बुद्ध धर्ममा के हो ? “वर्षावास” !
सिद्धार्थ कुमारले जीवन प्रवाहलाई साक्षात्कार गर्नुभयो, संसारको यथार्थ सत्यलाई अवबोध गर्नुभयो । अन्तस्करण देखि यथार्थ तत्त्वको ज्ञान प्रकट भयो – अनि बुद्ध हुनुभयो । उनैलाई सम्पूर्ण बुद्धमार्गीहरुले आज सम्म महामानव तथागत आदि विशेषण युक्त नामले मान्दै आएका छन् । गौतम बुद्धले आफूले प्राप्त गरेको धर्म–दर्शन जनमानस समक्ष प्रचार–प्रसार गर्न प्रथमतः भिक्षु संघ को स्थापना गर्नु भई संघ–व्यवस्थालाई बढावा दिनुभयो । विस्तारै भिक्षु संघ का सदस्य, भिक्षुहरु एकबाट अर्को थपिदै आए जस्तै भिक्षुहरुको संघीय जीवन पनि विकास हुँदै गयो । सुव्यवस्थित भिक्षु संघको प्रादुर्भाव हुनाको कारणले तत्कालीन लोकजनमा सुदृढ एवं राम्रो छाप (प्रभाव) बस्यो । यद्यपि यस्तो भएर पनि भिक्षुहरुको संघीय जीवनका लागि कुनै निश्चित वा स्व–अस्तित्त्वले पूर्ण विहार (आराम) चाँडै स्थापना भएको देखिँदैन । (भिक्षु हुँदा गुफा, रूख मुनि र जंगलमा भएपनि जीवन धान्ने छु भनी वाचा गर्नु पर्ने नियम छ ।) आरम्भकालमा गौतम बुद्धले अन्य मत–सम्प्रदायका धर्म गुरूहरुका बीचमा आफ्नो धर्म–दर्शन जनसमक्ष छर्लङ प्रदर्शन गर्नु हुँदाको त्यो घडी–त्यो क्षण, पक्कै पनि कठिन संघर्षले पूर्ण समय होला भनी सहजरुपमा हामी अनुमान गर्न सक्छौं।
तथागत बुद्धका समकालीन महावीरले (जैन–धर्मका प्रर्वतक) आफ्ना शिष्यहरुलाई वर्षा ऋतु–तीन महिना एकै ठाउँमा बस्नुपर्ने पज्जुसन (वर्षावास) नियम बनाइएको थियो । आफ्नो नियम अनुसार जैन तीर्थड्ढरहरुले वर्षाकाल तीन महिना एकै ठाउँमा बिताई अन्य दिनहरुमा भ्रमण शील रही जीवन बिताउने गर्थे । तर “बुद्धका शिष्य भिक्षुहरुले न वर्षात्को समयमा देखिने जीवलाई वास्ता गरेका छन्, न हरियो–हरियो भई पलाएको घाँसमा कुल्चनु मै संयमता अपनाएको छ, न त वर्षावास नै बस्छन् ? बरू जैन साधुहरु नै वर्षाकालमा एकै ठाउँमा बसी यताउति जाँदैनन् ।” – यी निन्दा चर्चा चारैतिर फैलियो । बुद्धको कानमा पनि पुग्यो । अनि बुद्धले तत्कालीन समय परिस्थिति अनुकूल जन भावनालाई कदर गर्दै भिक्षुहरुलाई वर्षावास बस्नुपर्ने विनय–नियम घोषणा गर्नुभयो । यसरी बुद्ध धर्मका अनुयायी भिक्षुहरुको संख्या धेरै पुगि सकेपछि मात्र वर्षावासको विधान तय भएको कुरा स्पष्ट देखिन्छ । वर्षावासको प्रथा जैन सम्प्रदायमा मात्र नभई वैदिक सम्प्रदायमा पनि मान्य रहेको छ ।
हुन त वर्षाकालमा निरन्तर रुपमा पानी परिरहने हुँदा (झरी वर्षा बाटो हिलै हिलोले पूर्ण हुन्छ, बाटोमा विभिन्न जीवहरु देखा पर्ने र यताउति जान असजिलो हुने, जता ततै हरियो–हरियो घाँस पलाएर आउने हुन्छ । यस्तो अवस्थामा व्यापारी, पन्थक आदि कोही पनि बाटोमा यताउति हिँड्डुल गर्ने कम नै हुन्छ । तसर्थ बुद्धले भिक्षुहरुलाई वर्षाकाल भरि एकै ठाँउमा बस्नु पर्छ भनी वर्षावास चर्या पालना गर्नुपर्ने आज्ञा दिनु भएको हो भनी मान्न सकिन्छ । विनय ग्रन्थ अनुसार मुख्यतः यातायात असुविधा तथा वर्षायामको कारणले उत्पन्न हुने जीवहरुको उपघात हुने अपवाद बाट बच्न, वर्षाले (पानी) रूझी हुने रोगबाट मुक्त हुन, धर्मको गहिरो अध्ययन–अध्यापन र ध्यानाभ्यासका साथै उपासकोपासिकाहरुले पनि धर्मश्रवण गरी ज्ञान लाभ गर्छन् भन्ने मनसायबाट वर्षावासको विधान श्रृष्टी भएको हो भनी भन्न सकिन्छ । अब वर्षावासको बारेमा जान्ने प्रयास गरौं ।
“वस्सावास (वर्षावास)” अषाढ पूर्णिमा वा श्रावण पूर्णिमाको दोश्रो दिनदेखि आरम्भ हुन्छ । उपसम्पदा दिक्षा प्राप्त भिक्षुहरु तथा भिक्षुणीहरुले “इमस्मिं विहारे इमं ते मासं वस्सं उपेमि” (यस विहारमा तीन महिना वर्षावास बस्ने छु ) भनी प्रतिज्ञा गरि सके पछि मात्र वर्षावास बस्ने प्रथा छ । अधिकांश भिक्षुहरु आषाढ पूर्णिमाको दोश्रो दिनदेखि वर्षावास बस्नु हुन्छ (पुरिमिका वस्सुपनायिका) भने एकाध रुपमा कोही–कोही श्रावण पूर्णिमाको दिन देखि दुतीय वर्षावासको रुपमा (पच्छिमिका वस्सुपनायिका) बस्नु हुन्छ । आषाढ वा श्रावण जुनसुकै पूर्णिमाको दिन देखि वर्षावास बसेपनि पुरा तीन महीना सम्म एक ठाँउ/स्थानमा बस्नु पर्ने कुरा भिक्षु विनय प्रातिमोक्षले सूचित गरेको पाइन्छ ।
यसरी तीन महीनासम्म एकै ठाउँमा मात्र बसी जीवन व्यतीत गर्ने चर्यालाई वर्षावास भनिन्छ । वर्षावास बस्दा खेरी तीन महीना सम्म यताउती कहिं नगई अटूट रुपमा एकै ठाउँमा बस्नुपर्छ भन्ने कट्टरपनाको नियम छैन । यदाकदा अत्यन्त जरूरी काम परेमा बाहिर बास बस्न गएपनि हुने आज्ञा दिइएको पाइन्छ । तर बाहिर गएता पनि सातदिन भित्रमा फर्किने हिसाबले जानु पर्ने हुन्छ, जसलाई “सत्ताहकरण” भनिन्छ । निम्न उल्लेखित शर्त (अझ बिना सन्देश भएपनि) हरुका आधारमा सत्ताहकरण गरी बाहिर बास बस्न जानु पर्ने हुन्छ । ती क्रमशः यस प्रकार छन् ।
(१) आफ्नो धर्ममित्र (भिक्षु, भिक्षुणी वा श्रामणेरहरु) तथा आमा–बाबुहरुलाई बिसन्चो भएमा हेर विचारार्थ बाहिर गएपनि हुन्छ ।
(२) आफ्ना धर्म मित्रहरु मैथुन (यौन) असन्तोष अतृप्तिका कारणले चीवर परित्याग गर्ने इच्छा गरिरहेको भिक्षुले थाहा पाएको खण्डमा, त्यो भिक्षुले सम्बन्धित भिक्षुलाई बताउन (समाधानार्थ) गएपनि हुन्छ ।
(३) संघ को लागि गरिनु पर्ने कर्तव्य पनि हुन्छन् । जस्तो कि वर्षावासको समयमा विहार बिग्रेमा ( भत्किनु विहार पुनः निर्माणार्थ भिक्षुले भौतिक सर–समान खोज्न गएपनि हुन्छ ।
(४) दायक (उपासकोपासिका) हरुले शुभकार्य (कुशल) बृद्धि गर्ने मनसाय राखी भिक्षुलाई निमन्त्रणा गर्यो भने उनीहरुमा भएको श्रद्धा–विश्वासको कदरार्थ टेवा दिन बाहिर गएपनि हुन्छ ।
यसरी माथि उल्लेख भए अनुसार त्यस्तो अवस्थामा सत्ताहकरण गरी वर्षावास बसेको स्थानबाट अन्यत्र सात दिन भित्रमा फर्किने हिसाबले जानु हुने रहेछ । परन्तु यसो भएता पनि यदि वर्षावास बस्ने स्थानमा कुनै प्रकारको विघ्न बाधा वा डर लाग्दा घटना घटेमा त्यहाँ नबसी यद्यपि आपत्ति (दोष) लागेमा पनि वर्षावास अपूर्ण गरी वर्षावास त्याग्न पनि सकिन्छ । जुन अवस्थाहरु निम्न प्रकार छन्–
(१) भिक्षुहरुलाई डरलाग्दा–घातक जनावर, डाँका (चोर) तथा भूत–प्रेतहरुबाट भय–त्रास वा विघ्न बाधा भएमा ।
(२) बस्ने ठाउँमा आगो लागेमा वा पानी (खोला) ले बगाएर लगेमा ।
(३) माथि (नं. १) उल्लेख भए बमोजिम भिक्षाटन जाने घरमा (गोचरगाम) भय–त्रास उत्पन्न भए भिक्षुहरुलाई भिक्षा माग्न जान कठिन हुन्छ । यसरी दायकहरु बसाई–सराइँ गरी गएमा उनीहरु सँगै भिक्षु पनि अन्यत्र गए हुन्छ ।
(४) भिक्षुलाई आवश्यकता अनुसार खाना, औषधी प्राप्त नभएमा अथवा आफूलाई आवश्यकता अनुसार टेवा दिनेहरु नभएमा यस्तो अवस्थामा भिक्षुले आधारभूत आवश्यकता परिपूर्ति गर्न प्रयास गर्नुपर्छ । यदि परिपूर्ति हुने सम्भावना छैन भने त्यो स्थान छोडेर गएपनि हुन्छ । (स्वयं बुद्ध आफ्ना शिष्य भिक्षुहरुका साथ वेरन्जा भन्ने ठाउँमा वर्षावासको लागि पाल्नु हुँदा त्यहाँ चामलको भाऊ अति महंगो परिरहेकोले भिक्षु संघ भोकै हुनु परेको थियो । तर यसो हुँदा पनि भगवान् बुद्धले त्यो ठाउँ छोड्नु भएन । विकल्पमा अन्य आहार सेवन गरेर भएपनि उहाँले वर्षावास कटाउनु भयो ।)
(५) कोही स्त्री महिला भिक्षुलाई फँसाउन (आकर्षित) आएमा वा त्यहाँ आफ्ना नाता–कुटुम्ब र इष्टमित्रहरु आई अनेक प्रकारका चीज वस्तुको लोभ देखाई तगारो (बाधा अड्चन) हाल्न आएमा भिक्षुको मन स्वभावतः परिवर्तन भई ब्रह्मचर्या जीवनलाई खतरा उत्पन्न हुनेछ । यसरी खतराजन्य छ भन्ने विचार आएमा त्यो ठाउँ त्याग्न सकिन्छ । साथै त्यहाँ बिना हकदारको सम्पत्ति देखेमा (पाउनु ) त्यो ठाउँ छोड्न सकिन्छ ताकि अनावश्यक दोषारोपरण नआओस् ।
(६) अन्य विहार आरामका संघ टुक्रिन लागेमा वा टुक्रिएमा (संघ भेद) वर्षावास बसेको भिक्षु मेल–मिलापको वातावरण (पुनर्मिलन) श्रृजना गर्न गएपनि हुन्छ ।
माथि उल्लेख भएका स्थिति उत्पन्न भएर पनि यदि सातदिन भित्र फर्किन सकेमा सत्ताहकरणीय गरी वर्षावास सम्पन्न गर्नु हुँदो रहेछ । सत्ताहकरण वा “सचे मे अन्तरायो न भविस्सं सत्ताहब्यन्तरे निवत्तिस्सं” अर्थात् यदि मलाई केही विघ्नबाधा आएन भने एक सप्ताह भित्र आवास मै फर्किने छु ।
यसरी आजसम्म वर्षावास बस्ने प्रचलन जीवितै छ । स्वयं भगवान् बुद्ध पनि वर्षावास बस्नु हुन्थ्यो । वर्षावासको समयमा उहाँको चारिका बन्द हुने गथ्र्याे । एउटा–एउटा विहारमा भिक्षुहरु एकै ठाउँमा तीन महिना बस्नु हुन्छ । उपासकोपासिका (इच्छुक) हरु आई भिक्षुहरुलाई वर्षावासको लागि निमन्त्रणा गर्छन् र तीन महिना सम्म खानापिना आदिको व्यवस्था गरि दिन्छन् अनि भिक्षुहरु पनि स्वाध्ययन, स्व–अभ्यास र उपासकोपासिकाहरुलाई धर्म देशना गर्न हुन्छ । यसरी दुबै पक्षका बीचमा आदान–प्रतिदान हुने गर्छ । वर्तमान नेपालका थेरवादी भिक्षुहरु माथि उल्लेख्य समयमा वर्षावास बस्नु हुन्छ । यो प्रचलन आजसम्म विशेषतः थाइल्याण्ड, बर्मा, श्रीलंका आदि थेरवाद बुद्ध धर्मको बाहुल्य रहेका देशहरुमा प्रचलित नै छन् । वर्षावासको समाप्ति वा अवसान कतिं पुन्ही (कार्तिक पूर्णिमा) का दिनमा हुन्छ । ( दुतीय वर्षावास बस्नेहरुको चाहिं मंसिर वा सकिमिला पूर्णिमाका दिन मात्र वर्षावास समाप्ति हुन्छ ।)
वर्षवास समाप्तिको लगतै भिक्षुहरु निश्चित ठाउँ ( खोलामा, सीमागृह ) मा जानुभई प्रवारणा कर्म गर्नुहुन्छ । त्यतिबेला भिक्षुहरु वार्षिक रुपले दृष्ट, श्रुत र परिशंकित अपराधको परिमार्जन (परिशुद्धि र आत्मालोचना) गर्न एक आपसमा विनयानुमोदन गर्ने गर्छन् । “अहं आवुसो / भन्ते ! आयुस्मन्तं पवारेमि दिट्ठेन वा सुतेन वा परिसंकाय वा वदन्तु मं आयस्मन्तं अनुकम्पं उपादाय अनुकम्पं उपादाय पस्सन्तो पटिकरिस्सामि” अर्थात् आवुसो / साथी यो वर्षावास तीन महिना भित्र म आयुष्मान् समक्ष अनुरोध गर्दछु, यदि मेरो मन, वचन र शरीर द्वारा केही गल्ती भएको देखिए, सुनिए वा शंका भए कृपा गरी प्रकाश पार्नुहोस्, म त्यसको प्रतिकार गरु,सुधार गरु । (उपोसथ कर्म पाक्षिक परिशुद्धिका लागि गरिन्छ ।)
वर्षावास समाप्तिको लगतै कार्तिक (कतिं पुन्हि) पूर्णिमादेखि मंसिर (सकिमिला पुन्हि) पूर्णिमाका दिनसम्म वर्षावास बस्नको लागि निमन्त्रणा दिने दायकहरुबाट कठिन चीवर दान दिने प्रथा रहेको छ । कतिं पुन्हि समाप्तिको लगतै प्रायः वर्षावास बसेको हरेक विहारहरुमा कथिनोत्सव वा कठिन चीवर दान धुमधाम सँग मनाइने हुन्छ । कथिन चीवर दान आफ्नै महत्त्व र विशेषताले उच्च देखिन्छ । थेरवाद बौद्ध जगतमा यस्लाई ठूलो श्रद्धाका साथ मानिंदै आएको छ । वर्षावासको विधान भएको हुँदा नै कथिन चीवर दानको प्रचलन सुरूवात भएको मान्न सकिन्छ ।
। । नमः बुद्धाय । ।
आरोन तुलाधरको फेशबुक बाट