“संघर्ष कै दौरानमा हामी मुलवासीहरुको आदिवासी दिवस ”

Read Time:9 Minute, 3 Second

विरबहादुर तमू

२०औं विश्व आदिवसी दिवस यही श्रावण २४ गते अर्थात अगष्ट ९ तारिकका दिन देशैभरी धुमधामका साथ मनाइयो ।

 

  

पङक्तिकार पनि ठेट आदिवासी भएकै नाताले आफ्नो क्षेत्रबाट कार्यक्रम स्थल बुटवल सिद्धेश्वरी मा.वि.को प्रांगणमा साथीहरुसँगै पुगियो । तर पानीले केही वेर वर्षायामको अधिकार जमायो । यद्यपी ढिलै भए पनि मौसम राजाले सुखीनमानीकनै भएपनि कार्यक्रम सञ्चालन गर्न स्वागत गर्दै अनुमति दियो । तर कार्यक्रम सञ्चालिका गंगा बैनीले कार्यक्रम सञ्चालन गरिरँहदा सम्म पानी सामान्य परिरहेकै थियो । कता कता मनभित्र शंका लागि रहेकै थियौं । कतै कार्यक्रम बिथोली दिन्छ की भनेर । मनको कुनै कुनामा खुसी पनि पलाएको थियो हामीहरुमा किन भन्दा अधिकांश हामी किसानहरु धेरै सहभागी भएका थियौं । त्यहाँ  मौसमले साथ दिँदै गयो कार्यक्रममा रौनक्ता र शितलताले छायों । दर्शकहरुले मन मनै प्रकृतिलाई धन्यवाद दिएँ । हामी सबै प्रकृति पुजक हौं त्यस मानेमा ।

प्रमुख अतिथि राजकुमार लेखी ज्यू, रहेको उक्त दिनको कार्यक्रममा सबैको आत्मा भित्रको केन्द्र बिन्दु नै लेखी ज्यू हुनुहुन्थ्यो । किन ? राजकुमार लेखी ज्यू यहीका धर्तीपुत्र आदिवासी मुलबासीको गर्भबाट जन्मनुभएको थियो । यहाँका सामन्तवादी राज्य सत्ताले हेलाको दृष्टिकोणले हेरिने जाति थारु समुदायको हुनुहुन्थ्यो । त्यसकारणले पनि वहाँ सबैको आत्माको केन्द्र बिन्दु बनीरहनुभयो । हो हिज थारु समुदायमात्र होइन सम्पुर्ण आदिवासी मूलबासीहरुलाई यहाँका कथित उपल्लो जाति भनिने सम्प्रदायिक मनोभावना भएका जातिहरु र राज्यसत्ताबाट हेपिएकै हुन् । उत्पीडनमा पारेकै हुन् । दमन र शोषण गरेकै हुन् ।

    

अझ दलित, मुश्लिम, पिछडा वर्ग र लोपोन्मुख सिमान्तकृत वर्गहरुको त कुरै नगरौं । तर आज युगले कोल्टे फेरी सकेको छ । परिवर्तन चाहेको छ । २१ औं शताब्दीको बैज्ञानिक युगले थिचिसक्दा पनि आफूहरुलाई कथित उपल्लो चोखो जाति भनेर कहलिनेहरु र एकल जातीय राज्यसत्ताका हिमायतीहरुले अझै पनि त्यही सामन्तवादी सत्ता र त्यही युगको केन्द्रिकृत एकल जातीय राज्य सत्ताकै सपना देख्छन् भने सायद यो मुलुकका लागि पक्कै पनि शुभ संकेत होइन । तर यहाँका सामन्त, दलाल, घुसखोर, कमीसनखोरहरुको चिन्तन, चालचलन, विचारहरु र लक्ष्यले त्यही संकेत गर्छ । होइन भने पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान दिन र लेख्न कांग्रेस, एमाले, मसाल, राप्रपाका शिर्ष नेताहरु कुन तत्वले छेकेका छन् र रोकेका छन् ? मुल प्रश्न यही हो ।

कार्यक्रमको अन्तिम सम्म बसियो । कुन वक्ताले के बोले भन्नु भन्दा पनि त्यहाँ उपस्थित समुदायको भेषभुषा हेर्दा साच्चीकै मेरो देश भन्ने लागेको थियो । कुनै समुदायको भेषभुषा हेर्दा लाग्थ्यो हामी कुनै लाली गुराँसको बगानमा छौं । कसैको हेर्दा लाग्थ्यो तराईको समथर भुमीमा पहेंलपुर धानखेतमा छौं । कसैलाई हेर्दा लाग्थ्यो रंगी विरंगी फुलहरुको बगैंचामा छौं ।

ती भेषभुषाहरु हेर्दा साच्चीकै लाग्थ्यो आहा ! मेरो देशको जातीय विविधता ? आफैमा कति सौन्दर्यले भरिपूर्ण छौं हामी ? कति गर्विलो छ हाम्रो भेषभुषा ? कति गहिरो जातीय पहिचान र इतिहास छ । हामी माझ ? भाषा, संकृति रिती थिती, भेषभुषा, आ–आफ्नै मानौं साच्चीकै फुलबारी हो  । तर विडम्वना यतिका धेरै जातीय विविधता, प्राकृतिक सौन्दर्यको र जैविक विविधता भएका मुलुकमा आदिवासी मूलबासी समुदायहरुले हामीले पनि राष्ट्र निर्माणमा योगदान दिन्छौं, हाम्रो पनि अधिकार र दायित्व हो, पहिचान नमेटाउ राज्यको हरेक तह र तप्कामा हाम्रो पनि समानुपातिक प्रतिनिधत्व हुनु पर्छ, पाउनु पर्छ भनेर आवाज उठाउँदा सत्ताधारीहरुको टाउँको दुखाई किन ?

अझ हरेक शक्तिको केन्द्र विन्दु रहेको हरेक पार्टीका सत्ताधारीहरुले जरा गाडेर बसेको काठमाडौंमा मनाउँदै गरेको आदिवासी दिवस हेर्न लायकको पक्कै थियो । त्यहाँ ५९ जाति मध्ये पक्कै पनि ५०-५५ जाति समुदायको झाँकी सहितको सहभागिता हुनु पर्छ । के यी सत्ताधारीहरुले आँखामा पट्टी बांधेर बसेका होलान ? यतिका धेरै बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिकको विविधता भएका मुलुकमा २१ औं शताब्दीमा पाइला टेक्दा सम्म पनि एकल जातीय राज्यसत्ता चलाउने धृष्टता गर्नु कहाँको न्याय हो ? कति सम्मको मुर्खता र पाखण्डीपूर्ण कार्य हो ? सबैले एक पट्क होइन हजारौं पटक सोच्नै पर्ने भएको छ । यहाँका राज्य सत्ताले उत्पीडनमा पारेका सबैखाले जात, जाति समुदायहरुले वुझ्न ढिलो भइसकेको छ ।

हामीसँग भोट माग्ने र नेता बनेर राष्ट्रको ढुकुटीमा ब्रम्हलुट गर्न पठाएका होइनौं । राष्ट्र निर्माण र सबैको हक अधिकार सुरक्षित र ग्यारेण्टीका लागि भोट दिएका हौं । आफुलाई राज्यसत्ता चलाउन ब्रम्हको मुखबाट जन्मेका हौं भनेर दावा गर्नेहरुलाई लाज लाग्नु पर्ने हो । मान्छे मुखबाट जन्मन्छ वा कहाँबाट जन्मन्छ भनेर । सबैलाई थाहा छ मान्छे कहाँबाट कसरी जन्मन्छ भनेर ।

उत्पीडनमा परेका र पारिएकाहरुले अधिकारका कुरा उठाउँदा जातीय राज्य माग्यो ? यी ब्रम्हको मुखबाट जन्मेका हौं भनेर भन्नेहरुको आत्मा भित्र लोभ, पाप, ईष्र्या, मोह, छलकपट मात्र हुदोरहेछ । मानवीय भावना र मानवता नहुने रहेछ भनेर बुझन जरुरी छ । त्यसैले पनि होला २०औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको संघारमा छिमेकी मुलुक भारतको प्रधानमन्त्री नरेन्द्र मोटीले भ्रमणका दौरानमा शब्दको झापड सहित राम्रै सबक सिकाएर गएका छन् ।

सायद यहाँका एकल जातीय सामन्त भ्रष्ट शासक वर्गले मोदीको मुखारविन्दबाट त्यस्तो झापड र सबकको अपेक्षा चाहेका थिएनन । तर भईदियो उल्टो तर राष्ट्रको लागि शुभ संकेत हो भन्न सकिन्छ । नेताहरुको हकमा भने पक्कै पनि त्यसले कुनै न कुनै प्रभाव पारेकै हुनु पर्छ । तर मुखबाट जन्मिएका भनिनेहरु बाट पूर्ण विश्वास गर्न सकिदैन । अन्तमा मुलुक भित्र जति पनि उत्पिडनमा पारिएका, हेपिएका, थिचिएकाहरु एक ढिक्का भई बुद्धि, विवेक, जोश जागरलाई सहि ढंगले परिचालन गर्न जरुरी देख्दछु र जरुरी पनि छ ।

“भवतु सब्ब मंगलम”

सबैको मंगल होस

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %