लगायतका दोहोरी साँझमा झुम्नेहरु थुप्रै भेटिन्छन् । दोहोरी साँझ संचालकका अनुसार विदेशबाट फर्किएका नेपालीहरु र पारिवारिक जमघटमा रमाउन चहानेहरु दोहोरीमा बढी आउँछन् । कतिपय बाहिरी जिल्लाबाट पोखरा घुम्न आएका स्वदेशी पर्यटकहरु पनि दोहोरीको आनन्द लिन्छन् । दोहोरीमा पुरुषभन्दा महिलाको बढी आकर्षण रहेको छ । ‘हाम्रो दोहोरी साँझमा पारिवारिक टोलीहरु धेरै आउँछ, पुरुषभन्दा बढी महिलाको आकर्षण छ’ मान्द्रो दोहोरी साँझका संचालक अर्जुन गुरुङ भन्छन्‘यो बाहेक पोखराका विभिन्न सरकारी कार्यालय, गैरसरकारी संघसंस्थाका प्रतिनिधी पनि आउँछन् ।’ उनले आफ्नो दोहोरीमा लाहुरे, विदेश गएर फर्किएकाहरु मात्रै हैन पछिल्लो सयम बैशालु युवायुपति पनि टन्नै आउने गरेको बताए ।
तुलानात्मक रुपमा भद्र देखिने ब्यक्तिहरु दोहोरी जान्छन् । प्रायः २५-३० बर्ष भन्दा माथी उमेरका ब्यक्तिहरु दोहोरीमा गएर ढल्कदै नाँचेको देखिन्छ यहाँ । बढी चाप महिला र अधबैशे उमेरका भए पनि पछिल्लो सयम बैंशालु युवायुतीको आकर्षण पनि दोहोरी बनेको छ । ‘परिवारसहितका व्यक्ति, बिदेश गएर फर्किएका नेपालीहरु हाम्रो दोहोरीमा बढी आउछन्’ भुपु लाहुरे एवं निम्तो दोहोरी साँझका संचालक डिके पुन भन्छन्‘त्यो बाहेक बढीजसो लाहुरे र बैशालु युवायुवतिहरु पनि धेरै आउने गरेका छन् ।’
पछिल्लो समय पोखरामा चलाइएको ‘मापसे’ (मादक पदार्थ सेवन) चेकिङले दोहोरी व्यवसायलाई केही हदसम्म असर गरेको छ । दोहोरीमा रंग रमाईलो गर्दै नसा सेवन गर्ने ग्राहकलाई प्रहरीले समात्न थालेपछि दोहोरी साँझमा यसको असर केही मात्रामा देखिएको छ । तर, पनि दोहोरी साँझमा आउने दर्शक र ग्राहकको चाप भने घटेको छैन । रंग रमाइलो गर्न बानि परेकाहरु ट्याक्सीमै आउने र ट्याक्सीमै घर जाने तरिकाले दोहोरी आउने गरेका छन् । ‘दोहोरी साँझको व्यापार पहिले निकै राम्रो थियो, अहिले मापसेले केही न केही असर त पक्कै पारेको छ’ गायक एवं बिसौनी दोहोरी साँझका संचालक चोलेन्द्र पौडेल भन्छन्‘तर, पनि दोहोरी साँझमा आउने ग्राहकहरु राम्रै हुन्छन्, पछिल्लो सयमा युवायुवति पनि दोहोरी साँझमा टन्नै आउने गरेका छन् ।’
दोहोरी संचालकले मनोरञ्जन मात्रै दिएका छैनन् । उनीहरुले धेरैलाई रोजगारी पनि दिएका छन् । पोखरामा रहेक हरेक दोहोरी साँझले ३० देखी ४० जना कर्मचारी राखेका छन् । तीमध्ये १५-१६ जना जति त कलाकार नै हुने गरेका छन् । कलाकारलका एल्बमबाट खासै फाईदा नभएको बेला उनीहरुको बाँच्ने आधार बनेको छ दोहोरी साँझ । उनिहरुको मासिक पारिश्रमीक ४ हजार देखी १० हजार सम्म रहेको छ ।