काठमाडौँ, साउन १५ – रानीवनस्थित स्यारभन गुम्बामा १४ औँ दिवङ्गत धर्मगुरु श्यामार्पा कुनसिंग रिन्पोछेको पार्थिव शरीरको आज अन्त्येष्टि गरियो ।
गत जेठ २८ गते जर्मनीमा हृदयाघातका कारण ६२ वर्षको उमेरमा मृत्यु भएपछि उनको शवलाई मङ्गलबार यहाँ ल्याइएको थियो। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाल पनि उनको अन्तिम श्रद्धाञ्जलीका लागि पुगेका थिए। उनलको पार्थिव शरीरमा भारतबाट आएका कर्मपा थिन्ले थाए दोर्जेले आगो दिएका हुन्।
स्वदेशी तथा विभिन्न देशबाट आएका भक्तजन तथा सर्वसाधारणले रिन्पोछेको पार्थिव शरीरको दर्शन गरेका थिए। अहिलेसम्म हजारौँले उनको दर्शन गरेको गुम्बाका सदस्य दावा साङ्वो ह्युलमोपाले बताए। रिन्पोछेले नेपाल, भारत र भुटानलाई विशेष कर्मथलो बनाई विश्वका विभिन्न मुलुकमा ९०० बौद्ध अध्ययन केन्द्रको स्थापना गरेका छन् ।
रानीवनको सो गुम्बालाई उनको प्रमुख केन्द्रका रूपमा विकास गरिएको छ । रिन्पोछेको इच्छाअनुसार उनलाई यही गुम्बामा अन्त्येष्टि गरिन लागिएको हो।
सेतो पाटी बाट