सुवानी पुनमगर
काठमान्डौ , ७ साउन – कवि तथा गीतकार भावेश भुमरीले आफ्नो पछिल्लो गीतिसङ्ग्रह ‘भिन्नता’ एवम् कवितासङ्ग्रह ‘भोक इल्टा नाघेर सेलाउँछ’ सार्वजनिक गरेका छन् । प्रमुख अतिथि वरिष्ठ कवि तथा गीतकार दिनेश अधिकारीको हातबाट उक्त गीतिसङ्ग्रह भिन्नता एवम् कवितासङ्ग्रह भोक इल्टा नाघेर सेलाउँछको सार्वजनिक गरिएको हो ।
गीतकार प्रणिता चामलिङको सभापतित्वमा भएको उक्त विमोचन कार्यक्रम सुरप्रभा गीतसङ्गीत प्रा.लि.को आयोजनामा सम्पन्न भएको थियो । कार्यक्रममा गीतकार एवम् कवि भावेश भुमरीले आफ्ना अनुभवलाई प्रस्तुत गरेका थिए । पछिल्लो समय गीतसङ्गीतमा लगानी गर्नु भनेको बत्तीमा पुतली होमिएजत्तिकैको अवस्था भएको औँल्याउँदै आफ्ना पाठक र स्रोताहरूको मायाले गर्दा नै गीतिसङ्ग्रह र कवितासङ्ग्रह प्रकाशनमा ल्याउन बाध्य भएको बताउँदै सम्पूर्ण सहयोगी हातहरूमा आभार प्रकट गरेका थिए ।
कार्यक्रममा अतिथिको आसनबाट कवि श्रवण मुकारुङले भावेश भुमरीको दुई कृतिमाथि समीक्षा गर्दै भुमरी राष्ट्रकवि माधव घिमिरेपछिका एक सशक्त प्रतिभा भएको मूल्याङ्कन गरेका थिए । उनले निरन्तर साहित्यमा लागिरहेर आफ्नो जीवनलाई कविता, गीतसङ्गीतमा नै समर्पित गर्ने भुमरीले बजारमा ल्याएको पछिल्लो गीतिएल्बम भिन्नता र कवितासङ्ग्रह भोक इल्टा नाघेर सेलाउँछ उत्कृष्ट सङ्ग्रहका रूपमा रहेको बताएका थिए । त्यस्तै सङ्गीतकार बुलु मुकारुङले भावेश भुमरी आफूले करिब २०५२ सालतिर भेट्दाको अवस्थामा जुन पाएको थिएँ त्योभन्दा धेरै माथिको मान्छे भएको बताएका थिए । उनले भावेशका कृतिहरूले आफैँमा गहनता बोकेको बताउँदै कविता र गीति लेखनमा उनको नाम कहिल्यै भुल्न नसकिने भएको बताएका थिए ।
गजलकार ललिजन रावलले भावेश भुमरीको सिर्जना सशक्त भएको बताउँदै कविता लेखनमा राम्रो दख्खल भएको मान्छेले नै राम्रो गीत सिर्जना गर्न सक्ने बताएका थिए । रावलले भावेश जस्ता साहित्यकार आजको आवश्यकता भएको बताउँदै उनका कृतिहरू सबल र सरल भएको बताएका थिए ।
त्यस्तै चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले भावेश भुमरीलाई साहित्यमार्फत् नै चिनेको र उनका कृतिले गर्दा आज उनको नाम सबैले सुन्न पाएको बताउँदै उनका कृतिहरूले सफलता चुम्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।
त्यसैगरी सङ्गीतकार सुरेश अधिकारीले गीतकार भावेश भुमरीलाई नचिन्दै उनका गीतलाई सङ्गीत भरेको क्षण सम्झँदै ५२ सालतिरको ‘कहाँ पुग्ने होला नानी बस शित्तल छायातिर’ बोलको गीतले आफ्नो मन छोएको कारण सङ्गीत गरेको बताएका थिए । सङ्गीत र साहित्यबाट नै भावेश भुमरीको नाम उच्चकोटीमा रहन सफल भएको उल्लेख गर्दै अधिकारीले भुमरीको सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै कवि गीतकार दिनेश अधिकारीले भावेश भुमरी साहित्यिक जगत्को एक होनाहार व्यक्तित्व भएको उल्लेख गरेका थिए । उनले राम्रो सिर्जना गर्न सक्ने क्षमता भएका व्यक्तित्व भावेश भुमरीले लेखेको गीतले सबैको मन छुन सक्ने बताउँदै भोक इल्टा नाघेर सेलाउँछ कवितासङ्ग्रह पनि उत्तिकै सरल र सबल बन्न सक्ने बताएका थिए ।
कार्यक्रममा एल्बमभित्र रहेको सन्तोष श्रेष्ठको सङ्गीत र बानिका प्रधानको स्वरर विष्णु कल्पितको निर्देशन रहेको तिम्रो चोटले जलुँला म…. गीतको भिडियो पनि प्रदर्शन गरिएको थियो । साथै कर्मग्याल्छेन बमजन र बानिका प्रधानले गीत पनि गाएका थिए ।
कार्यक्रममा गीतकार रमेश पौडेल, हेमन्त विवश, विपिन किरण, डिआर, तुलसी बस्नेत, प्रल्लास सिन्धुलीय, ध्वनि सम्पादक मित्र लामा, सङ्गीतकार सन्तोष श्रेष्ठ, अविद, रोशन गुरुङ, पविधन खालिङ, एरेन्जर चाँद सिंह, विष्णु अधिकारी, नोर्वु शेर्पा, गायिका रिमा गुरुङ होडा, बानिका प्रधान, गायक कर्माग्याल्छन लामा आदिको उपस्थिति रहेको थियो ।
भिन्नता एल्बममा छुट्ने मान्छे हराउँछन्, तिम्रो चोटले जलुँला म, भारी खेप्ने भरियाको, अनायासै भिरमा परेँ, तिमीले मलाई लडायौ, नदीजस्ती मेरी आमा, कसैले सोध म भनिदिन्छु जस्ता गीतहरू समावेश गरिएका छन् । जसमा रोशनराज गुरुङ, सन्तोष श्रेष्ठ, अविद, उत्तममणि बमजन, पविधन खालिङ, प्रदीप क्षेत्रीको सङ्गीत रहेको छ । उक्त एल्बममा स्वरूपराज आचार्य, बानिका प्रधान, थुप्देन भुटिया, कर्मग्याल्छेन बमजन, रीमा गुरुङ होडा, महेश सेवा र अन्जु पन्तको स्वर रहेको छ ।
भिन्नतालाई सुरप्रभा गीत सङ्गीतले बजार व्यवस्थापन गरेको छ ।