नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स । नमस्कार उहाँ भगवान अरहन्त सम्यक सम्बुद्धलाई ।
(संकिच्च श्रामणेरको कथा – भाग १)
✍ आरोन तुलाधर
त्यस जुठो खाने मानिसले भिक्षुहरूको सेवा–सुश्रुषा गरी दुइ महिना जति त्यहाँ बितायो । एक दिन उसलाई आफ्नो छोरीलाई भेट्न जाने इच्छा भयो ।
‘आर्यहरूलाई सोध्न गए पठाउँदैन होला’ भनी विचार गरी भिक्षुहरू सँग नसोधिकनै ऊ त्यहाँबाट बाहिर निस्क्यो । उसलाई छोरी कहाँ पुग्न एउटा ठूलो जङ्गलको बाटो पार गर्नु पर्थ्यो । त्यस जङ्गलमा ५०० शय डाँकुहरूको एक समूह बस्दथ्यो । त्यस बेला तिनीहरूले कालिमाईलाई मानिसको बलि दिने भाकल गरी राखेको थियो । अचानक यस जुठो खाने मानिस त्यहाँ आइपुग्दा, सबै डाँकाहरूले उसलाई घेरेर समाती नाइके कहाँ लगे ।
नाइकेले उसलाई कालिमाई कहाँ बलि चढाउन लाग्दा ऊ मरण–भयले भयभीत भयो । भिक्षुहरूले उसलाई गरेको सबै उपकार बिर्सेर आफ्नो जीवन रक्षाको लागि उसले यसो भन्यो— “मालिक ! म अर्काको जुठो खाई जीवन निवार्ह गरिरहेको मानिस हुँ । जुठो खाने मानिस अशुद्ध हुन्छ । मेरो आर्य ३१ जना भिक्षुहरू ब्राह्मण, क्षत्री आदि उच्च कुलबाट प्रव्रजित भई यस जङ्गलबाट अलि पर बसिरहेका छन् । ती शुद्ध भिक्षुहरूलाई बलि दिएमा कालिमाई खुशी भई तपाईहरूको सम्पूर्ण इच्छापूर्ण गरी दिनेछ ।”
डाँकुहरूले उसको कुरामा विश्वास गरी भने— “हुन्छ त, ती ३१ जना भिक्षुहरू कहाँ छन् ? हामीलाई देखाई देऊ ।”
त्यस जुठो खाने मानिसले ती डाँकुहरूलाई भिक्षुहरू बस्ने ठाउँ देखाई दियो र भन्यो— “ती भिक्षुहरू बस्ने ठाउँको बीच भागमा एउटा ठूलो घण्टा झुण्ड्याई राखेको छ । घण्टा बजाई दियो कि सबै भिक्षुहरू त्यहाँ भेला हुनेछन् ।”
डाँकाहरूले उसले भनेको जस्तै गरे । आ–आफ्नो स्थानमा बसी श्रमण–धर्म पालन गरिरहेका भिक्षुहरूले घण्टाको आवाज सुनी ‘आज असमयमा घण्टा बजेछ । कसलाई के भयो होला ? कोही बिरामी पो भयो कि !’ भनी सबै त्यस ठाउँमा जम्मा भए ।
डाँकुहरूको नाइकेले भन्यो— “हामीले जङ्गलको कालिमाईलाई एकजना मानिसको बलि चढाउने भाकल गरी राखेका थियौं । त्यसैले एक जना भिक्षु हामीसँग आउनु पर्यो ।”
डाँकाहरूको कुरा सुनी जेष्ठ भिक्षुले अरू भिक्षुहरूलाई सम्बोधन गरी भन्यो— “आयुष्मानहरू ! यस्तो विपत्ति आइपर्दा जेष्ठ व्यक्तिले आएको समस्यालाई आफ्नो काँधमा लिनु पर्दछ । आफ्नो जीवन परित्याग गर्न म यिनीहरू सँग जाँदैछु । तिमीहरू सबैले अप्रमादी भई श्रमण–धर्म राम्रो सँग पालन गर्दै गरिरहनु ।”
जेष्ठ भिक्षुको यस्तो कुरा सुनी दोस्रो भिक्षुले आफु जाने निर्णय गर्यो । यसरी क्रमशः एक पछि अर्को ३० जना भिक्षुले आफू भन्दा जेष्ठलाई जान नदिई आ–आफ्नो जीवन परित्याग गर्ने कर्तव्य सम्झे ।
अन्तमा सबै भन्दा सानो सात वर्षको संकिच्च श्रामणेरले ती भिक्षुहरूलाई बिन्ति गर्यो— “भन्तेहरू ! कृपया तपाईहरू आ–आफ्नो श्रमण–धर्म पालन गर्नु भई यही बस्नुहोस् । तपाईहरूको लागि मैले आफ्नो जीवन परित्याग गर्न जानेछु ।”
भिक्षुहरूले भने— “श्रामणेर ! हामीहरू सबै गएर जीवन त्याग गर्नु परेता पनि तिमीलाई डाँकाहरूको हातमा पठाउनु सक्दैनौं, किनभने तिम्रो उमेर साह्रै सानो छ । फेरि तिमी आचार्य सारिपत्रु स्थविरको शिष्य हौ । यदि तिमीलाई डाँकाहरूको हातमा दिएर पठायौ भने हामीलाई उहाँले निन्दा र उपहास गर्नु हुनेछ ।”
श्रामणेरले फेरि बिन्ति गर्दै भन्यो— “भन्ते ! तपाईहरूलाई यहाँ यस्तो विपत्ति आउने कुरा तथागतलाई र मेरो आचार्य सारिपुत्र स्थविरलाई पहिल्यै थाहा थियो । त्यसैले भगवान बुद्धले तपाईहरूलाई सारिपुत्र स्थविर कहाँ पठाउनु भएको थियो । फेरि आचार्य सारिपुत्र स्थविरले मलाई तपाईहरू सँग यहाँ पठाउनु भएको कारण पनि यही थियो । त्यसकारण तपाईहरू आ–आफ्नो श्रमण–धर्म पालन गरी बस्नुहोस् । मलाई यिनीहरू सँग जान दिनु होस् । यदि तपाईहरू प्रति मेरो कुनै दोष भएमा मलाई क्षमा गर्नु होस्” भन्दै सबै ३० जना भिक्षुहरूलाई सादर वन्दना गर्यो ।
त्यसपछि संकिच्च श्रामणेर डाँकाहरूसँग जान विहारबाट बाहिर निस्क्यो । त्यस बेला ती भिक्षुहरूको मनमा ठूलो दुःख र संवेग उत्पन्न भयो । आँखा भरी आँसु राखी श्रामणेरलाई विदा दिए ।
हुन त तिनीहरू एउटै आमा–बाबुका छोराहरू थिएनन् । न त तिनीहरू राग–द्वेषबाट मुक्त भइसकेका थिए । आफु भन्दा जेष्ठको कत्रो आदर सत्कारको भाव ! बरु आफ्नो जीवन उत्सर्ग गर्न तयार भयो तर आफु भन्दा जेष्ठलाई पठाउन तयार भएन ।
धन्य रहेछ ! यी भिक्षुहरूको परित्यागको भावना !
क्रमशः
स्रोत – धम्मपद / अट्ठकथा भाग-४ अनुवादक — सुश्री नानी मैयाँ मानन्धर