मुक काजी(काजी) गुरुङ, हङकङ
०९,सेप्टेम्बर २०१४ का दिन याउ मा तेई स्थित कम्यूनिटी हलमा हङ्ग्रीआई फिल्म प्रोडक्शनको पहिलो प्रस्तुति नेपाली कथानक चलचित्र “अन्जुली” अपार सफलताका साथ प्रदर्शन भएको छ ।
चलचित्र प्रदर्शन गर्नु अगाडि छोटो औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो भने सो अवसरमा अन्जुली चलचित्रका हङकङ निर्माताहरु गौरव कुमार गुरुङ, युवराज गुरुङ, कोमल (स्याङ्जाली) कान्छा गुरुङ र बिकाश गुरुङलाई मञ्चमा अतिथ्य प्रदान गरिएको थियो । यसैगरि नेपालबाट आमन्त्रित सोहि चलचित्रका निर्देशक नौजंग गुरुङ, नायिकाहरु सविना गुरुङ र कविता गुरुङ लगायत हङकङ निर्माता गौरव कुमार गुरुङको पूज्यनिय पिता (ज्येष्ठ) नागरिक रुद्र बहादुर गुरुङ र अर्का निर्माता युवराज गुरुङको पूज्यनिय माता(ज्येष्ठ) नागरिक पूर्ण कुमारी गुरुङलाई पनि मञ्चमा अतिथ्य प्रदान गरिएको थियो भने प्रायोजकको रुपमा टप माउन्टेन तेक्वान्दो एशोसिएसनका मास्टर गणेश गुरुङलाई पनि मञ्चमा आसीन गराएका थिए ।
नमो: बुद्ध आमा समूहको तर्फबाट मञ्चमा आसीन अतिथिहरुलाई खादा लगाई सम्मान गरिएको थियो भने ज्येष्ठ नागरिक रुद्र बहादुर गुरुङ र पूर्ण कुमारी गुरुङद्वारा निर्माता, निर्देशक तथा नायिकाहरु र प्रायोजकलाई आशीर्वाद स्वरुप खादा लगाईदिएका थिए । यसै प्रसंगमा चलचित्र प्रदर्शन गर्नको लागि कार्यक्रमलाई प्रायोजन गर्नु हुने मास्टर गणेश गुरुङलाई निर्माता कोमल कान्छा गुरुङले प्रशंसा पत्र प्रदान गरेका थिए । कार्यक्रमलाई मञ्चमा आसीन अतिथिहरुले सामूहिक रुपमा रिबन काटेर उद्घाटन गरेका थिए भने अन्जुली चलचित्र का निर्देशक नौजंग गुरुङ र निर्माताहरुको तर्फबाट कोमल कान्छा गुरुङले चलचित्र हेर्न पाल्नु भएका दर्शक महानुभावहरुलाई धन्यवाद ब्यक्त गरेका थिए । साथै चलचित्र प्रदर्शन गर्नमा प्रत्यक्ष,अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण ब्यक्तित्वहरुलाई पनि धन्यवाद ब्यक्त गरे ।
यसैगरि वरिष्ठ गीतकार, संगीतकार, गायक, संस्कृतिकर्मी एवं चलचित्र निर्देशक स्व. लोक बहादुर गुरुङको केहि दिन अगाडि मात्र असामयिक निधन भएकोमा यस दुखद घडीमा मृत आत्माको चिर शान्तीको कामना तथा हार्दिक श्रद्धाञ्जली सहित एक मिनट मौन धारण एवं शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शाक्ति मिलोस भनी भगवानसंग प्रार्थना गर्दै हार्दिक समवेदना पनि ब्यक्त गरेका थिए ।
नेपाली कथानक चलचित्रमा आधारित यस चलचित्रमा धनी र गरीब बीचको सम्बन्धलाई जोडेको छ भने यस चलचित्र नेपालकै सुन्दर पर्यटकीय शहर पोखरा र कास्कीको लान्द्रुक गाउंमा छायाङ्कन गरिएको देखिन्छ । चलचित्रमा नायक सोम गुरुङको प्रदर्शन तथा लडाई क्रियाकलाप (Action) ले दर्शकहरुको मन छुन सफल भएको छ भने नायिकाहरु सविना गुरुङ र कविता गुरुङको भूमिकाले पनि कुनै कमी ल्याएको देखिदैन ।
अन्तमा, चलचित्र प्रदर्शन पश्चात दर्शकहरुको प्रतिक्रियाबाट चलचित्र उत्कृष्ट नै भएको बुझिन्छ भने हङ्ग्रीआई फिल्म प्रोडक्सनको प्रथम प्रस्तुति अन्जुली हङकङमा अपार सफलताका साथ प्रदर्शित भएको छ ।