नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स । नमस्कार उहाँ भगवान अरहन्त सम्यक सम्बुद्धलाई ।
(संकिच्च श्रामणेरको कथा – भाग २)
✍ आरोन तुलाधर
संकिच्च श्रामणेर डाँकाहरूसँग जंगलमा गयो । उनीहरूले जहाँ बस्नु भनेको थियो त्यहाँ बसेर श्रामणेर ध्यानमा लीन भयो । डाँकाहरूले कालिमाईलाई बलि दिन जे जे सार्दाम जोड्नु पर्ने हो तयार गरेर आए । डाँकाहरूको नाइके तरवार लिई ध्यानमा बसिरहेका श्रामणेर कहाँ गयो । तरवारले उसको गर्दनमा प्रहार गर्यो । तर तरवारको धारले उनलाई छुन सकेन । नाइकेले बलपूर्वक फेरि हान्यो । धार दोब्रिएर गयो तर श्रामणेरलाई केही भएन । यस्तो आश्चर्यजनक घटना देखी डाँकाहरूको नाइकेले सोच्न थाल्यो— “यो भन्दा पहिले मेरो यो तरवारले पत्थरको खम्बालाई काट्थ्यो, अगराठको खम्बालाई टाडी बोटको नरम भागलाई काटे झैं काटथ्यो । यो बालकको गर्दनमा पहिलो चोटी हान्दा तरवारको धार दोब्रिएर गयो । दोस्रो चोटी हान्दा टाडी बोटको पात जस्तै चाउरी परेर गयो । चेतना नभएको यस तरवारलाई त यस बालकको गुणको महिमा थाहा रहेछ भने म त चेतना भएको मानिस । मैले कसरी त्यस बालकको गुणलाई सम्झन नसकेको होला !”
यसरी विचार गरी तरवार भूईमा फ्याकेर उसले श्रामणेरको पाउ ढोगी बिन्ति गर्यो— “भन्ते ! हामी धनको लागि यस जङ्गलमा बस्दछौं । हामीलाई देखेर एक हजार मानिसको समूह भएपनि तिनीहरू थर–थर काँप्छन् । दुइ–चार जनाको त कुरै छैन । तपाई एक्लै भएर पनि हामी देखी रत्तिभर पनि डराउनु भएन । आगोमा पोलेको सुवर्ण झैं राम्रो सँग फुलेको कर्णिकार फूल झैं तपाईको अनुहार तेजिलो देखिन्छ । यसको के हेतु हो, के कारण हो ?”
डाँकाहरूको नाइकेको यस्तो याचना युक्त शब्द सुनी संकिच्च श्रामणेर ध्यानबाट उठी उसलाई सम्बोधन गरी भन्यो— “हे गामणी उपासक ! भविष्यका लागि केही आशा नभएकाहरूका लागि चेतसिक दुःख हुँदैन । संयोजन क्षीण भइसकेका ऋषि–मुनिहरू भय–त्रासबाट मुक्त भइसकेका हुन्छन् । आस्रव क्षीण भइसकेका, भव–तृष्णा निर्मूल भइसकेका, यर्थात धर्मलाई साक्षात्कार गरिसकेका अरहन्तहरूको लागि मृत्यु टाउँकोको बोझ निकालेर फ्याके जस्तै हलुका हुन्छन् ।”
डाँकाहरूको नाइके गामणीले संकिच्च श्रामणेरको यस्तो उपदेश सुनी अरू ५०० डाँकाहरू तर्फ हेरेर यसो भन्यो— “मलाई अब घर–गृहस्थमा बस्ने इच्छा भएन । म आर्यहरू कहाँ गई प्रव्रजित हुन जानेछु ।”
उसको कुरा सुनी सबै डाँकाहरूले प्रव्रजित हुने इच्छा व्यक्त गरी श्रामणेरलाई सादर वन्दना गरी प्रव्रज्या मागे । संकिच्च श्रामणेरले तिनीहरू कै तरवारबाट आ–आफ्ना कपाल काट्न लगायो । उनीहरूले लगाई राखेको लुगा टुक्रा–टुक्रा गरी काट्न लगाई पहेलो रङ्गले रङ्गाउन दिई चीवर बनाई लगाउन दियो । अनि तिनीहरूलाई दश शीलमा प्रतिष्ठित गरायो । त्यसपछि संकिच्च श्रामणेर ती ५०० शय प्रव्रजितहरू साथमा लिई ३० जना भिक्षुहरू भएको ठाउँमा गयो ।
श्रामणरे यसरी अद्भूत रूपले जीउँदै फर्केको देखी सबै भिक्षुहरू साह्रै प्रसन्न भई त्यहाँ घटेका घटनाहरूको विषयमा प्रश्न गरे । श्रामणेरले बिन्ति गर्दै भन्यो— “भन्ते ! यिनीहरूले मलाई बलि दिन अनेक प्रयत्न गरे । तर मेरो ऋद्धि–शक्तिका अगाडि यिनीहरूको केही शिप चलेन । अनि मेरो उपदेश सुनी प्रभावित भई प्रव्रजित भए । अब म तथागतको दर्शन गर्न जानको लागि तपाईहरू सँग विदा माग्दछु । तपाईहरू निर्भय भई अप्रमादी बनी श्रमण–धर्म पालन गर्नु होस् ।”
संकिच्च श्रामणेर तिनीहरूलाई साथमा लिई त्यहाँबाट आफ्नो उपाध्याय सारिपुत्र स्थविर कहाँ गयो । उहाँलाई सादर वन्दना गरी जङ्गलमा घटेका घटनाहरूको विवरण बिन्ति गर्यो । त्यसपछि उनी उपाध्यायको आज्ञा अनुसार आफ्ना चेलाहरूका साथ भगवान बुद्ध कहाँ गयो ।
संकिच्च श्रामणेर तथागतलाई सादर–वन्दना गरी एक छेउमा बस्यो । उनको साथमा आएका ५०० प्रव्रजितहरूले पनि तथागतलाई सादर–वन्दना गरी आ–आफ्नो ठाउँमा बसे ।
एक छेउमा बसेको संकिच्च श्रामणेरलाई तथागतले भन्नु भयो—“श्रामणेर ! तिमीले त धेरै चेलाहरू बटुलेर ल्यायौ । होइन र ?”
श्रामणेरले जङ्गलमा घटेका सम्पूर्ण विवरण तथागतलाई सादर बिन्ति गर्यो ।
तथागतले ती प्रव्रजितहरूलाई सोध्नु भयो— “के यी घटनाहरू भएको साँचो हो ?”
तिनीहरूबाट सकारात्मक उत्तर पाएपछि तथागतले तिनीहरूलाई सम्बोधन गर्नु भई भन्नु भयो— “भिक्षुहरू ! तिमीहरूले अरूलाई दुःख दिई डकैति काम गरी दुश्शील भई शय वर्ष बाँचिरहनु भन्दा अहिले तिमीहरू शीलमा प्रतिष्ठित भई एक दिन मात्रै बाँच्नु पनि अति उत्तम हुन्छ ।”
यसै सन्दर्भमा तथागतले धर्म– देशना गर्नु भई यो गाथा प्रकाशमा ल्याउनु भयो—
“यो च वस्ससतं जीवे — दुस्सीलो असमाहितो । एकाहं जीवितं सेय्यो — सीलवन्तस्स झायिनो ।।”
अर्थ— चञ्चल चित्त भई, दुराचारी बनी शय वर्ष बाँच्नु भन्दा शीलवान भई, ध्यानी भई एक दिन मात्र बाँच्नु नै वेश हुन्छ ।
तथागतको यस धर्म–देशनाको अन्तमा ती सबै पाँच शय भिक्षुहरू प्रतिसम्भिदा सहित अरहन्त भए । त्यहाँ जम्मा हुन आइरहेका अरू जनसमूहलाई यस धर्म–देशना सार्थक भयो ।
अधिमुत्त श्रामणेर
संकिच्च श्रामणेर बीस वर्ष पुगेपछि उनलाई उपसम्पदा गरियो । उपसम्पदा भएको दश वर्ष पछि उनले आफ्नो भाञ्जा अधिमुत्तलाई श्रामणेर गरी दियो ।
अधिमुत्त श्रामणेर बीस वर्ष जति भएपछि संकिच्च स्थविरले उनलाई बोलाएर भन्यो— “तिमी तिम्रो आमा–बाबु कहाँ गई ‘यति वर्ष भयो’ भनी पक्कासँग थाहा पाएर आउनु । ‘बीस वर्ष पुगिसकेको रहेछ’ भने म तिमीलाई उपसम्पदा गरी दिन्छु ।
संकिच्च स्थविरको सल्लाह अनुसार अधिमुत्त श्रामणेर आफ्नो आमा–बाबु कहाँ जाँदै गर्दा बीच बाटोमा एउटा ठूलो जङ्गल पथ्र्याे । त्यस जङ्गलमा पाँच शय डाँकाहरू बस्थे । तिनीहरूले उनलाई समातेर कालिमाई कहाँ भोग दिन लगे । त्यस बेला उनले ती डाँकाहरूलाई अनेक किसिमले धर्म–उपदेश दियो । उनको धर्मको कुरा सुनी ती डाँकाहरू प्रभावित भई ‘तिनीहरू त्यस जङ्गलमा भएको कुरा कसैलाई नभन्ने शर्तमा’ अघिमुत्त श्रामणेरलाई छोडी दिए ।
त्यही बेला उनको आमा–बाबु त्यसै जङ्गलको बाटो गरी आफु तिर आइरहेको देख्यो । तैपनि उनले तिनीहरूलाई ‘यहाँ डाँकाहरू छन्’ भनी नभनीकन सरासर गयो । ती दुबैलाई डाँकाहरूले समातेर मार्न लाग्दा ती दुबैले ‘हाम्रा छोरा पनि यी डाँकाहरूको पक्षमा रहेछ’ भन्दै रोई, कराई विलाप गर्न थाले ।
तिनीहरूको विलाप सुनी डाँकाहरूले विचार गरे— “श्रामणेर साँचिकै सत्यवादी रहेछ । आफ्ना आमा–बाबुलाई समेत हामी यहाँ भएको कुरा उनले जानकारी नदिएको रहेछ ।”
त्यस कारण श्रामणेरप्रति तिनीहरूको ठूलो श्रद्धा उत्पन्न भयो । तिनीहरू सबै श्रामणेर कहाँ गई प्रव्रज्या माग्न गए । अधिमुत्त श्रामणेरले ती सबै डाँकाहरूलाई संकिच्च श्रामणेरले गरे जस्तै प्रव्रजित गरेर आफ्नो उपाध्याय संकिच्च स्थविर कहाँ लिएर गयो । संकिच्च स्थविरले श्रामणेर सहित तिनीहरू सबैलाई भगवान बुद्ध कहाँ पठाई दिए ।
अधिमुत्त श्रामणेरले तथागत कहाँ गई सम्पूर्ण विवरण सादर बिन्ति गर्यो ।
भगवान बुद्धले तिनीहरू सँग प्रश्न गर्नु भयो— “के अधिमुत्त श्रामणेरले भनेको कुरो सबै साँचो हो ?”
तिनीहरू सबैले हात जोडेर बिन्ति गरे— “भन्ते, भगवन् ! उहाँले भन्नु भएको कुरो सबै सत्य हो ।”
त्यसपछि तथागतले पहिले संकिच्च श्रामणेरका भिक्षु परिवारलाई जनु गाथा प्रकाशमा ल्याउनु भई धर्म–देशना गर्नु भएको थियो, त्यही गाथा दोहर्याउनु भई अधिमुत्त श्रामणेरका भिक्षु परिवारलाई पनि धर्म–उपदेश दिनु भयो ।
यसरी अधिमुत्त श्रामणेरको कथाको विषयमा वर्णन गरिएको छ ।
‘संकिच्च श्रामणेरको कथा समाप्त’ ।
स्रोत — धम्मपद–अट्ठकथा भाग—४ अनुवादक — सुश्री नानी मैयाँ मानन्धर