हुम सुनारी मगर
०७१ सालको दशैँ पनि लगभग सकियो । आदिवासी जनजाति समुदायहरुले औपचारिक रुपमा दशैँ परित्याग गरेको आज झन्डै २३ बर्ष भएको छ । बि.स. २०४८ – ०५० ताका दशैँ कै दिन आदिवासी जनजाति समुदायले कालो टीका लगाएर र कालो झन्डा देखाएर दशैँ बहिस्कार गरेको गतिविधिहरु देखिन्थ्यो । त्यसको नेतृत्व श्रद्धये नेता तथा पूर्वमन्त्री गोरेबहादुर खपांगी मगरज्यूले गर्नु हुन्थ्यो । हिजोआज त्यो गतिविधि देखिन छाड्यो । बि.स. ०४८ देखि ०५८ अथवा दश बर्षको अवधिमा दशैँ परित्याग गर्ने आदिवासी जनजाति समुदायहरुको जमात ह्वात्तै बढेको थियो । अथवा, दशैँ बहिस्कार अभियानले राम्रो प्रभाव पारेको थियो । सायद, त्यो प्रभावकारीताको प्रमुख कारण नेतृत्वको क्षमता र दक्षता नै थियो । तर, खपांगीमगरको दशैँ प्रकरण पछि र ०६२-६३ लगत्तै मुलुक शान्ति प्रक्रियामा प्रवेश गरे पछि उतिबेला दशैँ परित्याग गर्ने आदिवासी जनजाति अभियन्ताहरुले नै हिजोआज भित्र-भित्रै दशैँ मान्न पुन: शुरु गरेको पनि देखियो ।
यसो हुनुको प्रमुख कारणहरु तपशिलमा उल्लेख गरिए अनुसार हुन सक्छ :
१) अवसरवाद:
आदिवासी जनजाति समुदाय भित्रका कैंयौं नेता तथा कार्यकर्ताहरु ठुला राजनीतिक दलहरु जस्तै काँग्रेस र एमालेमा आवद्ध छन् । ति दुवै ठुला दलहरुमा एक जातिको अग्राधिकार र आधिपत्य रहेको अवस्था छ । दशैँ मनाउने आदिवासी जनजाति समुदायका नेता तथा कार्यकर्ताहरुले दशैँ परम्परागत रुपले नमनाए पार्टीले तिनीहरुलाई विभिन्न अवसरहरुबाट बन्चित गराउन सक्ने डर उनीहरुमा भएको कारणले दशैलाई निरन्तरता दिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
२) आफै प्रतिको अविश्वसनीयता:
नेपालमा दशैँ कसरी भित्रिएको थियो भन्ने बारे पूर्ण रुपमा जानकार भए पनि त्यसलाई भन्दा हिन्दु धर्म ग्रन्थमा लेखिएका दुर्गा र महिषासुर बीचको काल्पनिक द्वन्द्वलाई बढी मान्यता दिइएको कारणले नै दशैँ परित्याग गर्न नसकिएको हो भन्न सकिन्छ ।
३) अज्ञानता:
नेपालमा दशैँ भित्रिएको इतिहास ४५५ बर्ष पुरानो छ । अथवा, बि.स. १६१६ सालदेखि दशैँ पर्ब पशु बध गरेर हिंसात्मक रुपमा मनाउन थालियो । अर्थात् लगभग १२ औं पुस्ता अगाडीदेखि नेपालमा दशैँ भित्रिएको इतिहास छ । दशैँ बारे बिष्तृत “उत्पीडित समाजमा खपांगीको देन” पुस्तकमा पढ्न सक्नु हुनेछ । शाहवंशीय राजाका संस्थापक द्रब्य शाह हुँदै जहानिया राणा शासक जंग बहादुर राणासम्म आइपुग्दा नेपाल अधिराज्य भरि नै पूर्ण रुपले हिन्दुकरण लादियो । सम्पूर्ण गैर हिन्दुहरुलाई पनि हिन्दु धर्ममा आधारित धार्मिक चाडपर्बहरुलाई अनिवार्य मान्नु पर्ने कानुन नै बनाइयो । १२ औं पुस्तादेखि हाम्रा आदिवासी जनजाति पुर्खाहरुले दशैँ मान्न शुरु गरेका र हाम्रा पुर्खाहरुले मान्दै आइरहेको दशैलाई हामीले पनि मान्नु पर्छ भन्ने मानसिकताले गर्दा आदिवासी जनजाति समुदायमा दशैको निरन्तरता भएको हो । तर, १२ औं पुस्ता भन्दा अगाडिको इतिहास अथवा हाम्रा वास्तविक पुस्ता बारे अज्ञानताको कारणले यसो भएको हो ।
गोरखाका राजा मानसिंह खड्का मगरलाई द्रब्य शाहको सेनाहरुले निर्ममता पुर्बक हत्या गरिए पछि त्यसको खुशियालीमा पशु बध गरेर दशैँ भित्र्याइएको इतिहास छ । कोतपर्वको नरसंहार पश्चात शक्तिशाली भएका जङ्गबहादुर राणाले नेपाल अधिराज्य भरि नै एकात्मक हिन्दुवाद लादियो र सम्पूर्ण गैर हिन्दुहरुलाई दशैँ मान्न वाध्य पारियो । सम्पूर्ण आदिवासी जनजाति समुदायहरुलाई जबर्दस्ती हिन्दु बनाइए पछि हिन्दु धर्म अन्तर्गत पर्ने दशैँ पर्वलाई मान्न आदिवासी जनजातिहरुलाई करै लाग्ने भईहाल्यो । आदिवासी जनजाति समुदायहरुले दशैँ मनाए कि मनाएनन् भन्ने निरीक्षण गर्न स्थानिय प्रशासकहरुलाई खटाइन्थ्यो । प्रत्यक घर घरमा पशु बध गरे पछि उक्त पशुको रगतमा हत्केला चोपेर घरको मूल धोकाको चारै तिर छाप लगाउनु पर्ने र उक्त छाप नभेटिए दशैँ नमनाएको अभियोगमा मृत्युदण्डसम्म हुन सक्ने कानुन जंग बहादुरले बसाले पछि सम्पूर्ण आदिवासी जनजाति समुदायहरुले दशैँ मान्न वाध्य भएका हुन भन्नेमा कुनै शंकै छैन।
श्रद्धये खपांगी मगर कै नेतृत्वमा बि.स. २०५५ साल आश्विन १, २ र ३ गतेका दिन मगर जातिको धर्म सम्बन्धि एक “अन्तरराष्ट्रिय मगर सम्मेलन” गराएर हिजो पनि मगर जाति बौद्ध थिए, आज पनि बौद्ध छन् र आउँदा दिनहरुमा पनि मगरहरुले बौद्ध धर्म नै अंगिकार गर्ने छन् भनि उक्त सम्मेलनबाट एक स्वरले पारित गरिएको थियो । बिक्रम सम्बत २०५३ सालमा त नेपाल बौद्ध सेवा समाज नै स्थापित भै क्रियाशील भएको अवस्था छ । सम्पूर्ण १८ लाख मगरहरुको परम्परागत अथवा मौलिक धर्म बुद्ध नै हो भनेर मगर जाति सम्बन्धिका आधिकारिक संघ संस्थाहरु क्रियाशील भईरहेको अवस्थामा हामी मगरहरु अझैसम्म पनि हिन्दु अतिवादमा रुमलिरहनु सम्पूर्ण मगर जाति कै लागि दुर्भाग्य हो । सिंगो मगर समाज भित्र बिखन्डन सृजना गर्नु हो । मगर समाज भित्रका केहि व्यक्तिहरुको जिज्ञासा के पनि भेटिएको छ भने, “के को आधारमा हामी मगरहरु बौद्ध हौ” भन्ने । यो एउटा वहाँहरुको बौद्ध धर्म प्रतिको अविश्वास हो । आजको बिज्ञान र प्रविधिको युगमा अथवा २१ औ सताब्दिका हामी मगरहरुले कलि युग शुरु हुनु भन्दा अगाडिका हिन्दु धर्म शास्त्रमा लेखिएका र कल्पना भन्दा बाहिरका दन्त्य कथाहरुलाई बिश्वास गर्न पछि पर्दैनौ । तर, यहि युगका विश्व शान्तिका अग्रदुत बुद्धले देखाएको बाटो र वहांको दर्शनलाई अंगिकार गर्न कन्जुस्याई गरिरहेका छौ ।
रामले समुन्द्र माथि ढुंगाको पुल बनाएर लंकामा प्रवेश गरि रावणको अन्त्य गरेर सीतालाई मुक्त गराएको दन्त्य कथालाई हामी बिश्वास गर्छौ । तर, हाम्रै मगर समाज भित्रका विज्ञहरुद्वारा श्रोत र सन्दर्भ सहित लेखिएका वास्तविक लेख रचनाहरुलाई बिश्वास गर्न हिच्किचाइ रहन्छौ । आजको विज्ञान र प्रविधिको युगमा आइसकेर पनि समुन्द्र माथि ढुंगाको पुल बनाएर लंका प्रवेश गरेको भन्दा कुन मानव प्राणीलाई पत्यार लाग्न सक्छ । संसारको कुन देशमा बनाएका छन् ढुंगाले मात्रै बनेको पुल समुन्द्र माथि ?
पूर्वी एशियाको प्राय सबै मुलुक लगायत विश्वको सबै भन्दा बढी जनसंख्या भएको चीनका मानिसहरुले बुद्धको महत्व बारे बुझ्न सक्दा अथवा बुद्धत्व ग्रहण गरिरहँदा बुद्ध जन्मेकै मुलुक नेपाल कै हामी नेपाली भुमि पुत्रहरुले हामी मगरहरु बुद्ध हुनु पर्ने आधारहरु खोजिरहनु के मुर्खता होइन र ? पाच सय बर्ष अगाडी मात्रै नेपालमा भित्रिएको हिन्दु धर्मलाई बिना आधार बिश्वास गर्ने तर आफ्नै देशमा २५ सय बर्ष भन्दा अगाडी जन्मनु भएका बुद्ध र वहाँले देखाएको महान विचार अथवा बुद्धत्व अंगिकार गर्न हिच्किचाउनु के हामी मुर्ख होइनौ ?
(लेखक: उत्पीडित बर्गमा खपांगीको देन नामक चर्चित पुस्तकका लेखक तथा जनजाति महासंघ साउदिअरबका अध्यक्ष हुन)