संस्कृति खोज्दै मगर सुन्दरी

Read Time:7 Minute, 45 Second

मनोज घर्तीमगर  

पश्चिम डडेलधुराकी सृजना सलामीमगर नयाँ मान्छे देख्यो कि मगर ढुँट (भाषा) मा कुरा गर्न तम्सिन्छिन् । मिस मगर नेपाल–२०१४ मा कैलाली अडिसनमा छानिएर पोखरा आएकी उनी यतिबेला आफ्नै मातृभाषा सिक्न धम्मरधुस लागिरहेकी छिन् । प्रशिक्षणमा होस् वा होस्टल । साथीभाइसँग हिड्दा होस् वा कोरियोग्रफरसँग । जानिनजानी मगर ढुँटमै गफिन मन पराउँछिन् उनी । भन्छिन्,‘बाबा आमाले बोल्नु भएन, मैले जान्ने कुरै भएन । बल्ल भाषा सिक्ने मौका पाएँ ।’

उनी मात्रै होइन, पूर्वदेखि पश्चिम सम्मका ३० जना मगर युवति आफ्नो भाषा, सँस्कार, सँस्कृति, रितिरीवाज लगायत थुप्रै ज्ञान सिक्न लालायित छन् पोखरामा । एकरङ्गी टिसर्टमा चिटिक्क । उस्तैउस्तै उमेरका युवतीहरु संचारकर्मी तथा कोरियोग्राफर सुरज थापामगर र अनिताले संकेत गर्नासाथ विभिन्न भावभंगीमा कम्मर मर्काउँदै क्याटवाक गर्छन् । मगर ढुँटमा आफ्नो नामथर, ठेगाना, लक्ष्य र रुची सुनाउँछन् । तीन हप्तादेखी पोखरा भइरहेको बन्द प्रशिक्षणमा मिस मगर नेपाल–२०१४ का प्रतियोगीहरुको दिनै यसरी गुज्रदैँछ । धेरैलाई मातृभाषा सिक्ने रहर पलाएको छ । ‘मगर भाषा हुन्छ भन्ने थाहै थिएन, अहिले त हल्का बोल्ने भइसकेकी छु’ चितवनकी कोपिला थापामगर भन्छिन् । 

आफ्नो सँस्कृति र सँस्कार खोज्दै उनीहरु शनिबार कास्कीको उत्तरि बेल्टको भराभरीस्ति मगर गाउँ पुगे । नेपाल मगर संघ कास्कीका अध्यक्ष एवं कार्यक्रम संयोजक पूर्ण रानामगरले त्यहाँको विविधसँस्कृतिबारे प्रतियोगिलाई धेरै बुझाए । मगर कला र संस्कृतिसँगै थुप्रै कुरा बुझेपछि धरानकी सरुपा थापामगरले मगरको स्वभाव र शैलीको प्रशंसा गरिन् । ‘मगरहरु मनमा कुरा नलुकाउने खालका हुन्छन् भन्थे्, आज आफैले अनुभव गरेँ’ मुसुक्क हाँसेर कपाल मिलाउँदै सरुपा भन्छिन्,‘तर आफूलाई मन परेन भने, डाङडुङ पाराका ।’

 

गाउँका प्राय घरमा रहेका मकैको सुली, ढिकी, जाँतो, ओखल, मौरीको घार लगायत पूराना सँस्कार देखेपछि धेरैले उत्सुकतापूर्वक नियाले । त्यसबारे स्थानीयसँग सोधिखोजी गरे । हरेक घरको छेउँमा दिउँसै आगो पुत्ताईरहेको देखेपछि सबैजना त्यतैतिर झुम्मिए । घरैपिच्छे कोदोको रक्सी बनाउने भेटिएपछि उनीहरुले सकारात्मक र नकारात्मक पक्ष केलाउन थाले । ‘जिउँदो हुँदा रक्सी नखाए पनि मरेपछि चढाउँनै पर्दोरहेछ, यो सँस्कार त बल्ल पोख थाह पाएँ’ हेटौंडाकी लक्ष्मी थापामगर भन्दै थिइन्, ‘सँस्कार चलाउनु ठिकै हो । तर, रक्सि खाएर मात्तिने, फजुल खर्च गर्नेहरु छन्, यसबाट चाँहि बच्नुपर्छ ।’

अहिलेको समयमा पनि एकजुट भई संस्कृति र परम्परामा बा“धिएको पुस्ता देख्दा धेरैजना रमाए । तर, संस्कृति र चार्डपर्वका नाममा जथाभावी खर्च गर्ने चलनप्रति म्याग्दीकी उषा पाइजामगरले ठाडै असहपति जनाइन् । ‘संस्कृति बचाउनुपर्छ, तर जथाभावी खर्च गर्ने प्रबृत्तिचाँही रोक्नुपर्छ’  उनको तर्क थियो ।

पश्चिमा पहिरन गर्नेहरु बढिरहेकै बेला अझै पनि आफैले बनाएका भाङ्ग्रा, कछाड, टोपी लगायतका कपडा लगाएका स्थानीय देख्दा मिस मगरका प्रतिस्पर्धाीहरु लोभिए । ‘मगरका परम्परागत पहिरन हराउँदै गएका बेला यहाँ आफ्नै भेषभूषामा सजिएको देख्न पाएँ’ काठमाडौंबाट आएकी विनिता रानामगर भन्छिन्,‘यो सँस्कारले आफ्नो पहिचानलाई बचाइ राख्न सहयोग गर्छ ।’

मणिपाल शिक्षण अस्पताल पोखरामा स्टाफ नर्स भएर पनि मिस मगरमा भाग लिएकी इशाखा थापामगर मगर सुमदायमा रहेका केही नराम्रा सँस्कारको चिरफार गर्नुपर्ने सुनाउँछिन् । नराम्रो सँस्कार खोतल्नुपरे उनी मगर जातिमा मामाचेली र फूपूचेलाबीच चल्ने विवाह परम्परा र लाहुरे सँस्कारलाई अघि सार्छिन् । उनका विचारमा वैज्ञानिक दृष्टिले यो विवाह निकै त्यति फाइदाजनक हुँदैन । ‘संस्कारबारे कुरा गर्दा कसैको चित्त दुख्ला, तर आफ्नै दाजुभाइ–दिदीबहिनी पर्ने सम्बन्धलाई विवाह गरिनु गलत हो’ उनी भन्छिन्,‘एउटै रगत भएकाले बच्चाबच्चिको कमजोर दिमाग, उचाइ कम र अपाङ्ग सुस्त मनस्थिती हुने संभावना पनि हुन्छ ।’

नवलपरासीकी यमकला पुनमगरको भने नितान्त फरक विचार छ । उनले मगरका यीयस्तै विविध सँस्कार, सँस्कृति र रचनात्मक काम नै मगर समुदायको असली संस्कृति भएको दाबी गर्छिन् । ‘हाम्रो कल्चर र परम्परा अरुभन्दा फरक भएरै त मगर हुन पायौं’ उनी भन्छिन् ,‘जेजस्तो भए पनि भाषा र सँस्कार ठिक छ ।’

मगर भाषा, सँस्कृति, रितिरिवाज र संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्येयले गरिएको प्रतियोगिताका ३० सुन्दरीले आआफ्नो  क्षमता यहि शुक्रबारको ट्यालेन्ट शो राउन्डमा देखाउनेछन् । उनीहरु १७ देखी २४ वर्षका हुन् । आफ्नो सँस्कृति संरक्षण, नयाँ प्रतिभालाई ठाउँ दिन  र  विशेष गरि मातृभाषा जोगाउनका लागि गरिएको यो प्रतियोगिता पाँचौ  संस्करण हो । यसको अन्तिम प्रतिस्पर्धा भदौ २८ गते हुँदैछ । उपाधि बिजेताले पियाजिओ स्कुटर, चाँदीको क्राउन, फस्ट रनर अपले ल्यापटप तथा सेकेण्ड रनर अपले एण्ड्ररोइड ट्याबलेट मोबाइल र विभिन्न आकषर्क उपहार पुरस्कार पाउने रिबर्थ इभेन्ट म्यानेजमेन्टका निर्देशक शिव थापामगरले बताए । कार्यक्रम नेपाल मगर संघ कास्कीको आयोजना र रिबर्थ इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा हुँदैछ । प्रतियोगिताको सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %