(अन्तर्ध्वनि नेपाली साहित्यिक पत्रकारिताका क्षेत्रमा एउटा स्थापित पत्रिका हो । यसै पत्रिकाको नियमित स्तम्भ ‘शब्द–चित्र’मा साहित्यका स्रष्टाहरूलाई समेट्दै आउनुभएको छ साहित्यकार रमेश सुवेदीले । उहाँले यसै पत्रिकाको १९ औँ शृङ्खलामा मलाई समेट्नुभएको छ र पत्रिका केही महिनाअगाडि प्रकाशित भइसकेको छ । यस शब्द–चित्रबाट मेरा धेरै कुरा खुलेका छन् । म यतिखेर अन्तर्ध्वनि परिवार, स्तम्भकार रमेश सुवेदी र आदरणीय पाठकहरूमा विशेष रूपले कृतज्ञता प्रकट गर्दछु – भावेश भुमरी )
रमेश सुवेदी
“शब्द–चित्र” भावनाका तरङ्गहरूलाई प्रष्टसँग शब्दचित्रण गर्न सक्षम स्रष्टा भावेश भुमरी – रमेश सुवेदी वि. सं. २०३२ साल साउन १५ गते, मरन्ठाना–८, प्यूठानमा बुबा फने पुनमगर तथा आमा खीमादेवी पुन मगरका कान्छो सुपुत्रका रूपमा जन्मिएका जुद्धबहादुर पुनमगर साहित्यमा भावेश भुमरी नामले परिचित छन् ।
वि.सं. २०५५ सालमा दार्जिलिङ निवासी सूर्यमान चामलिङ तथा प्रभा चामलिङकी माहिली सुपुत्री प्रणिता चामलिङसँग विवाह गरेका भुमरीका १४ वर्षकी छोरी सुवानी पुनमगर तथा ५ वर्षका छोरा सरगम पुनमगर छन् । भावेश भुमरी हाल परिवारसहित जयबागेश्वरी, काठमाडौँमा अस्थायी बसोबास गर्छन् । आधा दर्जनभन्दा बढी गीतसङ्ग्रह तथा गीतिक्यासेट / सिडी प्रकाशित गरिसकेका र विषेश गरी गीतकारको रूपमा राष्ट्रिय चर्चा कमाएका भुमरीले भर्खरै ‘भोक ईल्टा नाघेर सेलाउँछ’ नामक कवितासङ्ग्रह प्रकाशन गरेका छन् । यिनले विश्वका विभिन्न देशमा कार्यरत गीतकारहरूको आधुनिक गीतिएल्बमहरू रेकर्ड र बजार व्यवस्थापनको संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन् ।
एक दर्जनजति गीत रेकर्ड गराइसकेकी यिनकी धर्मपत्नी प्रणिता चामलिङको समेत ‘तिमीजस्तै म पनि’ (गीतसङ्ग्रह, २०६४) प्रकाशित छ भने प्रणिता अर्को कृतिको लेखनमा रहेकी समेत बुझिएको छ । वि.सं.२०५० मा श्री महेन्द्र माध्यमिक विद्यालय खलङ्गा, प्यूठानबाट एस.एल.सी., २०५४ सालमा रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँबाट, आई.ए. (नेपाली, पत्रकारिता), २०६० सालमा काठमाडौँ शिक्षा क्याम्पसबाट बी.एड् (नेपाली), तथा त्रिवि, रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँबाट नेपाली विषयमा प्रथम श्रेणीमा एम्.ए. गरेका भुमरीले २०५३ सालमा जनमञ्च साप्ताहिकमा साहित्यिक स्तम्भकार भई जागिरको सुरुवात गरे र त्यसपछि अरु पत्रिकाहरूमा पत्रकारिता गर्दै २०५६ सालदेखि हालसम्म निजी क्षेत्रका विभिन्न विद्यालय र क्याम्पसहरूमा नेपाली विषय शिक्षण गर्दै आएका छन् ।
यिनी हाल सुरप्रभा गीतसङ्गीत प्रा.लि., काठमाडौँको प्रबन्ध निर्देशकमा समेत कार्यरत छन् । भावेश भुमरी २०४५ सालदेखि विभिन्न साहित्यिक लेखन प्रतियोगिताहरूमा सहभागी भए पनि सर्वप्रथम श्री महेन्द्र माध्यमिक विद्यालय, खलङ्गा, प्यूठानको मुखपत्र ‘कोपिला’मा २०४८ सालमा जुद्धबहादुर पुनमगर नामबाट ‘वातावरण सन्तुलनमा जनसहभागिता’ शीर्षकको निबन्ध प्रकाशन गरेर सार्वजनिक भए । यिनले प्रतियोगिताबाहेक स्वतन्त्र रूपमा रचेको ‘तिम्रो पाइला कुर्ने मनमा’ पहिलो गीत हो जुन २०४८ साल पुस २३ गते रचेका हुन् भने पहिलो कविता २०४८ साल वैशाख २ गते रचेको ‘जेलभित्र वसन्त’ हो । यिनको पहिलो प्रकाशित पुस्तक ‘भिरफूलको छाया’ (गीतसङ्ग्रह, २०५३) हो । त्यसपछि ‘भिजेको चिठी’ (गीतसङ्ग्रह, २०५७) ‘भरोसा’ (आधुनिक गीतिक्यासेट/सीडी, २०६०), ‘भावना’ (आधुनिक गीतिक्यासेट/सीडी, २०६४), ‘भित्र छ फूलको साँध’ (गीतसङ्ग्रह, २०६६), ‘भिडभित्र छु बिरानो म’ (गीतसङ्ग्रह २०६९), ‘भूमिका’ (आधुनिक गीतिसीडी, २०६९) प्रकाशित गरेका यिनले हालसालै अर्थात् २०७० असोजमा ‘भोक इल्टा नाघेर सेलाउँछ’ नामक कवितासङ्ग्रह बजारमा ल्याएका छन् ।
यिनले निकट भविष्यमै ‘भिरैभिरले हिँडाएको म’ (संस्मरण), ‘भिन्न नजिर’ (सामाजिक उपन्यास) र ‘भिन्नता’ (आधुनिक गीतिसीडी) पनि बजारमा ल्याउँदै छन् । हाल यिनी आफ्नै नयाँ एलबमका गीतहरू रेकर्ड गर्ने काममा जुटेका छन् । २०० भन्दा बढी गीत रेकर्ड गराइसकेका, गीत र कविताको क्षेत्रमा दर्जनौ पुस्तक तथा पत्रपत्रिकाहरूको सम्पादन समेत गरिसकेका अनि दर्जनौ पुस्तक—पत्रिकाहरूमा गुणस्तरीय साहित्यिक लेखरचना प्रकाशित गरिसकेका भुमरीले नवकविता प्रतिभा पुरस्कार– २०५०, काठमाडौँ, देशव्यापी युवा कविता महोत्सव– २०५३, धरान, एफ.एम्. काठमाडौँ फ्रेन्ड्स क्लब देशव्यापी कविता प्रतियोगिता– २०५४, राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगिता– २०५७ (रचनामा प्रथम), रेडियो नेपाल, प्यूठान– काठमाडौँ सम्पर्क मञ्चद्वारा अभिनन्दन– २०५९, एस.एल.सी. विशिष्ट श्रेणी नेपाली विषयशिक्षण सम्मान– २०६२ र २०६३, रापती म्युजिक अवार्ड– २०६९, काठमाडौँ, भ्वाइस अफ हिरो/दाङ पत्रकार महासंघ, घोराही दाङबाट अभिनन्दन २०६९, म्युजिक खबर म्युजिक अवार्ड २०७०, काठमाडौँ, राप्ती म्युजिक अवार्ड २०७० काठमाडौँ आदि प्राप्त गरेका छन् ।
आफ्नो जीवनका सुखद् र दुखद् क्षणहरू धेरै भए तापनि धेरैजस्ता सुखद् क्षण बाल्यकालकै हुन्छन् भन्ने भुमरी आफू वि.सं. २०४५ सालमा कक्षा पाँचमा पढ्ने बेलाको स्मरण गर्न पुग्छन् । सोही कक्षादेखि यिनले जिल्लास्तरीय अतिरिक्त क्रियाकलापहरूमा भाग लिन थालेका हुन् । यिनले पहिलोचोटि भदौ चार गतेको बाल दिवसको अवसरमा निबन्धलेखन प्रतियोगितामा भाग लिनुपर्ने भयो । निबन्ध निमाविस्तरीय थियो । त्यतिबेला निमावितह कक्षा छ र सातलाई मानिन्थ्यो । यिनले भने कक्षा पाँचमा पढ्थे, त्यसैले यिनका लागि त्यो प्रतियोगिता बढी कठिन थियो । यिनले आफ्ना अतिरिक्त क्रियाकलाप र लेखा शिक्षक विजयकुमार श्रेष्ठबाट निबन्ध लेखनबारे आधारभूत कुराहरू सिके र तिनै कुरालाई आधार मानेर यिनले निबन्ध तयार पारे । त्यही निबन्धलाई ध्यानपूर्वक पढेर तयार पारेको र प्रतियोगितामा भाग लिएका भुमरी त्यस प्रतियोगितामा प्रथम भएपछि सबैले जिल्लाभरिका सात कक्षामा पढ्ने विद्यार्थीहरूलाई निबन्धमा जितेको भन्दै यिनको लेखाइको प्रशंसा गरे । त्यो क्षण यिनको जीवनको अत्यन्त सुखद् तथा प्रेरणायी बन्यो ।
अहिले यिनलाई आफ्नो लेखन या सिर्जनाको पृष्ठभूमि त्यही निबन्धलेखन प्रतियोगिता हो भन्ने लाग्छ । आफूले जीवनमा जे जति गरेको छु आफ्ना आमाबाबाकै मार्गदर्शनबाट गरेको हुँ भन्ने भुमरी संसारमा सबैभन्दा महानतम् भनेर पनि स्वभावैले आफ्ना आमा र बाबालाई नै मान्छन् । आफ्नी जीवनदायिनी माताले सदाका लागि छाडेर गएको क्षण भुमरीका लागि जीवनको दुःखद् क्षण हो । वि.सं. २०६१ सालको वर्षायाममा भुमरीकी दिदीले घरबाट एकाबिहानै आमा अन्तिम अवस्थामा हुनुहुन्छ, जसरी पनि घरमा आऊ भाइ भनेर फोन गरेपछि यिनको मनमा चोट लाग्नु त स्वभाविकै थियो, त्यहीमाथि घर जानका लागि यिनले पढाउने मिलन विद्यामन्दिरका ढुङ्गाजस्तो मन भएका प्रिन्सिपलले दिएको बचनले आजपर्यन्त घोचिरहने समेत बताउँछन् ।
बुढाबुढीहरू महिनौ खाडा पर्ने हुँदा तपाईंकी आमा पनि त्यस्तै होलिन् भन्दै १३ दिन भन्दा १ दिन बढी बिदा नमिल्ने बताएपछि उक्त भाखाभित्रै फर्कने विवशता बोकेर घरतिर लाग्नुको विकल्प पनि थिएन । घरमा पुग्दा यिनकी आमाको अचेत तथा शरीर सुन्निएको अवस्था देखेर धेरै रोएको क्षण स्मरण गर्छन् । कतै निको हुन्छ कि भनेर प्यूठान अस्पतालमा लानका लागि यिनले अरुसँग सल्लाह गरेपछि त्यही दिन आमालाई अस्पताल लगेको तथा डाक्टरले कतै नलैजानुहोस्, ठिक हुँदैन भनेपछि फेरि घरमै फर्काएको र दुई दिनपछि आमाको स्वर्गबास भएको घटना यिनका लागि अत्यन्त दुखदायी बन्यो । यिनलाई आमाको अभाव खड्किनुखड्केको दुखानुभूति एकातिर छँदै थियो अर्कोतिर आफ्नो जागिरकै पीरले आमाको किरिया संस्कार सात दिन मात्रै राखेर तेह्रौँ दिनमा स्कुल भेट्ने गरी काठमाडौँ फर्केका भुमरीको त्यो महिनाको तलबमा यिनको बिदा जतिको सबै तलब काटिएको स्मरण गर्दै यिनी जीवनमा आमाविहीन भएको त्यो क्षण र जागीरको त्यो अमानवीय व्यवहारको पीडाले आफूलाई अझै पनि बारम्बार पोलिरहने बताउँछन् ।
भावेश भुमरी जीवनका धेरै अविस्मरणीय घटनामध्ये एउटा घटना स्मरण गर्छन् । आठ वर्षको भएपछि नै विस्तारै कामहरूको जिम्मेवारी बोक्न थालेका यिनी राम्ररी घाँस काट्न नसके पनि वि.सं. २०४० सालको हिउँददेखि हरेक बिहान दिदीहरूसँगै घाँस काट्न जान थाले । दिदीहरूले घाँस काटेर भारी बनाइदिएपछि यिनी सकी नसकी भारी बोकेर घरसम्म ल्याउँथे । बिहान बाटो र जङ्गलभरि सेताम्य तुसारोसहित झपक्क शीत पर्न थालेको थियो । एक बिहान घाँस काट्न अन्तरधारा जङ्गलमा पुगेका र त्यहाँ यिनका दाइ र दिदीहरूले आगो बालेपछि यिनीहरू सबै मिलेर आगो तापे । केहीबेरपछि दाइदिदीहरूले घाँस काट्न थाले तर यिनीलगायतका तीनजना केटा भने घाँसै नकाटी आगो ताप्दै थिए । त्यही बेला यिनमा अचानक एउटा उट्पट्याङ् फु¥यो । कुरो के भने सल्लाको रूखमा चढ्दै यिनले फेँदमा आगो बालिदिन भनेछन् । यिनी रूखको टुप्पामा पुग्दा नपुग्दै साथीहरूले फेँदमा सल्लिपिरल जम्मा पारी आगो सल्काइदिएछन् । सल्लाको सुकेको पातबाट असाध्यै धुवाँ निस्केछ । आगो सल्किँदै गएपछि विस्तारै धुवाँ बढ्न थालेछ । एकछिन त यिनले जबरजस्ती धुवाँ खपेछन् । जब आँखा हेर्न र सास फेर्न नै नमिल्ने गरी धुवाँ मडारिन थालेछ तब यिनी धेरै अत्तालिएछन् । जोडले चिच्याउँदै यिनी आँखा चिम्ली सास रोकेर रूखबाट ओर्लंदै गर्दा एक्कासि भुइँमा खसेछन् । साथीहरूले यिनलाई हतारहतार आगोबाट बाहिर तानेछन् । यिनको तिघ्रामा ठूलो घाउ लागेकाले दिदीले पटुकाको छेउबाट च्यातेर टालो निकाली त्यसले घाउ बाँधिदिएको बताउने भुमरी आजपर्यन्त त्यो घाउको खत आफ्नो तिघ्रामा रहेको देखाउँछन् । शरीरमा आगोले पोलेर घाउ भएको कुरा पनि गर्छन् ।
कवि, लेखक तथा गीतकारको रूपमा सुपरिचत भावेश भुमरीले आफ्नो लेखनको प्रमुख विधा चाहिँ कविता तथा गीत दुवैलाई मान्ने गर्छन् । यिनले आफ्ना हालका क्रियाकलापहरूले आफूलाई धेरैले गीतकारको रूपमा बढी क्रियाशील देख्नु स्वभाविकै रहेको बताउँछन् । आफ्ना एल्बम र अन्य काम गर्दै आएका कारण यस्तो देखिएको भए तापनि यिनी आफू पूरै गीतमा लागेको चाहिँ होइन भनी स्पष्ट पार्न चाहन्छन् । यसो त भुमरीलाई सर्वाधिक मनपर्ने विधा कविता हो । यिनले शुरुमा बढी कविता लेखे र अहिले पनि लेख्दै छन् । बाहिर आउने र नआउने कुराले यस्तो बनाइदिने रहेछ भन्ने यिनी आफ्ना तीनवटा एल्बमका गीतहरू बजारमा आएका र चलेका अनि चारवटा गीतका किताब पनि आएकाले अरुले आफूलाई गीतमा बढी लागेको देख्नु पनि स्वाभाविक हो भन्छन् ।
यतातिर बढी लाग्नका लागि सङ्गीतकार र गायकगायिकाहरूले पनि घचघच्याएका छन् भन्दै यिनी बाहिरबाट हेरिनु र आफूबाट काम गरिनुमा केही फरक छ भन्ने कुरा राख्छन् आफ्ना सन्दर्भमा ।
हालै भोक ‘इल्टा नाघेर सेलाउँछ’ कवितासङ्ग्रह प्रकाशन भएकाले यस सङ्ग्रहले यिनलाई गीतकार अलि कम बनाउन र कविको परिचय दिन मद्दत गर्ने छ भन्ने लागेको छ । अन्य विधाका कृतिहरू बजारमा नआएको र आएपछि ती कृतिहरूले आफूलाई ती कृतिका विधामा स्थापित गराउने छ भन्ने पनि विश्वास छ यिनलाई । यसै सन्दर्भमा यिनले एउटा उपन्यास र संस्मरणको पाण्डुलिपि पनि तयार पारेका छन्, सायद चाँडै बजारमा ल्याउलान् पनि । कवितामा बढी मोह भएको देखाउँदै आफू गीतकारभन्दा बढी कवि भएको स्पष्टीकरण दिइरहँदा यिनी गीत पनि कविताकै अनुभूति र गहिराइमा लेख्दै आएको कुरा गर्छन् । आफूले आफ्नो यो विधा प्रमुख हो भन्नुभन्दा पनि पाठक र समालोचकहरूले भनिदिने विषय हो भन्दै यसको छिनोफानो गर्न पाठक र समालोचकहरूलाई जिम्मा दिन पनि रुचाउँछन् । तर जे भए तापनि समग्रमा साहित्यप्रतिको लगावकै कारण यो क्षेत्रलाई रोजेको चाहिँ स्पष्ट पार्दछन् भुमरी ।
भावेश भुमरीको विचारमा साहित्य जीवनको नियम हो, कला हो र व्यावहारिक दर्शन हो । यसैले यिनले आफ्नो व्यक्तिगत जीवनमा साहित्यको माध्ययमबाट जुन अर्थ र सम्भावना देख्दै आएका छन्, अरूबाट देखेका छैनन् । यही कारण पनि यिनी साहित्य नै जीवनको अमूल्य मार्गदर्शक बन्नुपर्छ भन्ने सोच राख्छन् । यिनका अनुसार साहित्यले हरेक व्यक्तिलाई अगाडि बढ्न प्रेरित गर्नुपर्छ । जीवनका हरेक सुख, दुःखमा साहित्य साथी बन्नुपर्छ भन्ने भुमरी आफू साहित्यमा के कारणले लागियो भन्ने सन्दर्भमा चाहिँ आफ्नो बाल्यकालतिर फर्कनुपर्ने बताउँछन् । आफू विद्यालयकै एक जेहेन्दार विद्यार्थी भएकाले आफ्ना गुरु र गुरुआमाहरूको आँखाको नानीजस्तो भएको स्मरण गर्ने यिनी पढाइमा राम्रो भएका कारण उत्तरदायित्व पनि बढी नै हुने हुँदा आफूलाई जिल्लामा हुने विद्यालयस्तरीय हरेक कार्यक्रममा सहभागी हुने र पुरस्कार जित्नैपर्ने उत्तरदायित्व भएको सम्झना गर्छन् । त्यतिबेला विद्यालयस्तरमा बढी निबन्ध प्रतियोगिता हुने गरेको बताउँदै प्राथमिक तहमा पढ्ने आफू निमावि तहको जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा प्रथम हुँदाको वाहवाहलाई कहिले भुलेका छैनन् । लेख्नका लागि साहित्यिक किताबहरू खुब पढ्थे यिनी । पढेर आफैँ लेख्ने अभ्यास गरेँ र यतातिर मोडिएँ भन्छन् यिनी ।
यो दुई दशकभन्दा लामो साहित्यिक यात्रामा आफूले सबैभन्दा बढी त जीवनकै दर्शन पाएको बताउने भुमरी यसले आफन्त बनाएका व्यक्तिहरूको पनि फेहरिस्त स्मरण गर्दछन् । यसमा लाग्दा आफूले गुमाएका चाहिँ बाल्यकालका अत्यन्त मिल्ने साथीहरू नै हुन् भन्दै भुमरीले सायद यो ठाउँमा नआएको भए म गाउँमा हुन्थेँ र उनीहरूसितै खेतीपाती र अन्य काम गर्थेँ होला भनी गाउँ र साथीहरूसँगै आफ्नो जीवनको अनुमान गर्छन् । राप्ती आफ्नो जन्मथलो हो भनेर गर्व गर्ने भुमरी यस क्षेत्रले यिनलाई जुन आधारहरू बनाइदिएको छ, आफू सधैँ अनुगृहित भएको समेत बताउँछन् । तथापि भुमरीको नजरबाट समग्रमा हेर्दा राप्तीको साहित्यले काठमाडौँ केन्द्रमा पहुँच बनाउन सकेको छैन । यिनका अनुसार राप्ती भनेको दाङ हो भन्ने धेरैको बुझाइ छ र गतिविधिहरू पनि त्यस्तै देखिन्छन् । अरू जिल्लाका गतिविधि अत्यन्त नगन्य नै छन् । जति स्रष्टाका लागि पुरस्कार छन् दाङमै छन् र यहीँ केन्द्रित छन् । यसले गर्दा दाङ राप्तीको सङ्गमस्थल हो भन्नेमा दुई मत छैन । अब दाङले दाङकै लागि मात्रै भनेर साहित्य लेख्ने अवस्था भएन, सिङ्गो देशका लागि भनेर लेख्न सुझाव दिने भुमरी यसले देशको साहित्यिक पेरिफेरीमा रहन सक्नुपर्यो, अझ नेतृत्व गर्न अगाडि आउने सम्भावनाहरू खोज्नुपर्यो भन्छन् । यिनी एउटा कटुसत्य भनेको दाङमै बस्ने मात्रै राप्तीका साहित्यकार होइनन् भन्ने यथार्थ ओकल्छन् । यिनका विचारमा राप्तीमा जन्मेर बाहिर बसी साधना गरिरहेका स्रष्टा पनि राप्तीकै हुन् । तिनीहरूको कामलाई मनन गरिदिए अति राम्रो हुन्थ्यो भन्ने कुरासमेत राख्छन् ।
नेपाली साहित्यिक बजारका बारेमा भुमरी भन्छन्, “नेपालको साहित्य अहिले बजारमुखी बन्दै आएकाले कस्ता कृति र विधाले बजार लिएका छन् भन्ने कुरा हामीले बुझ्नुपर्छ र यस्ता विधाले कहिलेसम्म बजार ओगट्ने त भन्ने कुरा पनि महत्वपूर्ण छ । अहिले सरल भाषाशैलीमा लेखिएका संस्मरण र जीवनसंर्घका पुस्तकहरू बढी चलेका छन् । तर भोलिलाई चाहिने स्तरमा पनि हामीले साहित्यिक बाटो तयार गर्नुपर्छ ।” भुमरीको विचार भनेको अहिलेको साहित्यिक बजारले विस्तारै गम्भीर साहित्य पढ्ने पाठकहरू पनि बढाउँदै जाने छ र हामीले लेख्ने काम गर्नुपर्छ भन्ने हो । आफूलाई पहिले अरुले पढ्दा रामायणको कथा खुब मन पथ्र्यो र धेरै सुन्थेँ भन्ने भुमरी आफूले आजसम्म पूरै रामायण चाहिँ नपढेको बताउँछन् ।
कक्षा ८ मा पढ्दा नै यिनले पढेर अत्यधिक मन पराएको कवितासङ्ग्रह भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ हो । यद्यपि अहिले पनि यिनलाई सो सङ्ग्रह धेरै मन पर्छ । यिनका अनुसार यसमा सङ्गृहित कविताहरू अत्यन्त सरल भईकन पनि सशक्त र व्यङ्ग्यात्मक छन् ।
विदेशी किताबहरूमा पर्ल एल वर्गको ‘मदर ल्यान्ड’ यिनलाई मन परेको कृति हो । तत्कालीन चीनको जरजर गरिबीलाई अत्यन्त सूक्ष्म रूपले उठाएको हुनाले यस उपन्यास मन परेको बताउने यिनी अहिले चीनले गरेको विकासका कारण यस्ता साहित्यिक कृतिहरूको पनि भूमिका रहेको कुरा गर्छन् । स्वदेश तथा विदेशका आदर्श लेखक यिनै हुन् भन्न चाहिँ म सक्दिनँ भन्ने भुमरी केही पक्ष कसका त केही पक्ष कसका मन परेको बताउँछन् । यिनी आफूलाई साहित्यिक किताबहरू पढ्न र लेख्न पाउने यो संसारमा ल्याइपुर्याउने महान् व्यक्तिहरू आफ्नै आमा र बाबा भएकाले आफ्ना आदर्श पनि आमाबाबालाई नै मान्दछन् ।
साहित्यमा वाद र विचार के हो ? के यो जरुरी छ ? प्रगतिशील वा प्रजातान्त्रिक धार लेखन र व्यवहारले मापन गरिन्छ कि अमूक पार्टीसँगको संलग्नता तथा रसिद काटेको आधारमा ? तपाईंको प्रतिक्रया तथा सुझाव के छ ?
भन्ने मेरो प्रश्नको उत्तर दिँदै भुमरी यसो भन्दछन्, “साहित्य सङ्कोचित वाद र विचारभन्दा धेरै माथि छ भन्ने लाग्छ मलाई । साहित्यमा दर्शनको आवश्यकता छ तर कुनै पार्टीको राजनीतिक ध्रुवीय वादको होइन । नेपालमा यो बुझ्नै नसकिने कुरो हो, आजसम्म आफ्नो पार्टीमा हुँदा उसका हरेक रचना आफ्नै हुने तर भोलि अर्कै पार्टीमा लागे उसका रचनालाई पानीबार लगाउने ! यस्तो प्रतिशोधको भावनाले साहित्यको विकास कसरी हुन्छ ? कृति गौण हो या कृतिकार ? एउटा लेखकलाई आफ्ना कृति गौण हो कि पार्टी ? वास्तवमा पार्टीको रसिदले लेखकलाई कहिले पनि प्रगतिशील वा प्रजातान्त्रिक धारको भनेर मापन गर्दैन । पार्टीको विचारलाई बोकी हिँड्दा भित्र चाहेर पनि बाहिर अभिव्यक्त गर्न नसक्नेहरू धेरै छन् । तिनीहरूले आफ्नै सिर्जनाका अपराधी बनेको छु भन्ने महसुस गरी बाहिर निस्केर लेख्ने साहस गर्नुपर्छ । यहाँ पार्टीमै नलागेकालाई प्रगतिशील वा प्रजातान्त्रिक केही भन्नै नमिल्ने भन्ने कुरा पनि आउँछ । पार्टीबाहिर रहेकाले पनि पार्टीमा खाँदिएकाले भन्दा उच्च या चर्को रचना दिए के भन्ने ? यो महत्वपूर्ण प्रश्न हो । यत्ति चाहिँ हो, अस्तिदेखि मात्रै लेख्न थालेका, हिजो रसिद काटेर पार्टीमा लागेकाले आज चुनाबमा टिकट पाएका छन्, मानसम्मान र राम्रा अवसर पड्काएका छन् । यही लोभका कारण धेरै लेखकहरू पार्टीमा लागेका छन् तर जिब्रोमा मात्र पार्टी बोक्छन्, हृदयमा पार्टी हुँदैन । यो त नेताहरूले बुझ्ने कुरा हो । यही दुर्भाग्यकै कारण यहाँ जुन प्रकारको साहित्यको विकास हुनुपर्ने हो, त्यो पटक्कै हुन सकेको छैन ।” साहित्यका प्रायः विधामा उत्तिकै निपूर्ण भए तापनि गीत विधाको अलि बढी अध्यययन गरेका तथा स्नातकोत्तर तहमा सोधपत्र तयार गर्दा समेत यसै विषयको अध्ययन गरेका भुमरीले आफ्नो अहिलेसम्मको बुझाइमा गीतलाई जीवनको दर्शन मानेको बताउँछन् ।
यिनका अनुसार यसले मान्छेलाई हरेक पाइलामा साथ दिएको हुन्छ । यस्तो पवित्र क्षेत्रमा हाल साधना गरेका थोरै मान्छे मात्रै छन् भने धेरैको नितान्त व्यक्तिगत स्वार्थले यस चिजलाई विकृत बनाइएको छ । साँच्चै भन्दा व्यक्तिगत स्वार्थका लागि गीतसङ्गीतलाई भर्याङ बनाउनेहरूको भिड छ । नामका भोका, भ्रष्टाचारी, दुराचारी, वेभिचारी सबै सबै आफ्नो कुकामले बनेको कालो अनुहारलाई सेतो बनाउन यतै पसेका छन् । यस्ता मान्छेहरू गीतसङ्गीतमा पसेपछि यसको स्तरलाई यिनीहरूले गिराउनु गिराइदिएका छन् । यसलाई मापन गर्ने कुनै संयन्त्र छैन । अब जतिसक्दो छिटो यसको स्तरीकरणमा ध्यान दिइएन भने यो क्षेत्र लाजमर्दो बन्ने छ । अहिले हरेक कुरा पैसाले नाप्ने गर्छ र सही अनि प्रतिभावान् स्रष्टाहरू स्वतः पलायन हुँदै छन् । यसको स्तरका लागि गीतकार, सङ्गीतकार, गायकगायिका कसैले आवाज उठाएका छैनन् ।
यहाँ धेरै संघसंस्था खुलेका छन् तर कार्यसमितिका टाठाबाठाहरूका स्वार्थका लागि मात्रै काम भएका छन् । यस क्षेत्रमा सरकारको लगानी शून्यप्राय नै छ । यस्तो गम्भीर अवस्थामा यस क्षेत्रप्रति निस्वार्थ भावना राख्ने र यसको सही भविष्य चाहनेहरूले समयमै कदम चाली सरकारलाई बलियो नीति बनाउन वाध्य बनाउनैपर्छ । परम्परागत लोकगीतको अवस्था तथा प्रवृत्तिको सन्दर्भमा कुरा उठान गर्दा हाम्रो आफ्नो मौलिकता र इतिहास भनेकै यही हो भन्दछन् यिनी । साथै यसको आधारमा अन्य गीत सङ्गीत बनेका छन् भन्दा अहिलेका ठूला गीतकार, सङ्गीतकार तथा गायकगायिकालाई बडो अप्ठ्यारो लाग्ने गरेको बताउँछन् । तर यिनी गर्वका साथ यही परम्परागत लोकगीतकै पेरिफेरीबाट आफूलाई स्थापित गराइरहेको समेत बताउँछन् । तथापि अहिले आएर लोकगीत लोकगीतै छ भन्न नमिल्ने अवस्था भइरहेको बताउने भुमरी कोठामा तयार पारिएका कोठेधुनमा सस्ता र छाडा शब्द राखेर जुन लोक दोहोरीकै नामले गीत बनाइँदै आइएको छ, त्यसलाई अरू कुनै अर्को नाम दिन सकेको भए लोकगीतको विरासतले यति आक्षेप बेहोर्नुपर्ने थिएन भनी सुझाव समेत दिने गर्छन् ।
साहित्य तथा कलालाई राज्यले अझै पनि अनुत्पादनमूलक क्षेत्रको रूपमा हेर्ने परिपाटीतर्फ इङ्गित गर्दै भुमरीले साहित्य र कलाले राज्यलाई चेतनशील बनाउँछ भन्ने कुरा राजनीति गर्नेले बुझेका छन् र नबुझेको अभिनय गर्दै सत्ताको स्वादमा टाँसिइरहनका लागि यस्तो भन्ने गरेको बताउँछन् । यो राज्यको केन्द्रिय निकायले राजनीतिबाहेक कुन क्षेत्रलाई त्यस्तो उत्पादक देखेको छ र ? ठाडै प्रश्न गर्ने भुमरी दशकौँदेखि लेख्नेहरू त्यही ठाउँमा लेखिरहेका तर हिजो गाउँमा हात्तीछाप चप्पल लगाएर राजनीतिमा घस्रेकाहरूमध्ये धेरैले आज बङ्गला ठड्याउँदै अकुत सम्पति आर्जन गरेका छन् भन्ने यथार्थ औल्याउँछन् ।
साहित्यिक पुरस्कार तथा तीनको छनौट प्रक्रियाप्रति पनि तीखो प्रतिक्रिया दिने भुमरी यो देशमा कुनै कामको राम्रो मूल्याङ्कन गरेर दिने पुरस्कारको नाम कुन छ ? उल्टै प्रश्न गर्छन् । यहाँ क्षेत्रको, नाताको, जातिको, पहुँचको, पार्टीको र आर्थिक दातव्यको मूल्याङ्कन हुने बताउँछन् । दश हजारको पुरस्ककार एक लाखमा किन्नेहरू यही समाजमा निर्लज्ज बसेका छन् । तथापि विनापुरस्कार पनि लेख्न सकिन्छ भन्ने विश्वास भएका यिनी हाम्रा पुरस्कार भनेका पाठक नै हुन् भन्छन् । दर्जनौँ पुरस्कारको भारी बोक्न सस्तो कृति सिर्जना गरी बेमौसमी हल्ला गर्ने र पुरस्कार पाएर गर्व गर्नेलाई राम्रा पाठकले नजिकबाटै चिनेका हुन्छन् । यस्तो अवस्थामा नाम मात्रका सस्ता पुरस्कार लिई अरूका नजरमा लज्जित हुनुभन्दा जीवनमा पुरस्कारको भारी नबोकेरै राम्रा कृति सिर्जना गरी पाठकहरूको माया पाउनु राम्रो हो भन्दै देवकोटा, भूपीहरू यसका उदाहरण भएको यिनी स्मरण गर्दछन् ।
आफू पुरस्कारका लागि नभई, पाठकका लागि लेख्छु भन्ने भुमरीले आफूले जे जति पुरस्कार पाएँ ती विना भनसुन र चाकडी पाएँ भन्दै पुरस्कारको निकाय र पाठक दूषित÷अँध्यारो पाताल र पवित्र÷उज्यालो आकाशमा रहेको ठोकुवा समेत गर्दछन् । राप्तीको साहित्यको श्रीवृद्धिका लागि त्यहाँ स्थापित जति पनि संस्थाहरू छन्, तिनीहरूले कुनै समूह, संगठन र नाताको निजी र स्वार्थी मनोभावनालाई त्यागी निर्दिष्ट उद्देश्य बनाएर काम गर्नुपर्छ भन्ने भुमरी सबैलाई समान छहारी दिने संस्था भएमा सबैले मन खोलेर काम गर्न सक्ने समेत बताउँछन् । आफ्नोभन्दा राप्ती र देशका लागि काम गर्दै छु भन्ने संस्कारको विकास हुनु नितान्त जरुरी छ भन्ने भुमरी आफू एस.एल.सी.पछि सिधै काठमाडौँ आएर काठमाडौँमै केन्द्रको साहित्यसित बढी निकट भएकाले र राप्तीमा नबसेकाले राप्ती साहित्य परिषद्सँग भौतिक रूपले भेटघाट नभएको कुरा गर्छन् । यिनी परिषद्ले आफूलाई आजतक कुनै सम्पर्कसम्म नगरेको गुनासोसमेत गर्छन् । त्यतिमात्र होइन, आफ्नो गृह जिल्ला प्यूठानमा समेत साहित्यिक संघसंस्थाहरूले तथा त्यहाँका स्रष्टाहरूले आफ्नो उपस्थितिको खाँचो नदेखेको बताउँछन् । आफ्नो स्थानमा समेत कृतिहरूको बजार नहुनु यिनका लागि खुब खड्किने विषय हो । आफू अलि अन्तरमुखी भएका कारण कुनै साहित्यिक संघसंस्थासँग निकट हुने प्रयास नगरेकाले आफ्नो यो अवस्था भएको होला भन्ने भुमरी सिङ्गो संस्थाको भन्दा स्रष्टाको कमजोरी गौण हुने कुरा राख्छन् । आफूले जे लेखेको छु, विषयवस्तु बनाएको छु, ती धेरै प्यूठान र राप्तीसँग सम्बन्धित छन् भन्ने भुमरी यस कुरालाई पुष्टि गर्न आफ्ना गीत र कविताका उदाहरण दिन्छन् । तर राप्तीको साहित्यिक माहौल र चर्चाको धारबाट भने आफू सधैँ बाहिर परेको बताउँछन् । राप्तीका पुरस्काररूपी सम्पतिहरूमा आफ्नो लोभ छँदै छैन भन्ने भुमरी मातृत्वप्रतिको अगाध मायाबाट भने बाहिर हुनै नसक्ने कुरा स्पष्ट पार्छन् ।
“गीत हृदय हो, विषय होइन अनि गीतमा हृदय चाहिन्छ, विषय फरक हुन्छ ।” भन्दै राष्ट्रकवि माधव घिमिरेले “भावेशका गीतहरूमा कोमल हृदय छ । समाज र राष्ट्रको निम्ति बोल्दाबोल्दै पनि भावेशको प्रमुख विशेषता भनेको प्रेमको पवित्र भावना हो ।” भन्ने टिप्पणी गरेका छन् ।
वरिष्ठ साहित्यकार ईश्वरबल्लभ भुमरीका बारेमा भन्छन्, “हाम्रा सांस्कृतिक विचारहरूमा बाहिरी हस्तक्षेप तथा चर्चा व्यापक छ, कतिपय प्राज्ञिक पक्ष प्रभावको चिन्ताले दुखित भएको बेला बाहिरी संरचनागत शैलीको आतङ्कले हाम्रो गीतिलेखनलाई प्रभावित गर्न खोजेको कुराले अझ सांस्कृतिक तथा वाङ्मयिक रूपले इतर चिन्ता व्याप्त भइरहेको बेला मौलिक शैली तथा आफ्नो स्वदेशीय आधारमा संरचना हुने परम्परालाई आफ्नो ज्यानभन्दा प्यारो अनुभव गरेर भावेश गीत लेख्छन् । ….. हाम्रा गीतका परम्पराहरूका माधव घिमिरे, कालीप्रसाद रिजाल, यादव खरेल, भैरवनाथ रिमाल ‘कदम’, किरण खरेल, अनेकौ दक्ष गीतकारहरूको दक्ष तथा सशक्त हस्ताक्षरहरू देखिन्छन् भने कतै मञ्जुलकै या दिनेश अधिकारीकै प्ररिप्रेक्ष्यमा फेरि अर्को सुन्दर स्रष्टाको नाम भनी भावेश भुमरीको नाम लिनुपर्छ ।
” वरिष्ठ गायक तथा सङ्गीतकार अम्बर गुरूङ भावेशका गीतमा आफ्नो मनभरि लुकेका मनोहारी कुराहरू पाएको बताउँदै मायाप्रीति लाउँदा अनुभूत हुने हर्षउमङ्ग र बिछोड हुँदा हुने मनको दग्धता तथा वियोग वेदनाका साथै जीवनका शाश्वत मर्म अनि राष्ट्रिय चिन्तनलाई भुमरीले मार्मिक मात्र नभएर सारगर्भित ढङ्गले समावेश गराएको उल्लेख गरेका छन् । गुरुङका अनुसार भावेशका गीतहरूमा नेपालका गावन्धर, पहाडपर्वत, खोलानाला तथा वनपाखा औधि सुन्दर तरिकाले मुखरित भएका छन् ।
वरिष्ठ लेखक डा. डी.पी. भण्डारीका अनुसार विनम्र, अन्तर्मुखी, आत्मप्रचारविमुख भावेश भुमरी जीवनको छुद्र आपाधापी, दौडधूप, तथाकथित सफलता खोजीको ज्वरबाट मुक्त देखिन्छन् । चाकडी चुकली र आत्म विज्ञापनको मार्ग लिएर भुमरी सफल कहलिन चाहँदैनन् । यसैले यो विरूप समाजमा यिनी केही सुन्दरहरूको श्रेणीभित्र पर्छन् । शायद यसैले यिनका गीतहरू पनि सुन्दर छन् । भण्डारीले भावेशका गीतहरू नौलोपन लिएर आएका र यिनको एकान्त मुटुबाट फुटेका मौलिक व्यञ्जनाहरू भएको पनि घोषणा गरेका छन् ।
चर्चित साहित्यकार मन्जुलले लोकगीतलाई अत्यन्त सम्मान गरेर सुन्दर गीतहरू लेख्ने एकजना सुप्रसिद्ध कवि माधव घिमिरे भएको स्पष्ट पार्दै भुमरी पनि यिनकै परम्परामा हुर्केको बताएका छन् । भावेशमा लयको चेतमात्र होइन विचारको गहिराइ पनि त्यतिकै छ । एक दिन नेपालमा यहाँका मानिसहरूले आफ्नोपनको खोजी गर्ने शिलशिलामा लोकगीतका लय र शब्दहरूको खोजी गर्ने छन्, यस्ता गीतहरू कहाँ कुन बेला कुन जातिका मानिसले गाउँथे भन्ने चासो राख्ने छन्, मानिसहरू सुन्दर साहित्यलाई आजभन्दा बढी बुझ्न र आनन्द लिन सक्षम हुने छन्, हो त्यहीबेला माधव घिमिरे र यिनका परम्परामा हुर्केका गीतकारहरूको खोजी हुने छ र त्यतिबेला आजजस्तो सिमित पाठकहरूले होइन, थुप्रै पाठकहरूले भावेशको लेखनको गहनता र गहिराइलाई बुझ्ने छन् र आनन्द लिने छन् भन्दै भविष्यवाणी गर्ने मन्जुलले त्यो दिन अवश्य आउने बताउँछन् र भावेशको सरलता, विनम्रता र अध्यययनप्रतिको लगनशीलताले त्यो दिन कुर्न सक्ने धीरता भएको कुरा समेत उल्लेख गरेका छन् ।
देश सानो भएपनि हामी नेपालीबीच दूरी बढ्दै र ठूलो हुँदै गएको सन्दर्भ उठाउँदै यस्तो अवस्थामा देशलाई एक बनाउन र जातीय अनेकताभित्र एकता भर्न लागिपरेका गीतकारको रूपमा भुमरीलाई उपमा दिँदै वरिष्ठ गीतकार डा. कृष्णहरि बरालले यिनका गीतमा बिम्ब तथा प्रतीकको सरल प्रयोग पाइने तथा सहजता यिनको विशेषता बनेको उल्लेख गरेका छन् । डा. बरालले भिरफूलको छाया, भिजेको चिठी, भित्र छ फूलको साँध हुँदै भिडभित्र छु बिरानो म सम्म आइपुग्दा भावेशको लेखन अझ मार्मिक र सशक्त बन्दै आएको आफूले पाएको बताएका छन् । बरालका अनुसार भावेशका गीतहरूमा प्रेमका संयोग तथा वियोगका भावलहरीहरू बयली खेलेझैँ लहराइरहेका भेटिन्छन् भने देशभक्तिका छाल एकपछि अर्को हतारिँदै छल्किरहेका देखिन्छन् ।
वरिष्ट गीतकार दिनेश अधिकारीले आफूलाई मनपर्ने मध्येका युवापुस्ताका गीतकारहरूमा भुमरी पनि एक रहेको बताउँदै यिनका गीतहरूले सङ्गीतका लागि मात्र नभएर साहित्यका सन्दर्भमा पनि उत्तिकै महत्व राख्ने बताएका छन् । आम गीतकारहरू जस्तै भावेशका गीतहरू पनि जीवन र जगत्का उपज भए तापनि गीतको प्रस्तुति गर्ने आफ्नै पन तथा जीवनलाई पारख गर्ने यिनको आफ्नै मन भएकाले अनि बिम्व र प्रतीकहरूमा यिनको फरक ढङ्गको छनौट भएकाले भावेश अरुभन्दा फरक रहेको समेत अधिकारीले उल्लेख गरेका छन् ।
शब्दको शक्ति र अर्थको विस्तृति थाहा पाउने थोरै गीतकारहरूमध्ये भावेश भुमरी पनि एक भएको बताउने कवि श्रवण मुकारुङको दृष्टिमा भावेशको गीतको आधारभूमि भनेको नेपालको पश्चिम पहाड र झिमरुक नदीको सभ्यता हो । लोक जीवन र लोकलयलाई टपक्क टिपेर आफ्नो काव्यको विशिष्ट भाषाको निर्माण गरेर प्रत्येक गीतलाई सूक्तिमय बनाउन सक्नु भुमरीको विशेषता देखेका मुकारुङका अनुसार प्रेम, दुःख, संघर्ष र सपनालाई देख्ने, स्वयम् भोग्ने र लेख्ने कवि भुमरीको आफ्नो जीवनजस्तै यिनका गीतहरू सुन्दर, सरल तर गम्भीर छन् ।
गायिकका लासिमीत राईका अनुसार भावेश भुमरी गीतियात्राका युग सापेक्षतामा उभिएका सचेत र सशक्त विधवाहक हुन् । भावेशका गीतहरू गाउँदा उल्टै शब्दलाई दुख्ला कि भनेर डराउनुपर्ने बताउँदै राईले यिनलाई नेपाली गीत रचनाका कैयौँ सल्लेरी उक्लेका गीतकारको संज्ञा दिन्छिन् ।
पत्रकार सूर्य थापाले भावेश भुमरी झिमरुकका सौभाग्य तथा माडीका निरन्तरता हुन् भन्दै ऐरावती, गौमुखी र स्वर्गद्वारी जस्तै स्वस्थ र पवित्र भावनाका बिम्बहरूले सिँगारिएका भावेशका गीतहरूले नेपाली आधुनिक गीतको फाँटमा नयाँ आयाम थप्ने विश्वास आफूले लिएको बताएका छन् ।
गायिका पवित्र सुब्बाले भावेशका गीतहरूले आफ्नै शैली बोकेको बताउँदै अभिव्यक्त गर्ने भावेशको गीतिशैलीलाई आफूले अन्तर्मनदेखि नै मन पराउने बताएकी छिन् । भावेशका गीतहरू जब सङ्गीतबद्ध हुन्छन् तब अझ खुलेको देख्ने सुब्बा सरल, सुन्दर र मौलिक गीतका मार्मिक भावमा डुबेर गाउँदा निकै सजिलो पर्ने यिनका गीतहरूले गायनको क्षेत्रमा विशेष महत्व राख्ने बताउँछिन् ।
सङ्गीतकार राजु सिंहका अनुसार अहिले चर्चित तर व्याकरण भत्केका गीतिछन्द, भाव र अनुप्रास नभएका गीतहरूका अगाडि भावेशका गीतहरूले विशिष्ट अर्थ, महत्व र दायित्व बोक्छन् ।
भावेश भुमरीका सहपाठी साहित्यकार प्रोल्लास सिन्धुलीयले भुमरी कवि भएकैले यिनका चल्नुपर्ने गीत नचलेका, पुरस्कार, सम्मान र स्यावासी पनि नपाएका तथा आर्थिक सङ्कटमा रहेको तथापि हलोको वरिपरि रहेका यिनका साथीसङ्गी, घरपरिवार, आफन्त नातागोताबाट कवि भएकै कारण उछिट्टिएर राजधानीसम्म आउन सफल भएको उल्लेख गरेका छन् । सिन्धुलीयका अनुसार कसैलाई ड्याङ्गै मनपराउने तथा ड्याङ्गै घृणा पनि गरिहाल्ने भुमरी जसरी अराजक, भङ्जाहा र जिद्दी छन् त्यति नै कोमल पनि छन् तथापि एकदमै नजिकबाट नियालेपछि मात्र यिनमा निहित त्यो कोमलता स्पष्ट देखिने हुँदा कतिपयहरू त्यो कोमलताको नजिक पुग्न नपाउँदै टाढा भइसक्ने भएकाले उनीहरूले भुमरीलाई हाडे ओखरजस्तो कडा देख्छन् । धमिराको देवल र भावेशको राष्ट्रवाद उस्तै उस्तै देख्ने कवि सिन्धुलीयले भावेशलाई अभावको कहालीलाग्दो खाडीमा रङ्मगिएर सपनाका कैयौँ पत्रहरू जलाए तापनि देशलाई कहिल्यै नधिक्कार्ने तथा गाली नगर्ने राष्ट्रवादी साहित्यकारको रूपमा प्रस्तुत गर्छन् ।
भावेशका गीतहरू साङ्गीतिक दृष्टिमा अति स्तरीय, रसिला र स्वादिला भएको यथार्थलाई प्रष्ट पार्दै सङ्गीतकार शिलाबहादुर मोक्तानले यिनका गीतहरूमा विशेषतः सामाजिक दुःखसुख, हर्षविस्मात, संयोगवियोग, तथा गीतकारको आफ्नै भोगाइ र देखाइका वास्तविक अनुहारहरू जीवन्त बनेर कुँदिएका तर्क गर्छन् ।
नारायण रायमाझीले निर्दिष्ट भावको प्रतिविम्बले मूच्र्छना जगाउने मीठो शैलीबाट गीतलाई ईष्र्यालाग्दो पार्ने विशेषता बोकेका गीतकार भावेशबाट राष्ट्रका लागि भरपर्दो गीतिबाटो तयार बन्दै गएको छ भन्ने कुरा व्यक्त गरेका छन् ।
अग्रज गीतकारहरू माधवप्रसाद घिमिरे, मबीबी शाह, कालीप्रसाद रिजाल, यादव खरेल, भैरवनाथ रिमाल ‘कदम’, किरण खरेल, हरिभक्त कटुवाल आदिले तय गरेको मार्गलाई भुमरीले रोजेका छन् भन्दै ध्रुब बुढाथोकीले पुराना पुस्ताका नेतृत्व गर्ने लहरमा उत्रेका भुमरीले यी अग्रजहरूको बिँडो थाम्ने शुभ सङ्केत देखाइसकेको बताएका छन् । साथै विदेशी र्यापमा रमाउनेहरूलाई समेत नेपाली गीतमा मोहित पारेर गाऊँ गाऊँ बनाउने खुबी भावेशका गीतमा भएको पनि बुढाथोकीले उल्लेख गरेका छन् । नेपाली गीति परम्परामा लोक मर्मलाई आत्मसात् गरी गीत लेख्ने नेपाली गीत लेखन शिरोमणि माधव घिमिरे प्रवृत्तिलाई पछ्याउँदै गीत लेख्ने भावेश भुमरीका गीतहरूमा प्रेम, प्रणय, विरह, विश्वासघात, चाहना, सपनासँगै ग्रामीण जनजीवन र पहाडी दिनचर्यासँगै देशको माटो बोलेको देख्न पाइन्छ ।
यिनका गीतमा कतै भीरपाखा रोएको, नदीनाला सुसाएको छ भने रोदीप्रति अत्यन्त मोह छ भन्ने विष्णुकुमार प्रसाईले भावेशलाई गीतका माध्यमबाट कहिले झिमरुकसँगै सलल बगेको देख्छन् भने कहिले लुङेली देवालीको सम्झनामा डुबेको भेट्छन्, कहिले राष्ट्रिय अस्मिताप्रति सम्वेदनशील बन्न पुगेको पनि पाउँछन् ।
संगीतकार सन्तोष श्रेष्ठले जीवनमा आइपर्ने विविध अप्ठेराहरूसँग सहज रूपमा प्रतिस्प्रर्धा गर्नसक्ने एक गतिला र साहसिक गीतकार भावेश भुमरी भएको बताउँदै बौद्धिक हिसाबले पनि यिनी उच्चकोटीका गीतकारका रूपमा परिचित छन् भनी उल्लेख गर्छन् । व्यक्ति, समाज र सिंगो राष्ट्रलाई असर नपर्ने गरी भावेशले गीत लेख्ने बताउँदै सन्तोषले यिनलार्ई सबै कुरामा सचेत भएर कलम चलाउने गीतकारका रूपमा चिनाउन चाहन्छन् । सस्तो लोकप्रियतामा विश्वास नगर्ने, धेरै मेहनत गरेर राम्रो सिर्जना श्रोताहरूलाई दिनुपर्छ भन्ने एउटा दूर दृष्टि भएका गीतकारको रूपमा भुमरीलाई लिन सकिने कुरा सन्तोष बताउँछन् ।
पुष्करराज बुढाथोकी ‘साउतेली’का अनुसार भावेशका गीत मानव जीवनले भोगेका खरा अभिव्यक्ति हुन् । जीवन यात्रामा आइरहने उकाली र ओरालीका उच्छवास हुन् । प्रकृतिप्रदत्त विषय भएकाले गीतमा माया पिरतीका चर्चा हुनु अस्वाभाविक त थिएन भन्ने बुढाथोकी भावेशका अधिकाङ्श गीतहरूले जीवनवादी पक्षहरूलाई नै स्पर्श गरेको भेट्छन् । यिनका अनुसार आत्मसन्तुष्टि मात्र नभएर मानवमूल्यको संरक्षण र सम्बद्र्धन भावेश भुमरीको गीत लेखनको अभिष्ट हो । सरलता, लोकात्मकता र भावुकताले भरिएका सिर्जनात्मक अभिव्यक्तिका कारण गीतहरू रसपूर्ण बनेको बताउँदै बुढाथोकी मनमा खेल्ने भावनाका तरङ्गहरूलाई प्रष्टसँग शब्दचित्रण गर्न सक्षम गीतकार भावेश कलाको बान्कीलाई उठाउँदै सिर्जना फैलाउँदै आजको मानवीय जगतलाई समृद्ध पार्न उद्धत छन् भनी उल्लेख गर्दछन् ।
भावेश भुमरी रापतीको माटोमा उम्रिएर देशैभरि सुगन्ध फैलाइरहन सफल एक पुष्पवृक्ष हुन् । जीवन जिउने क्रममा बढी समय सहरमा रहेपनि गाउँ आफ्नो प्रिय वस्ती तथा त्यसको मौलिकतालाई आफ्नो पन ठान्ने साहित्यकार भुमरी शहरको भिडबाट पनि यिनका एकान्त गाउँका सुन्दर परम्परा र संस्कृतिको कल्पना गर्छन् । यिनको मनभरि तथा मुटुभरि त्यहाँकै गुराँस, पैयूँ, भिमल र सिमलहरू फुल्छन् । यिनलाई निर्जीव वस्तुको पृथक् सुखदुर्लभताले पनि अक्सर पीडा दिन्छ अनि यिनै विषयवस्तुलाई समेटेर गीत बनाउने कुरा गर्छन् यिनी । राप्तीमा जन्मिएर राष्ट्रिय रूपमै चर्चित भएका यी साहित्यकार विविध विधामा उत्तिकै पारङ्गत साहित्यकारबाट राप्ती क्षेत्रले ठूलो आशा गरेको पनि छ । भुमरीले यिनका गीतहरूमा भनेजस्तै हाम्रो जन्मभूिम अहिले ठूलो रोगबाट ग्रस्त छ तर देशको यो रोगको निदान गर्नेहरू आजसम्म भेटिएका छैनन् बरु नेपाल आमाको क्रन्दनमा रमाएर बस्ने रमितेहरूको भने लाम छ । त्यहीँ रमिते अगुवाहरू बस्ने यो बिरानो ठाउँमा साहित्यकार भावेश पनि दुःख र अभाव झेलेरै भएपनि बसिरहन वाध्य छन् ।
“दिनका दिन अभाव उठ्छन् मेरो शिरमा टेकी रातले पीडा छादिदिन्छ मलाई निर्धो देखी काठमाडौँको जीवन भाछ मृत्युभन्दा गाह्रो तर पनि के हो नशा यहीँको दशा प्यारो” –(भिडभित्र छु बिरानो म, पृ. ३०) तर पनि यो धर्तीलाई सिंगार्न पराईको आसा गरेर हुँदैन अब हामीले नै कम्मर कस्नुको विकल्प छैन भन्ने भुमरीको गीतको यही हरफ पैँचो लिँदै तथा यिनको उत्तरोत्तर प्रगतिको कामना गर्दै यो शब्दयात्राबाट अहिलेलाई यहीँ विश्राम लिन चाहन्छु ।
“सिर्जना छन् हाम्रा हातमा सिर्जनु छ पाइलाभरी
यही धर्तीलाई सिँगार्नु छ हरप्रहर अघि सरी हिरामोती
यहीँ भेटछौँ खोज्न हामी डट्नुपर्छ
गरिबीको कालो बादल हाम्रै कामले हट्नुपर्छ”
–(भिडभित्र छु बिरानो म, पृ. ११)
(अन्तर्ध्वनि नेपाली साहित्य पत्रिकामा प्रकाशित, भावेश भुमरीकै फेशबुक बाट)