नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स । नमस्कार उहाँ भगवान अरहन्त सम्यक सम्बुद्धलाई ।
– वीर्यवती गुरुमा
बुद्ध शिक्षामा आधारित तीनवटा पिटकहरू (त्रिपिटक) मध्ये सूत्र पिटकको पाँचवटा ग्रन्थहरू छन् । ती पाँचवटा ग्रन्थहरूमा एउटा ग्रन्थको नाम हो “मज्झिम निकाय” । यस ग्रन्थमा १५२ वटा सूत्रहरू संगालिएका छन् । ती मध्ये एउटा सूत्रको नाम हो “अम्बलट्ठिक राहुलोवाद सूत्र” । अम्बलट्ठिक एक स्थानको नाम हो । यस स्थानमा भगवान बुद्ध स्वयं जानुभई आयुष्मान राहुललाई देशना गर्नु भएको यस सूत्रलाई अम्वलट्ठिक राहुलोवाद शूत्र भनी नामाकरण गरिएको छ ।

शिक्षाकर्मी व्यक्तिको चरित्र अध्ययन गरी सुहाउँदो तरिकाले शिक्षा दिनुहुने उहाँ तथागत बुद्धले यस सूत्रमा श्रामणेर राहुललाई पनि त्यस समयमा रोचक ढंग (आज–भोलीको मन्टेश्वरी माध्यम) ले शिक्षा दिनुभएको देखिन्छ ।
यस सूत्र अनुसार भगवान् बुद्धले श्रामणेर राहुललाई कानको माध्यमले मात्र होइन आँखाको माध्यमले पनि शिक्षा दिनु भएको देखिन्छ, हुन पनि हो, कानबाट मात्र दिनुभएको शिक्षा भन्दा आँखाले हेरी अनुभव गरी लिएको ज्ञान स्मरण गर्न सजिलो हुँदो रहेछ। भगवान बुद्धले विभिन्न दुश्यहरू उपमाको रूपमा देखाउनु हुँदै आयुष्मान राहलुको मनमा ज्ञान दिनु भएको विषयलाई यस सूत्र अध्ययन गरी हामीले पनि त्यस अमूल्य शिक्षा ग्रहण र मनन गर्न आवश्यक देखिन्छ । पाइला पाइला पिच्छे राम्रो र नराम्रो कर्महरू रोपिरहेका हामीले यस सूत्र अध्ययन गरी यसको शिक्षालाई जीवनमा अभ्यास गर्न सकेमा मन, वचन र शरीरको माध्यमबाट कर्मरूपी बीऊ राम्रो क्षेत्रमा बढि रोप्न सहयोग पुग्ने देखिन्छ । यसरी हामीले आफ्नो मनलाई राम्रो तालिम दिन सकेमा मात्र हाम्रो जीवन गतिलो हुनेछ । फलस्वरूप हामी भाग्यमानी बन्न सक्नेछौं । त्यसैले भनिएको पनि छ, “मति राम्रो भए गति पनि राम्रो हुनेछ ।” मति सपार्नको लागि के कस्तो तरिकाले आफूलाई परीक्षा गर्नु पर्दो रहेछ भन्ने कुरालाई यस सूत्रमा व्याख्या गरिएको छ । त्यसैले हामीले यस सूत्रलाई एकपटक अध्ययन गरेर हेरौ—
एकदिन भगवान बुद्ध साँझपख आयुष्मान राहुल रहनुभएको अम्बलट्ठिक बनमा जानुभएको थियो । आयुष्मान राहुलले भगवान् बुद्धलाई बस्नको लागि आसन ओछ्याई पाऊ धुनको लागि लोटामा पानी राखी अर्पण गर्नुभयो । भगवान बुद्ध ओछ्याइएको आसनमा बसी पाऊ धुनु भयो । त्यपछि राहुलले भगवान् बुद्धलाई अभिवादन गरी एकातर्फ बस्नुभयो । पाऊ धोइ सक्नु भएपछि भगवान बुद्धले लोटामा अलिकति पानी बाँकी राख्नुभयो । बाँकी भएको त्यो अलिकति पानी राहुललाई देखाउनु हुँदै भगवान् बुद्धले भन्नुभयो— “राहुल ! यस भाँडोमा बाकी रहेको अलिकति पानीलाई तिमीले देखेका छौ होइन ? जसरी यो अलिकति पानी अन्य कुनै पनि काम गर्नको लागि प्रयोग गर्न मिल्दैन, त्यसरी नै जुन व्यक्तिले जानी जानी असत्य कुरा गर्न लाज मान्दैन, डराउँदैन, समाजमा त्यस व्यक्तिको मूल्य पनि यसरी नै अलिकति मात्र हुन्छ । अर्थात् त्यस व्यक्ति मूल्यहीन बन्नेछ ।”
त्यसपछि भगवान बुद्धले बाँकी भएको त्यो अलिकति पानी पनि फाल्नुभयो । पानी फालि सकेपछि पनि भगवान् बुद्धले राहुलसंग सोध्नुभयो— “राहुल ! तिमीले त्यो भाँडोमा बाँकी भएको अलिकति पानीलाई मैले फालिदिएको पनि देखेका छौ होइन ?”
राहुलले देेखे भगवान् शास्ता ! भनी उत्तर दिनुभयो ।
अनि भगवान बुद्धले भन्नुभयो— “हो ! यसरी नै राहुल ! जुन व्यक्तिले जानी जानी बुझेर पनि बुझ पचाई असत्य कुरा गर्न लजाउँदैन, डराउँदैन, त्यस व्यक्तिको मूल्य पनि काम नलाग्ने भई फाल्न लायकको हुनेछ । त्यस व्यक्ति बाँचिरहनुको मूल्य नै हुँदैन ।”
त्यसपछि भगवान् बुद्धले त्यस खाली भाँडो घोप्टाएर भन्नुभयो— “राहुल ! तिमीले यो खाली भाँडो घोप्टाएको पनि देखेका छौ होइन ?”
आयुष्मान राहुलले देखेको छु भगवान् शास्ता ! भनी उत्तर दिनुभयो ।
अनि भगवान् बुद्धले फेरि भन्नुभयो— “राहुल ! जुन व्यक्तिले जानी जानी बुझ पचाएर असत्य कुरा गर्न लजाउँदैन र डराउँदै, त्यस व्यक्तिको मूल्य पनि घोप्टाइएको खाली भाँडो जस्तो मूल्यहीन र खोक्रो हुनेछ । यसरी आफ्नो स्वार्थ पूर्ति गर्नको लागि जानी जानी बुझ पचाउदै असत्य कुरा गर्दै हिडँने व्यक्तिले समाजमा जस्तो सुकै कुकर्म र पापकर्म गर्न पनि तम्सिने हुन्छ । त्यसैले हे राहुल ! तिमीले ख्यालठट्टामा पनि असत्य कुरा गर्दिन भनी संकल्प गर ।”
यसरी नै भगवान् बुद्धले राहुल कुमारलाई फेरि पनि भन्नुभयो— “राहुल ! ऐनालाई मानिसहरूले आफ्नो रूप एवं अनुहार हेर्नका लागि प्रयोग गर्छन् । आफ्नो अनुहारमा कुनै दाग र विकृतीहरू देखेमा हटाउन ऐना हेर्ने गर्छन् । यसरी नै हाम्रो शरीर, वचन र मनले यस वर्तमान अवस्थामा कुनै पनि काम गर्दा आफूले गरेको त्यस कार्यले, वचनले गरेको कुराले अरूलाई हीत हुने हो वा होइन भनी ऐना हेरे जस्तै आफूले आफैलाई होश राखी विचार पुर्याइरहनु पर्छ । यदि आफूबाट अरूलाई अहित हुने देखेमा तुरून्त त्यस कार्यलाई रोक्नुपर्छ । यदि त्यस कार्यले आफूलाई र अरूलाई पनि हित सुख हुने भएमा मात्र त्यस कार्यको थालनी गर्नु पर्छ ।
यसरी नै आफ्नो शरीर वचन र मनले कुनै नराम्रो कार्य गरिसकेको रहेछ र त्यसको प्रतिफल पनि नराम्रो तरिकाले भोग्नु पर्ने विषयमा पनि थाहा पाइएछ भने हामीले त्यो आफ्नो दोषलाई समाजले नदेखिने गरी ढाकछोप गर्न हुँदैन । आफूबाट हुन गएको भूललाई स्वीकारी आफूभन्दा ज्ञानगुणले माथि पुगेका गुरूजन, सो पनि नभए आफूसरहका साथी भाईहरू समक्ष भएपनि आत्मालोचना र माफी माग्नु अति उत्तम हुनेछ ।
आत्मालोचना र माफी माग्नुका साथै यस्तो कुकर्म फेरि भविष्यमा नदोहोर्याउन कोशिस पनि गर्नुपर्ने हुन्छ । आयुष्मान राहुललाई भगवान् बुद्धले दिनुभएको यस शिक्षा अध्ययन गरी हामीले थाहा पाउन सक्छौं, शुद्ध व्यक्ति बन्नका लागि आफ्नो मन वचन र शरीरबाट हुनजाने कर्मलाई हरेक क्षण ऐना हेरे जस्तै हेर्दै होशियारीपूर्वक आफूलाई राम्रो मार्गमा दोर्याउन सक्ने व्यक्तिले मात्र आफ्नो जीवन सफल पार्न सकिनेछ । किनभने यस्तो व्यक्तिले आफ्नो पूण्य बलले दशालाई कमजोर पार्दै भाग्यलाई बलवान बनाउँदै लान सकिनेछ ।
स्रोत – धर्मकीर्ति , आरोन तुलाधर
।। नमः बुद्धाय ।।
