नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स ।
नमस्कार उहाँ भगवान अरहन्त सम्यक सम्बुद्धलाई ।
लेख :– भिक्षुणी धम्मवती
अनुवाद :– भिक्षुणी वीर्यवती
टाइप :- आरोन तुलाधर
भगवान बुद्धको अधिष्ठान बलले ती चारवटै रत्नका पात्रहरू अलि ठूलो आकारको एउटा पात्रमा परिणत भयो । भगवान् बुद्धले त्यही पात्रमा सत्तु थाप्नु भयो । यसरी बुद्धत्व प्राप्त गर्नु भएपछि भगवान बुद्धले ४९ औं दिनपछि पहिला खानु भएको खाना सत्तु हो भने बुद्ध हुनु अगाडि खानु भएको खाना सुजाताले दान दिएको क्षीर भोजन हो । यस क्षीर भोजनलाई उहाँले ४९ गाँस गरी खानु भएको थियो ।
भगवान् बुद्धले सत्तु आहार सेवन गरिसक्नु भएपछि तपुस्स भल्लुकले भगवान बुद्धको केही चिन्ह दिनुहोस् भनी प्रार्थना गरे । यस बेलाका ति व्यापारीहरूले भगवान् बुद्धको तर्फबाट अमूल्य ज्ञान सुन्ने विषयमा प्रार्थना गर्न जानेका थिएनन् भन्ने कुरा यस घटनाबाट प्रष्ट हुन्छ । ती व्यापारीहरूले भगवान् बुद्धको चिन्ह पाउन प्रार्थना गरेको कारणले भगवान् बुद्धले आफ्नो शिरमा हातले स्पर्श गरेर आएका आठवटा केशहरू चिन्हको रूपमा दिनुभयो । तपुस्स र भल्लुकले ती ८ वटा केश धातुहरू सत्तु राखेर ल्याएको सुनको भाँडोमा थापेर लगे ।
ती व्यापारीहरू रंगुन फर्की पहिला राजा ओकलाप समक्ष पुगे । स्मरणीय छ, पहिला पहिला व्यापारीहरू विदेशमा व्यापार गर्न जाँदा पनि र फर्किने बेला पनि आफ्नो देशको राजा समक्ष हाजिर हुनुपर्ने दस्तुर रहेछ । राजा ओकलापले तपुस्स भल्लुकलाई “तिमीहरू मध्य प्रदेशमा व्यापार गर्न जाँदा के के देख्यौ ?” भनी प्रश्न गर्यो । व्यापारीहरूले भगवान् बुद्ध दर्शन गर्न पाएको र उहाँका ८ वटा केशधातुहरू चिन्हको रूपमा ल्याएको कुरा बताए । यो कुरा सुनी ओकलाप राजाले बुद्धको केशधातु हेर्ने इच्छा प्रकट गरेकोले व्यापारीहरूले सुनको भाँडोमा राखेर ल्याएको केशधातुलाई देखाए । ओकलाप राजालाई त्यस केशधातु साधारण मानिसको केश जस्तो लागेकोले यसरी प्रतिकृया गरेछ— “यी त साधारण मानिसको केश रहेछ । तिमीहरूलाई त त्यो मानिसले ठगेर ल्याएछ ।” भनी खिसी गर्यो ।
तपुस्स भल्लुकले बुद्धको यी ८ वटा केशधातुहरू स्थापना गरी चैत्य बनाउनको लागि राजा ओकलापसँग धेरै मद्दत माग्नु पर्नेछ भनी आशा राख्दै राजालाई केशधातु दर्शन गराएका थिए । तर राजाले यसरी खिसी गरेको देखी उनीहरू निराश भए । तैपनि उनीहरूले हरेश नखाइकन हौसला राख्दै केशधातुको अगाडि यसरी अधिष्ठान गरे—
“यदि यस केशधातु महापुरूष भगवान् बुद्धको नै हो भने यस ८ वटा केशधातुहरूबाट आठवटा नै बुद्ध उत्पन्न हुनुभई हामीलाई दर्शन दिनु हुनेछ ।”
यसरी अधिष्ठान गरेपछि ती आठवटा केशधातुहरूबाट आठजना नै बुद्धहरू उत्पन्न हुनभई आकाशमाथिबाट दर्शन दिनुभयो । राजा ओकलापको अगाडि यस्तो घटना घटेपछि राजाले आफूले गरेको प्रतिकृया प्रति पश्चाताप महसूस हुन थाल्यो । त्यसैले उनले भगवान् बुद्ध समक्ष क्षमा याचना गर्दै बुद्ध—दर्शन गर्यो ।
भगवान् बुद्धको शरीरबाट पाँचवटा रश्मि निस्केको कारणले नेपालमा पनि पञ्चबुद्ध स्थापना गर्ने चलन रहेको छ ।
ओकलाप राजाले ती आठवटा केशधातु भगवान् बुद्धको नै हो भन्ने बुझेपछि त्यस केशधातु स्थापना गरी चैत्य बनाउनको लागि आवश्यक सबै सहयोग पुर्याइदियो । पहिला त्यस केशधातुलाई समुद्र नजिक “बुद्ध थउँ” भन्ने स्थानमा स्थापना गरी चैत्य बनाउन तयार गरिएको थियो । तर त्यस स्थानमा चैत्य स्थापना गरियो भने समुद्रको छालले बगाएर लाने भय हुनेछ । त्यसैले यसलाई रंगुनमा रहेको एउटै मात्र पहाडमा लगी स्थापना गरी चैत्य बनाउनु उचित हुनेछ भनी त्यहाँका देवताहरूले सल्लाह दिए । त्यसैले “बुद्ध थउँ” मा उक्त देवताको सालिक बनाएर राखेको छ । हाल स्वदेगो चैत्य स्थापना गरिएको पहाड तर्फ औंलाले देखाई इशारा गरिरहेको उक्त देवताको सालिक हामीले आज पनि गएर हेर्न सक्छौं ।
त्यसैले भगवान् बुद्धको ती आठवटा केशधातु स्थापना गरी उक्त पहाडको टुप्पोमा चैत्य स्थापना गरियो । यही चैत्य हालसम्म स्वेदगों चैत्यको रूपमा प्रख्यात रहेको छ । म्यानमारका प्रत्येक राज्य प्रमुखलाई राज्याभिषेक गर्नु अगाडि स्वेदगों चैत्यमा सुन लेपन गर्नुपर्ने दस्तुर नै रहन गएको छ । त्यसैले स्वेदगों चैत्य सुवर्ण चैत्यको रूपमा प्रस्तुत भइरहेको छ ।
।। नमः बुद्धाय ।।