नानु बराल
कस्तूरीको सुगन्धले मोहित मृग त्यो सुगन्धको उद्गमस्थल खोज्दै रनवन चहार्ने गर्छ। तर पनि उसले त्यसको केही पत्तो पाउन सक्दैन। किनकि त्यो सुगन्धको भण्डार आफ्नै नाभीमा छ भन्ने चेतना त्यसमा हुँदैन। आफ्नै नाभीको सुगन्धको खोजीमा दौडँदा-दौडँदै हैरान भएको मृगसरिका हामी नेपालीलाई मोदीले त्यो सुगन्धबोध गराएर गएका छन् ।
नेपाली भएर नेपाली भाषाको अवहेलना गर्दै सदनमा हिन्दी भाषा बोल्ने हाम्रा मधेसी सभासदहरूलाई आफ्नो भाषाको महत्त्वबोध गराए, उनले आफ्नो सम्बोधन नेपाली भाषाबाट सुरु गरेर। दौरा-सुरुवाल मिल्क्याएर सुटमा सजिनुमा गर्व गर्ने हाम्रा राष्ट्रवादी नेताहरूलाई भाषा र भेष कुनै पनि देशको मौलिक पहिचान हो भन्ने यथार्थसमेत बोध गराए, उनले आफ्नै मौलिक पोसाकमा उभिएर हिन्दीमै नेपाली संसदलाई सम्बोधन गरेर। आफ्नै भूमिमा भएका अपार प्राकृतिक सम्पदालाई चिन्न नसकेर आफ्ना आवश्यकता पूर्तिका लागि अर्काको मुख ताक्ने बानी परेका हामी नेपालीलाई हाम्रो त्यो अथाह प्राकृतिक स्रोत र साधनको उपयोग गर्नु सत्ता संघर्षभन्दा महत्तम पक्ष भएको यथार्थबोध गराए उनले।
नेताको भाषण भनेपछि वितृष्णा हुनथालेको नेपाली जनमानसलाई मन्त्रमुग्ध पार्दै भाषिक अभिव्यक्तिको सामथ्र्य देखाएर उनले हरबखत आपसमा गालीगलौज र कटाक्ष प्रहार गर्नुलाई आफ्नो वाक्पटुता ठान्दै फुलेल हुने हाम्रा नेताहरूलाई अर्को पाठ पढाएर गए।
मोदीको सम्बोधनका प्रत्येक शब्द-शब्दको शक्ति र ओजलाई पुष्टि गरिरहेको थियो, त्यहाँभित्रको तालीको गडगडाहटले। सभासदहरू उनका प्रत्येक वाक्य टुङ्गनि नपाउँदै ताली बजाउन आतुर देखिएका थिए। साँच्चै भन्ने हो भने लक्षणा, व्यञ्जनाभन्दा पनि पर पुगेर मोदीले ध्वन्यात्मक रूपमा आफ्नो अभिव्यक्ति प्रस्तुत गरेका थिए, जसमा एक-दुई प्रसङ्गमा त भारतसामु नेपालको हैसियत दर्शाउनसम्म उनी सफल देखिन्थे। तर हामी भने उनको मनमुग्धकारी शैलीमा मोहित भएर निरन्तर ताली बजाइनै रहेका थियौं।
संविधान निर्माणकै क्रममा एउटा बगैँचाका फूल छुट्टिएर पत्र-पत्र हुनखोजेका हामीलाई उनले संविधानको मर्म सम्झाउँदै संविधानले कहिल्यै पनि तोड्दैन, यसले त जोड्नेमात्र गर्छ भनेर विम्बात्मक शैलीमा सम्झाएर गए। संविधान निर्माण गर्नका लागि ऋषिमनको आवश्यकता हुन्छ भनेको सुनेर ताली बजाउने हामीमा के साँच्चै छ त त्यस्तो ऋषिमन, जसले आज बनाएको संविधान युगौँपछि पनि एक कल्याणकारी दस्तावेजका रूपमा रहिरहनेछ। संविधानमा कुनै अल्पविराम या अर्धविरामसम्म पनि यस्तो रहनु हुँदैन, जुन भविष्यमा हामी नेपालीका लागि विषविज बन्न सक्छ भन्दै उनले संविधान निर्माणप्रतिको सजगतासमेत बोध गराए। प्राचीन समयमा ऋषिहरूले सिर्जना गरेका वेद, उपनिषद आदि शास्त्र अद्यावधि कल्याणकारी भएझै हामीले निर्माण गर्ने कल्याणकारी दस्तावेज अर्थात् संविधानको प्रतीक्षा कहिलेसम्म? यो भने मोदीको नभई आम नेपालीको प्रश्न हो, ६ सय १ ‘ऋषि’हरूलाई जो संविधान निर्माणको वेदीमा पलेँटी कसेर बसेका छन्।
साँच्चै मान्नैपर्छ, उनको कुशल वक्तृत्वकलालाई। हिन्दुस्तानले आजसम्म यस्तो कुनै युद्ध जितेको छैन, जसमा कुनै नेपाली वीरको रगत नबगेको होस् भन्दै नेपाली वीरताको सम्मान गर्ने उनको अभिव्यक्ति स्वयम्मा सम्मानयोग्य छ। तर यसले हाम्रासामु अर्को एउटा गम्भीर प्रश्न पनि खडा गराएको छ, छिमेकीको भूमिसमेत रक्षा गर्न बग्ने नेपाली रगत त्यतिका वर्षसम्म किन बगिरह्यो आफ्नै आँगन बिटुल्याउन? युद्धको मार्गबाट बुद्धको मार्गमा अग्रसर भएका हामीमाथि सम्पूर्ण विश्वकै नजर अडेको भन्दै उनले नेपालमा दीर्घकालील शान्ति स्थापना हुनु भनेको संसारभरका हिंसामा आस्था राख्नेहरूका लागि चुनौती हो भनेर हाम्रो वीरता र बौद्धिकतालाई नै थप चुनौती दिएर गएका छन्। अझै पनि विद्रोहकै बाटो रोज्नुपर्छ भन्नेहरूले एकफेरा राम्ररी सोच्नुपर्ने समय आएको छ, अब हाम्रो उन्नतिको आधार युद्ध हो कि शान्ति? तर विडम्बना, युद्धको द्वार सधैँभरिका लागि बन्द गराउने दस्तावेज तयार पार्ने जिम्मेवारी बोकेका हामी सत्ताप्राप्तिकै खिचातानीमा अल्झिरहन्छौँ।
टेलिभिजनका पर्दाहरूमा उनको सम्बोधन प्रत्यक्ष रूपमा हेरिरहेका आम नेपालीले उनको एउटै शब्द पनि यस्तो पाएनन्, जुन बेकारको लागोस । दुई देशबीच हुने कूटनीतिक भेटघाटमा विभिन्न खालका सम्झौता हुने तथा त्यसको प्रतिफलको तराजु पनि उतातिर नै गह्रौं हुने आजसम्मको यथार्थ भोगेका हामी नेपालीलाई आफ्नो निर्णय कौशल देखाउने चुनौती तथा पर्याप्त आधारसमेत दिएर गए उनले। गिलासमा भएको आधा पानीलाई जसरी सकारात्मक र नकारात्मक दुबै दृष्टिकोणले हेर्न सकिन्छ, त्यस्तै थियो मोदीको सम्बोधन। व्यञ्जनात्मक शैलीमा आफूलाई नेपालजस्ता छिमेकी राष्ट्रको अभिभावकका रूपमा प्रस्तुत गर्न नचुकेका उनी अभिदा अर्थमा भने सारा नेपाली मनलाई उद्विप्त पारेर गए। उनले आर्थिक रूपले जति सहयोग दिएर गए, त्योभन्दा कैयौँ गुणा बढी हामीलाई हाम्रो यथार्थ र कर्तव्यबोध गराएर गए।
थालमा भएको गाँस मुखसम्म पुर्याउन पनि अर्काको मुख ताक्ने हाम्रो परनिर्भर प्रवृत्तिलाई राम्रो व्यंग्य प्रहार गरेर गए। पशुपतिनाथमा जति चन्दन र भेटी चढाए, त्योभन्दा बढी आफ्नो आस्था र विश्वास चढाए, जसका माध्यमबाट तमाम हिन्दुहरूको मन जितेर गए। नेपालमा चलेको सिरेटोले जाडो हुने, यहाँ चर्केको घामले गर्मी लाग्ने, अनि यहाँ कोही भोको रहेमा चैन नहुने भारत अब कालापानी, सुस्ता र अन्य सीमावर्ती घाउहरूमा दुख्छ कि दुख्दैन, त्यो त भविष्यले बताउनेछ। तर अहिले भने मोदीले सार्वभौम नेपाल र नेपालीको भाग्य निर्माता स्वयम् नेपाली र यसको नेतृत्वको क्षमता र दूरदर्शितामा नै अडिएको छ भन्ने सन्देश दिएर गएका छन् ।