दिल प्रसाद थापा
नेपालमा राणा शासनकाल देखिनै देशलाई सजक र जनतालाई सहि दिशा तिर उन्मुख बनाउन पत्रकारिताको ठुलो भुमिका रहेको कुरा कसैले नकार्न सक्दैन । देशको हरेक जनआन्दोलनमा चाहे त्यो २००७ सालको आन्दोलन होस या २०४७ सालको, २०६२/०६३को जनआन्दोलनमा होस यस्ता महान परिवर्तन गराउन पत्रकारिताले अहम भुमिका खेलेको थियो ।आउने दिनमा पनि यस्ता भुमिका निर्वाह गर्न पछि पर्ने छैन ।
आजको दिनमा आइ सक्दा नेपालमा पत्रकारिता भनेको देशको चौथो मुख्य अङ्ग अथवा मेरुडण्ड हुन पुगेको छ । यसले देश र जनताको विकासको लागि आफ्नो क्षेत्रबाट गर्नु पर्ने भुमिका वा दायित्व निर्वाह गर्दै आएको सबैलाई थाहा भएकै कुरा हो । राजाकालिन सामयमा राजाले प्रेस स्वतन्त्रता माथी हस्तक्षेप गरेकै हो र न्यायीक समाचार तथा निष्पक्ष समाचार माथी जवरजस्ती आफु अनुकुल समाचार र प्रचारात्मक क्रियाकलाप प्रसारण गर्ने काम भएकै हो ।
त्यती हुदाँ हुदै पनि नेपालमा परिवर्तन चाहने पत्रकारहरुले जनतालाई सजक र सहि सूचना दिन लागि रहे । अन्तरिम संविधान २०६३को अनुसार आज देश संघिय लोकतान्त्रिक गणतन्त्र राज्य भइसकेको अवस्था छ । नेपाली जनता विभिन्न कालखण्डबाट गुज्रिएर आइरहेको अवस्थामा जनताले स्वतन्त्रताको आभाष गरिरहदा प्रेस जगतमा त प्रेस स्वतन्त्रता नआउने कुरै भएन ।
आजको दिन सम्म आउदा देश लोकतन्त्रीक गणतन्त्रको अभ्यासमा आइपुग्दा पत्रकारिता क्षेत्रमा व्यापक्ता आउनका साथै प्रेस स्वतन्त्रताको अनुभव लिन सकिन्छ । देशमा मिडिया हाउसहरु च्याउ उम्रिए झै छ्यास छ्यासी पाउन थालिएको छ । यसरी मिडिया क्षेत्रमा व्यापक्ता हुनु भनेको सकारत्मक कुरा हो यसले के बुझाउदछ भने देशका नागरिकहरु कत्तिको सजक छन र कत्तिको शिक्षित छन भन्ने कुरा देखिन्छ । प्रेस स्तन्त्रताको कुरा गरिरहदा अहिले को परस्थितीमा प्रेसहरु हदै सम्म छाडातन्त्र हुन पुगेको छ । पत्रकारितामा चाहिने समाजिक उत्वरदायित्व भन्ने महत्वपुर्ण कुरालाई विर्सिन पुगेको जस्तो देखिन्छ । तथ्य विश्लेषण गर्दा समाजिक जिम्मेवारी पक्षलाई भुल्न पुगेको जस्तो देखिन्छ ।
पत्रकारले बढी व्यावसाहिक हुन खोज्दा आजकल साप्ताहिक पत्रिका, साना साइजका अखबारमा र अझै बढी अनलाइन खबर साइनहरुमा त अश्लिलता र यौन चित्रणको सिमा नाघ्न पुगेको देखिन्छ । देशमा किन झन भन्दा झनै बलात्कारका समाचार आइरहेको छ भन्ने कुरामा सम्पुर्ण पत्रकार जगतले सोच्नु पर्छ । हामीकहा यौन शिक्षाका नाममा यौन गतिविधी र यौन बस्तुको सस्तो वयान गरिएको पत्रपत्रिका सजिलै पढ्न पाइन्छ । यसले यौन शिक्षाको नाममा यौन गतिविधीलाई बढावा दिने र पाठकलाई असहज र उत्तेजक गराउने विषय प्रस्तुत गर्दा बलात्कार जस्ता घटना बढ्नुको कारण पनि हुन सक्छ । र त्यस्ता समाचार फेरी त्यही पत्रिकामा फलानोले बलात्कार गर्यो भन्ने हेडलाइनमा आइरहेको पनि छ ।
नेपाल बहुभाषी, बहुजाति, बहुधर्म , बहुसस्कृती भएको राष्ट्र भएकोले पत्रकारले विशेष सजक अपानाउन पर्दछ । जातजाति, धर्म, सम्प्रदाय बीच वैमनस्य, हिसा बढाउने समाचारलाई स्थान दिनु हुदैन भनेर प्रेस आचारसहितामा उल्लेख गरिएको छ । सबै सम्प्रदायको आ–आफ्नो दृष्टिकोण राख्न पाउने स्वतन्त्रताको सम्मान गर्नु हो । धार्मिक आस्था चाल चलन र संस्कार ठिक बेठिक भनी मुल्याङ्ककन गर्नु भन्दा व्यक्तिगत आस्था विश्वास फरक फरक हुन्छन भन्ने यथार्थलाई स्विकार गर्नु पर्छ ।
अहिले जल्दो वल्दो समाचार सिके राउतको आइरहेको छ । उस्ले दिएको अभिव्यक्ती प्रति कुनै पनि नेपाली जनतालाई चित्त बुझेको छैन र राष्ट्र विखण्डनको कुरा गर्दा सबै नेपालीलाई रिस उठ्ने नै भयो तर यहाँ निर मिडिया जुन रुपले प्रस्तुत भएरहेको छ लाग्छ मिडियाहरु पनि जानि नजानि उसको कुरालाई झनै प्रचारवाजीमा लागेको देखिन्छ । उसको विखण्डनको कुरालाई झनै प्रचार गरेर हेडलाइनमा लेख्न भ्याएका छन । अझ भनौ पत्रकार आचारसंहिता त पुरै उल्लङ्गघन नै गरेका छन । समाचार सम्प्रेषण गर्दा जुन कुरा प्रयोग गर्न हुदैन त्यही प्रयोग गरेको छ ।
नेपाललाई आमा भनि सम्बोधन गरि सके पछि सिके राउतले त यौन व्यवसायीलाई जे भनेर गाली गरिन्छ त्यस्तो शब्द भनेर लेखिएको भेटियो । तर पत्रिकाहरुमा त्यस्ता गाली गरेको शब्द हुबहु जनता माझ प्रसारण गरिएको छ । नराम्रो लागेको कुरा के हो भन्दा आमाको अगाडि त्यस्ता शब्द प्रयोग कसैले गर्यो तर स्वयम् पत्रिकामा जान अनजानमा त्यस्तो शब्द हाल्न भ्याए । समाचार प्रस्तुत गर्दा गरिने भाषाशैली मर्यादित हुन छोडेको जस्तो देखिन्छ । अरुले उल्लु भन्दा मलाई उल्लु भन्यो भन्दै हिड्दा उ त्यसै उल्लु होइछ भन्ने भइहाल्यो नि । त्यसैले पत्रकार साथीहरु उसले भनेका कुराहरु उसका लागि होलान उसका सोचाई होलान तर हाम्रो लागि होइन भनेर प्रस्तुत भएर देखाउन सक्नु पर्यो नि । अर्को अन्जु पन्तको विषयको समाचार पनि धार्मिक तथा सम्प्रादायिक सदभाव खलल पुर्याउने खालको समाचार पनि नआएको भन्न सकिन्न । सूचना सम्प्रेषण गलत भएको कारणले श्रीषा कार्की आत्माहत्या प्रकरणले नराम्रो स्थिति ल्याएको थियो जसका बारेमा हामी सबैलाई अनुभुति भएको कुरा हो ।
आजकल शभ्य शैलीको ठाउमा आलोचनात्मक नभई आक्रामक शैली प्रयोग हुन पुगेका छन । चरित्र हत्या गर्ने, गाली बेइज्जत गर्ने , विरोधका लागि विरोध गर्ने मनोरञ्जनको नाममा अतिरञ्जन, व्यावसायिकको नाममा बजारमुखी , राजनितिक भ्रमका जस्ता कुराले बढी स्थान पाउन थालेका छन ।
यस्ता धेरै उदाहरणहरु छन त्यसलाई नियमित सम्बन्धीत निकाय प्रेस काउन्सिलले नियन्त्रण गर्नु पर्ने हो । पत्रपत्रिकामा आचारसंहिताको क्रियाकलाप अनुगमन गर्ने निकाय प्रेस काउन्सिलको अध्यक्षको मनोनयननै राजनीतिक परिवेशबाट मुक्ति हुन सकेको छैन अब कसरी उसले कारवाही गर्छ । जनचेतनाको स्तर कम भएको जातीय एवम् सास्कृतिक धार्मिक विविधता भएको हाम्रो मुलुकमा पत्रकार संवेदनशील पक्ष सित सधै सचेत हुनु पर्छ ।