गत वर्ष प्रकाशित मावुहाङको विचारधारात्मक लेखमा छोटो विवेचना
नन्दबहादुर घर्तीमगर
३१ वैशाख २०७० को कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित “जनजाति महासँघमा दलीय हस्तक्षेप” शिर्षकको वालकृष्ण मावुहाङले भन्छन्, “तत्कालीन माओवादीले अनिवार्य संस्कृत शिक्षाको विरोध गरेकाले हटेको….. ।” वास्तविकता यो होइन ।
नेता खपांगी सम्मिलित तत्कालीन लोकेन्द्रवहादुर चन्द सरकारले अनिवार्य संस्कृत शिक्षालाई वैधानिक रुपमा अन्त्य गरिदिएको थियो । लामो समयसम्म जरो गाडेको अनिवार्य संस्कृत शिक्षाले वालमस्तिष्कमा पारेको अनावश्यक वोझवाट जनजाति विद्यार्थी मुक्त भएको अहिले एक दशक पुगिसक्यो । जनजाति वाहुल्य भएको देशको जनतावाट उठेको करले अनिवार्य संस्कृत शिक्षा थापर्दा युगौंदेखिको आर्थिक वोझवाट सिंगो देश मुक्त भएको पनि एक दशक वित्यो । संस्कृत शिक्षा पढाउने नाममा खास जात विशेष (वाहुन) ले राज्यवाट प्राप्त गर्दैआएको अघोषित शिक्षक आरक्षण कोटा अन्त्य भएको पनि एक दशक वितिसक्यो ।
यी हुन् अनिवार्य संस्कृत शिक्षा अन्त्य भएपछिको रचनात्मक परिणामहरु । आफनो औकातभन्दा वाहिरको कुरा यो विषयको उठान थियो भने मावुहाङले लेखमा प्रशंग यो कोट्याउनु हुदैनथ्यो । यदि कोट्याउनुपरे माथि उल्लेखित सहि र सत्य कुरा लेख्न साहस गर्नुपथ्र्यो । त्यो साहसलाई त्यागेर भ्रामकतातिर उनी डोरिए ।
मावुहाङले यो लेख प्रकाशित गर्ने समयमा नेता खपांगी अन्नपूर्ण हस्पिटलको वेडमा छटपटाई रहेको १९ औं दिन पुगेको थियो होला । ओरालो लागेको मृगलाई सवैले लखेट्छन् भने झैं आँखा चिम्लेर वास्तविकतालाई उल्टाइदिए, मावुहाङले । को हुन मावुहाङ ? वाहिरी आँखाले देखिने उनी टियूमा जनसंख्या विषयको प्राध्यापन, जनजाति महासँघको पूर्वमहासचिव र एनजीओ-आइएन्जीओमा संलग्न । आँखाले नदेखिने भित्रको गुदी काम के गर्छन् ? त्यो कुरा हामीलाई थाहा छैन । यदि थाहा छ भने कि उनैलाई थाहा होला या भगवान वुद्धलाई या नुनको श्रोतलाई ।
डा.कृष्ण भट्टचनको पृष्ठभूमि पनि ठ्याक्कै यस्तै हो । यी दुइजनावीच कुनै तात्विक भिन्नता छैन । विगतका दिनमा टेलिभिजन अन्तरवार्तामा नेता खपांगीवारे विवेचना नगरी ठाडै आलोचना गर्थे, भट्टचनले । सायद, डा.भट्टचन र मावुहाङले नुन खाने श्रोत एउटै छ कि ? नुन खाएको झोकमा विषयान्तर गर्ने र समाजलाई गोलचक्करमा फसाउन वल पु–याउने जोसकैलाई छुट दिनुहुदैन । छुट दिनु अपराध हो । अपराधवाट वच्न वैचारिक लडाईलाई अद्यावधि जारी राख्नुपर्दछ ।