मोर्डन तीज

Read Time:10 Minute, 39 Second

मनोज घर्तीमगर
तस्वीरहरुः सुरज तमु,jukson.com

दुई दशक अघिसम्म पोखराको चिप्लेढुंगा नजिकै पिपल चौतारीमा तीजका बेला महिलाहरुको भिडभाड हुन्थ्यो । थुप्रै महिला जम्मा भएर गीत मार्फत आफ्ना दुःख पिडा पोख्थे । जोर मादल घन्काउँदै रंगरमाईलो गर्थे । यहाँ अहिले न चौतारी छ, न तीजमा जम्मा भएर महिलाहरु नाचगान गर्छन् । बरु, यही चोकबाट चारसय मिटर नजिकको पोखरा पार्टी प्यालेस र सहयात्री पार्टी प्यालेसमा तीज मनाउने महिला र पुरुषको भिड देखिन्छ । तीजमा पसेको आधुनिकताले चौतारीमा रमाउने महिलालाई पार्टी प्यालेसमा छिराएको हो । महिनादिन अघि सुरु भएको तीजे रमझमले पार्टी प्यालेस व्यस्त छन् । सहरिया महिलालाई तीज मनाउन पार्टी प्यालेसमा जान भ्याईनभ्याइ छ । दुई दशक अघिसम्म तीजलाई महिलाहरुले आफ्ना पीडा गीतमार्फत गाउने पर्व का रुपमा लिइन्थ्यो । आधुनिकतासँगै महिलाले तीजलाई भेटघाट भन्दा मनोरञ्जन गर्ने पर्वका रुपमा लिएपछि चौतारीमा भन्दा बढी पार्टी प्यालेसमा तीज जम्न थालेको हो । ‘पहिलेभन्दा तडकभडक गरेर पार्टी प्यालेसमा तीज मनाइन्छ । एक महिना अघि नै दर खाने कार्यक्रम हुन्छन्’ पोखरा महेन्द्रपुलकी तिला घिमिरे भन्छिन्,‘हरेक क्षेत्रमा आधुनिकताको प्रभाव छ । आधुनिकताले नै पार्टी प्यालेसमा तीज मनाउन सिकाएको हो ।’

माईतीमा दर खाने र चौतारामा धितमरुञ्जेल नाच्ने गाउने जमाना इतिहास भइसक्यो । टाढा माईती भएका महिला घरमै तीज मनाउँथे । अनि माइत जान नपाएको पीडा गीत मार्फत पोख्थे । अहिले माइत जान कुनै हतारो हुँदैन । उनीहरु त पार्टी प्यालेस चहार्न हतारिन्छन् । तीजको मौका छोपेर एक महिना अघि विभिन्न सँस्थाले दर खाने कार्यक्रम गर्न थालेपछि सहरबजार बस्ने महिलालाई यतैका कार्यक्रम रमाइला लाग्छन् । त्यसैले त उनीहरु दर खाने नाममा विभिन्न संस्था र समूहले बेच्ने टिकट खरिद गर्न कुनै गाह्रो मान्दैनन् । ऋण काढेर होस् वा आफ्नो श्रीमानलाई थर्काएर होस एकछाक दर खान हजारौं खर्च गर्नेहरु पनि बढेका छन् । तीज नआउँदै कहिले कसकोमा, कहिले कसकोमा दर खान र नाचगान गर्न सहरिया महिलालाई फुर्सद छैन । ‘यो २१ औं शताब्दीको तीज हो, सँधै माइती गएर तीज मनाउनुपर्छ भन्ने छैन’ पोखरा फूलबारीकी कल्पना शर्मा भन्छिन्,‘तीज भनेकै महिलालाई मनोरञ्जन गर्नका लागि सुरु गरिएको चाड हो । जहाँ रमाईलो हुन्छ त्यँही मनाउने हो ।’

तीजे कार्यक्रम आयोजना गर्न भन्दै कतिले त सरकारी तथा विभिन्न गैर सरकारी निकायमा समेत चन्दा माग्ने क्रम बढेको छ । दर खाने र खुवाउने देखि पहिरनमा समेत आधुनिकिकरणको रन्कोले छोपेको छ सबैलाई । महिलाहरु नक्कली गहना भए पनि छड्के तिलहरि र अन्य थुप्रै सुनगका गरगहना लगाएर तीजे कार्यक्रममा सहभागी हुन्छन् । अनेकन गहनाले झकिझकाउ हुनलाई उनीहरु आधुनिक तीज ठान्छन् । त्यसो त आधुनिकतास“गै तीजको व्यवसायीकरण हुनु, तीज गीतको शब्द र भाका परिवर्तन हुनुले पनि देखाउँछ तीज हरेक वर्ष तामसी बन्दै गएको छ । घरपरिवारमा सिमित तीज ठूलो पर्व बडा दसैंलाई ओझेलमा पर्न थालेको छ । ह्यापी तीजका नाममा शुभकामना आदानप्रदान देखि भदौ लाग्नुअगावैदेखि आफ्ना साथीभाइ बोलाएर तीजको दर खाने कार्यक्रम हुनु आधुनिकताको नमुना हो । ‘सँस्कार र सँस्कृति समय अनुसार परिवर्तन हुँदै जान्छन्, तीज पनि समय अनुसार बदलिएको हो’ पोखरा गैह्रापाटनकी सुस्मिता पराजुली भन्छिन्,‘चौतारा, पँधेरा र चौरमा तीज मनाउने जमाना गइसके ।’

केही वर्ष पहिलेसम्म बाहुन, क्षेत्री सम्प्रदायभित्र आफन्त महिला नातेदारहरु जम्मा भएर नाचगान र व्रत बसेर मनाइने तीज अहिले सबै जातजाति, समुदाय हुँदै व्यापक भएको छ । सबै जातजाति र समुदायका महिलाले तीज मनाउन थालेपछि पार्टी प्यालेस, क्याटरिङ हाउसदेखि तारे होटलहरुसम्म तीजका कार्यक्रमले प्याक हुन्छन् । तीजले महिलाको घेराबाट निस्केर पुरुÈस“ग पनि सामीप्यता बढाउन थालेको छ । आजभोली तीजको मौलिकपन धेरै ठाउँमा हराइसक्यो । तीज बढी उपभोक्तावादी भएपछि पाटीपौवा, चौतारीबाट पार्टी प्यालेस र तारे होटेलमा छिरेकोको बताउँछिन् समाजशास्त्री शान्ति भुसाल । ‘दिदीबहिनीहरु नबुझी लहलहैमा लागेर तीजको मौलिकपन हराएको हो, तीज लामो बनाउनुमा व्यापारीहरुको प्रचारले काम गरेको छ’ पृथ्वीनारायण क्याम्पस समाजशास्त्र विभागकी प्रमुख समेत रहेकी समाजशास्त्री भुसाल भन्छिन्,‘केटा मान्छेसँगै बसेर खाने, नाचगान गर्ने, अनावश्यक खर्च गर्ने तीजे सँस्कार होइनन् ।’ समाजशास्त्री भुषालका अनुसार लामो समयपछि दिदी बहिनी भेटघबाट गर्ने, दाजुबहिनी, दिदी भाइबिच सुमधुर सम्बन्ध बनाउने चाड हो तीज । तर, आवश्यकताभन्दा तीजको चर्चा हुनु, समाज बढी फुक्का हुनु र विभिन्न सँस्थाले जतिबेला पायो त्यतिबेला दर खुवाउने कार्यक्रम गर्नुले तीज आधुनिकताका नाममा बढी मनोरञ्जनमा केन्द्रित भएको हो । ‘एक महिनादेखि नै दर खाने सँस्कार नै गलत हो । यसलाई एक दिनमै सिमित राख्नुपर्छ’ भुसाल भन्छिन्,‘यसले हुनेलाईभन्दा हुँदा खाने महिलालाई बढी पिडा दिन्छ । एक महिनाअघि नै तीजको प्रचार गर्ने संचार माध्यम पनि यसका दोषी हुन् ।’

शिवजीलाई पाउँ भनेर पार्वतीले चोखो भइ व्रत बसपछि तीज पर्व सुरु भएको किवंदन्ती छ । खस सम्प्रदायमा विवाहिताले श्रीमानको आयु लम्बियोस्, अविवाहितले राम्रो श्रीमान् पाउ“ भनेर व्रत बस्थे । तर, आजभोली तीज मनाउनेहरु व्रत बसे पनि पूर्ण मनोरञ्जन गर्न यो चाड मनाउ“छन् । परम्परा हेर्दा माइती आएकी चेलीलाई माइतीले सौभाग्यको प्रतीकक रुपमा चुरा पोते उपहार दिन्थे । अहिले महिलाले साथी, आफन्त भेट्नेबित्तिकै चुरा–पोते दिन तम्सिन्छन् । ‘हाम्रा आमाको पाला र म केटाकेटी हुँदासम्म पनि तीजमा यस्तो हुन्थेन । एउटै चौतारीमा बसेर मादल बजाउँदै गीत गाएर रमाईलो गरेको देख्थ्यौं’ मिसेस तीज २०७० कि बिजेता २७ वर्षिया अञ्जली क्षेत्री भन्छिन्,‘अहिले नक्कल पार्ने होडबाजी छ । तीजको गीतमा नाच्न गाह्रो मान्छन् । हिन्दी गीत लगाए साडी उठाएर नाच्न आइहाल्छन् ।’ उनका अनुसार आधुनिक बन्दै गएको तीजमा विकृति पनि उत्तिकै छिरेको छ । मन्दिर, चौतारीमा नाचगान गरेर आपसमा दुःख साटासाट गर्ने तीज हजार रुपैंया टिकट काटेर पार्टी प्यालेसमा जानु आधुनिकिकरणको सबैभन्दा चर्को रुप हो ।

तीज नजिकिदैं गर्दा बजारमा खुलेका ब्युटी पार्लरमा विवाहित र अविवाहित महिला सुन्दर बन्न जाने होडबाजी पनि बढेको छ । पहिले तीजको अघिल्लो दिन खिर, केरा, दहि लागयत मिसाइएको खानेकुरालाई दर भनिन्थ्यो । तर, अहिलेका महिलाहरुले तीजमा जे खान्छन् त्यसलाई दर बनाएका छन् । छोरी चेलीहरु आजभोली तीज मनाउन माईत जाँदैनन् । न त दाजुभाई दिदी बहिनी लिनलाई उनका घरमा धाउँछन् । आजभोलीका महिला सहर, बजारमा पार्टी प्यालेस, रेष्टुरेन्ट, स्टाटर होटल लगायत ठाउँमा दर खान जान्छन् । सहरिया महिलाले छोरा मान्छेहरुको भिडमा व्ह्स्किी र वाइन पिउनुलाई दरको रुपमा लिएका छन् । पोखरा, पाल्पा, दमौली, स्याङ्जा, बुटवल, भैरहवा, धनगढी, नेपालगन्ज, विरगन्ज, जनकपुर, नारायणगढ, दमक, बिर्तामोड, इटहरी, धरान, हेटौंडा, विराटनगर, काठमाडौं आदि सहरी क्षेत्रमा एक महिनायता तीजका कार्यक्र्म निरन्तर भैरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %