गतिछाडा गीतको बिगबिगी

Read Time:8 Minute, 21 Second

मनोज घर्तीमगर

  पोखरा फुलबारीकी ममता अधिकारीलाई हरेक वर्ष तीज कहिले आउँला झै लाग्छ । दिदीबहिनी जम्मा भएर नाचगान गर्ने अवसर छोप्न उनी सँधै हतारिन्छन् । रौसिने स्वभावकी उनी तिज गीतकी पारखि हुन् । बिहान चियाको चुस्कीसँगै उनको हातमा रिमोट छुट्दैन । नेपाल टेलिभिजनमा बज्ने तीजे गीत हेर्दै उनी रमाउँछिन् । सात/आठ वर्षदेखी तीजे गीत हेर्दे आएकी ममता गत हप्ता परिवार र नातागोतासहित चिया पिउँदै टिभी हेरिरहेकी थिइन् । एकपछि अर्को तीजे गीत आउँदै थिए । त्यतिबेलै फ्याट्ट यस्तो गीत बज्यो ।

लाली बैंश छोपेन जामाले
उत्ताउली भइ नभन आमाले
यो तीजमा रातो सारी लाई
मेरो त पिठयूँमा बेसरी चिलायो
बैंश पो चढ्यो की, जुम्रो पो पर्यो कि
कनाई देउ न बाई

विनोद ढकालद्वारा लिखित श्रीदेवी देवकोटा र प्रकाश कटुवालको स्वर रहेको यो गीत टेलिभिजनका स्क्रिनमा बजेपछि ममतालाई असजिलो महसुस भयो । रिमोट उनकै हातमा थियो । हत्त न पत्त च्यानल बदल्न पनि सकिनन् । धन्न त्यतिबेलै मोबाइलको घन्टि बज्यो । फोन रिसिभ गर्ने बहानामा टिभी रुमबाट बाहिरिइन् । तीजे भनिएको यो गीतमा अभिनेत्री शुष्मा कार्की बैंश चढेको देखाउँदै वक्षस्थल हल्लाएर नाच्छिन् । तीनलाई पछिल्लतिर दुई/तीन जना युवाले कन्याईदेऊ भन्दै खिसीटिउरी गरिहेका छन् । आजभोली तीजका गीत भन्दै हेर्न पनि अप्ठेरो हुने गीत बज्छन् टिभीमा’ ममता भन्छिन्,त्यस दिनदेखी परिवारसहित तीजका गीत हेर्ने छाडिदिएँ ।

ममता प्रतिनिधी हुन् । लाजै लाग्ने यस्ता गीत टिभिमा बज्न थालेपछि सपरिवार बसेर टिभीमा तिजे गीत हेर्न अप्ठ्यारो मान्नेहरु धेरै छन् । तीजका हिट गीत भन्दै टेलिभिजनमा आजभोली यस्तै गतिछाडा गीत बजाईन्छ । युट्युबमा सर्च गर्ने हो भने पनि यस्तै उत्ताउला तीजे गीतको बिगबिगी छ । संचार माध्यमले पनि यस्तै गीतलाई बढावा दिन थालेपछि यस्तै उरनठेउला तीजे गीतको बाढी आएको छ ।

दिदीबहिनी जम्मा भएर नाँच्ने गाउने तीजको असली सँस्कार हो । पार्टी पौवा, चौबाटो, स्कूल लगायत ठाउँमा जम्मा भएका महिलाहरु कोही मादल बजाउने अनि कोही नाच्थे गर्थे । वर्षभरी काममा व्यस्त हुने महिला एक दिन तीजमा माईत गएर दुःख बिर्सने प्रयत्न गर्थे । उनीहरुले दुःख पिर र वेदानयुक्त गीत गाउँथे । विस्तारै गीत रेकर्ड गर्ने चलन आयो । उनीहरु क्यासेटका गीत बजाउँदै नाँच्न थाले । त्यही गीतमा स्वरमा स्वर मिलाउँथे जतिबेला गीतमा चेलीका वेदना पोखिएका हुन्थे । पूरानी लोक गायिक एवं प्राज्ञ हरिदेवी कोइरालाले पनि तिजका थुपै्र गीत गाईन् । उहिले तीजे गीत महिलाले गाउँथे । गीत मार्फत बर्षभरीका दुःख पिर पोख्थे । यस्तो चलन हराईसक्योे पूरानी लोक गायिका एवं प्राज्ञ हरिदेवी कोईराला भन्छिन्,आजभोली तीजे गीत हेर्न र सुन्न लाज लाग्ने खालका छन् । रत्यौलीमा गाइने गीतभन्दा पनि न्यून स्तरका छन् ।

तीज भन्नासाथ महिलाहरुमा उत्साह र खुसीको संचार हुन्थ्यो । महिलाका दुःख वेदना समेटिएका गीत बज्थे । तीनमा महिलाले मात्रै स्वर भर्थे । पछिल्लो समय तीजे गीतमा हदैसम्मको बिकृति पसेको छ । आजभोली निक्लने गीत तीजे नभएर रत्यौली जस्तै छन् । आजभोली महिलालाई भन्दा पुरुषलाई तीज बढी लाग्छ । तीज आउन दुई/चार महिना अगाडी उनीहरु तीजका गीत गाउन धम्मरधुस कसिन्छन् । महिलाको तीजमा हस्तक्षेप गर्दै गीत निकाल्न उनीहरु तछाडमछाड गर्छन् । तिज गीतका नाममा आजभोली धेरै बिकृति आएको छ, केवल मायाप्रेमका शब्द गाउँदैमा तीजे गीत हुँदैन’ गायिका सिता बराल भन्छिन्,समाजलाई पच्ने र सहि बाटो देखाउने खालका गीत आउन जरुरी छ ।

माइत जान नपाउनुको पीडा, भाइ नहुनुका पीर, माइती टाढा हुनुका कष्ट गीतमा आउँदैनन् आजभोली । अलिहेका तीजे गीतमा कि ‘पोइ’ खोजिदिन शीवलाई घुर्की लाउछन् कि त बैशले उन्मुक्त युवतिहरु गीतमा छिल्लिएका हुन्छन् । तीनमै घिउ थपिरहेका छन् तीजका गीत गाउने पुरुष गायकले । संगीतकार एवं रचनाकार राजकुमार बगर म्यूजिक कम्पनी कलाकारहरु बढी व्यवसायिक भएकाले पछिल्लो समय तीजको नाममा उरन्ठेउला र समाजलाई पचाउन मुस्किल पर्ने गीत धमाधम बजारमा आएको सुनाउँछन् । ‘तीज नारीको चाड हो, तीजमा नाच्ने गाउने रमाउने पनि नारी नै हुन्’ बगर भन्छन तिजे गीत नितान्त नारिले मात्रै गाउँदा राम्रो हुन्थ्यो । पुरुषले गाउन थालेपछि विकृत गीत आउन थालेका हुन् । उनले नारीको चाडमा पुरुषको हस्तक्षेपलाई स्वीकार्नु उनीहरुको पनि कमजोरी रहेको बताउँदै संचार माध्यमले यसलाई निरुत्साहित गर्नुको सट्टा प्रोत्साहन गरिरहेको बताए ।

समाजले पचाउनै मुस्किल पर्ने गीतले नै बजार पिटिरहेका छन् यतिबेला । सञ्चारमाध्याम र राज्य समाज भाड्ने गीतमा ताली बजाइरहेका छन् । यस्ता गीतको दबदबा भएपछि तीजका असली भाकामा गाइएका गीतको वास्ता हुन छाडेको छ । बरु तीजमा गाइएका उरन्ठेउला गीत तिर सबैको ध्यान गएको छ । तीजे गीतमा पुरुषले गाउने चलन ल्याउने पोखराका गायक प्रजापती पराजुली हुन् । उनले २०५८ सालमा तीजे गीतको एल्बम ‘बेदनाको पोको’ निकालेपछि त्यो एल्बम भाग–७ सम्म निस्कीएको थियो । त्यसपछि तीजे गीत पुरुषले गाउने क्रम ह्वात्तै बढ्यो । तीजे गीत गाउने परम्परा बसाल्ने प्रजापती अहिले बजारमा आएका एकाध बाहेक सबै गीत तीजे नभई रत्यौली भएको दावी गर्छन् । तीजे गीतमा पुरुषले गाउने चलन ल्याउने प्रजापति हो भनेर अपजस मलाइ आउँछ । मैले रत्यौली गाएको छैन । मेरा तीजे गीतमा केटा नाचेका छैनन् । चेलीका कथाव्यथा अनुसार गीत लेख्छु प्रजापति पराजुली भन्छन्,मैले हरेक गीतमा नारीको वास्ताविक बेदना गाएको छु । नारिलाई चेतना दिन र सहि बाटो देखाउन सहयोग गरेको छु ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %