मनोज घर्तीमगर / तस्वीर : छवि मगर
पोखराको मनोरम सौन्दर्यसँग सबै परिचित छन् । यहाँको प्राकृतिक सुन्दरता यति रमाईलो छ की बयान गरि साध्य छैन । तर त्यो प्राकृतिक सुन्दरता दैनिक रुपमा कुरुप बन्दै गएकोमा यहाँ कसैलाई चिन्ता छैन । पोखराको सुन्दरता बिगार्न सबैभन्दा अगाडी छन् यहाँका विभिन्न स्थानमा राखिएका होर्डिङ्गबोर्डहरु । होर्डिङ्गबोर्डले गर्दा पोखराको प्राकृतिक सुन्दरतामाथि दिनप्रतिदिन पर्दा लागिरहेको छ । पोखराका अग्ला–अग्ला घरहरुमा हेर्ने हो भने घरका छतहरु कुनै पनि खाली छैनन् । भित्ताहरुको त कुरा गरी नसक्नु छ ।
आजभन्दा दश पन्ध्र वर्ष अगाडि पोखरामा बनेका हरेक घरका छतहरुमा बसेर मजाले हिमालका दृश्यहरु हेर्न सकिन्थ्यो । त्यो जमाना रहेन अब । आजभोलि कुनै पनि घरको छतमा बसेर अन्नपूर्ण र माछापुच्ररे हिमाल हेर्न मुस्कील पर्छ । उसै त मापदण्ड विपरितका अग्लाअग्ला घर । त्यसमाथी राखिएका विभिन्न खाले विज्ञापनका होडिङबोर्डले हिमाललाई ढपक्कै ढाक्ने गरेको छ । यहाँका पर्यटन व्यवसायीले मात्रै हैन हरेकले पोखराका यीनै हिमाल बेच्ने गर्थे । तर, अब हिमाल बेच्ने अवस्था रहेन । होडिङबोर्डले तीनलाई ढाकेपछि प्राकृतिक सौन्दर्यमा पर्दा लागेको छ । ‘पहिले–पहिले विज्ञापन गर्न घरहरुका भित्तामा पेन्टिङ्ग गर्ने हुँदा यस्ता होर्डिङ्गबोर्डहरु राख्ने चलन थिएन । त्यसैले पोखराको सुन्दरता हेर्न कुनै कठिनाई थिएन’ शंकर कोईराला भन्छन् ‘अहिले प्रचार गर्न ठूला–ठूलो होर्डिङ बोर्डहरु राख्न प्रतिस्पर्धा हुन्छ । अग्ला–अग्ला ठाउँमा राखेका बोर्डहरुले हिमाल हेर्नै सकिदैन, ढ्याप्पै छेकेका छन् ।’
पोखरामा राखिएका धेरैजसो होडिङ्गबोर्डहरु पोखरा उप–महनागरपालिकाको स्विकृति विना राखिएका छन् । होडिङ्गबोर्डहरु राख्ने र व्यवस्थीत बनाउने जिम्मा लिएको उपमहानगरपालिकाले यस बारेमा खासै ध्यान दिएको पाईदैन । यसले गर्दा राजस्व घाटा त व्यहोर्नु परेको छ नै पोखराको सुन्दरतामा नराम्रो धक्का पुगेको छ । पोखरा उपमहानगरपालिकाले दिएको जानकारी अनुसार ३५ फिटभन्दा अग्ला घर बनाउन नपाइने र त्यसमा १० फिटभन्दा अग्ला होर्डिङ्गबोर्डहरु राख्न नपाईने नियम छ । तर, यहाँ राखिएका होडिङ्गबोर्डले त्यस्तो नियम पालना गर्ने त परै जावस राजस्व छलेर आफू खुसी होर्डिङ्गबोर्डहरु जहाँ मन लाग्यो त्यहि झुण्ड्याउने गरेका छन् । उपमहानगरपालिकाले सार्वजनिक स्थानमा प्रतिवर्गमिटर ५० र निजि घरहरुमा प्रतिवर्गमिटर १५ रुपैंया शुल्क निर्धारण गरेको छ ।
नगरपिलकाको नियममा रेलिङ, पुल, सार्वजनिक स्थानमा होर्डिङबोर्ड राख्न पाईदैन । त्यो बाहेक घरको उचाई सहित ३५ फिटभन्दा अग्लो, हिमाल छेक्न गरि होडिङबोर्ड राख्न नपाईने र बिजुलीका पोलमा पनि विज्ञापनका बोर्ड राख्न पाइदैन । तर, यसको पूरै खिल्ली उडाईएको छ पोखरामा । नगरपालिकाले होडिङ्गबोर्डहरुको मामिलामा कुनै प्रभावकारी काम नगरेको प्रष्टै छ । पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत तिलक पौडेल पन्छिन खोज्दै भन्छन्,‘हामीले आकृति एडभरटाईजिङ कम्पनीलाई ठेक्का दिईसकेका छौं, यसको बारेमा लेखा र निरक्षण शाखामा सोध्नुस् न ।’
कर अधिकृत शिवहरी शर्माले पनि आकृति एडभरटाईजिमा सोध्न अनुरोध गर्दै उसले नगरपालिकालाई वार्षिक १० लाख दिने गरि दुइ वर्ष अघि सम्झौता गरिएको बताए । नगरपालिकाले दुई वर्षका लागि होर्डिङबोर्डको ठेक्का दिएको आकृति एडभरटाईजिङको अफिस भने पोखरामा कतै भेटिएन । नगरपालिकाले उपलब्ध गराएको एउटा नम्बरमा सम्पर्क गर्दा निरज बुढोथोकी भएको र कार्यालय पोखराको सृजनाचोकमा रहेको बताए । तर, सृजनाचोकमा उनको अफिस कतै भेटिएन । आकृतिमा अनुसार पोखरामा करिब एक सय ३० होर्डिङबोर्ड रहेका छन् ।
नगरलिकाले पूरै वेवास्ता गरेको होर्डिङबोर्डको जिम्मा लिने हो भने निकै राम्रो आम्दानी हुन्छ । तर, नगरपालिकाले टाउको दुखाउन चहाँदैन । पोखरा शहरका विभिन्न ठाउँहरुमा तुल व्यानर र होर्डिङ्गबोर्डहरुले छपक्कै ठाउँ ढाकेको छ । बजार एरियामा रहेका कुनै बिजुलीका खम्बाहरुमा बोर्ड नझुुण्डेको देख्न पाईदैन । पोखरामा साना ठुला गरी १ हजार जति होर्डिङ्गबोर्डहरु रहेको नगरपालिकाको अनुमान छ । तर, पोखरा उपमहानगरपालिकाले गरेको बेवास्ताका कारण एकातिर राजश्व संकलन कम भएको छ भने अर्कोतिर पोखराको सौन्दर्यलाई पनि होर्डिङ्गबोर्डहरुले चुनौति दिएका छन् ।
त्यसो त नगरपालिकाको नियमविपरित कामुक दृश्य भएका होर्डिङबोर्डहरु पनि पोखराका विभिन्न स्थानमा झुण्डिएका छन् । यस्ता बोर्डले दुर्घटना निम्त्याउने मात्रै हैन स्कुले जिवनका विद्यार्थीलाई नकरात्मक असर गर्छ । कसले कहाँ होर्डिङ्गबोर्डहरु राख्ने, कस्ता होर्डिङ्गबोर्डहरु राख्ने भन्ने विषयमा कुनै पनि कानुन नभएकाले पनि होर्डिङ्गबोर्डहरु जहाँ पायो त्यहि राख्ने चलन बढेको हो । पोखरामा विज्ञापनको नाममा कामुक होर्डिङ्गबोर्डहरु पनि राखेको प्रशस्त देख्न पाईन्छ । राजश्व संकलन हुने भए पछि होडिङ्गबोर्डहरुको कुनै दायरा तोकिए छैन । ‘नगरपालिकाले अनुगमन गर्नुपर्ने हो, तर कम्पनीलाई जिम्मा दिएपछि खासै हेर्न पाइएको छैन । नियमविपरित होर्डिङबोर्ड राखिए पनि पैसा डुब्नुभन्दा राख्न दिउ भन्ने हो’ नगरपालिकाका प्रहरी निरक्षक एवं अनुगमन प्रमुख वसन्त चालिे भन्छन्‘हामी अहिले सकड विस्तार अभियानमा लागेका छौं । मेन पाओर पनि कम छ । फेरी आकृतिको सम्झौता सकिन लागेकोले चुप लागेर बसेका छौं ।’ होर्डिङ्गबोर्डले गर्दा पोखरको सौन्दर्यमा परेको असर बारे सहमत हुँदै निरिक्षक चालिसेले साउनभन्दा पछि नियमविपरितका होर्डिङबोर्डहरु सबै नगरपलिकाले झार्ने बताए । ‘होर्डिङ्गबोर्डले पोखरको हिमाल लगायत अन्य सौन्दर्य छेक्ने गरेको छ, यो नगरपालिकाले हेर्नुपर्छ’ उनी भन्छन्‘साउनमा हामी सबैभन्दा पहिले न्यूरोडका बोर्ड झार्छौ । अहिले झार्न सम्झौताले दिदैन ।’
पोखरामा राखिएका होर्डिङ्गबोर्डहरुले सुन्दरता त बिगारेका छन् नै दुर्घटना पनि निम्त्याउने गरेका छन् । यहाँ राखिएका कामुक होर्डिङ्गबोर्डहरुका कारण सवारी चालकहरु सडकभन्दा बढी होर्डिङ्गबोर्डहरुतिर आकर्षित हुनाले दुर्घटना हुने सक्ने बताउँछन् कास्की जिल्ला ट्राफिक प्रहरी प्रमुख विरबहादुर बुढामगर । ‘कामुक र अश्लिल होर्डिङ्गबोर्डहरुले अवश्य पनि सवारी चालकको ध्यान मोड्छ यसले दुर्घटना निम्त्याउन सक्छ’ प्रमुख बुढामगर भन्छन्‘अश्लिल र थाई (साप्रा) देखाईएर विज्ञापन गरेका होर्डिङबोर्ड राख्न नपाउने नियमहुनुपर्छ, यति मात्रै हैन मिनिस्कट लगाएर हिड्ने केटीलाई हेरेर दुर्घटना हुने गरेका उदाहरण छन् ।’