हुम सुनारी मगर

केपी शर्मा ओलीले कैयौं “मसान” हरुको मत पाएर अध्यक्षमा निर्वाचित भएका छन् । नवौँ महाधिवेशन समारोहमा १५ देखि २० प्रतिशत सम्म मसानहरु महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भएका थिए । त्यहि १५ देखि २० प्रतिशत मसानहरुको मत पाएर केपी ओली अध्यक्ष बनेका हुन् । मसानहरुका मत पाएर केपी ओली जस्ता अन्य ब्राम्हण नेताहरु केन्द्रिय सदस्य देखि पदाधिकारीमा निर्वाचित त भए । तर, अधिकांश दक्ष र योग्य मसान नेताहरु महाधिवेशनको निर्वाचनमा पराजित भएका छन् ।
केपी ओली समुहका उपाध्यक्ष पदमा बामदेव गौतम र बिद्या भण्डारी जस्ता ब्राम्हण उम्मेदवारहरुले बिजय हाँसिल गर्दा किरण गुरुङ र धर्मनाथ शाह जस्ता मसानहरुले हारे । केपी ओली समूह कै सचिव पदमा एक मसान, पृथ्वी सुब्बा गुरुङले भने जितेका छन् । गुरुङले ०६८ जेठ १४ भन्दा अगाडी सम्म मसाने व्यवहार देखाएका थिए । एकात्मकवादीहरुको साटो खाने गरि आदिवासी जनजातिहरुले तर्साउने गरेको हुँदा आदिवासी जनजातिहरुलाई मसान संज्ञा दिएका हुन् केपी ओलीले । तर, पृथ्वी सुब्बा गुरुङ ०६८ जेठ १४ पछि मसाने व्यवहार पूर्ण रुपले त्यागे । आदिवासी जनजाति अथवा उत्पीडित र उपेक्षित समुदायको पक्षमा खरो रुपले उत्रेका र पहिलो संबिधान सभा ककसको पनि अध्यक्ष भएको हैसियतले देश तथा बिदेशमा आदिवासी जनजाति संघ संस्थाहरुले आयोजना गरेको कार्यक्रमहरुमा पनि प्रमुख अतिथिको रुपमा निमन्त्रित हुने गर्दथे । तर, पछिल्लो समय अथवा ०६८ जेठ १४ पछि गुरुङले त्यो क्रियाकलाव नाटकीय रुपमा परिबर्तन गरे । सायद, यहि महाधिवेशन पछि उनलाई पदाधिकारी मै पुर्याउने केपी ओलीको गुलिया आश्वासनका कारण उनले मसाने प्रबृत्ति त्यागेर एकात्मकवादको भुमरीमा फसेको हुन सक्छ । त्यसको परिणाम उनले एमालेको नवौँ महाधिवेशनको चुनावबाट सचिवमा निर्वाचित भए । तर, सचिवका लागि अर्का दुई जना मसाने उम्मेदवारहरु केशवलाल श्रेष्ठ र रघुवीर महासेठले भने चुनाव हारे ।
त्यस्तै माधव नेपाल समूहका उपाध्यक्ष पदका उम्मेदवार युवराज ज्ञवाली, भिम रावल र अष्टलक्ष्मी बोहोरा जस्ता ब्राम्हण नेताहरुले जित्दा अर्का मसाने लालबाबु पण्डित (मधेशी) ले हार्नु पर्यो भने उता सचिव पदमा गोकर्ण बिष्ट, योगेश भट्टराई र भिम आचार्य जस्ता ब्राम्हण नेताहरुले बिजय हाँसिल गर्दा सोहि समूह कै मसाने उम्मेदवार परशुराम मेघी गुरुङले पराजय भोग्नु पर्यो । ब्राम्हण नेताहरु मसानहरुको मत पाएर विजय भैरहेको अवस्थामा ब्राम्हण नेता कार्यकर्ताहरुको मत नपाएर मसानहरु पराजित हुनु परेको एमालेको यो नवौँ महाधिवेशनले प्रष्ट पारेको छ ।
एकात्मकवादी ठुला दलहरुमा मसानहरुको भबिस्य अन्धकार
०६८ जेठ १४ भन्दा अगावै एकात्मकवादी दलहरु मुख्यगरी कांग्रेस र एमाले भित्र यी दलहरुको स्थापना काल देखि नै एकात्मकवादीहरुको आदेश वाहक (अर्दली) भएर राजनीति गरेका कैयौं आदिवासी जनजाति नेता कार्यकर्ताहरु सदियौं देखि उत्पीडन र उपेक्षामा परेका नेपाली जनताको पक्षमा वकालत गर्दै बिद्रोह गरे । त्यो बिद्रोह पश्चात अथवा बिद्रोहले पहिचानको मुद्धालाई स्थापित गर्दै नयाँ राजनीतिक दलहरुको जन्म गरायो । तर, केहि आदिवासी जनजाति अथवा मधेशी नेता तथा कार्यकर्ताहरु पुरानै पार्टीमा संघर्ष गरि बस्छौ भन्दै सोहि पार्टी मै टाँसी रहे । तर, ति पार्टीहरुमा संघर्ष गरि सोहि पार्टी मै टाँसी रहने नेता कार्यकर्ताहरुले पार्टीको नेतृत्व तह अथवा केन्द्रिय समिति सम्ममा पुगेर राजनीति गर्ने हो भने उत्पीडित र उपेक्षित समुदायको मुद्धालाई चटक्कै त्यागेर सदियौं देखि ब्यबहारत: हुँदै र चल्दै आइरहेको एकात्मकवाद चरित्र र नीतिलाई नै आत्मसात गर्नु पर्ने देखिन्छ । समाबेशिता र समानुपातिक प्रतिनिधित्वको नीति लिदै उत्पीडित र उपेक्षित समुदायको पक्षमा वकालत गर्दै ति एकात्मकवादी दलहरुमा संघर्ष गरि बस्ने सोच बनाएर सोहि पार्टीहरुमा टाँसी रहेका आदिवासी जनजाति, मधेशी र अल्पसंख्यक समुदायहरुलाई यसरी नै एकात्मकवादी पार्टीमा पद बिहिन र अधिकार बिहिन बनाएर राखिरहने छ, भन्ने पनि यो एमालेको नवौँ महाधिवेशनको चुनावले प्रष्ट पारेको छ ।
एकात्मकवादी दल कांग्रेस र एमालेमा अहिले समबेशिताको नीतिले पनि स्थान पाएको छ । यो नीति यी पार्टीहरुमा पहिले थिएन । आदिवासी जनजाति मसानहरुलाई उनीहरुको पार्टीमा ठुम्ठुम्याई राख्न यो लालीपप समाबेशी नीति यी दलहरुले पछि ल्याएका हुन् । समबेशिताको नीति एमाओवादीले ल्याए पछि कांग्रेस र एमालेले पनि एमाओवादीको सिको गरेका हुन् । तर, यी पार्टीहरु कांग्रेस र एमालेले ल्याएको समबेशिताको नीति अधुरो र अपुरो छ । केन्द्रिय समितिको सदस्यमा मात्रै समबेशिताको नीति लागु गरेर उत्पीडित समुदायको पक्षमा पार्टी नहुने र असली समबेशिता कायम पनि हुनै सक्दैन । असली समबेशिताको नीति लागु गर्ने नै हो भने पदाधिकारी पदमै पनि समबेशिताको नीति लागु गर्नै पर्छ । पदाधिकारी पदमै समबेशिता नीति लागु गरिएको भए एकाध दुई मसान उम्मेदवारहरुले एमालेको नवौँ महाधिवेशनको चुनावमा पराजय बेहोर्नु पर्दैनथ्यो । यी दलहरुले असली समबेशिता नीति लागु गर्ने नै हो भने मुख्य नेतृत्व अध्यक्ष पदमा पनि समबेशिता नीति लागु गर्न सक्नु पर्थ्यो । जस्तै, जातियता र समुहगत रुपमा आलोपालो नेतृत्व सम्हाल्ने नीति अथवा एक कार्यकाल अवधिमा अध्यक्ष पदको लागि ब्राम्हणले, अर्को कार्यकाल आदिवासी जनजातिले, अर्को कार्यकाल मधेशी र अर्को कार्यकाल दलित तथा अल्पसंख्यकले नेतृत्व गर्न पाउने नीति र व्यवस्था यी ठुला भनिएका दलहरुले लागु नगर्दा सम्म उत्पीडित समुदायले यी पार्टीहरुमा कहिल्यै स्थान नपाउने र असली समाबेशीताको नीति लागु नहुने भएको हुँदा केहि मसाने नेता तथा कार्यकर्ताहरुले यी दलहरुमा संघर्ष गरि बस्छौ भनि एकात्मकवादी पार्टीहरुमा टाँसी रहनुको कुनै औचित्य छैन ।