बलदीप प्रभाश्वर चामलिङ
अध्ययन गर्ने क्रममा मेरो हातमा राईस डेभिड (Rhys David) को पुस्तक ‘बुद्धिष्ट ईण्डिया’ पर्यो । त्यहा त्यो पुस्तकको एक ठाउ यस्तो लेखिएको रहेछ, “बाहुनहरु कहिले पनि नौलो दृष्टिकोण र विचारधाराको समर्थक रहदैनन् ।” यो कुरालाई मैले झट्ट विश्वास गर्नै सकिन । त्यो पनि एक विदेशीले मेरो छिमेकी सधियार र अंशीयार बाहुन दाजुभाइलाई त्यस्तो जातीय चारीत्रिक विशेषता किटिदिदा मेरो कन्सिरी नै तातेर आयो । एक उच्च सभ्यताको प्रवर्तक बाहुन कसरी त्यस्तो होला भनेर मेरो मनमा लामो समयसम्म कुरा खेलिरह्यो ।
त्यस्तै एक दिन एक पुस्तकालयमा नेपालकै एक विद्वान केशरबहादुर के.सी. को पुस्तक ‘जुडिसियल कस्टम अफ नेपाल’ मा पनि “ बाहुन जहिले पनि वैज्ञानिक सिद्धान्तको विरोधी थिए” भनेर लेखेको पाएँ । यसमा उनले राम्ररी पुष्टि गर्दै त्यसो भनेका छन् । विदेशीले त भन्यो तर नेपाली विद्वानले पनि त्यसो भन्दा चाही मेरो मनमा “कागको पछि दौडने कि कान समात्ने” भन्ने द्वीविधामा परे । यती मात्र कहाँ हो र भगवान बुद्धले सम्म बाहुनलाई निन्दा गरेको रछ । बुद्ध साहित्य अध्ययन गर्ने हो भने बुद्धले बाहुनलाई यसो भन्दै गाली गरेका छन्, “बाहिर तिमीहरु जतिसुकै नरम भएपनि भित्र काठ जस्तै सारो छौ ।”
आखिर स्वदेशी र विदेशीहरुले मात्र नभएर एक मुक्त भगवान पुरुष गौतम बुद्धलेसम्म बाहुनलाई किन निन्दनीय शब्दहरु प्रयोग गरे होलान् ? यसमा मैले कुनै आधार देखेको थिइन । समुदाय विशेषको आफ्नै जातीय चरित्र (ethos) हुन्छ भन्ने समाजशास्त्री-मानवशास्त्रीहरुको भनाइलाई पनि मैले नकारेको अवस्था हो । तर माथिका कुराहरु साच्चै नै हो कि क्या हो भनेर पुनरविचार गर्नुपर्ने वाध्यात्मक परिवेश अहिलेका ठूला दलहरुका नेतृत्वमा वस्नेहरुले ल्याएको छ । कांग्रेस र एमालेका नेतृत्वले लिएको पहिचान सहितको संघीयता विरुद्धको जब्बर अडानले उनीहरु साँच्ची नै नया विचार र प्रगतिको दुश्मन नै हो कि भन्ने आभाष आइरहेको छ ।
दुर्भाग्य, संघीयतालाई जाति विशेषको मुद्दा हो भनेर भनिन थालिएको छ । यो मुद्धा बाहुनको होइन, मधेशी र जनजातिको मात्र मुद्दा हो भन्ने तवरले राजनीतिक सम्बाद थालिएको छ । सक भर संघीयताको मुद्दा ओझेलमा पार्न षडयन्त्र थालिएको छ । नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य र धर्म निरपेक्ष राज्य हुनेछ भनेर नयाँ परिवर्तनको संखघोष आन्तरिम संविधानले भनिरहदा पनि त्यसको उल्टो बग्न खोजिरहेका छन् यो देशका केही यथास्थितिवादीहरु ।
आखिर संघीयताको फल बाहुनलाई नै हो
यो मुलुकमा संघीयता हुदा वाहुनलाई त्रास किन ? भोली संघीयताको प्रतिफल जनजाति र मधेशीलाई मात्र हुने हो र ? सबभन्दा बढि लाभ बाहुनलाई नै हुने हो किनभने यो देशका जनजाति र मधेशीहरुले नेता त बाहुनलाई नै मानेका छन् र मान्नेवाला पनि छन् यसमा केही कारणहरु छन् । राजनीतिक नेतृत्व बाहुनलाई नै सुम्पेपछि बाहुन त्रसित हुनुपर्ने कुनै आवश्यकता नै छैन । अहिले पनि बाहुनको नेतृत्व नस्विकार्ने हो भने जनजातिहरु किन काग्रेस र एमालेमा लाग्थे होलान् । मधेशीले बाहुनलाई नेता नमानेको हुन्थ्यो भने बाहुनहरु मधेशबाट चुनाव जितेर माथिल्लो ओहदामा पुग्ने नै थिएनन् । प्रचण्डको जमाना जफथ हुनबाट मधेशीले नै बचाएका हुन् । माधव कुमारको हरिविजोग देख्न नपरोस भनेर उही मधेशी जनताले चुनावमार्फत दया गरेकै हुन ।
यसरी जनजाति र मधेशीको लागि भनेर दिएको संघीयतामा राजनीतिक लाभ बाहुन कै हुने हो । हरेक प्रान्तको मुख्य मन्त्री बाहुन नै हुने हो । यदि अरु जातिका मान्छे मुख्य मन्त्री भएपनि तिनीहरु बाहुनकै राजनीतिक नियन्त्रणको लगामले बाँधिने हो , हो किनभने नेता त बाहुनलाई नै उनीहरुले स्वीकारेको हुन्छ ।
उनीहरुलाई पहिचान दिएर डराउनु पर्ने अवस्था छैन । वास्तवमा उनीहरुको पहिचान भएर पनि राज्यले वैधानिकता नदिएकै अवस्था हो । उनीहरुले पहिचान माग्दा हामी बाहुनको चाही खोई भनिएला । तर बाहुन सत्ताको मात्र होइन, पहिचानको पनि धनी जात हो । यो देशको भूगोगलहरुको नामाकरणमा , जीवनपद्धतीमा र मनोविज्ञानमा बाहुनको पहिचान गहिरो अमिटरुपले अगाडि नै स्थापित छ । यसरी जनजातिले बाहुनको पहिचान विर्सिएर आफ्नो मात्र पहिचान मागेका कदापि होइन । किरात प्रान्त भो भन्दैमा वाहुनको अस्तित्व गुम्ने होइन । त्यो स्वयत्त प्रदेशको नाम मात्र किराँत हो ।
भोली किराँत राज्यको मुख्यमन्त्री बाहुन नै हुने हो । अहिले पनि किराँत राज्यमा पर्ने निर्वाचन क्षेत्रबाट त्यहाका जनताले आफ्नो समुदायको उम्मेदवारलाई चाही गोली मारेर भकाभक बाहुन–छेत्रीलाई नै संविधानसभाको निर्वाचनमा जिताएर पठाएका छन् । यो देशका मगर, लिम्बु, तामाङ, गुरुङ जस्ता जातिहरुले पनि त्यस्तै गरेका छन् । बरु अशोक राईलाई पराइ ठानी ओलीलाई नै प्रिया नेता ठानी धेरै जनजाति एमालेमै छन् । राईसंग भएकाहरु पनि उनलाई छाड्दै धमाधम ओली बाहुन तिरै पुनरागमन भैरहेका छन् । मधेशी जनताहरु पनि आफ्नोलाई पराइ ठानी काग्रेस–एमाले जस्तो बाहुन कै पार्टीमा लागिरहेका छन् ।
प्रचण्डलाई गाली किन ?
यहा यस्ता वौद्धिक भनेर कहलिने एकाध बाहुनहरुले अर्को प्रचण्ड बाहुनलाई गाली गर्ने गरेका छन् । प्रचण्ड आफु बाहुन भएर बाहुनकै सत्यानाश गर्ने काम गरिरहेको छ भन्ने उनीहरुले आरोप लगाउने काम गरिरहेका छन् । जनजातिहरुको पहिचान सहितको संघीयता र धर्मनिरपेक्षताको मुद्धालाई साथ दिएर प्रचण्डले बाहुनहरुको सनातन धर्म संकृतिलाई भत्काउने काम गरेका छन् भनेर एकथरी बाहुनहरुले अहिले पनि भनिरहेका छन् । तर प्रचण्डलाई यसरी निन्दा गर्नु जायज हो कि होइन भन्ने कुरा केलाउनु अहिलेको आवश्यकता हो ।
वास्तवमा बाहुनहरुले प्रचण्डलाई दोषारोपन गर्नु ठूलो भुल हुन जानेछ । बाहुनहरुको पनि राजकीय हैसियत कायम गर्दै जनजाति र मधेशीहरुको मुद्धालाई आत्मसात गरेर नेपाललाई एक नया मुलुकमा रुपान्तरण गर्न चाहने एम.एस. थापा र गोरेबहादुर खपाङ्गीहरुको मौलिक मुद्धामा ऐक्यवद्धताको प्रण गर्ने प्रचण्डहरु वास्तवमा प्रगतिशिल बाहुनहरु हुन् । साच्चि नै प्रचण्डहरुले सिंगो बाहुनको ईज्जत धानिदिएका छन् । सबै बाहुनहरु राईस डेभिड, केशर बहादुर के.सी र गौतम बुद्धले भनेजस्तो हुदैन्, नया युगसंग आफुलाई रुपान्तरण गर्ने प्रगतिशिल र वैज्ञानिक चिन्तनका बाहुनहरु पनि हुन्छन् भन्ने सन्देश प्रचण्डहरुको अडान र सदासयताले सन्देश प्रवाह गर्दछ । सनातन काल देखि जातीय चरित्रमा लागेका धब्बालाई पखाल्ने काम प्रचण्डहरुले गरेका छन् ।
आफ्नो मात्र जातीय वर्चस्वलाई कायम गराइराख्न चाहने साम्प्रदायिक चिन्तन र पुरातन प्रवृतिलाई अन्त्य गर्नुपर्छ भन्ने आह्वान प्रचण्डहरुको हो । वास्तवमा प्रचण्डहरुले आफ्नो खुट्टामा आफै बन्चरो हानेको नभएर सिंगो बाहुन समुदायको भविष्यलाई सुनिश्चित गर्न चाहेको हो किनभने बाहुनको भविष्य यो देशका आदिवासी जनजाति र मधेशीहरुको वर्तमानसंग जोडिएको छ । यिनीहरुको वर्तमान विग्रनु भनेको बाहुनहरुको पनि भविष्य सुनिश्चित नहुनु हो । सबैको सहकार्य र मेलमिलापमा मात्र हामी सबैको कल्याण रहन्छ । छिमेकमा गरिब र अधिकारविहीनहरु राखेर आफु सभ्य हुनखोज्नु भनेको सिरानीमा बारुद राखेर सुत्नजस्तै हो । तसर्थ प्रचण्डहरुको मोर्चाले बहुमतीय नभएर सहमतीय रुपमा संविधान निर्माण गर्नुपर्छ भन्ने अडान दुरदर्शी छ । प्रचण्ड बाहुनहरुले समयको मागसंग समाहित हुनमात्र खोजेका हुन तर बाहुनको संस्कृति तथा सभ्यतालाई भत्काउन चाहेका होइनन् किनकी प्रचण्ड पनि उही बाहुन कै पुत्र हुन् ।
अर्कोतिर, धर्मनिरपेक्षता भनेको कुनै धर्मको निषेध होइन बरु सबै धर्मको कदर हो भन्ने कुरा स्वयम बाहुनहरुले मनन गरिरहेको बेला मस्टोवाद तथा झाँक्रीवादको ऐतिहासिक सांस्कृतिक पृष्ठ भएका छेत्री कमल थापा र खुमबहादुर खड्काहरुलाई हिन्दु राज्यको मोह किन ? वहाहरुको यस्तो किचलोले सिँगो हिन्दु समुदाहरुको साख गिराउन सक्छ । नेपालजस्तो बहुधार्मिक तथा बहु–साँस्कृति मुलुकमा धर्मनिरपेक्षताको विकल्प नै हुदैन ।
यथास्थितिवादीहरुलाई अहिले पनि समानुपातिक र पहिचान सहितको संघीयता एलर्जी नै छ । हिजोको विघटित संविधानसभामा पनि उनीहरुको राम्रो भूमिका भएन । बरु संविधानसभा विघटन होस् तर जातीय पहिचानसहितको संघीयता दिनै नहुने प्रहसनीय कसरतमा लागे उनीहरु । सुरुमा संवैधानिक विषयगत समिति राज्य पुनःसंरचना र राज्यशक्तिको बाँडफाँड समिति ले तयार पारेको १४ प्रदेशसहितको संघीयतामा जाने भनेर प्रतिवेदन बुझायो । यसमा पनि ती दलहरू सहमत भएनन् । कारण, त्यो प्रतिवेदनमा पनि पहिचानसहितको प्रदेश थियो । यसमा ती दलहरूले बखेडा झिके ताकि जातीय पहिचानसहितको संघीयतालाई टार्न सकियोस् । अनेक भगीरथ प्रयास गरेर फेरि अर्को राज्य पुनःसंरचनासम्बन्धी आयोग गठन गर्न लगाइयो ।
त्यो आयोगको नाम राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोग– ०६८ राखियो । उनीहरुलाई यसमा चाहिँ विश्वास थियो कि यसको प्रतिवेदनमा जातीय पहिचानसहितको प्रदेशको सिफारिस हुन्न । तर, नेपालको वस्तुगत यथार्थ नै यो छ कि पहिचानसहितको संघीयताको अर्को विकल्प नै छैन । त्यो आयोगले पनि जातीय पहिचानकै आधारमा गैरभौगोलिक संघीयतासहित जम्मा ११ प्रदेशको सिफारिस गरे । यसले ती दललाई झन् मर्माहत बनायो किनकि यसमा पनि जातीय पहिचानसहितको संघीयताकै प्रतिवेदनात्मक सिफारिस थियो । फेरि यसमा पनि बखेडा झिकियो । र, जातीय पहिचानसहितको संघीयतामा जानै नहुने कुराको अन्तिम अडान लिएर बसे ।
यतिसम्म नीचताको पराकाष्ठा देखाइयो कि यदि संविधानसभामा पहिचानसहितको संंघीयतामा जाने कि नजाने भन्ने कुरामा कथमकदाचित मतदान हुने नै भयो भने त्यहाँ टिक लगाउने ठाउँमा “पहिचानसहितको संघीयता”को ‘अप्सन’ नै नराख्ने अडान लिए– कांग्रेस र एमाले नेताहरूले । र उनीहरुले बहुमतीय प्रकृयाबाट नभै सहमतीबाटै संविधान बन्नुपर्छ भन्ने अडान राखे । त्यो संविधानसभा तुहियो ।
फेरी आजको संविधानसभा पनि त्यही प्रवृतिको पुनरागमन भएको छ । हिजोको संविधानसभामा प्रकृयाबाट जानहुन्न भन्ने काग्रेस–एमाले आजको संविधानसभामा चाही प्रकृयाबाट नै जानुपर्छ भनिराखेका छन् । यो चाला पहिचानसहितको संघीयतालाई टार्नकै लागि हो । हिजो प्रकृयाबाट गएको भए पहिचान सहितको संघीयता हुने भएकोले त्यसको विरुद्धमा बोले उनीहरु । आज प्रकृयाबाट गए पहिचानसहितको संघीयता नहुने भएकोले त्यसको पक्षमा लविङ गरिरहेका छन् । चाडोभन्दा चाडो माघमै संविधान लेखिनु पर्छ भन्ने कुरा कर्णप्रिय त छ तर त्यस पछाडि बदनीयत उदेश्य छ । यदि हतारमा संविधान बनाउनै पर्ने वाध्यात्मक अवस्थामा विवादित विषय संघीयता र समानुपातिकको मुद्दा हाललाई टार्न सकिन्छ की भन्ने ध्ययले माघमै संविधान लेखिनुपर्ने नत्र अनिष्ट हुन्छ भनेर मानोवैज्ञानिक आतंक सृजना गर्न खोजिएको छ ।
संविधान लेख्नु होइन, बनाउनु पर्दछ । सबै समुदायको हक–अधिकार र आकांक्षा संविधानमा प्रतिबिम्बित हुनुपर्दछ । प्रगतिशील प्रवृति नै यो मुलुको समास्याको निकास हो । जस्ले जेजसो भनेता पनि नया समृद्धशाली नेपाल बन्नु नबन्नु बाहुनहरुकै हातमा छ । सनातन मान्यता अनुसार बाहुनको पेशा राजनीति नभएता पनि सबैले राजनीतिक नेतृत्व बाहुनलाई नै दिएका छन् । यसको बदलामा बाहुनहरुले जनतालाई एक सभ्य र सम्पन्न नेपाल दिनुपर्दछ । यस्तो मौका फेरि अर्कोचोटी उनलाई नहुन सक्छ ।