हुम सुनारी मगर
साउदी अरेवीयामा गत ४ अगष्ट २०१४, सोमबारको दिन एक नेपाली चेलीलाई मृत्युदण्ड दिइयो । उनि भिमाद तनहुँ कि शोभा परियार हुन् । बैदेशिक रोजगारको सिलसिलामा केहि बर्ष अगाडी घरेलु कामदारको रुपमा उनि साउदी अरेवीया आएकी थिइन् । साउदी प्रेस एजेन्सीका अनुसार उनले आफ्नै मालिकका एक दुई बर्षे नावालक बच्चाको हत्या गरेको अभियोग लागेको थियो । उनलाई बचाउनका लागि नेपाली दूताबास बिगत एक बर्ष देखि निरन्तर लागिपरेको बुझिएको छ । तर, दुर्भाग्य पीडक पक्षको हठका कारण दूताबासको पहल निरिह रहयो ।
यो घटना असामान्य हो । एक नेपाल कि छोरीचेली प्रदेशमा आएर मृत्युदण्डको शिकार हुनुमा नेपाल सरकारले सहज रुपमा लिन मिल्दैन । यो असामान्य घटना प्रति सबै पक्ष गम्भीर हुनु अति जरुरी छ । नेपाली नागरिकले प्रदेशमा रहेर मृत्युदण्डको सजाय पाउनु सायद यो नै पहिलो हुन सक्छ । सबै पक्षको ध्यान केन्द्रित होस्, यो गम्भीर घटना प्रति ।
मृत्युदण्डित शोभा परियार
साउदी अरेवीयामा नेपाली महिलाहरु घरेलु कामदारको रुपमा आउन नेपाल सरकारले बन्देज गरेको छ । तर, केहि दलालहरु मार्फत भारतको बाटो हुँदै अवैधानिक तरिकाले साउदी अरेवीया छिरेका शोभा परियार जस्ता हजारौ महिलाहरु घरेलु कामदारको रुपमा यहाँ आएका छन् । एकाध दुई महिला घरेलु कामदारहरु कुनै समस्या बिना सन्तुष्ट पुर्बक काम गरेको भेटिए पनि अधिकांश नेपाली महिला कामदारहरुको अवस्था अति नै दर्दनाक छन् ।
नेपाली घरेलु महिला कामदारहरु प्रत्यक हप्ता जसो ४ देखि १० जनासम्म कुनै न कुनै समस्या अथवा मालिकको पींडा सहन नसकेर नेपाली दूताबास रियादमा शरण पर्न आएका हुन्छन् । ति मध्ये कोहि आफ्नै मालिकद्वारा अथवा मालिकका आफन्तद्वारा योन शोषणमा परेर, कोहि शारीरिक र मानसिक यातना सहन नसकेर भने कोहि खान र तलब सुबिधा आदि नपाएर दूताबासमा शरण पर्न आएको भेटिएका छन् । यस्ता कैयौं पीडित नेपाली चेलीहरुलाई नेपाली दूताबासले आफ्नो सेल्टरमा हप्ता देखि महिना दिनसम्म सुरक्षित राखी प्रक्रिया पुर्याएर स्वदेश फिर्ता पठाइएको हुन्छ । त्यस्ता पीडित नेपाली चेलीहरुलाई काठमाडौँ सम्मको हवाई टिकटको व्यवस्था नेपाली दूताबास र केहि संघ संस्थाहरुको सहयोगमा हुने गरेको पाइएको छ ।
मानवलाई दानव परिस्थितिले गराउँछ । नेपाली चेली, शोभा परियार आफैमा दानवरुपी व्यक्तित्व थिएन अवश्य पनि । उनलाई दानव बन्न परिस्थितिले वाध्य बनाएको हुनु पर्छ । चेली शोभा परियारलाई दिइएको मृत्युदण्डले राष्ट्रलाई स्तब्ध र दुखि बनाएको छ । तिनलाई मृत्युदण्ड दिईनुमा सबै पक्ष दोषी अवश्य छन्; नेपाल सरकार, साउदी सरकार, पीडित र पीडक सबै । शोभा परियार जस्ता हजारौं चेलीहरु साउदीमा कुनै भरपर्दो रोजगार सम्झौता बिना कार्यरत छन् । यो कमजोरीले गर्दा मानवीयता नभएका रोजगार दाताले श्रमिकलाई दुर्ब्यबहार त अवश्य नै गर्छन् । दुर्ब्यबहार सहने पनि सिमा हुन्छ । दुर्ब्यबहारले सिमा नाघे पछि मार्नु र मर्नु स्वभावैले पछि हट्दैनन् कोहि पनि। शोभा परियारको जस्तो घटना पुन: नदोहोरिएला भन्न सकिदैन जवसम्म साउदीमा नेपाली महिला कामदारको बिषयमा कुनै त्यस्तो उचित र भरपर्दो कानुन बन्दैन । भोलिका दिनहरुमा यसरी नै नेपाली चेलीहरु साउदीमा नकाटिएला, नझुण्ड्याइएला अथवा बलात्कृतको शिकार नहोला भन्न सकिदैन । यस्ता घटनाहरु निरन्तर घट्दै गएको अवस्थामा त्यसको जिम्मेवार को हुने ? नेपाली चेलीहरु दिनप्रति दिन साउदी नागरिकहरुद्वारा बलात्कृत हुनु पर्ने । तर, तिनका चेलीहरुलाई झुक्किएर हेर्न सम्म पनि नहुने । तिनका चेलीलाई बलात्कार त के दुबैको सहमतिमा योन सम्बन्धसम्म पनि राख्नु अपराध ठहरिन्छ । साबित भए मृत्युदण्डको सजाय दिइन्छ ।
समाधानको लागि उपाय के त ? नेपाल सरकारले महिला कामदार साउदी पठाउन दुइ देश बीच कुनै भरपर्दो रोजगार सम्झौता नहुँदासम्म साउदी सरकारले नेपाली महिला कामदारको लागि प्रवेशाज्ञा (Visa) पूर्ण रुपले बन्द गर्न साउदी सरकारसँग अनुरोध गर्नु पर्ने । साउदी सरकारले नेपाली महिला कामदारको लागि Visa बन्द गरे पछि साउदीका मानिसहरुले भारतको बाटो हुँदै अवैधानिक तरिकाले नेपाली महिला कामदारहरु ल्याउन पूर्ण रुपले स्वत: बन्द हुनेछ ।
यसै मेडिया मार्फत सम्पूर्ण नेपाली चेलीहरु जसले घरेलु कामदारको लागि साउदी अरेवीया जाने सोच राख्नु भएको छ अथवा कुनै पनि दलालले तपाईलाई भारतको दिल्ली र मुम्बईको बाटो भएर साउदी लैजानको लागि फकाई फुलाई गरेको छ भने त्यस्ता दलालहरुको लहैलहैमा लागेर आफ्नै भबिष्यलाई अध्यारो सुरुङ्ग भित्र पसाल्ने काम नगर्नु होला । नेपालको सरकारले वैधानिक तवरबाट साउदी अरेवीयामा महिला कामदार जान दिने भन्ने मेडियाहरुमा आइरहेको पनि छ । तर, नेपाल सरकारले साउदी सरकारसँग उचित र भरपर्दो महिला कामदार सम्बन्धि कानून नबनाउदासम्म घरेलु कामदारको लागि कुनै पनि महिला दिदीबहिनीहरु साउदी आएर आफ्नै भबिष्य बर्बाद गर्न नआउनु होला भन्ने यो जनचेतना आह्वान गर्दछु । जो जसले यो लेख पढ्नु भएको छ वहाँहरुले पनि आ-आफ्नो छरछिमेकमा प्यापक प्रचार-प्रसार गरिदिनु हुन अनुरोध गर्दछु ।
(सुनारी मगर हाल साउदी अरेवीयामा समाजसेवामा कार्यरत छन् )