–नन्दवहादुर घर्तीमगर
जातीय मुक्तिको दर्शन र विचारको जगमा विसं २०४८ सालमा पार्टी निर्माण भयो । सो पार्टीको संस्थापक महासचिव नेता गोरेवहादुर खपांगी । नेपाल मगर सँघको सर्वोच्च पद पनि २०४८ सालमा नेता खपांगीको काँधमा आयो । यसरी जाती र पार्टीमा खपांगी विचारधारा झाँगिनथाल्यो । खपांगी विचारधारा झाँगिदै जानुको दूरगामी प्रभाववारे वाह्य शक्तिलाई आँकलन हुनथाल्यो । जाती र पार्टीवाट नेता खपांगीलाई अलग गर्ने मात्र वाह्य शक्तिको अन्तिम लक्ष्य र उद्देश्य थिएन । खपांगी विचारधारा र भौतिक शरीर समेत ध्वस्त पार्ने रणनीतिको यात्रा तय भयो ।
१४–१६ भदौ २०५९ राजमुपाको राष्ट्रिय परिषदको दोश्रो सम्मेलन ललितपुरको जावलाखेलस्थित महिला विकास प्रशिक्षण भवनमा सम्पन्न भयो । सो सम्मेलनको समापन मन्तव्य दिने क्रममा अध्यक्ष थापा भन्छन्, “पार्टीमा कसैले पनि जातीय सवाल उठाउन पाइदैन । उठाउनेले पार्टी छोड्नू, जातीय कुरा गर्नेले जातीय संगठनमा वस्नू ।” यो थियो अध्यक्ष थापाको विचार र दर्शनमा विचलन । वाह्य शक्तिको पहिलो वैचारिक आक्रमण गरेको दिन थियो यो । यो विचलनसहितको अभिव्यक्ति २०५९ साल भदौ १६ गते वेलुकाको समापनको दिन थियो । अर्को दिन केन्द्रीय समितिको वैठक वस्यो । उपस्थित केहि पदाधिकारी तथा सदस्यहरुले अध्यक्ष थापाको उपरोक्त अभिव्यक्तिवारे प्रश्न उठाए । थापावाट जवाफ आयो, “अध्यक्ष पद त्याग्न तयार छु तर गल्ती स्वीकार्न सक्दिन ।”
पार्टीको गुदी कुरा झिकिदियो भने खपांगीको मृत्यु हुन्छ भन्ने कुरा वाह्य शक्तिको गहिरो अध्ययन र निश्कर्ष थियो । खपांगीको मृत्यु हुन्छ भन्नुको अर्थ खपांगीले पार्टी छोड्छ । यो सटिक निश्कर्षलाई अध्यक्ष थापाको माध्यमवाट प्रयोगमा ल्याइयो । ३ माघ २०५९ मा प्रकाशित स्पेशटाइम दैनिक पत्रिकाको ‘अग्रगामी राष्ट्रवाद’ शिर्षकको लेखमा राजेश्वर देवकोटाले भन्छन्, “जातिको नाममा संगठन खडा गरेर धेरै दिन कोहि टिकिरहने सम्भावना क्षीण हुदैछ ।” नेता खपांगी र खपांगी विचारधाराको सन्दर्भलाई इंगित गरी विश्लेषण गरिएको लेख थियो यो । यो लेखको सक्कल अर्धकट्टी अझै हामीसँग सुरक्षित छ । यो वेला राजेश्वर देवकोटा राष्ट्रवादी मोर्चाको अध्यक्ष थिए र उपाध्यक्षमा एमएस थापा । उक्त मोर्चामा आवद्ध भई उपाध्यक्ष पदमा बसेको पार्टीलाई थाहा थिएन । पछि यो कुरा वाहिर खुल्दै गएपछि पार्टीभित्र खुवै खैलावैला मच्चियो ।
राजा ज्ञानेन्द्रले २०५९ सालमा तत्कालीन देउवा सरकार विघटन गरी नयाँ सरकार निर्माणको लागि स्वच्छ छवि भएका व्यक्तिहरुको सिफारिस पठाउन अस्तित्वमा रहेका सवै दलहरुलाई आव्हान गरे । एकजना सिफारिस गरि पठाउनू भनि त्योवेला राजमुपालाई पनि दरवारवाट पत्र आयो । अध्यक्ष एमएस थापा लगायत पदाधिकारीहरु सरकारमा जान तछाडमछाड गरेपछि १२ जनाको सिफारिस अध्यक्ष थापाको हस्ताक्षरमा दरवारमा पठाइयो । १२ जनाभित्र एमएस थापा र नेता खपांगीलगायत पदाधिकारीहरु पर्दछन् । ती १२ जनामध्ये नेता खपांगी मन्त्रिपरिषदको सदस्य पदमा चयन हुनुभयो । तत्कालीन विद्यमान राजनीतिक परिस्थितिलाई अध्यक्ष थापाले वाह्य शक्तिको लक्ष्य एवं रणनीति अनुरुप पार्टी पंक्तिमा दुष्प्रचारमा खुवै खटे । खपांगीकै मन्त्रीकालमा दशै आयो । दशै टिकाको मुद्धालाई गलत दिशातिर अतिरञ्जित गर्न अध्यक्ष पदवाट थापाले राजीना दिएको मिडियावाट सार्वजनिक गराए । अध्यक्ष पदमा पुनः आफै फिर्ता भए । दशै टिका र राजावादी मुद्धा संसारभर भ्रमजाल झाँगियो ।
राजेश्वर देवकोटाले आफ्नो लेख मार्फत सार्वजनिक गरेको एक वर्षपछि २०६० साल पौषको, च.नं. १८-०६०-०६१ मा ‘पलायनवादी खपांगीको विश्वासघाती कृयाकलाप’ शिर्षकको परिपत्र देशभर पार्टी नेतृत्व र कार्यकर्ताहरुमा एमएस थापाले वितरण गरे । परिपत्रमा भनिएको छ, “मन्त्री कार्यकालमा पार्टी र कार्यकर्तालाई सहयोग नगरेको, कुनै जात विशेषको मात्र अराजनीतिक रुपमा विरोध र खिल्ली उडाई मुलुकमा साम्प्रदायिक सदभावमा खलल पार्ने दुष्प्रयास गर्नुको साथै पार्टीलाई साम्प्रदायिक पार्टीको रुपमा वदनाम गराउने कुचेष्टा गरेको, पार्टीको सिफारिसमा मन्त्री भएकोमा आफु पार्टीको तर्फवाट होइन मगर समुदायवाट मन्त्री भएको दावी गरेको ।”
पार्टी कार्यकर्ता र नेतालाई खपांगीवाट अलग गर्ने वाह्य शक्तिको रणनीतिसँग सम्वन्धित कदम थियो, थापाको यो परिपत्र जो पूर्ण रुपमा सफल भयो । १२–१६ फागुन २०६० को नेपाल मगर सँघको आठौं महाधिवेशन कैलालीवाट नेता खपांगीलाई सदाको लागि मगर जातीवाट अलग गर्न एमएस थापाले आफ्नो नजिकका कार्यकर्ताहरुलाई परिचालन गरे र सफल भयो पनि ।
विसं २०६५ मा पार्टी एकीकृत भएको २ वर्षपछि विसं २०६७ मा राजमुपाको चौथो महाधिवेशन भयो । पार्टीको निर्वाचनमा नेता खपांगीको पराजय भएपनि प्रजातान्त्रिक मूल्य र मान्यता अनुरुप पार्टीमा निरन्तर खटिरहने समापन कार्यक्रमको भाषण मार्फत नेता खपांगीको प्रतिवद्धता भयो । यो प्रतिवद्धता प्रत्येक्ष सुन्न पाएपछि उपस्थित नेता तथा कार्यकर्ताहरुको तालीले हल गुञ्जायमान भयो । तर, पार्टी कार्यकर्ता र जनताको भावनाविपरित पार्टीको पहिलो वैठक (३–५ वैशाख २०६८) ले महाधिवेशनको चुनावमा हारेकाहरुलाई पार्टीको सदस्य पदमा मनोनयन नगर्ने निर्णय ग–यो । यो निर्णय भनेको नेता खपांगीलाई पार्टीवाट निश्कासन थियो । यो निश्कासन वाह्य शक्तिको दवावको परिणाम थियो ।
पार्टी संगठन र जातीवाट नेता खपांगीलाई अलग गरी खपांगी विचारधारालाई ध्वस्त पार्नुले मात्र वाह्य शक्तिलाई धित मरेन । नेता खपांगीको हर पाइला पाइलामा पिछा भइरह्यो । नेता खपांगीको भौतिक शरीर समाप्त पार्ने जुन अन्तिम लक्ष्य एवं रणनीति थियो । त्यो २०७० साल वैशाख १२ गतेको मोटरवाइक ठक्करवाट सदाको लागि टुंगो लाग्यो । खपांगी विचारधारा ध्वस्त पार्न वाह्य शक्तिले उर्जा खर्च गरिरहेको स्वयम् नेता खपांगीलाई थाहा थियो र हामीलाई पनि । तर, भौतिक शरीरमाथि यसरी पिछा गरिरहेको छ भन्ने कुरा न नेता खपांगीलाई ज्ञान भयो न हामीहरुलाई । यो हाम्रो गम्भिर त्रुटि र लाहापरवाही थियो । यहि लाहापरवाहीको कारण मोटरवाइक घटना घट्यो ।
इन्दिरा गान्धी हत्यापछि खालिस्तानको विद्रोहको औचित्य समाप्त । राजीव गान्धीको हत्यापछि श्रीलंकाको तमिल विद्रोहको औचित्य समाप्त । नेपालको राजसंस्था अन्त्यपछि माओवादी जनयुद्धको औचित्य नरहेको पश्चिमाको निश्कर्ष । जाती र पार्टीवाट एकपछि अर्को गरी नेता खपांगीलाई अलग गर्ने र खपांगी विचारधारा ध्वस्त पार्दै विसं २०७० को मोटरवाइक ठक्करपछि नेपालको जातीय संघ संगठन र राजमुपालाई उर्जा दिने वाह्य शक्तिको औचित्य समाप्त भयो । त्यसैले जनजाती महासँघ लगायत जातीय संघ संगठनहरुलाई दाताहरुले उर्जा नदिएपछि ती संघ संगठनहरु भूईमा लत्रेका छन् । राजमुपाको दशा पनि भूईमा लत्रेको अवस्था छ ।
वाह्य शक्तिको अन्तिम लक्ष्य पूरा गरि दिएपछि एमएस थापा सेफलेन्डिङको खोजीमा छन् । उनी विनाशर्त अशोक राईको पार्टीमा राजमुपा विलय गराउन न्वारानदेखिको वल लगाइरहेका छन् । भावनाको कोणवाट हेर्दा यो कदम ठिकै लाग्ला । तर, विचार, सिद्धान्त र दर्शनको कोणवाट जाँच्ने हो भने यसको कुनै अर्थ छैन । यो एमएस थापा लुक्ने दुलो मात्र हो ।
(घर्तीमगर राजमुपाको पूर्ब नेता तथा चौथो महाधिवेशनका निर्बाचित के.स हुन)