मोदीको मदानीमा को को मडार्रिए ?

Read Time:5 Minute, 43 Second

२० साउन, काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँगै काठमाडौं ल्याएका जीतबहादुर सारुमगरसँग ६ औंला रहेकाले उनी भाग्यमानी रहेको बताएका थिए । सारुभन्दा बढ्ता भाग्यमानी रहेका मोदीका हातमा पाँच औंला छन् । यही हातले उनले पाँच ठाउँमा झापड हान्न सफल भए ।

फोटो :अनलाइन खबर

  

कांग्रेस-एमाले : सत्तामा रहेका कांग्रेस र एमालेलाई मोदीले ‘ऋषि मन’ले संविधान बनाउन, कमा र फुलिस्टपमा समेत ख्याल गर्न र सबै फूलहरुलाई मिलाएर सयवर्षसम्म निर्देश गर्नसक्ने संहिता बनाउन आग्रह गरे । मोदीले देखाएको यो औंलाले मधेसवादी, जनजाति आदि समुदायलाई राहत दिएको छ भने कांग्रेस र एमालेलाई चूनौती दिएको छ ।

यही भएर मोदीले भ्रमणको दोस्रो दिन मधेसी नेताहरुलाई थुम्थुम्याउँदै मैले संसदको सम्बोधनमा सबै फूललाई मिलाउन भनिसकेको छु भन्ने सन्देश दिए, जुन कांग्रेस र एमालेलाई भनिएको थियो ।

माओवादी : मोदीले एमाओवादी नेताहरुलाई अशोक सम्राटसँग तुलना गरेर प्रशंसा त गरे, तर यसमार्फत मोदीले गरेको प्रहार चौतर्फी अर्थ राख्नेखालको छ । शस्त्र र युद्धबाट समस्या समाधान हुँदैन भनेर मोदीले माओवादीको राजनीतिशास्त्रमाथि प्रहार गरेका छन् । नेपालका माओवादीलाई प्रशास गरेर उनले भारतका भूमिगत माओवादीलाई सन्देश दिन खोजेका छन् ।

मोदीले उठाएको यो औंला राजनीतिमा बल प्रयोगको सिद्धान्तलाई अनिवार्य शर्त मान्ने माओवादी मान्यतामाथिको गतिलो वैचारिक हमला हो । यो आक्रमणको तीर एमाओवादी र माओवादी दुबैतिर सोझिएको छ । एमाओवादी नेताहरुलाई मोदीको भाषण मन जित्ने लाग्यो, तर वैचारिकरुपमा पनि माओवादीको शीरमा मादीले आक्रमण गर्न भ्याए । मोदीले यति कलात्मक एवं चाणक्यनीति प्रयोग गरेर आफ्ना कुराहरु राखे कि माओवादी नेताले यसमा शास्त्रार्थ गर्नुको साटो सहमति जनाए ।

मधेसवादी नेता : नरेन्द्र मोदीले आफ्नो प्रशंसा र भक्ति गर्ने मधेसवादी नेताहरुलाई समेत प्रहार गरेर आफ्नो प्रष्ट नीति सुझाएका छन् । हायत होटलमा भएको भेटमा मोदीले आफ्नो प्रशंसा गर्ने नेतालाई त्यसरी भक्त नगन्न सुझावसमेत दिएका थिए । साथै उनले मधेसमात्रै होइन सिंगो नेपालका विषयमा सोच्न आग्रह गरेर मधेसी नेताहरुको क्षत्रेीयतावादी सोचाइमाथि औंलो उठाएका छन् ।

भारतमा जातिवादी र क्षेत्रीयतावादीलाई लोकसभा चुनावमा धुलिसात बनाएर सत्तामा आएका मोदीले नेपालमा पनि क्षेत्रीय शक्तिसँग नभई समग्र नेपालसँगमात्रै डिल गर्ने बताएर भारतीय परम्परावादी कूटनीति बदलिएको संकेत गरेका छन्, जसले मधेसवादी नेताहरुमा दह्रो झड्का लागेको छ ।

राजावादी : भारतीय प्रधानमन्त्री मोदीले कमल थापा नेतृत्वको राप्रपा नेपालमाथि पनि चिसो पानी खन्याइदिएका छन् । संसदमा संघीय गणतन्त्रका विषयमा बोलेका मोदीले राजावादीलाई असाध्यै कम महत्व दिएपछि नेपालमा बीजेपी र मोदीको सहयोगमा राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने कमल थापा लगायतको आशामाथि पर्दा लागेको छ । नेपालमा व्याप्त एउटा राजनीतिक विभ्रमको बेलुन मोदीले फुटाइदिएका छन् ।

नागरिक : नरेन्द्र मोदीले नागरिकहरुमा पनि एकप्रकारण झापड हान्न सफल भएका छन् । संसदमा गरेको गुलियो भाषण र सडकमा सर्वसाधारणसँग हात मिलाउने अवसरका कारण मोदीले नेपालमा धेरैको ‘बे्रन वास’ गरिदिएका छन् । यसले भारतविरोधी भावना घटाउन सहयोग पुर्‍याएको धेरैको विश्लेषण छ ।भारतको निरपेक्ष विरोध गर्नेहरुको दिमागमा मोदीले धक्का दिएका छन् ।

त्यसैगरी नेपाल सार्वभौम मुलुक हो, वुद्ध नेपालमा जन्मेका हुन्, गोर्खालीहरु बहादुर हुन्छन्, हिमाल र पहाडमा हाइड्रो र जडिबुटीको प्रचुर सम्भावना छ भन्नेजस्ता मोदीका भनाइले नागरिकहरुको दिल दिमागमा पनि झापड हानिदिएको छ । मोदीको भ्रमणले यिनै पाँच औंले सफलता हासिल गरेको छ । अनलाइन खबरले समाचार टिप्पणी गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %