देबिका घर्ती मगर
दाङ, असोज ५ । आदिवासी जनजाति नेता राजकुमार लेखीले तराई र पहाडमा समान प्रदेश निर्माण गरिएको बताएका छन । नेपालका आदिवासी जनजाति समूदायले नाम मात्रको संघियता नखोजेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दाङले आज आईतवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै लेखीले नेपालको आधा जनसँख्या बोकेको तराईमा पहाडी क्षेत्रमा जत्तिकै प्रदेशहरु समानरुपमा निर्माण गरिनुपर्ने बताए । संघियताको माग समानताका लागि, अधिकार प्राप्तीका लागि र विकासका लागि गरिएका कारण संघियतालाई तराईमा एक वा दुई प्रदेशमा मात्र सिमित गर्न नहुने बताए । तराई एक प्रदेश बनाईएमा थारु आदिवासीको छातिमा गोली ठोकेसरह हुने लेखीको भनाइ थियो ।
यहाँका आदिवासी जनजाति, पिछडिएको समूदायले नाम मात्रको संघियता नभएर अवसरसहितको संघियताको माग गरेको बताए । नेपाल आदिवासी जनजाति महासंघका पुर्व अध्यक्ष समेत रहेका लेखीले संघियताको अर्थ भनेको अवसरको ढोका भएको बताउँदै अहिले संविधानसभामा संघियतालाई नामका रुपमा मात्र ब्याख्या गरिएको बताएका थिए । संघियताको अर्थ भनेको नाम मात्र होईन । संघियता अवसरका निम्ती ढोका हो । विकासको बाटो हो, सबैलाई अधिकार दिने राज्यको शासन प्रणाली हो, नेता लेखीको भनाइ थियो । संघियता, राज्य पुर्नसँरचनाका विषयमा अहिले चलिरहेको चलखेलले कसैलाई पनि हित नहुने बताउँदै लेखीले मुलुकलाई शान्ति, सुब्यवस्था र अवसरको खाँचो भएकाले संघियता र प्रदेश निर्माणका विषयमा अलमल नहुन समेत लेखीको आग्रह थियो । ‘यदी सहज ढँगले अधिकार, सेवासुबिधा दिने हो भने प्रदेश बनाउन कुनै कञ्जुस्याई गर्नु हुँदैन, यहाँ अहिले ७५ जिल्ला चलेकै छ भने, प्रदेशको सँख्या धेरै बनाउन किन कञ्जुस्याई गर्ने ? संविधान जारी गर्ने समय नजिकिदै गर्दा अहिले विभिन्न अन्तराष्ट्रिय शक्तिहरुको चलखेल बढेको भन्दै लेखीले ति शक्तिहरुको सिमित स्वार्थका निमित्त पहिलो संविधानसभाको नियती दोस्रो संविधानसभाले भोग्नुपर्ने हो की भन्ने आशँका उब्जीएको ब्यक्त गरे । जसले गर्दा पछाडी परेका समुदायलाई अधिकार नदिने आशँका उब्जीएको लेखीको भनाई थियो । यदी तराईमा एक वा दुई प्रदेश मात्र बनाएमा तराईमा ठुलो आन्दोलन चर्कन सक्ने सम्भावना भएको बताउँदै लेखीले तिहार र छठ पर्वपछि तराईका थारु समुदायले दोस्रो थारु आन्दोलनको शुरुवात गर्ने बताए । थारु आन्दोलन नगरिकन तराईका थारु आदिवासीले अधिकार प्राप्त गर्न नसक्ने लेखीले बताए ।
आदिवासी जनजाती समुदायका सिमित केही गलत मानसिकता भएका ब्यक्तिहरुका कारण समग्र आदिवासी जनजाती आन्दोलनलाई गलत रुपमा बुझ्ने काम भएको बताउँदै राष्ट्रिय नागरिक पार्टीका अध्यक्ष समेत रहेका लेखीले ति ब्यक्तिहरुका कारण समग्र आदिवासी जनजाती आन्दोलनलाई गाली गर्न नमिल्ने बताए । नेपालका आदिवासी जनजाती समुदायलाई मधेशी बनाईदा पहाडी क्षेत्रका आदिवासी जनजाती अगुवाहरु कोहीपनि बोल्न नसक्नु विडम्बना भएको बताउँदै लेखीले जनजाती केही अगुवाहरुका कारण संघियता र प्रदेश निर्माणका विषयमा समेत समस्या उत्पन्न भएको बताए । फोनिज दाङका अध्यक्ष देविका घर्ती मगरको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सन्तोष दहितले गरेका थिए ।