नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स ।
नमस्कार उहाँ भगवान अरहन्त सम्यक सम्बुद्धलाई ।
लेख:– भिक्षुणी धम्मवती
अनुवादक:– भिक्षुणी वीर्यवती
टाइप:- आरोन तुलाधर
बुद्ध धर्म बर्मा (म्यानमार) देश भन्दा पहिला अरकानमा प्रचार भएको देखिन्छ । भारतमा जति पनि बर्मी विहारहरू निर्मित छन्, ती मध्ये धेरैजसो विहारहरू अरकान निवासी मानिसहरूले बनाएका हुन् । पहिला पहिला बर्मा देश सबै जङ्गलले भरिएको देखिन्छ । हालको रंगुन (याँगुन) सहर पनि जंङ्गल नै थियो । यस जंङ्गललाई रंगुन देशको रूपमा परिणत गर्ने व्यक्ति राजा ओकलाप हुन् । ओकलाप राजा इन्द्रका छोरा हुन् भन्ने किंवदन्ति छ ।
आजभोली यही रंगुन देश (म्यानमार) बर्मा देशको राजधानीको रूपमा रहेको छ । स्वदेगों चैत्य रंगुन राजधानीमा नै स्थापना गरिएको छ । म्यानमारमा भ्रमण गरिसकेका धेरै जसो व्यक्तिहरूले स्वेदेगों चैत्य दर्शन गर्ने सौभाग्य प्राप्त गरेका हुन्छन् । आऔं यस रंगुन सहर र यस सहरमा स्थापित स्वदेगों चैत्यको उत्पत्ति विषयमा एकछिन अध्ययन गरौं ।
हालको रंगुन सहर जङ्गलको रूपमा रहेको बेला ऋषिहरू त्यस जंङ्गलमा फलफुल खोज्न आउँथे । एकदिन यसरी नै फलफूल खोज्न आउँदा उनीहरूले नपाकेको तर आकारमा अरू फलफूल भन्दा ठूलो फल देखे । असाधारण रूपमा ठूलो तर नपाकेको फल देखी आश्चर्य लागी एउटा ऋषिले त्यस फललाई छामेर हेरेछ । जब फललाई छोयो तब त्यस फल पट्ट फुटेछ र भित्रबाट एउटी रहरलाग्दी बालिका देखिएछ । यसरी फलभित्र बालिका देखेपछि त्यस ऋषिले त्यस बालिकालाई आफ्नी सुपुत्रीको रूपमा पाल्न लग्यो । बालिकालाई आहारको रूपमा दूध आवश्यक भएकोले त्यस ऋषिले आफ्नो चोर औलाबाट दुध निस्कियोस् भनी आफ्नो ध्यान चित्तले अधिष्ठान गर्यो । अनि त्यस औलाबाट निस्किएको दुध पिलाई बालिका हुर्कायो । ठूलो फलबाट निस्किएकी बालिका भएकीले उक्त बालिकाको नाम मेलमू भनी राखियो ।
यौवन अवस्थामा पुगिसकेपछि मेलमूले आफ्नो बुबा ऋषि फलफूल टिपेर फर्किने समयमा बीच बाटोसम्म पुगी लिन जाने गथिर्न् । एकदिन सधै जसो आफ्नो बुबा ऋषिलाई लिन गएकी बेला उनीलाई इन्द्रले देखेर मनपराएछ । पहिला पहिला मनुष्य र देवताहरूको कुराकानी र सम्बन्ध चल्छ भन्ने कुरा यस घटनाले पनि प्रष्ट पार्दछ । आफूलाई मनपरेकी मेलमूसँग विवाह प्रस्ताव राख्नको लागी इन्द्र ऋषि समक्ष पुगेछ । तर ऋषिले मेलमूलाई इन्द्रसँग विवाह गराउन चाहेन । किनभने इन्द्रदेव स्वर्गलोक निवासी ज्यादै व्यस्त एवं बेफुर्सदी देवता भएको कारणले उ मनुष्य लोकमा धेरै समय रहन पाउँदैन । त्यसैले उनले मेलमूलाई सुखपूर्वक पाल्न सक्दैन । मेलमू पनि मनुष्य जाती भएको कारणले उनी स्वर्गलोकमा धेरै समय सम्म रहन सक्दिनन् । किनभने मनुष्य रूप स्थूल भएको कारणले स्थूल आहार नै सेवन गर्नु पर्ने हुन्छ । फलस्वरूप दिसापिसाब रूपी असुची त्याग्नु पर्ने हुन्छ । तर देवताहरूको शरीर शूक्ष्म भएको कारणले उनीहरूले शूक्ष्म आहार अर्थात् दिव्य आहार मात्र सेवन गरे पुग्ने भएको कारणले उनीहरूको शरीर भित्र मलमूत्र हुँदैन । फलस्वरूप उनीहरूलाई मलमूत्र त्याग्नपु र्ने झंझट हुँदैन । यही कारणले मेलमू देव लोकमा रहन नसकिने भएकोले ऋषिले इन्द्रको प्रस्तावलाई स्वीकार्न सकेन । तैपनि इन्द्रले मेलमूलाई कुनै पनि समस्या आउन नदिई मनुष्यलोकमा नै सुखपूर्वक जीवन बिताउने व्यवस्था मिलाईदिने वचन दिई विवाह गरिछोडे । विवाह बन्धनमा बाँधिएका इन्द्र र मेलमू मनुष्य लोकमा नै सुखपूर्वक रहन थाले ।
एकदिन इन्द्रलाई देवलोकमा नगई नहुने जरुरी काम आइपरेकोले उ देवलोकमा पुगे । तर देवलोकमा आइपरेका विभिन्न जिम्मेवारीहरू वहन गर्दा गर्दै उ मनुष्य लोक फर्कन पाएन । यता मेलमू आफ्नो पतिदेव इन्द्रको बिछोड सहन नसकी विलाप गर्दै रोइरहिन् । आफ्नी छोरी रूँदै गरेको हेर्न नसकी ऋषिले जसरी भएपनि आफ्नी छोरी मेलमूको दुःख र पीडा हटाउने उपाय गरिदिनु पर्यो भनी पत्र लेखी उक्त पत्र एउटा मैनालाई दिई देवलोकमा इन्द्र समक्ष पठाए । इन्द्रले यस समस्या सुल्झाउनको लागि मेलमूलाई पिलाइदिनु भनी ३ थोपा अमृत मैनालाई दिई पठायो । ती ३ थोपा अमृत पिएपछि ३ वटा नै सन्तान जन्मिएर मेलमूको ध्यान आफूले जन्माएका ती सन्तानहरूमा अल्झिएर उनीले इन्द्रको विछोडलाई बिर्सनेछिन् भनी इन्द्रले अमृत दिएर पठाएको रहेछ ।
यसरी मैनाले स्वर्गलोकबाट अमृत लगेको देखी स्वर्गका अप्सराहरूले चीलको भेष धारण गरी मैनालाई लखेट्न आए । उनीहरूले मैनालाई आफ्नो पखेटाले हानेर एक थोपा अमृत खसालिदियो । खसेको उक्त अमृत समुद्रमा परी त्यसवाट एक ठूलो गोहीको जन्म भयो । अर्को पटक पनि चीलले आफ्नो पखेटाले हान्दा अर्को एक थोपा अमृत खसेर जंङ्गलमा पर्यो । जंङ्गलमा खसेको अमृतको थोपाबाट एक ठूलो मृगको जन्म भयो । त्यसपछि बाँकि रहेको एक थोपा अमृतलाई मैनाले हिफाजत गरी बचाउँदै मनुष्य लोकमा पुर्याएर मेलमूलाई पिलाउन सफल भयो । अमृत पिएको कारणले मेलमू गर्भवती भई समय पुगेपछि उनीले एक पुत्ररत्नलाई जन्म दिइन् । त्यस बालकलाई ओकलाप भनी नामाकरण गरियो । पछि इन्द्र आई आफ्नो छोरो ओकलापलाई रंगुनको राजा बनाई रंगुनलाई एक देशको रूपमा निर्माण गरिदिएको किम्बदन्ती रहेको छ ।
एकदिन रंगुन देशका व्यापारीहरू आफ्ना ५०० बैलगाडाहरू भरि सामान लिई मध्ये प्रदेश (हाल भारत) तर्फ व्यापार गर्न जानको लागि आफ्ना राजा ओकलाप सँग अनुमति लिन गएका थिए । मध्ये प्रदेश रंगुन देश भन्दा धेरै ठूलो थियो । ओकलाप राजाले उनीहरूलाई व्यापार गर्न जाने अनुमति दिंदै मध्य प्रदेशमा उनीहरूले देखेका नौला र अनौठा घटना र चीजहरू विषयमा बताउन आउन आदेश दिए । ती व्यापारीहरूको नाम तपुस्स र भल्लुक थियो । पहिला पहिलाको चलन अनुसार टाढा टाढा (विदेश) व्यापार गर्न जाँदा केही समस्या आइपर्यो भने क्षमा पूजा गर्नको लागि पूजा सामान (किसली) पनि लग्ने गरिन्थ्यो । तपुस्स र भल्लुकले पनि यसरी नै पूजा सामाना लगेका थिए ।
व्यापारीहरू बुद्धगयाको जंङ्गलमा पुग्दा पाँच सयवटा नै बैलगाडाहरू अचानक रोकिए । गाडाहरू रोकिएपछि व्यापारीहरू आत्तिएर उक्त जंङ्गलमा क्षमा पूजा गरे । त्यसपछि त्यहिंको बनदेवी आई उनीहरूलाई भनिन्— “तिमीहरूलाई मैले दुःख दिनको लागि गाडा रोकेकी होइन । तिमीहरू पहिलाको जन्ममा मेरा छोराहरू हौ । यस जङ्गलमा भगवान् बुद्ध उत्पन्न हुनुभएको छ । त्यसैले पहिला तिमीहरूले उहाँलाई दर्शन गर्न जानु । तिमीहरूलाई यो सुवर्ण मौका आइराखेको कारणले मैले तिमीहरूको गाडा रोक्न लगाएकी हुँ ।”
तपुस्स र भल्लुकले आफ्नो पहिलो जन्मको आमाको यस मैत्रीपूर्ण सल्लाहलाई स्वीकारी उनीहरूले व्यापार गर्न जाँदा बाटोमा खानको लागि भनेर राखेर ल्याएको खाना सत्तु, ध्यू र मह भगवान् बुद्धलाई दान दिनको लागि गए । उता भगवान् बुद्धले बोधिवृक्ष मुनि बुद्धत्व प्राप्त गरिसक्नु भएपछि सात दिन सम्म बोधिवृक्ष मुनि नै रहनु भएको थियो । सात दिनपछि बोधिवृक्ष अगाडि उभिनुभई यस वृक्षको गुणानुस्मरण गर्दै ७ दिन सम्म आँखा नझिम्काइकन बोधिवृक्षलाई नेत्रपूजा गर्नु भएको थियो । यसरी सातदिन पछि उहाँले बुद्धगयामा चंक्रमण गर्दै सातदिन बिताउनु भएको थियो । त्यसपछि सातदिन सम्म रत्नाघरमा बिताउनु भएको थियो । त्यसपछि अजपाल वृक्षमुनि ७ दिन बिताउनु भयो । अर्को सात दिन मुचलिन्दमा बिताउनु भयो भने अन्तिम सप्ताह राजायतनमा बिताउनु भएको थियो ।
भगवान बुद्धले बुद्धत्व प्राप्त गरिसक्नु भए पछि निराहार रही ७ ठाउँमा एक एक सप्ताह बिताउनु हुँदै ४९ औं दिन अथवा अन्तिम दिनमा उहाँ राजायतन भन्ने स्थानमा रहनु हुँदा तपुस्स र भल्लुकले सत्तु दान गर्न आएका थिए । ती व्यापारीहरूले सत्तु दान गर्दा भगवान् बुद्धसँग सत्तु थाप्नका लागि कुनै पनि भाँडो थिएन । यो दृष्य चतुर्महाराजिक देवताहरूले देखे । अनि यी अभाव पूर्ति गर्नको लागि चतुर्महाराजाहरू मध्ये पहिलो धृतराष्ट्र देवताले ‘नमो’ शब्द उच्चारण गर्दै रत्नको नीलो पात्र भगवान् बुद्धलाई चढायो । दोश्रो पटक विरूल्हक देवताले ‘तस्स भगवतो’ भन्ने शब्द उच्चारण गर्दै अर्को रत्नको नीलो पात्र भगवान् बुद्धलाई चढायो । तेश्रो पटक विरूपाक्ष देवताले ‘अरहतो’ शब्द उच्चारण गर्दै अर्को रत्नको नीलो पात्र भगवान् बुद्ध लाई चढायो । चौथौं पटक कुवेर देवताले ‘सम्मासम्बुद्धस्स’ भन्ने शब्द उच्चारण गर्दै रत्नको अर्को नीलो पात्र चढायो । यसरी भगवान बुद्धसँग चार वटा रत्नका पात्रहरू भएपछि भगवान् बुद्धलाई कुन पात्रमा सत्तु थाप्ने ? भनी अन्यौल भयो । त्यसैले चारैजना चतुर्महाराजहरूको चित्त बुझाइ दिनको लागि भगवान बुद्धले एउटा पात्र माथि अर्को पात्र खप्टनुभई चारै वटा पात्रहरू एउटा बनोस् भनी अधिष्ठान गर्नुभयो ।
क्रमशः
। । नमः बुद्धाय । ।