मनोज घर्तीमगर
अन्तराष्ट्रिय नेपाल फिल्म एकेडेमी अवार्ड २०१४ (इन्फा) हङकङमा हुने भएको छ । हङकङ नेपाली महासंघको सदस्य सस्था नेपाल क्लब हङकङ र अन्तराष्ट्रिय नेपाल फिल्म एकेडेमीले संयुक्त रुपमा कार्यक्रम गर्न लागेका हुन् । २६ अक्टुबर अर्थात कात्तिक ९ गते युनलोङस्थित थिएटर हलमा अवार्ड हुनेछ । इन्फा अवार्डका लागि नेपालबाट ५० जना फिल्म क्षेत्रका कलाकार हङकङ जानेछन् ।
अन्तराष्ट्रिय नेपाल फिल्म एकेडेमी अवार्डमा विभिन्न १६ विधामा अवार्ड वितरण गरिने नेपाल क्लब हङकङकी अध्यक्ष रीता गुरुङले जानकारी दिइन् । उनले हङकङ नेपाली महासंघको आर्थिक सहयोगार्थ कार्यक्रम गर्न लागिएकाले ऐतिहासिक कामका लागि सहयोग गरिदिन सबैलाई आग्रह गरेकी छिन् । चलचित्र निर्देशक दिपक श्रेष्ठको अध्यक्षतामा इन्फा गठन भएको हो ।
नेपाली चलचित्रको विकास, विस्तार र प्रबद्र्धनका लागि गठित इन्फाले हरेक वर्ष नेपालबाहिर अवार्ड गर्ने उदेश्य राखेको छ । कार्यक्रम सम्पन्न गर्न करिब दुई करोड खर्च लाग्ने आयोजकको अनुमान छ ।