काठमाडौ, श्रावण २३ – चर्चित समाजशास्त्री डोरबहादुर विष्ट सन् १९९५ देखि बेपत्ता छन् ।
उनी मरे, मारिए या कतै जीवित छन्? यसबारे खासै आधिकारिक तथ्य बाहिर आएको छैन । ‘फयाटालिज्म एन्ड डेभलप्मेन्टः नेपाल स्ट्रगल फर मोर्डनाइजेसन’ जस्ता बहुचर्चित किताब लेखेका उनै विष्टमाथि डकुमेन्ट्री फिल्म निर्माण भइरहेको छ- ‘लस्ट प्रोफेसर’। कर्णाली इन्सटिच्युट जुम्लाले बेपत्ता डोरबहादुरमाथि डकुमेन्ट्री निर्माण गरिरहेको हो। निर्देशन गरेका छन्- सचिन घिमिरे र गौरव केसीले। लामो समय सचिन, गौरव र विराज विष्टले गरेको अनुसन्धानका आधारमा डकुमेन्ट्री तयार हुन लागेको हो। अहिले धमाधम सम्पादन भइरहेको निर्देशकमध्ये एक सचिनले बताए।
ललितपुरको झरुवाराशिमा सन् १९२८ मा जन्मेका डोरबहादुरले नेपालको विकाससम्बन्धी थुप्रै किताबहरू लेखेका छन्। एउटा स्कुलको हेडमास्टरबाट सरकारी सेवा थालेका थिए उनले। पञ्चायतकालमै राजा वीरेन्द्रले त्रिभुवन विश्वविद्यालयको मानविकी तथा समाज विज्ञान केन्द्रीय विभाग प्रमुख बनाएको उनले लामो समय त्रिविमा सेवा गरे। त्रिविकै सेन्टर फर नेपाल एन्ड एसियन स्टडिज (सिनास) को कार्यकारी निर्देशकको रूपमा समेत लामो समय सेवा गरेका उनैले कर्णाली इन्स्टिच्युट पनि खोलेका थिए। उनी बेपत्ता भएकोबारे धेरै कथाहरू सुनिन्छन्। कसैले बेपत्ता हुनुअघि पछिल्लो पटक उनी जुम्लामा देखिएको विश्वास गर्छन्। कसैले भारतमा देखिएको दाबी गर्छन्। तर, यी सबै पुष्टि हुन नसकेका हल्ला हुन्। डकुमेन्ट्रीले भने धेरै हदसम्म सत्यको निकट पुगेर अध्ययन गरेको र ती सम्बन्धी भिजुअल सामग्री पस्किने सचिनले दाबी गरे। ‘लगभग दुई वर्ष लाएर डकुमेन्ट्री खिचेका हौं,’ उनले भने, ‘समाजशास्त्रका नेपाली पिता मानिने डोरबहादुरबारे धेरै तथ्यहरू यो डकुमेन्ट्रीले बाहिर ल्याउनेछ।’
डकुमेन्ट्री विष्णु कल्पित र मनोज श्रेष्ठले खिचेका हुन्। रवीन्द्र पाण्डे, सरुन तुलाधर, सोमस मल्लले सम्पादन गरेका छन्। निर्माणको अन्तिम चरण पुगेको डकुमेन्ट्री छिट्टै सार्वजनिक गर्ने सचिनले जनाएको कान्तिपुरमा समचार छ ।