सञ्जय तामाङले जिते आइफोन 5 उपहार
माया घले मगर
इजरायल , इजरायलमा रहेका मगर समुदायको संगठन नेपाल मगर समाज इजरायलले आफ्नो स्थापनाको पहिलो वर्ष पुरा भएको उपलक्ष्यमा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।
मगर समुदायको भाषा, धर्म, भेषभुषा, संस्कृति, पहिचान र परम्परालाई जगेर्ना गरिराख्ने उद्धेश्यले प्रवासी भुमी इजरायलमा रहेका मगर समुदायद्वारा स्थापना गरिएको मगर समाज इजरायलले गत ११ जुलाई शुक्रवार तेलअभिवको लेवन्दा मार्ग ३२ स्थित एउटा हलमा बार्षिक उत्सव मनाएको हो । नेपाल मगर समाज इजरायलका अध्यक्ष बसन्त रास्कोटी मगरको सभापतित्व, इजरायलमा रहेका सम्पूर्ण आदिवासी जनजातीहरुको छाता संगठन नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष सुन्दर सिंह लामा तामाङको प्रमुख आतिथ्य तथा गैरआवासिय नेपाली संघ इजरायलका महासचिव तिर्थ गौतम र आदिवासी जनजाती महासंघ इजरायलका प्रथम उपाध्यक्ष तथा वरिष्ठ कलाकार गायक भुपेन्द्र गुरुङ को विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मगर समाज इजरायलका सदस्य दिपक राना मगरले स्वागत मन्तव्य दिदै सम्पूर्ण उपस्थितहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा मगर समाज इजरायलकी महासचिव माया घले मगरले वार्षिक प्रतिवेदन प्रस्तूत गर्नुभएको थियो । त्यस्तै समाजकी कोषाध्यक्ष जया पुन मगरले २१ हजार शेकेल आम्दानी र १८ हजार शेकेलको खर्चको विवरण सहितको संस्थाको बार्षिक आर्थिक प्रतिवेदन प्रस्तूत गर्नुभएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथी सुन्दरसिंह लामा तामाङले मगर समाज इजरायलको स्थापनाको पहिलो बार्षिक उत्सवको उपलक्ष्यमा सम्पूर्ण इजरायलमा रहेका मगर दाजुभाईलाई हार्दिक वधाई दिदै मगर समाज इजरायलको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । उहाँले आफ्नो भाषा धर्म, भेसभुसा, रितिरिवाजलाई जोगाई राख्ने हेतुले इजरायलको अहिलेको तनावपूर्ण स्थितीका वावजुद पनि कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएकोमा खुशी व्यक्त गरेका थिए । तामाङले संस्थागत रुपमा आयोजना गरिएको एउटा कार्यक्रममा नेपाली राजदूतावासको कुनै पनि प्रतिनिधी कार्यक्रममा उपस्थिती नभएकोप्रति दुख व्यक्त गर्दै नेपाली राजदूतावाप्रति रोश प्रकट गरे ।
कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरुमा एनआरएन इजरायलका महासचिव तिर्थ गौतम, आदिवासी जनजाती महासंघ इजरायलका प्रथम उपाध्यक्ष तथा वरिष्ठ कलाकार भुपेन्द्र गुरुङ, नेपाल संघिय समाज इजरायलका अध्यक्ष छिरिङ शेर्पा, नारी आवाज इजरायलकी उपाध्यक्ष नेहा गुरुङ, मातृभुमिकोलागि युवा अभियान इजरायलकी अध्यक्ष नितु खतिवडा लगायत रहेका थिए ।
दुई चरणमा विभाजन गरिएको उक्त कार्यक्रमको दोस्रो चरणमा मगर समाज इजरायलका कलाकारहरुले विभिन्न मगर संस्कृति झल्किने गीत तथा नृत्य प्रस्तूत गरेका थिए । त्यस्तै दोस्रो चरणको कार्यक्रमको अन्तमा मगर समाज इजरायलद्वारा करिव ३ महिना अघिदेखि संचालन गरिएको राफल चिठ्टा खोलिएको थियो । प्रथम द्वितिय र तृतिय गरी ३ वटा भाग्यशाली पुरस्कारको व्यवस्था गरिएको ३० शेकेल मुल्यको उक्त चिठ्टाको प्रथम पुरस्कार अन्तर्गत आइफोन फाइभ, दोस्रो पुरस्कार अन्तरगत आइप्याड र तेस्रो पुरस्कार अन्तरगत क्याननको डिजिटल क्यामरा राखिएको थियो ।
जसमा ०१६० नम्वरको चिठ्टा वाहक सञ्जय तामाङले प्रथम पुरस्कार अन्तरगत आइफोन फाइभ जित्न सफल भएका छन् भने ००६८ नम्वर वाहक उस्गान मगरले दोस्रो पुरस्कार अन्तरगत आइप्याड जित्न सफल भएका छन् । तेस्रो पुरस्कार अन्तरगत ०४२१ नम्वरको चिठ्टा वाहक नेपाल इजरायल डट नेटकर्मी अर्जुन पौडेल ‘गाउँले’ ले तेस्रो पुरस्कार अन्तरगत क्यानन को डिजिटल क्यामेरा जित्न सफल भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी जनजाती महासंघ इजरायलको अध्यक्ष सुन्दर सिंह लामा तामाङले पुरस्तार विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए भने कार्यक्रमका सभापति वसन्त रास्कोटी मगरले विजेताहरुलाई खत्का ओढाई शुभकामना दिएका थिए । त्यस्तै संस्थाकी उपाध्यक्ष विष्णु पुन मगरले अविर लगाइ दिएका थिए । पहिलो चरणको कार्यक्रमको समापन गर्दै सभापति बसन्त रास्कोटी मगरले आफ्नो व्यस्त समयको वावजुध पनि कार्यक्रममा उपस्थित भएका सम्पूर्ण उपस्थितहरुप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमलाई सफल गराउन उल्लेख्य भुमिका खेल्ने पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु र संस्थाका पदाधिकारी तथा सदस्यहरुप्रति हार्दिक कृतज्ञता प्रकट गरे । दोस्रो चरणको सांगितिक कार्यक्रमको समापन गर्दै संस्थाकी उपाध्यक्ष विष्णु पुनले कार्यक्रममा उपस्थित आतिथी, पत्रकारहरु राफल चिट्ठा वेच्नमा सहयोग गर्ने विभिन्न संस्था तथा व्यक्तीहरु लगायत सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।
प्रवेश निशुल्क गरिएको उक्त कार्यक्रमको पहिलो चरणको कार्यक्रम संस्थाका सदस्य भेष वहादुर मगरले संचालन गरेका थिए भने दोस्रो चरणको सागितिक कार्यक्रमको संचालन भेष वहादुर मगर र लता पुन मगरले गरेका थिए ।