क्याटवाक पुस्ता कौरामा

Read Time:8 Minute, 2 Second

मनोज घर्तीमगर/स्याङ्जा

तस्वीरः छवि मगर
गुन्यू चोली, पटुका, टेकी, हम्मेल, पहेंलो पोते लगाएक युवति । आधुनिक पहिरनसहित भाङ्ग्रा लगायतका युवा । मगर पहिरनमा सजिएका उस्तैउस्तै उमेरका युवायुवति छमक छमक कौरा नाँच्छन् । हातमा ढोल समाएर केही युवा सुरिलो स्वर कौरा गाउँदै युवतिलाई हौस्याउँछन् । उनीहरुलाई साथ दिन गाउले भेला हुन्छन् । दिनभरको कामको बोझ हटाउन तन्नेरीहरु रमाइलोसंगै आफ्नो संस्कृति जोगाउन सांझ परेपछि कौरा नचाउन लागि पर्छन् । केटा र केटीबीच घम्सा घम्सी चल्ने कौराको रौनकले रमिते बनेर हेर्नेहरु पनि कम्मर मर्काइ मर्काइ नाँच्छन् । स्याङ्जाको चित्रेभञ्जायङका तरुनी र तन्नेरीहरु नाँच्दै गरेको यस्तै दृश्य देखिन्छ आजभोली । प्लस टु र स्नातक पढ्दै गरेका स्याङ्जा चित्रेभञ्जाङ्का ठिटा ठिटिहरुको यो समूह इन्द्रेणी यूवा क्लबमा आबद्ध भएर कौरा जोागाउन कस्सिएको छ ।

रंग रमाईलो गर्नलाई मात्रै कौरा नाँचेका होइनौं । कौरा सँस्कृति हराउँनै लागेकाले जोगाउन तम्सिएका हौं इन्द्रेणी युवा क्लबका सचिव अमृता थापा भन्छिन्,अहिले करिब २० जना युवायुवतिले कौरा सिकीरहेका छन् । यो क्षेत्रमा विशेष गरि माघे सक्रान्तिदेखी बैशाख जेठसम्म बढी नाचिन्छ । त्यो बाहेक लाहुरे घर फर्कदा, कमाई गर्न गएकाहरु विदेशबाट फिर्दा, दशैं, तिहार, गाउँघरमा हुने विहे, व्रतबन्ध, चन्डी पूर्णिमा लगायत अन्य अवसरमा यहाँ कौरा नचाइन्छ । आजभोली गाउमा तन्नेरी कमै भेटिन्छन् । कोही विदेश पलायन । कोही शहर पसेका छन् । उनीहरु बेलाबेला सांस्कृतिक चिन्तन गर्छन् । मगरको प्रसिद्ध चाड चण्डी पूर्णिमा लगायतका विभिन्न अवसर कौरा सिक्दै नाँच्छन् । डान्स, डिजे, डिस्कोमा रम्ने यो पुस्ता कौरा गाउँदा पाका उमेरका हर्षित छन् । कौरा हराउदै गएपछि यहाका तरुनी/तन्नेरीले यसको संरक्षण गर्न स्कुले बालबालिकालाई समेत प्रशिक्षण दिन सुरु गरेका हुन् । क्लबले अहिले गाउका नजान्ने सबैजसोलाई कौरा सिकाउन प्रयत्न गरिहेको छ । विद्यार्थीलाई फोकस गरेर कौरा सिकाइरहेका छौ, जति सिकाए पनि के गर्नु नानिहरु विवाह गरेर जान्छन्ं । बाबुहरु पढ्न अथवा विदेश जान्छन् । फेरी नयाँ उत्पदान गर्छौं’ कौरा सिकाइरहेका स्थानीय शिक्षक रिमबाबु रानामगर भन्छन्,आफ्नो सँस्कृति जोगाउनलाई नयाँ पुस्ता कौरामा आकर्षित भएपछि हामी खुसी छौं । जो सिक्न चहान्छ हामी स्वागत गर्छौ ।

मगर समुदायमा आफूलाई मन परेको तरुनीतन्नेरीबिच ख्याल ठट्टा र छेडखानी गर्नुलाई नराम्रो मानिन्न । कौरा गीतमा माया प्रेम सुख दुःख, हर्ष उल्लास ख्यालठट्टा गरिन्छ । गीतबाट सञ्चोबिसञ्चो, चिना परिचय पनि गरिन्छ । सालीको शीरमा चम्केको शीरबन्दी र सुनको फूल, गलामा बेरिएको कण्ठ, कानमा लत्रिएको ढुङ्ग्री र चेप्टेसुन अनि गुन्यू चोली तिर हेर्दै मगर युवा (भेनाहरु) ‘नानी त रैछौं हाम्रै दावली’ भन्दै गाउँछन् । अहिलेको युवा पुस्ताले परम्परालाई अंगालेको हेर्दै अघिल्ला पिंढी हुल बाँधेर रमाउन आउँछन् । साँस्कृतिक जागरुकताले होला, अरुबेला झुत्रेझाम्रे पेन्ट, कानमा कुन्डल, गलामा दाम्लो जत्रो फलमो सिक्री बाध्ने युवा, अनि वन पिस पहिरनमा सजिएर सडक ¥याम्पमा ‘क्याटवाक’ गदै हिड्ने शहरीया युवतीहरु र आधुनिकता झल्कने हिपहप पारखी युवाहरु पनि आफ्नै भेष भुषामा भेटिन्छन् । डिजेको इसारामा पाश्चात्य संगीतमा नाच्नु र आफ्नै साँस्कृतिक कौरा भाकामा नाच्नु आकास पातालको फरक छ । कौरामा नाचमा पोख्त १२ कक्षामा अध्ययनरत अनु राना भन्छिन्,‘त्यसो त नयाँ पुस्ता ‘भर्साटाइल’ बनिरहेका छन् ।’

अहिले गाउबाट अध्ययनका लागि शहर झरेका युवाहरु समेत कौरा नृत्यको गाउमै पुगेर प्रशिक्षण लिन थालेका छन् । विशेष गरि माघ महिनादेखि असार महिनासम्म नाचिने कौरा गाउमा आउने पाहुनाहरु पनि मन्त्रमुग्ध भएर नाच्छन् । यो नृत्यको संरक्षणमा यहाका १६ वर्षे उमेरदेखि ३० सम्मका युवायुवति अहोरात्र लागिपरेका छन् । यिनीहरुले परम्परागत संस्कृति लोप नहोस् भनेर निःशुल्क रुपमा अन्य तन्नेरीहरुलाई यो नृत्य सिकाउदै आएका छन् । कौरा नृत्य यति नै समय नाचिने भन्ने समयसीमा हुदैन । ‘कौह्रा हराउने चिन्ता लागेको बेला यहाका युवाहरु संरक्षणमा लागिपरेका छन् । स्थानीय रुद्र शन्देस मगर भन्छन्,‘पहिले जतिको चासो दिन नसके पनि हराउँदै गएका बेला युवाले गरेको यो महेनत स्वागतयोग्य छ ।’ गाउमा भित्रिने स्वदेशी हुन् या विदेशी सबैलाई आकर्षित गराउन तन्नेरीहरु कौह्रा नचाइहरेका छन् । तन्नेरी पुस्ताले कौरा सिकेपछि हराउदैन भन्नेमा स्थानीय ढुक्क छन् । कौरा गाउन नआए पनि जनजाति संस्कृतिको सम्मान गर्दै स्थानीय बाहुन् क्षत्री, नेवार, युवा युवतीहरु पनि सारमा सार मिलाएर नाच्छन् मेलामौकमा ।
पहिले पहिले गाउँघरमा पल्लो गाउँका युवा र वल्लो गाउँका युवति मिलेर कौरा नाचगान गर्दैै रमाईलो गर्थे । तर, हराउँदै गएको कौराको संरक्षण गर्नै धौधौ परेको छ यतिबेला । ‘कौरा नृत्यका लागि लगाउने पहिरन नै महंगो छ’ क्लबकी सचिव अमृता भन्छिन्, ‘तर पनि संस्कृति हराउनु हुदैन भनेर हामी लागिपरेका छोैं । उनले बूढाबूढीले धानेको परम्परा जोगाउन युवाहरु नै लाग्नुपर्छ भनेर कौरा संरक्षणको अभियान थालेको बताइन् । कौरा विस्तारै हराउन थालेपछि कास्की, स्याङ्जा, तनहुँ, पाल्पा, नवलपरासी लगायत जिल्लाका विभिन्न ठाउँम आजभोली कौरा नाँच्दै र नचाउँदै गरेका यस्तै दृश्य देखिन थालेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %