दशैंको टिका रातो कि सेतो ?

Read Time:9 Minute, 10 Second

मनोज घर्तीमगर

दशैंका बेला धेरैको निधारमा रातो टिका र कानमा पहेँला जमारा देखिन्छन् । अन्य क्षेत्रमा नौलो लागे पनि आदिवासी जनजातिको बाक्लो वस्ती रहेका क्षेत्रहरु पोखरा, पर्वत, म्याग्दी, बाग्लुङ, गोरखा, लमजुङ र पूर्वका विभिन्न  जिल्लामा निधारमा सेतो टिका र पहेलो जमरा लगाएका मानिस जततातै देख्न पाईन्छन् ।

 

आदिवासी जनजातिले दसैं मनाउने कि नमाउने भन्ने विषयमा अहिले पनि थुप्रै बहस चलिरहेका छन् । दसैं हाम्रो पर्व हुँदै होइनन्,  तर,फरक पर्दैनदेखी हाम्रो असली पर्व दसै हो भन्नेसम्मका मत आइरहेका छन् । जसले जे भने पनि उहिलेदेखी दसैं मान्ने आदिवासी जनजाति थुप्रै छन् ।

उनीहरुले आफ्नै मुल्य मान्यता अनुसार दसैंमा सेतो टिका लगाउने गरेका छन् । आदिवासी जनजातिहरुको हरेक शुभ कार्य गर्दा दहिमा चामल मुछेर सेतो टिका लगाउने चलन छ । त्यही भएर उनीहरुले दसैंमा पनि दहिमा मुछेकै सेतो टिका लगाउने गरेको धेरैको भनाई छ । ‘आदिवासी जनजातिहरुका हरेक शुभकार्यक्रमा सेतो टिका लगाउनैपर्छ, उनीहरुकोमा सकभर रातो टिका चल्दै चल्दैन’ हिमाली साँस्कृतिक परिवार पोखराका सचिव धर्म गुरुङ भन्छन्‘उनीहरुले दसैंमा सेतो टिका लगाउनु अर्को कारण नहोला ।’

केही वर्ष पहिले मगरहरुले दशैंलाई आफ्नो पर्व नभएको भन्दै बहिष्कार गरेका थिए । तर, पनि धेरै मगरहरुले अझै दसैं मान्दै आएका छन् । उनीहरुले पनि दशैंका बेलामा सेतो टिका निधारमा र कानमा पहेँला जमरा लगाउने गरेका छन् । केही मगरले दशैंलाई आफ्नो चाड नमाने  पनि गोरखा मनकामनाका मगर पुजारीले दशैंको टिका हनुमानढोकामा नपठाएसम्म सर्वसाधारणका लागि टिका खुल्दैन । केही मगरहरुले दशैं आफ्नो पर्व नभएको बताए पनि आफ्नो पुर्खाले सदियौदेखी दसैं मनाउँदै आएको श्याम थापामगरको भनाई छ । ‘हामीले परापूर्व कालदेखी नै दशैं मान्दै आएका छौं, यो पर्व हामी निरन्तर मानिरहनेछौं’ उनी भन्छन्‘फरक यत्ति हो अरुले रातो टिका लगाउँछन्, हामी सेतो लगाउँछौं ।’

इतिहासमा लेखिए अनुसार १६ औं शताब्दीमा गोरखा जिल्लाको लिङलिङकोट (लिगलिगकोट) का घलेमगरहरुले राजकाज चलाएका थिए । त्यो बाहेक अन्य थुप्रै स्थानमा मगरहरुले ससाना राज्य संचालन गर्थे । लिङलिङकोटका मगरहरुले प्रत्येक दशैंमा नयाँ राजा चुन्ने गर्थे । दशैंका दिन लिङलिङकोट भन्दा निकै तल रहेको चेपनदीको किनारबाट दौड सुरु हुन्थ्यो । दौडमा जो प्रथम हुन्थ्यो  त्यो एक वर्षका लागि राजा हुने चलन थियो । विसं. १६१६ मा दशैंकै दिनमा द्रव्य शाहले केही मगर र ब्राह्मणसँग मिलेर राजा बन्न दौडिएका मगरहरुलाई षडयन्त्र गरि आफू राजा भएकाले दसैंमा उनले बिजयको प्रतिकको रुपमा रगतको रातो टिका लगाए । (इतिहासमा यस्तो भनिए पनि द्रव्य शाहले विसं १६१५ को चैते दशैंमा लिङलिङकोट जितेको हुनुपर्छ । उनले लिङलिङकोट जितेको १५ दिनपछि गोरखाका मानसिंह खड्कामगरको हत्या गरि राज्य आफ्नो हातमा लिएका थिए । यो तथ्यले विसं १६१६ को बडा दशैंमा लिङलिङकोट जितेको भन्ने तथ्यसँगत देखिदैन । बडा दसैं र चैते दशैं मानिने भएकाले द्रव्यले लिङलिङकोट जितेको चैते दशैंमा हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।)

मगरहरुले पनि यो दुःख दिनलाई सम्झिनको लागि सेतो टिका लगाए भन्ने भनाई छ । तर, यो भनाईसँग गहिरो अध्ययन नहुनुले त्यति भरपर्दौ तथ्य मानिदैन । १६१६ भन्दा धेरै अगाडी यो पर्व मनाईदै आईएको हो । ‘दशैंको दिनमा हाम्रो राज्य खोसिएको हो रे, हाम्रो राज्य जित्नेले रगतको रातो टिका लगाए त्यति भएर यसलाई कहिल्यै नबिर्सिने घटनाका रुपमा सम्झन मगरले सेतो टिका लगाएका थिएरे’ बुटवल मधौलियाका विरेन थापामगर भन्छन्‘त्यही भएर हामी पनि दशैंका बेला सेतो टिका नै लगाउने गरेका छौं ।’ 

दसैं आदिवासी जानजातिले मान्ने कि नमान्ने, माने पनि रातो टिका लगाउने कि सेतो टिका ? यसबबारे अहिले पनि बसह भइरहन्छन् । केही आदिवासी जनजातिले दसैंकै दिनमा आफ्नो राज्य खोसिएकोले यो दिनलाई दुःखत रुपमा भए पनि सम्झिन सेतो टिका लगाउने गरिएको बताउँछन् । तर, इतिहास एवं सँस्कृतिविद प्राज्ञ डा. जगमान गुरुङको तर्क निकै फरक छ । ‘आदिवासी जनजातिहरु उल्टो दिशातिर गइरहेका छन् । असली दसैं हाम्रो हो । दसैंका बेला लगाइने टिका पनि रातो हो’ उनी भन्छन्,‘दसैंमा मौलोमा राँगा ढालेर त्यसको रगतमा चामल मुछेर टिका लगाउने चलन हाम्रो हो । अहिले गलत प्रचार भइरहेको छ ।’ डा. गुरुङका अनुसार दशैंका बेला दुर्गा सुरु भएपछि मगर पूजारी उपासना बस्ने, उसकी श्रीमतीले नुवाइधुवाइ गरेर भातीको जाँडा राख्ने अनि कालरात्रीमा मगर पूजारीले भातीको जाँड नचढाइ दशैंको टिका नखुल्ने भएकाले मगरहरुको असली पर्व नै दसैं हो । उनले कुरै नबुझी, इतिहासलाइ अरुको लहैलहैमा लागेर बिगार्दा पनि मगर लगायत थुप्रै आदिवासी जनजाति भुलभुलैयामा रहेको दावी गरे ।

प्राय इतिहासविद् एवं प्राध्यापक डा. दिलबहादुर क्षेत्रीले पछिल्लो समयमा आदिवासी जनजातिहरुले लगाउँदै आएको सेतो टिका नै असली दशैंको टिका भएको बताउँछन् । पशुपालन र कृषी पेशा गरेर बस्ने पहाडी मुलका आदिवासी जनजातिहरुले पहिलेदेखीन दहीमा चामल मुछेर सेतो टिका लगाउने चलन रहेको उनको तर्क छ । डा. क्षेत्रीका अनुसार पछिल्लो समयमा साम्प्रादायिक भावना भएका केही व्यक्तिहरुले दशैंका बेला हिन्दुले रातो टिका लगाउने, बौद्धमार्गीहरुले सेतो टिका लगाउने गरेका छन् भन्ने भ्रम फैलाईएको छ । त्यति मात्रै हैन प्राय आदिवासी जनजातिलाई दशैं आफ्नो पर्व हैन भन्ने समेत पारिएको छ । परापूर्वकालमा पहाडी ईलाकामा बढी दशैं मानिने भएकोले यो पर्व कतैबाट नआएर यही मनाउने गरिएको पर्व हो । त्यसैले दशैं सम्पूर्ण नेपालीहरुको पर्व भएको उनी दावी गर्छन् । ‘म आईएमा पढ्दा समेत दशैंमा सेतो टिका लगाउँथे, तर पछिपछी नेवारहरुले व्यापार गर्ने शिलशिलामा रंगिविरंगी बनाउने टिकामा रंग हालेर लगाउने चलन ल्याएका हुन्’ डा. क्षेत्री भन्छन्‘दशैंमा लगाईने असली टिका भनेकै दहिमा चामल मुछेर लगाउने गरिन्छ, सेतो टिका गुरुङ, मगर लगायत जनजातिले लगाउँछन्, बाहुनले रातो टिका लगाउँछन् भन्नु गलत हो ।’

इतिहासविद् डा. क्षेत्रीले दशैं पर्व बिजयको प्रतिक हो भन्ने कुरासँग पनि सहमत छैनन् । उनले यो पर्वलाई विभिन्न घटना, सन्दर्भहरुलाई जोडेर कृत्रिम र हावादारी बनाईएको बताउँछन् । ‘रातो रंगको आविष्कार भएको केही शताब्दी मात्रै भयो’ उनी भन्छन्, ‘दशैंसदियौं पहिलेदेखी नेपालीले मान्दै आएका हुन् ।  त्यतिबेला  दशैंका बेला सबैले दहीमा चामल मुछेर सेतै टिका र पहेला जमरा लगाउने गरेको थिए ।’

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %