साहित्यकार थापा र पत्रकार न्यौपाने सम्मानित
रूद्र श्रीसमगर
पोखरा, १ कात्तिक – नेपाल मगर लेखक सङ्घ गण्डकी अञ्चल समितिको अध्यक्षमा तनहुँकी गीता थापामगर सर्वसम्मत चयन भएका छन ।
सङ्घको शनिबार पोखरामा सम्पन्न दोस्रो अञ्चल अधिवेशनबाट थापामगर अध्यक्ष बन्नुभएको हो । अधिवेशनबाट उपाध्यक्षमा धीरेन्द्र थापामगर ‘किसानी’ (तनहुँ), सचिवमा हुमबहादुर थापामगर ‘ऋतुभक्त’ (कास्की), सह–सचिवमा रिमबाबु रानामगर (स्याङ्जा) र कोषाध्यक्षमा अमृता थापामगर (स्याङ्जा) सर्वसम्मत रूपमा चयन भएको हो ।
त्यसैगरी, ११ सदस्यीय समितिका सदस्यहरूमा सीता दर्लामीमगर (कास्की), कृष्ण मिगिन मगर (कास्की) र अनुराग थापामगर (तनहुँ) रहनुभएको छ भने बाँकी तीन सदस्य समितिको बैठकले गण्डकी अञ्चलका बाँकी तीन जिल्ला गोरखा, लमजुङ र मनाङबाट मनोनित गर्ने जनाइएको छ ।ङ्घका केन्द्रीय सदस्य टीबी पुनमगर ‘रोशन’को संयोजकत्वमा मगर भाषा प्रतिष्ठान कास्कीका अध्यक्ष फूलकुमारी थापामगर र इन्दिरा थापामगर सदस्य रहनुभएको निर्वाचनमण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो । अधिवेशनले सचिव मीना थापामगरद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष तारामाया थापामगरद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन समेत सर्वसम्मतले पारित गरेको छ ।
त्यस्तै, अधिवेशनकै अवसरमा मगर भाषाको विकासमा उल्लेखनीय योगदान दिएको भन्दै दुई जना व्यक्तित्वलाई सम्मान गरियो । आफ्नो प्राज्ञिक अनुसन्धान एवं साहित्य लेखनमार्फत् मगर भाषा र साहित्यको विकासमा योगदान दिएको भन्दै मगर भाषाका अग्रज साहित्यकार एवं मातृभाषाविज्ञ लोकबहादुर थापामगर र मगर भाषामा लोकगीत गायन तथा संकलनमार्फत् मगर भाषाको विकासमा योगदान दिएको भन्दै मगर भाषाका गायक एवं पत्रकार प्रेमनारायण न्यौपानेलाई सम्मानित गरिएको हो । थापा र न्यौपानेलाई कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल मगर लेखक सङ्घका केन्द्रीय अध्यक्ष कर्णबहादुर बुढामगरले सम्मानपत्र र मगर पोशाक भाङ्ग्राद्वारा सम्मान गरिएको हो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि बुढामगरले मगर लेखकहरूले चेतनासहितको लेखनलाई जोड दिनुपर्ने उल्लेख गरेका थिए । बुढामगरले मगर लेखक एवं साहित्यकारहरूले भावनात्मक रूपले मात्रै नभइ यथार्थलाई आत्मसात गरेर आफ्नो लेखन कार्यलाई अघि बढाउन आग्रह गरेका थिए ।
‘अहिले पहिचानका लागि निर्णायक लडाइँ लड्नुपर्ने बेला आएको छ’, बुढामगरको भनाइ थियो, ‘पहिचानका लागि अब मगर लेखकहरूले आफ्नो कलम चलाउनु पर्छ’ आफूहरूले पहिचान मागेको कसैको पहिचान खोस्नका लागि नभएको बुढामगरको प्रष्टोक्ति थियो ।
सम्मानित व्यक्तित्व मगर भाषाका अग्रज साहित्यकार एवं मातृभाषा विज्ञ लोकबहादुर थापामगरले मगर जाति र देशका लागि केही गर्न पाउँदा सन्तुष्टि मिल्ने बताउँदै आफूले पाएको सम्मानले थप जिम्मेवारीबोध गराएको बताएका थिए ।
अर्का सम्मानित व्यक्तित्व मगर भाषाका गायक एवं पत्रकार प्रेमनारायण न्यौपानेले रहरले मगर भाषाको गीत गाएको भएपनि मगर समाजले सम्झेकोमा खुशी लागेको बताउँदै आफूलाई गरिएको सम्मानको गुन तिरेर नसक्ने उल्लेख गरेका थिए ।
कार्यक्रममा नेपाल मगर लेखक सङ्घका केन्द्रीय सदस्य रूद्र ‘सन्देश’ मगर, नेपाल मगर महिला सङ्घ कास्कीका अध्यक्ष एवं मगर भाषा प्रतिष्ठान कास्कीका अध्यक्ष फूलकुमारी थापामगर, नेपाल मगर लेखक सङ्घ गण्डकी अञ्चल समितिका सल्लाहकार इन्दिरा थापामगर, नेपाल मगर सङ्घ कास्कीका सह–कोषाध्यक्ष कुमार थापामगर, नेपाल मगर बौद्ध सेवा समाज कास्कीका सचिव केबी थापामगर, नेपाल मगर विद्यार्थी सङ्घका केन्द्रीय प्रचार सचिव फरेन्द्र थापामगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा नेपाल मगर लेखक सङ्घ गण्डकी अञ्चल समितिका संस्थापक पदाधिकारी तथा सदस्यहरू, निवर्तमान समितिका पदाधिकारी एवं सदस्यहरू र अधिवेशनका लागि आर्थिक सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ साउदी अरेबियाका अध्यक्ष हुम सुनारीमगर र नेपाल मगर सङ्घ साउदी अरेबियाका महासचिव रूद्र सारूमगरलाई समेत सम्मान गरिएको थियो ।
निवर्तमान अध्यक्ष रूद्रबहादुर श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मीना थापामगरले गर्नुभएको थियो भने उपाध्यक्ष यामबहादुर बरहीमगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।