नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स । नमस्कार उहाँ भगवान अरहन्त सम्यक सम्बुद्धलाई ।
– आरोन तुलाधर
गौतम बुद्ध ८० वर्षको उमेरका परिनिर्वाण (देहावसान) हुनुभयो । यस घटनाले सबै संस्कार अनित्य एवं परिवर्तनशील रहेको प्रमाण दियो । आफ्नो जीवनकालमा उहाँले पूरा गर्नुपर्ने सम्पूर्ण काम कर्तव्य सम्पन्न गर्न भ्याउनु भयो । धर्म र विनय निरन्तर एवं सुचारू रूपमा सञ्चालन गर्नको लागि धर्मोपदेश दिनुहुँदै भिक्षु संघ स्थापना गर्नुभयो । तर उहाँले आफु वितेपछि बुद्ध शासन सञ्चालन गर्नको लागि भनेर उत्तराधिकारी नियुक्त गर्नु भएन । उहाँले प्रचार गर्नु भएको धर्म र विनय नीतिलाई मै गुरू मान्नु भनी आफ्ना शिष्यहरूलाई सल्लाह दिनु भएको थियो ।
बुद्धत्त्व प्राप्ति पछि उहाँले कसैलाई पनि दुःखबाट मुक्त गरिदिन्छु भनी झूठो आश्वासन दिनु भएको थिएन ।
उहाँ भन्नुहुन्छ — “तुम्हेहि किच्चं आतप्पं अक्खातारो तथागता
अर्थात् — मुक्ति प्राप्तिको लागि आफ्नो काम आफैले गर्नुपर्छ । तथागत बुद्ध त सिर्फ मार्ग देखाइदिने मार्ग प्रदर्शक मात्र हुनुहुन्छ ।
भगवान बुद्ध फेरि भन्नुहुन्छ —
“सुद्धि असुद्धि पच्चत्तं नाञ्ञ अञ्ञं बिसोधये”
अर्थात् — शुद्ध र अशुद्ध हुनु त आ–आफ्नो हात र कामको खेल हो । कसैले कसैलाई शुद्ध गर्न सक्दैन । — मज्झिम निकाय
शुद्ध व्यक्ति वन्नको लागि त भगवान बुद्धले देखाउनु भएको मार्गमा हिंडी आ–आफ्नो आचरण राम्रो पार्नु पर्ने हुन्छ । अनि मात्र दुःखबाट मुक्ति मिल्नेछ ।
अंगुत्तर निकाय अध्ययन गरेर हेर्दा भगवान बुद्ध एक सर्वोत्तम आश्चर्यको व्यक्ति हुनुहुन्छ भन्ने कुरा बुझिन्छ । उहाँ नाना प्रकारका विकार एवं कुसंस्कारबाट मुक्त हुनुहुन्छ । जसरी कमलको फूल फोहर हीलोमा फुले पनि त्यस फोहरबाट अलग्ग रही माथि उठी फुलिरहेको हुन्छ, त्यसरी नै भगवान् बुद्ध पनि अशुद्ध क्लेशले युक्त व्यक्तिहरूले भरिएको संसारमा जन्म लिनु भई ती क्लेशहरूबाट मुक्त हुनुभई परिशुद्ध, निर्मल एवं पवित्र महामानव बन्न सफल हुनुभयो । उहाँ आफ्नो मनको वसमा होइन मनलाई आफ्नो बसमा राख्न सफल हुनुभयो ।
भगवान बुद्ध यथावादी तथाकारी हुनुहुन्छ अर्थात् उहाँले जसरी बोल्नु हुन्छ, त्यसरी नै काम पनि गर्नु हुन्छ । उहाँको राम्रो एवं आश्चर्यपूर्ण गुणहरू मध्ये यो पनि एक हो । आफू सम्पूर्ण रूपले परोपकारी एवं निस्वार्थ बन्न सफल भइ सकेपछि मात्र उहाँले अरूहरूलाई पनि असल चरित्रको ब्यक्ति बन्ने सल्लाह एवं उपदेश दिने गर्नुभयो ।
बुद्धले कुनैपनि धर्मग्रन्थलाई आँखा चिम्ली प्रमाणको रूपमा मान्नुहुन्न् । स्वतन्त्र चिन्तनलाई प्राथमिकता दिनुहुने भगवान बुद्धको यो अर्को एक स्मरणीय गुणले भरिएको विशेषता हो । — अंगुत्तर निकाय
यसको मतलब त्रिपिटकलाई पनि विश्वास नगर्नु भनेको चाहिं पक्कै होइन । जसरी आमाले पकाएर खान दिएको खानामा कहिले काहिं मसीना ढुङा, तरकारीमा रौं आदि आउन सक्छ । यति हुने वित्तिकै खाना नै नखाइ फालि दिनेत कुरै आउँदैन । गलतीबस मिसिएर आएको ढुंङा र रौं केलाएर फाली बाँकी खानालाई प्रसन्न चित्तले खानु नै बुद्धिमानी हुनेछ । यसरी नै त्रिपिटकमा पनि कतिपय चित्त नबुभझ्दा कुराहरू मिसिएका हुन सक्छन् । त्यसलाई हामीले केलाउँदै पञ्छाउनु बुद्धिमानी हुनेछ । उदारणको लागि भगवान बुद्ध राजगृह र अम्बलठ्ठिकाबाट नालन्दा पुग्नु भयो । त्यहाँ सारीपुत्र भन्तेले भगवान् बुद्धको प्रशंसा गर्नुभएको कुरा महापरिनिर्वाण सूत्रमा उल्लेख छ । तर त्यस समय भन्दा पहिले नै सारीपुत्र भन्ते परिनिर्वाण (देहावसान) भइसकेको थियो । चित्त नबुझदा यस्ता कतिपय घटनाहरूको उल्लेखले त्रिपिटकलाई नै विरोध गर्नु मूर्खता हुनेछ । यसलाई हामीले समझ्दारीपूर्वक केलाएर पञ्छाउनु नै बुद्धिमानी हुनेछ । हामीलाई चाहिएको त भगवान् बुद्धले दिनुभएको अमूल्य शिक्षाको निचोड हो । जुन शिक्षाले हाम्रो मनभित्र रहेका मयल पखाल्न मद्दत गर्दछ ।
भगवान् बुद्धले भिक्षुहरूलाई भन्नुभएको थियो—
कुल्लुपमं भिक्खवे धम्मं देसिस्सामि नित्थणत्थाय नो गहणत्थाय” — मज्झ्मि निकाय
अर्थात् — भिक्षुहरू ! म तिमीहरूलाई डुंगाको उपमा दिएर धर्मको उपदेश दिंदैछु । जसरी डुंगा नदी तरेर पार जानको लागि प्रयोग गरिन्छ, त्यसरी नै धर्म संसारको दुःखबाट पार तरेर जानको लागि प्रयोग गरिन्छ । डुंगालाई सही ढंगले प्रयोग गर्न नजानी डुंगा प्रति अति प्रेम भाव राखी काँधमा वोकी नदी पार गर्न खोज्ने व्यक्ति जसरी दुर्घटनाको शिकार बनिने छ, त्यसरी नै हामीले पनि धर्मको सही अर्थ बुझ्न नसकी मेरो धर्म र तेरो धर्म भनी अन्ध श्रद्धाको भ्रममा परी धर्मलाई प्रशंसा मात्र गर्दै हिडंयौं भने हामी अहंकारी बनी साम्प्रदायिक भावनारूपी समुन्द्रमा फसी हामी दुर्घटनाको शिकार बन्नेछौं । त्यसैले हामीले धर्मको सही परिभाषा बुझी यसले देखाएको शिक्षालाई आ–आफ्नो जीवनमा अभ्यास गर्नु उत्तम हुनेछ ।
“भगवान् बुद्ध फेरि भन्नुहुन्छ—
“पूजा च पूजनेय्यानं एतं मंगल मुत्तमं”
अर्थात् — पूजा गर्न योग्य व्यक्तिलाई पूजा गर्नु नै कर्तव्य र धर्म हो । तर उहाँले कहिले पनि आफूलाई देवताको रूपमा पूजा गर्नु भन्नु भएन । उहाँले भन्नुभएको छ — “म मरे पछि मेरो सम्झना गरी मलाई देवता थानी पुष्प, धुपले पूजा गर्नु भन्दा तिमीहरू अप्रमादी (होशियारी) बनी धर्म प्रचार गर्नु र आ–आफ्नो आचारण शुद्ध पारी जीवन सफल पार्नु ।
“अप्पमादेन सम्पादेथ” अर्थात् वेहोशी र लापरवाही नबनी दुःखबाट मुक्त हुने प्रयत्न गर्नु । योग्य व्यक्तिलाई पूजा गर्नु तर अन्ध विश्वासी बनी होइन । — महापरिनिर्वाण सूत्र
तर भगवान बुद्धको मनसाय यसरी प्रष्ट उल्लेख भएपनि उहाँको परिनिर्वाण पश्चात् धेरैजसो मानिसहरूमा भगवान बुद्धको उपदेश अनुसार आचरण राम्रो पार्ने तर्फ भन्दा पनि बुद्ध मूर्ति निर्माण गर्दै भक्तिमार्ग तर्फ ढल्कने बानी परेको देखिन्छ । यसलाई पुरानो संस्कारको पुनर्जागरण भन्न सकिन्छ ।
अन्त्यमा आएर हामी यही भन्न सक्छौं — भगवान् बुद्धको आदर्शलाई हामीले पनि आ—आफ्नो जीवनमा प्रयोग गर्न सकेमा हामीले बुद्धलाई चिन्न बेर लाग्दैन । जब बुद्धलाई चिन्न सफल हुनेछौ, तब हामीले धर्मलाई डुंगाको रूपमा प्रयोग गर्न सफल हुनेछौं । डुंगालाई सही रूपले प्रयोग गर्न सकेपछि हामी अवश्य पनि गन्तब्य स्थानमा पुग्न सफल हुनेछौं। यस्तो सफलता हामी सबैले प्राप्त गर्न सकौं।
।। नमः बुद्धाय ।।
स्रोत – धर्मकीर्ति