निरन्तर दबाबपछि अन्तिम संस्कार काठमाडौंमै गर्न दिन सरकार राजी, पढ्नुहोस पुरा पाठ सहित ।
अन्ततः सरकारले अनुमति दिने भएपछि १४ औं श्यामार्पा रिन्पोछेको कुदुङ (पार्थिव शरीर) अन्तिम दर्शन तथा समाधिका निम्ति मंगलबार काठमाडौं ल्याउने तयारी भएको छ। ‘भोलि (मंगलबार) ल्याउने निश्चित भएको छ,’ सरकारले अनुमति प्रक्रियालाई अन्तिम चरण दिएपछि यो प्रक्रियामा सक्रिय संस्कृतिविद डा. रमेश ढुंगेलले सोमबार सेतोपाटीसँग भने, ‘कुदुङ ल्याउन कागजातको प्रक्रिया तयार भइरहेको छ।’
गृहमन्त्रीको हैसियतमा उपप्रधानमन्त्री वामदेव गौतमले विदेशी नागरिकको शव नेपाल ल्याउन नमिल्ने निर्णय गरेका कारण मन्त्रिपरिषद बाट अनुमतिको निर्णय गर्नु परेको हो । रिन्पोछेको कुदुङ ल्याउन नदिने निर्णय उनले गरे पनि प्रधानमन्त्री सुशील कोइराला उपचार गराई स्वदेश फर्कने समयको प्रतीक्षामा समुदाय रहेको थियो । सुरक्षाका कारण श्यामार्पाको शब ल्याउन नदिने निर्णय प्रधानमन्त्री कोइरालाले फर्कनासाथ श्यामार्पाको पार्थिव शरीर ल्याउने अनुमति दिन निर्देशन दिएका थिए। उनले निर्देशन दिए पनि प्रशासनयन्त्रको ढिलाइले ल्याउन नसकिने हो कि भन्ने आशंका आयोजकलाई थियो ।
सुरक्षाका कारण श्यामार्पाको शब ल्याउन नदिने निर्णय
कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमले राष्ट्रपति डा. रामवरण यादवलाई यस सम्बन्धी निर्णयको जानकारी पनि बिहीबारै दिइसकेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार, श्यामार्पा रिन्पोछेको कुदुङ काठमाडौं ल्याउन दिँदा ठूलो संख्यामा अनुयायीहरू सहभागी हुने भएकोले सुरक्षाका समस्या हुन सक्ने जानकारी गराएका थिए।
यहिँ मौका पारेर स्वतन्त्र तिब्बत गतिविधिमा संलग्न हुने दलाई लामाका अनुयायीहरूले समेत घुसपैठ गरी कुनै गतिविधि गरेमा त्यसले देशलाई ठूलो क्षति हुन सक्ने पनि गौतमले बताएका थिए। यसरी अनुमति दिनु सुरक्षा व्यवस्थाकै निम्ति संवेदनशील हुने भएकोले पनि अनुमति दिन नसकिने निर्णय सरकारले गरेको गृह स्रोतले बतायो।
स्रोतका अनुसार, श्यामार्पा रिन्पोछेको पार्थिव शरीर नेपाल ल्याउन दिँदा आउन सक्ने सुरक्षा हाँकका बारेमा समीक्षा गरेर ल्याउन नसकिने निर्णय गरिएको हो। उक्त निर्णयबारे जानकारी गराउन गौतम राष्ट्रपति निवास गएका हुन्।
सभासद र स्थानीय समुदायका व्यक्तिहरूसँगको भेटमा राष्ट्रपतिले सरकारलाई श्यामार्पाको शब ल्याउन दिन पत्र लेख्ने आवश्वास समेत दिएका थिए। सन् २०११ मा राष्ट्रपतिले उनीसँगै विश्व शान्ति महोत्सव मान्लाम छेन्मोको उद्घाटन समेत गरेका थिए।
श्यामार्पाको शव ल्याउन दिन राष्ट्रपतिले पत्र लेख्ने
अन्तिम संस्कारका निम्ति श्यामार्पा रिम्पोचेको शब नेपाल ल्याउने अनुमति दिन राष्ट्रपति रामवरण यादवले सरकारको ध्यानाकर्षण गर्न पत्र लेख्ने भएका छन् ।
पूर्वमन्त्री गोपाल दहित एवं सभासद रुक्मिणी चौधरी र हेलम्बुमा रहेका उनका उपासकहरूले सोमबार राष्ट्रपति यादवलाई भेटी उनको पार्थिव शरीर काठमाडौं रानीवन फेदीमा उनले स्थापना गरेको श्यार् मिन्हुन इन्स्टिच्युटमा समाधि राख्ने अनुमति दिलाउन आग्रह गरेका थिए ।
सरकारका सचिवहरूले नबुझेर यस्तो निर्णय गरेका हुँदा तिनलाई बुझाउन विज्ञहरूलाई लिएर जानसमेत राष्ट्रपतिले तिनलाई सुझाउ दिँदै आफूले सरकारलाई पत्र लेखिदिने आश्वासन दिएको यो अभियानमा क्रियाशील हिमाली संस्कृतिका ज्ञाता डा. रमेश ढुंगेलले सेतोपाटीलाई बताए ।
भूटान सरकारले मानार्थ दिएको रातो पासपोर्टका आधारमा विदेशी नागरिक भनी नेपालमा शब ल्याउन नदिन गृह सचिव स्तरीय निर्णय भई कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमले समेत अनुमोदन गरेका हुँदा त्यसलाई मन्त्रिपरिषद्को निर्णयले मात्र परिवर्तन गर्न सकिने भएको छ । यसमा सकारात्मक निर्णय गर्न आग्रह गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री मीनेन्द्र रिजाललाई आग्रह गर्दा यसलाई मन्त्रिपरिषद्मा लैजानु पर्ने जानकारी दिएको हिमाली संस्कृति तथा वौद्ध धर्मसम्बन्धी जानकार डा. रमेश ढुंगेलले बताए ।
श्यामार्पाको शब ल्याउन दिन आग्रह गर्दै एक सयभन्दा बढी यस क्षेत्रका समुदायहरूले कार्यवाहक प्रधानमन्त्री, परराष्ट्र मन्त्री र पर्यटन मन्त्रीलाई समेत पत्र लेखिसकेका छन् । बौद्ध धर्मावलम्बीहरू अत्यन्तै सम्मान गरेका श्यामार्पाको शब जसरी पनि काठमाडौं सरोकारवाला समुदाय सक्रिय भएको थाहा भएको छ । उनको सब आइनपुगे पनि आस्थावान व्यक्तिहरू केन्द्रमा पुगेर ध्यान गर्न थालिसकेका छन् ।
श्यामार्पाको पार्थिव शरीर बिहीबारसम्ममा ल्याउन नसक्ने हो भने उनको अन्तिम संस्कारको ३९ औं दिन कट्ने थिया। ‘त्यसपछि ल्याउनु र नल्याउनुको कुनै अर्थ हुने थिएन,’ डा. ढुंगेलले बताए।
‘केही औपचारिकता दिन बाँकी छ,’ सरकारका एक उच्च अधिकारीले भने, ‘परिपक्व भइसकेको छैन।’ गृहमन्त्रीको तहमा निर्णय गरेर पार्थिव शरीर ल्याउन नदिने भएपछि रोकिएको प्रक्रिया खुलाउन त्योभन्दा माथिल्लो तह मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने हुन्छ। यसका निम्ति सम्बद्ध कर्मचारीहरूले औपचारिक निर्णयका निम्ति प्रस्ताव तयार पारिसकेका छन्।
‘मंगलबार बिहानसम्ममा मन्त्रिपरिषद् बैठक बस्नेछ,’ प्रक्रियामा संलग्न एक सरोकारवालाले बताए। सरकारले अनुमति दिने प्रक्रिया पूरा गर्न लागेको हुँदा कुदुङ ल्याउने काममा लाग्ने संकेत सम्बद्ध पक्षलाई मिलेको हो। ‘गुरुको पार्थिव शरीर ल्याउन रानीवनमा भव्य तयारी भइरहेको छ,’ डा. ढुंगेलले भने। काठमाडौं रानीवनस्थित श्यार् मिन्हुन् इन्स्टिच्युट परिसरमा १४ श्यामार्पा रिन्पोचेको अन्तिम समाधि गर्न शव ल्याउने तयारीमा सरकारले रोक लगाएको थियो। सुरूमा चीनले यसमा आपत्ति जनाएको बताइएको थियो। तर, चीनले यसलाई आन्तरिक मामिला भन्दै कुनै प्रतिक्रिया व्यक्त गरेको थिएन।
श्यामार्पाको शब ल्याउन दिन भूटानी प्रधानमन्त्रीको पत्र
हिमाली तथा तिब्बती परम्पराको कर्म कर्ग्युपा सम्प्रदायका १४ औं श्यामार्पा रिन्पोछेको पार्थिव शरीर समाधिका निम्ति नेपाल ल्याउन दिन भूटानी प्रधानमन्त्री छिरिङ टोप्गेेले कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमलाई पत्र लेखेका छन्।
विदेशीको शव नेपाल ल्याएर अन्तिम संस्कार गर्न नमिल्ने निर्णय नेपाल सरकारले गरिसकेका कारण यसमा पुनर्विचार गरिदिन उनले आग्रह गरेका हुन्। उनले आग्रह गरे पनि यस विषयमा सरकार उच्च अधिकारीहररूले हाम्रो कानुनले विदेशीको शब ल्याउन नदिने प्रष्ट पारिसकेका छन्।
‘विदेशीलाई नेपालमा ल्याएर यहाँ दाहसंस्कार गर्न दिने ठाउँ हामीकहाँ छैन,’ गृह सचिव सूर्य सिलवालले सेतोपाटीसँग भने, ‘यो हाम्रो परम्परा पनि होइन र कानुनले हामीलाई यसो गर्न अनुमति पनि दिँदैन।’
‘उनीहरूले माग्नु स्वाभाविक हो,’ सिलवालले अगाडि भने, ‘भोलि कुनै ठूला मुसलमानले नेपालमा आएर अन्तिम संस्कार गर्न चाहलान् वा कुनै पादरीको त्यस्तो ईच्छा होला, हामीले यसलाई धान्न सक्दैनौं।’
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार भूटानी प्रधानमन्त्री टोप्गेेको पत्र शुक्रबार आएको हो। शनिबार बिदा परेको हुनाले मन्त्रालयले यसलाई गृह मन्त्रालयमा पठाइसकेको छैन। ‘हामी सम्बन्धित निकायमा त्यो पत्र पठाइदिन्छौं,’ नाम उल्लेख गर्न नचाहने एक परराष्ट्र अधिकारीले भने।
सचिव सिलवालले भने त्यस्तो पत्र आफूकहाँ आइनपुगेको जानकारी दिए। ‘परराष्ट्र र गृह मन्त्रालयले यसमा व्यापक छलफल गरिसकेका छौं,’ उनले भने, ‘हाम्रो कुनै पनि कानुनले विदेशीलाई नेपालमा ल्याएर दाहसंस्कार गर्न अनुमति दिँदैन।’
‘भूटानी प्रधानमन्त्रीले हाम्रा कार्यवाहक प्रधानमन्त्रीलाई पत्र पठाएको हामीले थाहा पाएका छौं,’ बौद्ध परम्परा तथा हिमाली संस्कृतिका ज्ञाता एवं श्यार मिन्हुन इन्स्टिच्युटका सल्लाहकार डा. रमेश ढुंगेलले आइतबार सेतोपाटीलाई बताए।
‘तर, परराष्ट्र मन्त्रालयमार्फत् पठाइएको पत्र अझै कार्यवाहक प्रधानमन्त्रीलाई नपुगेको हुँदा हामी त्यसका निम्ति अनुरोध गर्न जाँदैछौं।’
श्यामार्पाले काठमाडौं रानीवनको फेदीमा स्थापना गरेको श्यार् मिन्हुन् इन्स्टिच्युटमा उनको समाधि राख्न आइतबार पार्थिव शरीर काठमाडौं ल्याउने दिन तय भएको थियो। परराष्ट्र अधिकारीका अनुसार नेपालमै बसोबास गर्दै आएको जानकारी दिँदै उनको पार्थिव शरीर ल्याउन दिन निवेदन दिएको थियो। यसै आधारमा ल्याउन दिन उसले गृह मन्त्रालयलाई पत्र पनि पठाएको थियो। तर, विदेशी नागरिक भन्ने थाहा पाएपछि सरकारले यसमा रोक लगाउने निर्णय गरेको थियो।
तिब्बती धार्मिक गुरु दलाइ लामाजत्तिकै सम्मानित र चीन, भारत, भुटान, नेपाल र युरोपेली मुलुकहरूमा व्यापक धार्मिक र शैक्षिक गतिविधि संचालन गर्दै आएका स्यामार्पा रिम्पोचेलाई आतेजाते गर्न सजिलो होस् भनी भूटानी राजाले मानार्थ नागरिकता दिएको ढुंगेलले जानकारी दिए। यसैका आधारमा विदेशीको शव ल्याउन नमिल्ने भन्दै निर्णय गरेपछि अप्ठ्यारो परेको डा. ढुंगेलले बताए।
जर्मनीमा रहेको बोधीपथ कर्ग्यु केन्द्र रिन्छेन उलमा जेठ २८ गते हृदयघातबाट श्यामार्पाको निधन भएको थियो। औतारी लामाहरूको पार्थिव शरीर आफ्ना विभिन्न केन्द्रहरूमा पुर्याएर दर्शनका निम्ति राख्ने चलन छ। त्यसैअनुसार अहिले भारतको कालिम्पोङबाट भूटानी राजदरबारमा आइतबार दर्शनका निम्ति पुर्याएर काठमाडौंमा ड्रूक एअरबाट उनको पार्थिव शरीर ल्याउने योजना थियो।
यो प्रक्रियामा सहयोग गरिदिन डा. ढुंगेलसहितको टोलीले कार्यवाहक प्रधानमन्त्री गौतमलाई समेत भेट गरिसकेको थियो। उनले यसलाई ‘हेर्छु’ भन्दै दिएका आश्वासनबाट ढुक्क हुँदै प्रतिनिधिमण्डलले प्रतिक्षा गरेको भए पनि निर्धारित मितिमा काम हुन नपाएपछि यो सम्प्रदायका व्यक्तिहरू चिन्तित हुन थालेका छन्।
डा. ढुंगेलका अनुसार, चीनको तिब्बतस्थित देर्गेमा सन् १९५२ मा जन्मेका श्यामर्पालाई ६ वर्षको उमेरमा अवतार भएको मान्यता दिइएको थियो। त्यसपछि उनलाई सिक्कमको रुमतेकस्थित कर्मकर्ग्यु गोम्पामा थप शिक्षादीक्षा भएको थियो। उनले बौद्ध शिक्षाबाहेक अमेरिकाको युनिभर्सिटी अर्फ क्यालिफोर्निया बर्कलेमा समेत अध्ययन गरेका थिए।
नेपालसँग श्यामर्पाहरूको मल्लकालदेखिकै सम्बन्ध भएको र यहाँ अनेकन गतिविधि गरेका कारण पनि उनको शब ल्याएर यहाँ समाधिमा राख्दा ठूलो अर्न्ताष्ट्रिय तीर्थ स्थलकै रुपमा देशले फाइदा उठाउन सक्ने डा. ढुंगेलले बताए। छैठौ श्यामर्पाले नेपालमा भ्रमण गरेको उल्लेख गर्दै ढुंगेलले आठौं स्यामर्पाको हेलम्बुमा अवतार भएको पत्ता लागेपछि प्रताप मल्लका पिता राजा लक्ष्मीनरसिंह मल्लले उनलाई हनुमान ढोकामा झिकाइ दर्शन गरेका थिए।
‘मेरो मुलुकमा यत्रो ठूलो लामा आउनु भएछ,’ भन्दै लक्ष्मीनरसिंहले हेलम्बुदेखि उनलाई बोकाएर काठमाडौं ल्याएका थिए। दर्शनपछि हनुमानढोकादेखि बोद्धसम्म हात्तीमा राखेर बाजागागासहित सिंदुरेजात्रा गर्दै उनलाई फर्काइएको इतिहास रहेको ढुंगेलले उल्लेख गरे।
उनको अन्तिम समाधि साउन १५ गते विहीबार गर्ने निर्णयअनुसार चार सयभन्दा बढी संसारभरिका उनका अनुयाहीहरूले काठमाडौंका होटल बुक गरिसकेकोमा अहिले आएर उनीहरू असमञ्जसमा परेको ढुंगेलले बताए। उनको समाधिले यहाँ वर्षेनी ५ देखि १० हजार तीर्थालुलाई ल्याउँने भएकोले पनि यो अवसर गुमाउन नहुने उनले बताए।
‘यो नेपालका निम्ति ठूलो अवसर हो’, उनले भने, ‘यसलाई हाम्रो सरकारले बुझ्नै खोजेन। यो घटनालाई एउटा सामान्य व्यक्तिको रुपमा मात्र लिएर निर्णय गर्नु हुँदैन।’
नेपाललगायत भारत, भूटान, सिक्किम र युरोपेली मुलुकहरूमा धार्मिक गतिविधि गर्दै आएका १४ औं श्यामार्पाको जन्म तिब्बतमा भएको थियो। तर, उनको शिक्षादीक्षा सिक्किमस्थित रुमतेक गुम्बामा भएको थियो। नेपालसँग गहिरो नाता भएका उनले आफूलाई यही समाधिमा राखिदिन आग्रह गरे पनि सरकारले अनुमति नदिँदा समुदायमा गहिरो चोट पुगेको थियो। ढिलै होस्, सरकारले अनुमति दिएर अवगालबाट आफूलाई जोगाएको छ।
सेतो पाटी बाट