भयवाद, सरकारी स्कूल र कुकुरको पुच्छर

Read Time:106 Minute, 27 Second

 तेज मान आङदेम्बे

 

 

“तिमी माया माया भन्छौ, मलाई देशको छ चिन्ता” (गायक दिपक लिम्बु)

“तिम्रो छ र के भर, खोजी आऊ पहिले सरकारी जागिर” (क्रान्ती आले, डाक्टर पाइलट एल्बम)

सरकारी संस्थाका कर्मचारीहरु कति झत्तेमत्ते, निजी कर्मचारीहरु कति सुकिला मुकिला ! नयाँ भवनहरु बाहेक जुनसुकै सरकारी संस्थाका भवनहरु कति झतेमत्ते, तर जति पूरानो भएपनि निजी भवनहरु कति सुकिला मुकिला ! सेवा दिनमा निजी कर्मचारीहरु कति नम्र, तर सरकारी कर्मचारीहरु कति टिम्बुरिएका ! काम गर्नमा निजी कर्मचारीहरु कति फुर्तिला, तर सरकारी कर्मचारीहरु कति अल्छि ! तर दार्जिलिंगे नेपाली भाषामा भन्ने हो भने सरकारी कर्मचारीहरुकै बढि ‘बिग टक (ठूल्ठूला कुरा)’ ! मच्चिने निजी पिङ मेशीन जतिकै मच्चिरहेको छ, तर नमच्चिने सरकारी पिङको शय झड्काले पिङ नै खिइएर खरानी हुन लागिरहेछ । झापा जिल्लाका सरकारी कलेजहरु बिध्यार्थी शून्य हुने स्थितिमा र निजी कलेजहरु बिध्यार्थीले भरिभराउ हुने स्थिति (सामुदायिक एफ.एम.हरुको छाता संगठन सि.आइ.एन. का लागि मनिषा गौतम, रेडियो सर्गमको रिपोर्ट, ५ माघ २०७०) कसरी आयो ? बिकसित देशहरुमा, सरकारी शिक्षण संस्थाहरुमा पढेको भन्दा किन गर्व गर्छन ? तर, निजीमा पढेको सुन्ने बितिकै किन नाक खुम्च्याउँछन ? अक्स्फोर्डमा पढेको, क्याम्ब्रिजमा पढेको, हार्बाडमा पढेको, म्याक्स प्ल्यांकमा पढेको, मासाच्युसेट्समा पढेको भन्दा कति नाक ठाडो हुन्छ ? तर हाम्रो देशमा भने सरकारी शिक्षण संस्थामा पढेको भन्दा लाज लाग्ने स्थिति कसरी आयो ?

त्यसैले, म गीतकार भएको भए लेख्ने थिएँ, ‘तिमी सरकारी शिक्षाविदहरु सरकारी स्कूलका बिध्यार्थीहरुको प्रतिभा बिस्फोटन र क्वालिटीका ‘‘बिग टक’’ गर्दै फलाक्दै हिँड्छौ, तर सरकारी स्कूलका बिध्यार्थीहरुलाई मार्कशीटले शहिद बनाइरहेको तथ्य कसरी पत्ता लगाउन सक्दैनौ ? लाटालाटीले पनि सजिलै पत्ता लगाउन सक्ने यति सानो कुरो पनि पत्ता लगाउन नसक्ने शिक्षाविदहरु र सरकारी शिक्षा नीति निर्माणकर्ता हाकिमहरुको नै प्रतिभा बिस्फोटन भइसकेको छैन कि भनेर प्रश्न किन नगर्ने ? अरुका बिचारहरु पढ्ने बानी नै नभएपछि र तथ्यहरु स्विकार गर्न नसक्ने बनारसी प्रबृति अंगालेपछि आफ्नो धोती कसरी खुस्किदैन ? धोती खुस्केको थाहा नै नभएपछि ‘‘डुमै राजा’’ भएर बसेका जिम्मेवार कर्मचारीहरुले आग्राको कुरा गर्नुपर्नेमा गाग्राको कुरा गर्दै हिंडेपछि सरकारी स्कूलहरु कसरी शहिद हुँदैनन ? त्यसैले हामीलाई ‘‘कुरी कुरी’’ को छ चिन्ता । शिक्षा सेवा आयोग पास गर्न सक्षम भनिएका सरकारी दक्ष शिक्षकहरु राम्रो पढाउन जान्दैनन कि भन्ने डरले होला, करोडौँ खर्च गरेर दक्ष बनाउन सरकारले राम्रो पढाउने तालिम दिइरहेको छ, तर सरकारी रिजल्टको पुच्छर तालिम नदिँदाको जस्तै बाँगाको बाँगै कसरी भयो ? जति राम्ररी पढाउन जानेपनि अल्छि गरेर महिनाको दश÷बाहृ दिनमात्र पढाएर कोर्स नसकिदिएपछि तालिमको के अर्थ ? मुगु जिल्लाका अधिकांश सरकारी स्कूलहरुमा शिक्षकहरु बर्षको ३० दिन मात्र पढाउन जान्छन भन्ने सेतो पाटी डट कमले प्रकाशित गरेको हालसालैको समाचार दुनियाँले थाहा पाएका छैनन र ? राम्रो पढाउने तालिम पाएपनि तालिम अनुसार नपढाइदिएपछि तालिमको के अर्थ ? तालिम अनुसार पढायो कि पढाएन भनेर दैनिक अनुगमन गर्न नसक्नेले किन तालिम दिनु ? १२ वर्षमा एक दिन अनुगमन गरेर हुन्छ ? अनुगमन नगरेको दिन कुकुरको पुच्छर फेरि बांगो भइहाल्छ भन्ने कुरो ध्रुबसत्य होइन र ?

नाच्न नजान्नेले आँगन टेंडो देख्नु कुनै आश्चर्य होइन । ‘राम्रो पढाउन नजान्ने मान्छेहरुलाई सरकारी स्कूलहरुमा मास्टर बनाएकाले बिध्यार्थीहरुलाई देश भक्तिको शिक्षा दिनुपर्नेमा बिध्वंशकारी माओबादी हुने शिक्षामात्र दिएछन सरकारी स्कूलहरुले र यो देश द्धन्दमा फसेको हो ’ भनेर द्धन्दकालमा प्रधानमन्त्री भएका एकजना नेताको कोठे कल्पनाको आधारमा शिक्षक लाइसेन्स लागु गरिएको कुरो सबैलाई थाहा छ । नेता हुनु र विद्धान हुनुमा धेरै फरक छ, तर एक जना नेताको यस्तो कोठे कल्पना पत्याउने शिक्षाविदहरुको विद्धतामाथि प्रश्न किन नगर्ने ? टिचिङ लाइसेन्सको ब्यब्स्था गर्दा पो राम्रो पढाउने मान्छे मास्टर हुन्छन र सरकारी पढाइ राम्रो हुन्छ कि भनेर अनुमान गर्नु लंगडो अनुमान गर्नु हो भन्ने कुरो लाइसेन्स बिना पढाउने निजी स्कूलहरुको रिजल्टले स्पष्ट चुनौती दिइरहेको छ कि छैन ? लाइसेन्सको कुरामा पनि, शिक्षा बिषय लिएर पढेकालाई बाहेक अरु बिषय पढेकालाई मात्र शिक्षक लाइसेन्स परीक्षामा बस्नुपर्ने नियम ल्याउनु पर्नेमा शिक्षा बिषय पढ्नेलाई मात्र शिक्षक लाइसेन्सको परीक्षामा बस्न दिने, तर बिज्ञान बिषयको शिक्षकका लागि बिशुध्द बिज्ञान (exactscience) पढ्नेले शिक्षक लाइसेन्सको परीक्षामा बस्न नपाएपछि बिज्ञान र गणित बिषयको जनशक्तिको अभावले सरकारी स्कूल ठप्प हुनसक्छ भन्ने कुरो पनि अन्दाज लगाउन नसक्नेहरुले अहिले फेरि शिक्षक लाइसेन्स नै नचाहिने नीति ल्याउँदै हिँड्दा यस्ता पागल दर्जाका सरकारी नीति निर्माणकर्ताहरुको खुबी माथि प्रश्न किन नगर्ने ? सरकारी अफिस भनेको ठट्टा गर्ने पार्क हो ? ठट्टै ठट्टामा सरकारी जीवन बित्ने भयो कि भएन ?

मोबाइलको कारणले पढाइ नराम्रो भएको हो कि भनेर स्कूलमा मोबाइलको प्रयोग प्रतिबन्ध लगाउनुपनि हास्यास्पद अनुमान हो । शिक्षकहरुलाई कक्षामा मोबाइल लिएर जान वा स्कूल समयमा ल्याउन नदिएपछिको राम्रो रिजल्टपनि हेरिहालौँ चाँडै नै । सरकारी स्कूलहरुको रिजल्ट २०६९ सालमा सबैभन्दा खतम आएपछि सरकारी निंद्रा हराम भएको कुरो कुन लाटालाई थाहा छैन ? किन २०६९ सालमात्र सरकारी स्कूलहरुको इज्जत जाने साल भयो ? मोबाइलको कारणले हो ? २०६९ सालमा मात्र मोबाइलको बढि बिक्रि भएर नराम्रो रिजल्ट आएको हो सरकारी स्कूलहरुको ? यो साल मात्रै सरकारी शिक्षकहरुले मोबाइल कक्षामा लिएर गएका हुन ? २०६९ सालभन्दा अगाडि मोबोइल नै थिएन र शिक्षकहरु मोबाइल खल्तिमा बोकेर कक्षामा नगएकाले नै सरकारी रिजल्ट मध्यम खालको आएको हो ? शिक्षाविद हुनु भनेको हाँसोको पात्र (laughing stock) बन्दै हिँड्नु होइन ।

शिक्षकहरुलाई पुल्पुल्याउने, बिध्यार्थीलाई बालमैत्री भनेर पुल्पुल्याउने, फेल पार्नै हुँदैन भनेर झन पुल्पुल्याउने, एस.एल.सी.मा चाहिँ बेसरी फेल पानुपर्छ भन्ने नियम ल्याउने, चोरेर मात्र पो पास गरेका रहेछन कि भनेर २०६९ मा चाहिँ होम सेन्टर खारेज गरेर एस.एल.सी. परीक्षा आँफै टाइट गर्ने अनि यो साल सरकारी रिजल्ट नराम्रो आयो भनेर रुँदै कराउँदै हिँड्ने सरकारी मान्छेहरु देखेर लाटालाटीहरु भने पागल बन्न आँटी सके । २०६९ सालमा जति परीक्षा टाइट गरेपनि निजी स्कूलहरुको रिजल्ट त पहिलेको जस्तै राम्रै भयो त ? गहिरिएर बास्तबिक समस्याको जरो अनुसन्धान गर्न नसक्ने सरकारी शिक्षाका ठेकेदारहरुको यो पछिल्लो मोबाइल ठेक्कापनि असफल अवश्य हुन्छ भनेर भविष्यबाणी गर्दा शत प्रतिशत फरक नपर्ला किनकि मोबाइल फोन नभएको समयमा पनि सरकारी स्कूलको रिजल्ट बांगै नै थियो । मोबाइल मात्र होइन, अर्को ‘म’ को पनि कुरो उठेको छ हालसालै । मादक पदार्थ सेवन गर्ने (मा.प.से.) शिक्षकहरुको कारणले पो सरकारी स्कूलहरुको रिजल्ट बिग्रेको हो कि भनेर शंका गर्नुपनि कुम्लो बोकेर ठिमीतिर कुद्नु नै हो, किनकि कोहि शिक्षकपनि मा.प.से. नभएका स्कूलहरुमा के कारणले रिजल्ट शून्य आयो ? नराम्रो सरकारी रिजल्टका कारण, यो देशका सबै सरकारी स्कूलका शिक्षकहरु मा.प.से. मात्र रहेछन भन्ने अर्थ लाग्यो कि लागेन ? मा.प.से. शिक्षकहरुलाई कार्यबाही गरेपछिको राम्रो सरकारी रिजल्टपनि हेरिहालौँ चाँडै नै ।

शुक्रबारको दिनपनि ४ बजेसम्म स्कूल लगाउँदा पो रिजल्ट राम्रो आउँछ कि भनेर अर्को अन्दाज लगाउनुपनि आँगन बांगो देखेकै कारणले हो । शुक्रबारको दिन ४ बजेसम्म स्कूल लगाएपछिको रिजल्ट यहि सालको रिजल्टले देखाइहाल्छ । त्यसपछि थाहा हुन्छ ― आँगन ठिक रहेन छ कि नाच्नेहरु ठिक रहेनछन । हालसालै आएर, अझ अर्को अन्दाज पनि आएको छ । आजभोलि पत्रपत्रिकाहरुले दैनिक जस्तो ‘कुरी कुरी’ कार्टुनहरु प्रकाशीत गर्न थालेका छन । त्यसको मूख्य बिषय बस्तु हो ― निजी स्कूलहरुमा जस्तै शिक्षाको माध्यम अंग्रेजी बनाउँदा पो सरकारी स्कूलहरुको रिजल्ट राम्रो आउँछ कि भन्ने पिरले होइन बिध्यार्थी संख्या घट्छ कि भन्ने पिरले केटाकेटीको जस्तो खेलाँची सरकारी अनुमान । अंग्रेजी माध्यम बनाएर मात्र सरकारी स्कूलहरुले के गर्नु ? पहिलो कुरो त, नेपाली बाहेक सबै बिषय अंग्रेजी भाषामा पढाउन सक्ने म्यान पावर चाहियो । दोस्रो कुरो, पूराना शिक्षकहरुलाई बर्खास्त गरेर अंग्रेजी जान्ने नयाँ शिक्षक नियुक्त गर्ने कसको हिम्मत ? तेस्रो कुरो, अंग्रेजी माध्यम बनाइएका सरकारी स्कूलहरुमा निजी स्कूलका बिध्यार्थीहरु एक दुइ बर्षसम्म त आउलान, तर पढाइ फितलो भएपछि र रिजल्ट नराम्रो आउन थालेपछि शहिदको संख्या बढाउन त्यसपछि को आउला ?’ नेपाली माध्यम नै अपनाएपनि निजी स्कूलहरुको नतिजा कति राम्रो छ सबैलाई थाहा छ । यो तथ्य सरकारी ‘शंके धामी र अंके ज्योतिषि’ हरुको लागि बिशाल चुनौति हो कि होइन ?

मलाई बोल्न दिएको भए म भन्ने थिएँ, ‘मलाई एजुकेशनको नाममा मावता र मूल्यको दर्शन नसिकाऊ, बरु स्कूलिङ नै होस, मलाई पास गर्ने तरीका सिकाइ देऊ किनकि राम्ररी पास नगरे नेपालमा बाँच्न धेरै गाहृो छ भन्ने कुरो मलाई राम्ररी थाहा छ । समाजबादी ब्यब्स्था भएको बिकसित युरोपियन देशहरुको शिक्षा प्रणालीको दर्शन नेपालमा नछाँट किनकि युरोपमा कसैलाई कुनैपनि कक्षामा फेल पारिँदैन, तर नेपालमा एस.एल.सी. देखि माथिका सरकारी कक्षामा बेसरी फेल पार्ने नियम सिफारिस गरिएको छ । युरोपमा कुनै बच्चो जन्मने बितिकै गाँस, बास र कपासको ब्यब्स्था सरकारले गर्छ । नराम्रो अंक ल्याएर पास गरेपनि त्यहाँ बाँच्नको लागि सरकारले जागिरको ब्यब्स्था गरिदिन्छ । जागिरको ब्यब्स्था गर्न नसकुन्जेलसम्म प्रत्येक नागरिकलाई बेरोजगार भत्तो दिन्छ । शायद यहि कारणले होला त्यहाँका केटाकेटीहरु खुलासंग सिर्जनात्मक तरीकाले सिक्छन । सिर्जनात्मक तरीकाले सिक्ने क्रममा कम अंक ल्याएपनि भोकै मर्ने स्थिति छैन त्यहाँ । तर नेपालमा फेल भए वा नराम्रो अंक ल्याएर पास गरे कसले जागिर दिन्छ र बाँच्नु ? त्यसैले, राम्रो अंक ल्याएर पास गर्ने तरीकामात्र सिकाइदेऊ, राम्रो क्वालिटीले म बाँच्न सक्दिन हाम्रो नेपालमा ।’ निजी स्कूलहरुमा स्कूलिङ मात्र छ, एजुकेशन छैन रे । स्कूलिङका कारण निजी स्कूलहरु पश्चिमा मूल्य र मान्यतालाई मात्र गतिलो देख्छन रे (होम स्कुलिङको सिकाइजस्तै) । बिज्ञान होस, प्रबिधि होस वा अन्य कुनै बिषय, हरेक क्षेत्रमा पश्चिमा देशहरुले नयाँ नयाँ कुरो पत्ता लगाइरहेका छन, चन्द्रमामा पुग्न सफल भएका छन । तिनै पश्चिमा विद्धानहरुले नयाँ नयाँ कुरा पत्ता लगाएर लेखेका पुस्तकहरु नेपालीमा उल्था गरेर हाम्रा पाठ्यपुस्तकहरु र पाठ्यक्रमहरु तयार पारिएको हो कि होइन (निजी स्कूलहरुमा होस कि सरकारीमा) ? उनिहरु जस्तै नयाँ कुराहरु पत्ता लगाउन छाडेर त्यहि गुरुकुल, देवकुल वा ऋषिकुलको शिक्षामा अल्मलिने बनारसी प्रबृतिबाट हामी किन मुक्त नहुने ? कम्तिमा पनि सियो सम्म त बनाउन सक्ने भएछ भनेर हाम्रो देश चिनिंदा हाम्रो इज्जत थोरै भएपनि जोगिदैन र ?

उहिले हाम्रो पालामा ड्रेस सिस्टम थिएन सरकारी स्कूलमा, न त शिक्षाको माध्यम नै अंग्रेजी थियो । सरकारको एकाधिकार रहुन्जेलसम्म यो परम्पराको बिकल्प कसैले खोजेन । जब निजिकरणको हावासंगै हरेक क्षेत्रमा प्रतिस्पर्धाको जमाना आयो, तब पछाडि पर्न थालेपछि सरकारी संस्थाहरुलाई डर हुन थाल्यो । निजी स्कूलहरुको ड्रेस सिस्टम (टाइ शुट आदि) अनुकरण गर्ने, अनि उनिहरुकै अंग्रेजी माध्यम सरकारी स्कूलमा पनि लागु गर्न सिक्ने, तर निजी शिक्षण संस्थाहरु ठिक छैनन भन्दै कुर्लिंदै हिँड्ने कस्तो उत्तर आधुनिक जमाना आयो अहिले अरुको पालामा ? अनुकरणको पनि तरीका जाने मात्र सफल भइन्छ । सरकारी स्कूलका बिध्यार्थी र शिक्षकहरुलाई पोशाक भत्तो बेसरी दिने तर भत्तो दिए अनुसार पढ्दै र पढाउँदै छन कि छैनन भनेर बेसरी याद नगरेपछि सुगा अनुकरण भएन र ? सुगा अनुकरणले कसरी सफल हुन्छन सुगा सरकारी शिक्षण संस्थाहरु ? रोएर, कराएर अनि निजी संस्थाहरुलाई सराप्दै हिंडेर मात्र हुन्छ ? नेपालका सरकारी शिक्षाविदहरु पश्चिमाहरुको बिरोध गर्छन तर पश्चिमा विद्धानहरुले नै प्रतिपादन गरेको ‘‘स्कूलिङ’’ र ‘‘एजुकेशन’’ जस्ता बासी भइसकेका धारणाहरु सुनाएर हामीलाई भुल्याउँदै हिँड्छन । तर हामीलाई सरकारी स्कूलहरुको मार्कशिटको छ चिन्ता, किनकि पास भएको मार्कसिट नभए बाँच्न कति धेरै गाहृो छ हाम्रो नेपालमा ?’ भूपि शेरचन अहिलेसम्म बाँचेको भए लेख्थे होलान, ‘मरेर सरकारी स्वर्गमा पुगेका ए शहिदहरु हो, एक पटक जिएर त हेर । जिउन कति गाहृो छ असमाजबादी नेपालमा ? ’

  सरकारी स्कूलहरुमा स्कूलिङ होइन, राम्रो शिक्षा छ रे ― एजुकेशन ।  एजुकेशन भएका कारण सरकारी बिध्यार्थीहरुले नेपाली समाजको मूल्य र मान्यताको बारेमा धेरै जानेका छन रे । नेपाली मूल्य र मान्यता बढि जानेको वा महत्व दिएको कारणले नै सरकारी स्कूलका बिध्यार्थीहरु शुन्य रिजल्ट आउने गरी फेल हुन सफल भएका हुन त ? आफ्नै देशको मूल्य र मान्यताको बारेमा बढि जान्ने हुँदा फेल भइन्छ र भोकभोकै बस्ने स्थिति आउँछ भने त्यस्तो सरकारी एजुकेशनको उपादेयताको बारेमा प्रश्न किन नगर्ने ? नेपाली मौलिक मूल्य र मान्यता समावेश गरेर लेखिएका भनिएका सरकारी स्कूलका पुस्तकहरु निजी बिध्यार्थीहरुले पनि पढ््रछन (अंग्रेजीमा उल्था गरेर भएपनि) र सरकारी स्कूलका बिध्यार्थी भन्दा धेरै अंक पनि ल्याउँछन ति बिषयहरुमा । नेपाली समाजको मूल्य र मान्यता नजानेकाले निजी स्कूले बिध्यार्थीहरुको बिपरित बुद्धी पलाएर बढि अंक ल्याएका हुन ? सरकारी शिक्षाका ठेकेदारहरुलाई यो प्रश्न किन नगर्ने ?

निजी बिध्यालयका बिध्यार्थीहरु घोकन्ते बिध्या (स्कुलिङ) का कारण सुगा भएका छन रे । नघोकी यो संसारमा कहाँ कुन काम चलेको छ ? साथीको बिहेमा जाने मिति होस, गणितको सुत्र होस वा भागवत गीताका श्लोकहरु । नघोकी हुन्छ ? तर बुझेर घोक्नुप¥यो अनि सिर्जनाको कास्टिङ शुरु हुन्छ । कुरै नबुझी ५०० पृष्ठको किताब घोक्न सकिँदैन र कसैले घोक्ने दुष्प्रयास गर्दैन पनि । निजी स्कूलहरुको बिपरित, सरकारी स्कूलहरुमा एजुकेशन भएको कारण सरकारी स्कूलमा पढ्ने बिध्यार्थीहरु सिर्जनात्मक र बहुपहिचानवादी हुन्छन रे । तर सिर्जनात्मक र बहुपहिचानवादी सरकारी बिध्यार्थीहरुको सिर्जना र बहुपहिचान त सबैले पहिचान गरिराखेकै छ त एस.एल.सी. वा त्यो भन्दा माथिको रिजल्टमा ।  त्यसैले, यस्तो खालको सरकारी सिर्जना र बहुपहिचानबादी शिक्षामाथि छलफल किन नगर्ने ?

 सरकारी बिध्यार्थीहरुले कति धेरै सुबिधा पाउने कुरा थाहा हुँदाहुँदैपनि सरकारी शिक्षकहरुले र ‘सरकारी पढाइ राम्रो छ’ भनेर कुर्लिंदै हिँडने सरकारी शिक्षाविदहरुले पनि किन आफ्ना छोराछोरीहरुलाई चाहिँ निजी बोर्डिङ स्कूलहरुमा पढाउँछन र पढाउन चाहन्छन ? सरकारी स्कूलहरुमा राम्रो पढाइ भएर हो कि नराम्रो पढाइ भएर हो ? आफ्ना छोराछोरीलाई सरकारी स्कूलहरुमा पढाउनुपर्छ, अनि पो थाहा हुन्छ त सरकारी समस्या । हाम्रा सरकारी स्कूलहरुमा किन राम्रो पढाइ हुँदैन त्यसोभए ? किन सरकारी शिक्षकहरु पढाउनमा जांगरिला छैनन ? किन सरकारी बिध्यार्थीहरु पढ्नमा जाँगरिला छैनन ? मनोबिज्ञानका पिता अष्ट्रियाका डाक्टर सिगमण्ड फ्रोइडको चेलो त होइन म, तरपनि यसको कारण पत्ता लगाउँदा मेरो के बिग्रन्छ ?

युरोप र अमेरिका जस्ता बिकसित मुलुकका सरकारी कर्मचारीहरु के को डरले मेसिन जतिकै खटेर काम गर्छन ? जागिरबाट फायर हुने डर हो ? जागिरबाट फायर भएपनि बेरोजगार भत्तो त मिलिहाल्थ्यो त ! मैले पनि युरोपको एउटा देश (समुद्र मुनिको देश नेदरल्याण्डस) मा काम गर्दा मेसिनजस्तै खटेकै हो, तर के को डरले ? फायर हुने डर त मलाइ थाहा थिएन, तर गोरा सहयात्रीहरुले मेशिन जतिकै खटेर काम गरेको देखेको डरचाहिँ पक्कै हो । नेदरल्याण्डसबाट फर्केको धेरै बर्षपछि थाहा पाएँ मलाई पढाउने मेरा श्रध्देय गुरु प्रोफेसर डाक्टर जर्ज भ्यान ड्रिम स्थायी सरकारी जागिरे भएर पनि एउटा सानो शैक्षिक लापर्बाहीका कारण फायर भएछन र अहिले अस्थायी जागिर खोजि खान स्विट्जरल्याण्ड पुगेछन । तर दक्षिण एशिया जस्ता गरीब देशका सरकारी कर्मचारीहरु सरकारी सुबिधा टन्न पाएरपनि के को डर नभएर खटेर काम गर्दैनन ? फायर नहुने कारण नै हो ? एक पटक सरकारी जागीरमा नियुक्त भइसकेपछि फायर हुन नसक्ने नेपाली नीतिकै कारण युरोपियनहरु जस्तो चन्द्रमामा पुग्न हामी असफल भएका हौँ त ? साझा यातायात चलायो, तर फ्लप । ट्रलि बस चलायो, त्यो पनि फ्लप । बिध्युत प्राधिकरण फ्लप । सत्र सुबिधा दिँदापनि सरकारी स्कूलहरु रिजल्टमा फ्लप । बाल शिक्षाको अवधारणा ल्यायो, धेरै ठाउँमा बिध्यार्थी शून्य, उमेर बढाएर भएपनि बरु स्कूलमै गएर कक्षा एक मै नाम लेखाउने प्रबृति भएकाले सरकारी पैसाको नाश । किन सरकारी संस्था, कार्यालय र स्कूलहरु जहाँसुकै फ्लप ? यसको कारण किन पत्ता नलगाउने ?

डाक्टर पाइलट एल्बमका चर्चीत गायक क्रान्ति आलेले गाएजस्तै, हाम्रो नेपालमा बिहेको लागि छोरी दिनलाई पनि सरकारी जागिर खाने केटामात्र किन बाबुआमाले खोज्छन ? यसको कारण पक्कैपनि कुकुरको पुच्छर हुनुपर्छ । नेपाली कुकुरको पुच्छर जति सिधा पार्न खोजेपनि सोझो हुन मान्दै मान्दैन रहेछ । के थाहा ? पुच्छरको गल्तिकै आधारमा यो नेपाली जन्तुलाई कसैले कार्यबाहि गर्न सक्ने नियम नेपालमा अहिलेसम्म बनेको नै छैन रहेछ । के थाहा ? त्यसैले, कसैले कार्यबाहि गर्न नसक्ने सुरक्षीत सरकारी जागीर खाने केटालाई छोरी दिएमात्र छोरीको भविष्य सुरक्षीत हुन्छ भन्ने कुरो क्रान्ती आलेका संभावित नेपाली ससुराले पत्ता लगाइदिँदा कसैलाई के को अचम्म ?

‘बाहृ बर्षसम्म ढुंग्रामा हालेपनि कुकुरको पुच्छर बाँगाको बाँगै’ भन्ने निराश र निरस नेपाली उखान १९ औँ शताब्दीका फ्रान्सेली युध्द नायक नेपोलियन बोनापार्टले सुनेको भए आफ्नो अगाडि भेटेजति सबै नेपालीहरुलाई मुखभरि थुकेर मर्ने गरी चड्कन दिन्थे होलान । किनभने, उनको बिचारमा, ‘असंभव’ भन्ने शब्द मुर्खको शब्दकोषमा मात्र हुन्छ । ‘मेरो आर्मीमा गोर्खालीहरु (नेपालीहरु) मात्र भइदिएको भए म अमेरिकालाई राम्ररी मरम्मत गरेर मेरो देशबाट धपाइपठाउँथे’ भन्ने इराकका स्वर्गीय सद्दाम हुसेनले नेपालीहरुले त बाहृ बर्षसम्ममा पनि नाथे एउटा कुकुरको पुच्छरपनि सोझो बनाउन नसक्दा पो रहेछन भन्ने उखान सुनेको भए उनि मुर्छा परेर ढल्थे होलान । सद्दाम हुसेन जस्तालाई यसरी छारे रोग लगाइ दिन सक्ने खुबी भएका हामी नेपाली भाइरसहरुको बिशेषताको बारेमा बेलैमा अनुसन्धान किन नगर्ने ?

कुकुरको पुच्छर सिधापार्ने जस्तो अति कठिन र गौरबशाली एबम् महान अभियानमा बाहृ बर्षसम्म लागिपरेका हाम्रा महान तर अज्ञात स्वर्गीय नेपाली पुर्खालाई श्रध्दा र सलाम गर्नुको सट्टा ‘यो बूढाले काम नपाएर पाढाको …. कन्याएको मात्र हो नि, बिश्वसामु हामी नेपालीको इज्जत फालिदिनलाई’ भनेर प्याच्च सरापी हाल्नु महापाप हो । बरु त्यति धेरै श्रम, त्यति धेरै समय र सम्पति खर्च गरेर पनि उनको महान अभियान के कारणले नेपालको सरकारी कार्यालय र स्कूलहरुमा जस्तै असफल भयो ? यो प्रश्नको उत्तर पत्ता लगाइदिन सक्यौँ भने कुकुरको पुच्छर सोझ्याउने कार्यमा तन, मन र धन खर्चेका निराश स्वर्गीय नेपाली पुर्खाको लागि सच्चा श्रध्दाञ्जली हुनेछ र पितृ आशिर्वादपनि प्राप्त हुनेछ भन्ने मलाई लाग्छ ।

१. सफलताको एकमात्र सुत्र : भयवाद

कुकुरको बांगिएको पुच्छर कसैले जबर्जस्ति सोझ्याउनलाई काम नपाएर बेकारमा बाहृ बाहृ बर्षसम्म बाँसको ढुंग्रो झुन्ड्याई हिँड्छ भने त्यस्तो मान्छे हामी सबैको बुहारी हो, किनकि उसले पाढाको …. कन्याएको मात्र ठहरिन्छ । डर भयो भने कुकुर आँफैले अवश्य सजिलै सोझ्याउँछ भन्ने कुरो बाहृ बर्ष सम्ममा पनि थाहा नपाउनु ढुंग्रे बुहारीको समस्या होइन र ? कुकुरको पुच्छर बिना कारण बाँगिदैन र ढुंग्राले सोझिँदैन । भनाइको मतलब, भोकको भयपनि छैन, कसैले कुट्छ कि भन्ने भयपनि छैन भने कुकुरले आफ्नो प्यारो पुच्छर किन बाँगाको बाँगै राख्दैन ? त्यसैले कुकुरको पुच्छर सोझ्याउने एकमात्र मन्त्र भनेको भयवादको सिध्दान्त अपनाउनु हो ।

कसैलाई केहि कुराको वा कसैको भय छ भने उ बेसरी परिश्रम गर्छ र यहि भयकै कारणले सफलता हात लगाउँछ भन्ने कुरामा म चाहिँ शंका गर्दिन । देश सुब्बाको भयवादी दर्शनमा आधारित कृति पढ्ने मौका त मलाई मिलेको छैन, तर सारांशमा भन्दा, उनको भयवादी दर्शन अनुसार, ‘जीवनका सबै रसहरु भयमा सापेक्षित छन ––– भयबाट कोहिपनि अछुतो रहेका हुँदैनन’ र जीवनका प्रत्येक गतिविधीमा एउटा न एउटा भय हुन्छ । उदाहरणको लागि, घाँस काट्न गयो सर्पले डस्छ कि भन्ने गर, डुल्न गयो बाटामा लडिन्छ कि भन्ने डर, गाडीमा गुड्यो दुर्घटना हुन्छ कि भन्ने डर, हवाइजहाजमा उड्यो खसिन्छ कि भन्ने डर, बात मार्न बस्यो कुरा बिग्रिन्छ कि भन्ने डर, काम नगरी बस्यो भोकभोकै मरिन्छ कि भन्ने डर, नपढि बस्यो फेल भइन्छ कि भन्ने डर आदि इत्यादि ।

भयवादी दार्शनिक देश सुब्बाले भयवादको फाइदा र बेफाइदाको बारेमा के भनेका छन मलाई थाहा छैन । तर मेरो बिचारमा भयवादको एउटा फाइदा भनेको जीवनको हरेक पाइलामा सफलता प्राप्त गर्नु हो । मेरो बिचारमा कुकुरको पुच्छर सिधा पार्ने काम मात्र होइन, यो संसारमा जुनसुकै काम सफल पार्ने कारक तत्व भनेको भयवादको सिध्दान्त नै हो । कुनैपनि कुरामा सफलता प्राप्त गर्नु छ भने भय हुनु आवश्यक छ । जसलाई कुनै पनि कुराको भय छैन उसले कुनै पनि कुरामा सफलता हासिल गर्न सक्दैन । उदाहरणको लागि, घाँस काट्न जाँदा सर्पको भय भए होशियार गरिन्छ र सर्प डंसबाट बच्न सफल भइन्छ । बाटामा हिँड्दा लडिन्छ कि भन्ने डर भए होशियार गरिन्छ र लड्नबाट बचिन्छ । नपढ्दा फेल भइन्छ र लक्ष्य प्राप्त हुँदैन कि भन्ने डर भए बेसरी पढिन्छ र पास भइन्छ । यस्तै यस्तै । देश सुब्बाका अनुसार, ‘जीवनका प्रत्येक गतिविधि साँझदेखि बिहानसम्म भयबाट निर्देशीत हुन्छन । भयको कारणले (नै) चेतनशील प्राणीहरु चलायमान हुन्छन ।’ मेरो पेट भोको हुन्छ भन्ने डर नभएको भए कोहिपनि मान्छे काम गर्न जाँगरिलो बन्ने थिएन र ऊ सुतिबस्थ्यो र मथ्र्यो । ? जाँगरिलो भएर चलायमान हुनु त भयवादको फाइदा होइन र ? जसले आफ्नो कुनै खतरा प्रति, लक्ष्यप्रति वा आवश्यकता प्रति भय राख्छ र असफल भइन्छ कि भन्ने डरले सचेत रहन्छ र परिश्रम गर्छ, त्यो ब्यक्ति भयवादी हो । यो संसारमा भयवादी ब्यक्तिहरु मात्र हरेक क्षेत्रमा सफल भएको प्रशस्त प्रमाणहरु छन । जसलाई कुनै कुराको डर छैन र ढुक्क बस्छ, त्यो खाओबादी हो । कुनैपनि खाओवादीहरु यो संसारमा कहिँपनि कुनै कुरामा सफल भएको पाइँदैन ।

भयले काम सफल हुँदैन भन्ने कसैको सोचाइ छ भने म प्रश्न गर्छु, ‘गोठमा गाई भोकले कराउँदैछ । गाई मर्छ र घाटा पर्छ कि भन्ने भय तपाइँलाई छ । तपाइँ घाँस काट्न चाहनुहुन्छ, तर त्यहि समयमा खाना पनि पकाउनु छ । तपाइँको छोरो भने खेलिरहेको छ । उ खाओबादी वा निर्भयबादी छ । गाई मरोस् कि बाँचोस ऊसलाई केहि मतलब छैन । घाँस काट्न लगाउँदा ‘काट्दिन’ भन्छ । त्यसो भए ‘म घाँस काट्छु तँ भात पका’ भन्दापनि मान्दैन । ‘गाइ मर्यो भने दूध खान पाइँदैन’ भनेर तर्साउँदा पनि ‘घाँस नकाट्ने बरु दूध नै नखाने’ भन्छ । ‘पैसा दिन्छु’ भनेर पुरस्कारको ब्यव्स्था गर्दापनि ‘घाँस काट्दिन’ भन्छ । यसरी बिभिन्न प्रकारको साना साना खालका डरहरु देखाउँदापनि ‘म घाँस काट्दै काट्दिन’ भन्छ भने गाईलाई घाँस कटाउने महान कार्य सफल पार्न तपाई अर्को कुन उपाय प्रयोग गर्नुहुन्छ ?’ अवश्यपनि अलि उच्च स्तरको भयको प्रयोग । त्यो भय भनेको अवश्यपनि एक झप्पु लगाइदिने हो । नटेरेको खण्डमा फेरिपनि अर्को झप्पु पाइने भयले एक भारी घाँस एकै छिनमा काट्छ तपाइँको छोराले । छोराछोरी होस् वा बिध्यार्थी, पुल्पुल्याउनु वा छाडा छोड्नु भनेको उनिहरुलाई बिगार्नु हो । त्यसैले उनिहरुलाई दण्ड दिने पनि गर्नुपर्छ भन्ने भनाइले के बताउँछ भने सफलताको भयबादी सुत्र आजभन्दा करिब बाइस शय बर्ष अघि नै भारतका एक जना राजा चन्द्र गुप्त मौर्यका बिद्वान मन्त्रि कौटिल्यले पत्ता लगाइसकेका रहेछन । हामीले आजसम्म पनि यो सुत्र पत्ता लगाउन नसक्नु वा नपत्याउनुलाई हाम्रो बनारसी बुद्धिमता भन्ने कि के भन्ने ?

सरकारी स्कूलहरुमा भयवादको सिध्दान्तले पढाइ राम्रो गराउँछ भन्ने कुरो कसैलाई पत्यार लाग्दैन भने म प्रश्न गर्छु, जि.शि.अ. स्कूल निरीक्षण गर्न आउँदैछ भन्ने सूचना पाउने बितिकै किन अरु बेला लापर्बाही गर्ने, अनियमित हुने, कक्षामा गइहालेपनि सुतेर बस्ने अल्छि शिक्षक पनि अत्यन्तै जाँगरिलो र ज्ञानी भएर पढाउन थाल्छ ? यो भयवादको सिध्दान्त लागु भएको हो कि होइन ? तर जि.शि.अ. अबदेखि आउँदैन भन्ने थाहा पाउने बितिकै कुकुरको पुच्छर किन बाँगाको बाँगै हुन्छ ? भयवादको अभाव होइन र ? पुल्पुल्याउने शिक्षकलाई किन बिध्यार्थीहरुले हेप्छन र पढाइमा ध्यान दिँदैनन, तर केहि तर्साउने र पढाएपछि प्रश्न सोध्ने शिक्षकको कक्षामा किन सतर्क भएर ध्यान दिएर पढ्छन ? तलब नबढाउने सरकारलाई शिक्षकहरुले आन्दोलन गरेपछि मात्र तलब किन बढाइदिन्छ ? राम्रो मुखले भन्दा नपढाउने शिक्षक, राम्रो मुखले भन्दा नपढ्ने बिध्यार्थी र राम्रो मुखले भन्दा तलब नबढाउने सरकारलाई भय सिर्जना गर्नु पर्दो रहेछ कि पर्दो रहेन छ सफलता प्राप्त गर्नलाई ? आर्थिक रुपमा असंभव भन्ने गरिएको निशूल्क बिध्यालय शिक्षा माओबादीको डरले सफल भयो कि भएन ?

त्यति धेरै लगानी भएरपनि सरकारी कलेज र स्कूलहरुमा किन रिजल्ट शून्यतिर जाँदैछ ? तर निजी कलेज र स्कूलहरुमा किन रिजल्ट शयतिर बढ्दैछ ? यो लेखमा मैले राख्न खोजेको बिचार के हो भने सरकारी शिक्षण संस्थाहरुमा भयको अभाव छ र त्यहि कारणले नै सरकारी रिजल्ट शून्यतिर जान सफल भएको हो । मेरो बिचारमा भयवादको सिध्दान्त नियमित रुपमा अपनाए सरकारी रिजल्टपनि शयतिर लैजान अवश्य सकिन्छ ।

कसैले मलाई सरकारी स्कूल बिरोधी भनेर आरोप लगाउन सक्ला, तर म आँफैपनि सरकारी स्कूलमा पढेको मान्छे, सुबिधा राम्रो भएको कारण सरकारी स्कूलको शिक्षक भएको मान्छे, आाफ्ना छोराछोरी पनि आँफैले पढाएको सरकारी स्कूलमा पढाउने मान्छे तर पनि मैले स्कूल र कलेज पढ्दा सरकारी शिक्षकहरुको चरम लापर्बाहीको शिकार भएको तथ्य जिन्दगीमा कहिल्यैपनि बिर्सन सक्दिन । बिध्यार्थी फेल होस कि पास होस, मतलब छैन । पढाएको पाठ बुझोस कि नबुझोस मतलब छैन । प्रश्न सोध्ने बिध्यार्थीलाई स्याबासी दिनुको सट्टा झर्किएको छ । कोर्स सकियोस कि न नसकियोस मतलब छैन, तर सेन्ड–अप टेस्ट वा एस.एल.सि. परीक्षामा भने पूरै कोर्सको प्रश्न सोध्ने अनि फेल पार्ने ! यो चरम लापर्बाही हो कि होइन ? यो लापर्बाही जघन्य शैक्षिक अपराध हो कि होइन ? यति साहृो लापर्बाही गरेर हिँड्दा पनि र स्कूलहरुको नतिजा शुन्य आएपनि सरकारबाट नियुक्त भएका पदाधिकारीहरुलाई कुनै चिन्ता हुँदैन भन्ने बिषयमा अनुसन्धान गर्दा मैले केहि जघन्य अपराध गरेजस्तो लाग्दैन ।

१.१. पुरस्कार, अमेरिकन आचरणवाद र भयवाद

‘घर बसी नेपाल देख्ने,’ आफू नयाँ कुरो केहि पत्ता लगाउन नसक्ने, अनि अरुको अबैज्ञानिक सिध्दान्त अन्धाधुन्ध लागु गर्न खप्पिस नेपालका डन शिक्षाविदहरुले अमेरिकन मनोवैज्ञानिक स्किनरको ६०-७० बर्ष पूरानो एवं बिवादास्पद क्लासिकल कन्डिसनिङ भन्ने आचरणबादी सिध्दान्तको प्रयोग नेपालको शिक्षा क्षेत्रमा सिफारिस गरेको कारण नेपालका सरकारी स्कूलहरुको पढाइ चौपट्ट भएको कुरो सजिलै अनुमान गर्न सकिन्छ । स्किनरको सिध्दान्त अनुसार, पुरस्कारको कारणले नै कुनै जन्तुले प्रयोगकर्ताले चाहेजस्तो प्रतिक्रिया जनाउँछ र यहि प्रतिकृयाकै कारण त्यो जन्तुको ब्यब्हार वा आचरणलाई नियन्त्रण गर्न सकिन्छ र अपेक्षीत परिणाम निकाल्न सफल भइन्छ । यसको मतलब, शिक्षकलाई तलब र अन्य सुबिधा बढाइदिँदा राम्ररी पढाइदिन्छ कि भन्नु , बिध्यार्थीलाई शुल्क मिनाहा, निशुल्क पुस्तक, पोशाक भत्ता, बिभिन्न छात्रबृति आदि दिँदा राम्रो पढ्छ कि भन्नु भनेको स्किनरको क्लासिकल कन्डिसनिङ सिध्दान्तको प्रयोग नै हो । फोगटिया पुरस्कार वा सुबिधाको कुनै अर्थ हुँदैन । डर नै नभएपछि शिक्षकले किन राम्ररी पढाउने ? डर नै नभएपछि बिध्यार्थीले किन राम्ररी पढ्ने ? लापर्बाही गर्दै राम्ररी नपढाएपनि तलब भत्तो गुम्ने वा घट्ने डर नभएपछि, फेल गरेपनि बिध्यार्थीले पाउने सुबिधा गुम्ने डर नभएपछि कसले राम्ररी पढाउँछ ? कसले राम्ररी पढ्छ ? यसरी, शिक्षण सिकाइमा अमेरिकन आचरणवादी सिध्दान्तको असफलताको मुख्य कारण नै भयवादको फाइदा नबुझ्नु हो ।

पुरस्कार गुमाउने डर कसैलाई छ भनेमात्र पुरस्कारले सफलता प्राप्त गर्छ । नत्र पुरस्कार भनेको लाटाको धोती बाहेक केहि होइन । उदाहरणको लागि, कुनै स्किनर बक्समा एउटा मुसो राखौँ र घन्टि बजाऔँ र घण्टी बज्दा मुसाले मिठो खाने कुरो पाउँछ भने मुसाले अवश्य प्रतिक्रिया जनाउँछ र घन्टि बज्ने बितिकै उपस्थित हुन्छ । खाने कुराप्रतिको प्रतिक्रयाकै कारण मुसालाई मान्छेले आफ्नो इच्छा अनुसार कार्य गराउन सफल हुन्छ भन्ने बिश्वास नै अमेरिकन आचरणवाद (behaviourism)को सिध्दान्त हो । किन मुसाले पुरस्कार (खाने कुरो) प्रति प्रतिक्रिया जनाउँछ ? किनकि उसलाई भोक लागेको हुन्छ र भोकको डरले प्रतिक्रिया जनाउँछ । तर मुसो अघाएको होस त, प्रतिक्रिया जनाउँछ ? उसलाई भोकको डर नै छैन । यसको मतलब, मुसो अघाएको स्थितिमा स्किनरको सिध्दान्त फेल खान्छ । यति सानो कुरो पनि पत्ता लगाउन नसक्ने शिक्षाविदहरुलाई के भन्ने ? पुरस्कार (स्किनरको शब्दमा ‘रि–इन्फोर्समेन्ट’) को लोभ भनेको डर नै हो । तर पुरस्कारको डर नै नभएपछि के को प्रयास ? प्रयास नै नभएपछि केको सफलता ? यो तथ्य बैज्ञानिकहरुलाई मात्र होइन लाटाहरुलाई पनि थाहा भएको कुरो हो ।

शिक्षकको तलब बढाउनु, पोशाक भत्तो दिनु, अरु बिभिन्न सुबिधा दिनु भनेको राम्ररी पढाओस भनेर दिइएको पुरस्कार हो । तर एकपटक यस्तो सुबिधा सरकारले दिएपछि राम्ररी नपढाएपनि, लापर्बाही गर्दै हिँडेपनि यि सुबिधाहरु कटौति हुन्छ भन्ने डर नै नभएपछि किन राम्ररी पढाउने ? ज्यान दिएर, ध्यान दिएर पढाउने शिक्षक र लापर्बाही गरेर हिँड्ने शिक्षकको सुबिधा बराबर भएपछि किन ज्यान दिएर, ध्यान दिएर पढाउने अरुले ? आफूले पाउने बिदाको सुबिधापनि वास्ता नगरी बिध्यार्थीको पढाइ बिग्रन्छ कि भनेर बेसरी पढाउने शिक्षकको बिदा बचेपनि ‘उसले बिदाको प्रबाह नगरी पढाएछ’ भनेर पुरस्कृत गर्नुको सट्टा शैक्षिक सत्रपछि फोगटिया फ्रिज गराइदिएपछि वा ‘गन्ति न मन्ति … को जन्ति’ बनाइदिने नियम ल्याएपछि कुन सरकारी शिक्षकले खटेर पढाउँछ ? राम्ररी चलेका निजी स्कूलहरुमा स्कूल समयभन्दा बढि काम गर्दा ओभर टाइम पैसा दिइन्छ । यो पुरस्कार नै हो । त्यसैले, निजी शिक्षकहरु बेसरी खटेर काम गर्छन । तर सरकारी स्कूलहरुमा ओभरटाइम काम गर्ने शिक्षकहरुलाई कुनै सुबिधा नदिने बुद्धि हुनु सक्रिय शिक्षकहरुलाई निरुत्साहित पार्ने बुद्धि होइन र ? तर रिजल्टचाहिँ राम्रो खोज्दै हिँड्ने कस्तो सरकारी बुद्धि हो ?

बिध्यार्थीहरुलाई बर्षको करीब दश हजार जतिको सुबिधा दिनु भनेको पनि राम्ररी पढोस भनेर दिइएको पुरस्कार हो । तर राम्ररी नपढिदिएपनि त्यो सुबिधाबाट बञ्चित बिध्यार्थीहरु हुँदैनन भने कसले किन राम्ररी पढ्छ ? राम्रो पढ्ने र नपढ्ने दुवैलाई बराबरी सुबिधा भएपछि पुरस्कार वा सुबिधाको अर्थ के भयो ?

१.२. गणित, अंग्रेजी, बिज्ञान, सामाजिक र भयवाद

धेरै बिध्यार्थीहरुले गणित, अंग्रेजी, बिज्ञान र सामाजिक बिषय फेल गरेको देखिन्छ । अब प्रश्न उठ्छ, के यि बिषयहरु पनि भयवादको सुत्र प्रयोग गर्दा जानिन्छ त ? डार्विनको प्राकृतिक छनोटको सिध्दान्त मान्ने हो भने बिशिष्ट गुण बोकेका बिध्यार्थीहरुले मात्र यि बिषयहरुमा ज्ञान हासिल गर्न सक्छन भन्न सकिन्छ । तर गणितमा कमजोर भनिएका, मन्द बुद्वि भएका र जीवनमा केहि गर्न नसक्ने बिध्यार्थी भनेर शिक्षकहरुबाट बारम्बार खप्कि खाएको भनिएका जर्मनीका अल्बर्ट आइन्स्टाइन पछि गएर गणितमा अवल दर्जाका ब्यक्तिमात्र भएनन आधुनिक विज्ञानका पिता समेत बन्न सफल भए । स्कूल पढ्दा ज्यामिति मलाई पटक्कै आउँदैनथ्यो । ज्यामिति भन्ने बिषय पनि गणित हो र जस्तो लाग्थ्यो मलाई । बिज्ञान शिक्षक भएको नाताले र बाँच्नको लागि संघर्ष गर्दा मैले काठमाण्डौको एउटा बोर्डिङ स्कूलमा गणित पढाउँदा ज्यामिति नपढाइ नहुने भयो । गणित शिक्षणमा असफल भइने भयले मैले ज्यामितिको बारेमा धेरै परिश्रम गरेँ र पत्ता लगाएँ― ज्यामिति त अंक गणित, बीज गणित वा त्रिकोण मिति आदि भन्दा धेरै गुणा सजिलो हिसाब पो रहेछ ।

गणित बिषयमा कुनै जिज्ञासा नराख्ने, केहि प्रश्नपनि नगर्ने र गणित जहिले पनि फेल गर्ने बिध्यार्थीलाई एउटा केटी मन परेको छ र त्यो केटी प्राप्त गर्ने लक्ष्य लिएको छ भने त्यो केटीको बारेमा अरुलाई सत्रपटक सोधेर भएपनि वा आँफैले भएपनि दिन रात त्यो केटी कस्ती स्वभावकि छे, के मन पराउँछे, कसो गरेर उसको हरेक पक्षको ज्ञान प्राप्त गर्न सक्छु जस्ता जिज्ञासा लिन्छ र त्यहि जिज्ञासा र प्रयासले उसलाई सफलता तिर डोर्याउँछ । यो सफलता मनपर्ने केटी गुम्ने डरकै कारणले हो भन्दा अत्युक्ति नहोला । अर्को कुरो, जोड, घटाऊ, गुणन, भाग र ऐकिक नियम बाहेक अरु गणितको दैनिक जीवनमा त्यति प्रयोग नहुने भएकाले बिध्यार्थीहरुलाई गणितको भय नै हुँदैन । यहि भयको अभावले बिध्यार्थीहरुलाई गणितीय असफलता तिर डोर्याउँछ ।

अंग्रेजी भनेको भाषा हो । यो संसारमा जुनसुकै ब्यक्ति जन्मी सकेपछि भाषा सिक्न सफल हुन्छ भन्ने कुरो लाटालाई पनि थाहा छ । पढ्नमा जतिसुकै लम्फू भएपनि हरेक ब्यक्तिले प्रतिभाशाली बिध्यार्थीले जतिकै छिटो भाषा सिकेको र बोल्न जानेको हामी देख्छौँ । पढ्नमा कमजोर मानिएका केटाकेटीहरुले जन्मेको एक बर्ष नपुग्दै राम्ररी बोल्न थालेको , तर पढ्नमा राम्रो मानिएका बच्चाहरुले जन्मेको तिन बर्षदेखि मात्र भाषा बोल्न थालेको उदाहरणहरु पनि हामीले नदेखेको होइन । कारण के होला ? आवश्यकता वा अस्तित्वको डर । ‘भात देऊ’ भन्न जानेन भने बच्चाले भात पाउँदैन र भोकको डरले भाषा अवश्य सिक्छ । ठिकै छ, अंग्रेजी अर्काको भाषा परेछ । तर नीजी बोर्डिङ स्कूलमा पढ्ने बिध्यार्थीहरु किन अंग्रेजी बिषयमा फेल हुँदैनन ? त्यसो भए, सरकारी स्कूलका बिध्यार्थीहरु किन अंग्रेजीमा कमजोर भएका होलान ? पहिलो कुरो, दिनमा एक पिरियड अंग्रेजी पढ्नुपर्ने त्यो पनि ब्याकरण अनुवाद बिधिबाट । अंग्रेजी प्रयोग गर्नुपर्ने वातावरण नै हुँदैन र बोल्नैपर्ने बाध्यता वा आवश्यकता पनि छैन । बेलायतमा वा अमेरिकामा लगेर राख्यो भने जतिसुकै कमजोर बच्चोपनि अंग्रेज बच्चाहरु जतिकै फरर अंग्रेजी किन बोल्छ ? किनकि अंग्रेजी बातावरण र अंग्रेजी आवश्यकताको डर हुन्छ ।

बिज्ञान पनि त्यस्तै बिषय हो । दैनिक जीवनमा प्रयोग नगर्दापनि हुने । तर आवश्यकता परेको खण्डमा जसले पनि बिज्ञान सिक्न सक्छ । उदाहरणको लागि, कसैले थोरै सुनले फलामको टुक्रामा लेपन गरेर सुनको गहना बनाएर लगाउन चाहन्छ वा बेचेर कसैलाई ठग्न चाहन्छ भने बिध्युत लेपनको बारेमा जसरी पनि सिक्छ । सामाजिकले किन टेन्सन गराउँछ बिध्यार्थीहरुलाई ? जुम्ला जिल्लाको हालसालैको सामाजिक समस्याको रिपोर्टको बिषय कोट्याइहालौँ । किन यति धेरै बिध्यार्थी फेल हुन्छन यो बिषयमा ? गणित, अंग्रेजी र बिज्ञानमा भन्दा धेरै ! पुस्तकमा एउटा कुरो लेखेको छ, ‘करेन्ट अफेयर्स’ को नाममा जथाभावी प्रश्न सोधेपछि किन बिध्यार्थी फेल हुँदैनन ? त्यहि प्रश्न तयार गर्ने ब्यक्तिले पनि एस. एल.सी. फेल गर्छ यसरी जहाँसुकै बाट र जेसुकै प्रश्न सोधिहिँड्ने हो भने, किनकि जतिसुकै जान्ने ब्यक्तिले र भगवानले पनि संसारको हरेक कुरा जान्न सक्दैन भन्ने कुरो लाटालाटीलाई पनि थाहा छ । पाठ्यपुस्तकमा लेखिएको एउटा कुरो पढ्न लगाउने, अनि जथाभावी प्रश्न सोध्दै हिँड्ने ? ठिकै छ, बाहिरी ज्ञानको लागि सुबिधा सम्पन्न (जस्तै :– बिभिन्न बिषयका पुस्तकहरुले भरिएको, बिभिन्न पत्रपत्रिकाहरुले भरिएको भब्य पुस्तकालय, इन्टरनेटको सुबिधा भएका) बिध्यालयहरुमा परिश्रम गर्नेले गर्न सक्छन । तर समयमै पाठ्य पुस्तक त उपलब्ध नहुने दुर्गम क्षेत्र र कुनै अन्य सुबिधा नभएका हुम्ला जुम्ला जस्ता दुर्गम र गाउँका बिध्यार्थीहरुले जहाँसुकै बाट सोधेको प्रश्नको उत्तर कसरी दिन सक्छन र पास गर्छन ?

शिक्षक र बिध्यार्थीको सुबिधा बढाउन जान्ने, तर सुबिधा दिए अनुसार, पढायो कि पढाएन, पढ्यो कि पढेन भनेर बुझ्न नजान्ने सरकारले के को राम्रो रिजल्ट खोजेर रुँदै हिँड्नु ?

२. भयवादको सिध्दान्त असफल हुने स्थितिहरु

निम्न स्थितिहरुमा सफलताको भयवादी दर्शन असफल हुन्छ ।

२.१. प्राकृतिक रुपमा असंभव कुराहरुमा

प्राकृतिक रुपमा नै असंभव कुरो त भयवादले पनि सफल पार्न सक्दैन, जस्तै :- स्यालको सिङ उमार्ने काम कुनैपनि भगवनानले सफल पार्न सक्दैन (नेपाली भगवानको त कुरै छोडौँ) । टाउकाले टेकेर हिँड्नु, नाकले खाना खानु आदि कुराहरु प्राकृतिक रुपमा असंभव कुराहरु हुन । स्मरण शक्ति कमजोर भएमा बुझेको कुरोपनि बिर्सन सकिन्छ । यस्तो अवस्थामा भयवादले काम गर्दैन । कुकुरले चाहेको खण्डमा उसको प्यारो पुच्छर कहिलेकाहिँ सिधा पार्न सक्छ भने प्राकृतिक रुपमा संभव यस्तो कुरो भयवादको सिध्दान्तले सजिलै सफल पारिदिन सक्छ, तर प्राकृतिक रुपमा नै कुकुरको पुच्छर सिधा हुन सक्दैन भने कुकुरको पुच्छर सिधा पार्ने काम पाढाको … कन्याउनु जस्तै नै हो । यस्ता कामहरुमा श्रम, शक्ति र संपति खर्च गर्नु भनेको बालुवामा पानी खन्याउनु हो । त्यस्तै, सरकारी स्कूलहरुको रिजल्ट माथि जान नसक्नुपनि प्राकृतिकरुपमा असंभव र भयवादको सिध्दान्तले समाधान गर्न नसक्ने समस्या हो ? एकदमै होइन । यसको प्रत्यक्ष प्रमाण भयवादको सिध्दान्त लागु गरिएको निजी स्कूलको शत प्रतिशत रिजल्टले सजिलै बताउँछ ।

२.२. मानव सिर्जीत कृतिम असंभव कुराहरुमा

बोटबिरुवा र पशुले कहिल्यै भूल गर्दैनन । प्रशिध्द अंग्रेजी साहित्यकार अलेक्जान्डर पोप (१६८८–१७४४) का अनुसार, मान्छेले मात्र भूल गर्छ, अर्थात भूल गर्ने जन्तुमात्र मानव हुन्छ । मानवको भूल गर्ने कमजोरीका कारण नै प्राकृतिक रुपमा संभव कतिपय कुराहरुलाई मानवहरुले जानी वा नजानी असंभव बनाइदिएका स्थितिहरुमा लक्ष्य प्राप्त गर्न भयवादको सिध्दान्त असफल हुन्छ । उदाहरणको लागि, छोराछोरी होस् वा कसैलाई अनावश्यक पुल्पुल्याउनु भनेको उसलाई डरबाट मुक्त गर्नु हो । भय नभएपछि कुनैपनि चेतनशील प्राणी चलायमान हुँदैन जसरी मृत शरीलाई कसैको डर हुँदैन र कुहिएर जान्छ ।

भयवादको सिध्दान्त नेपालका सरकारी संस्थाहरुमा लागु गर्न सकिँदैन किनकि त्यहाँ कुनै भय छैन । उदाहरणको लागि, सरकारी स्कूलहरुमा स्थायी भइसकेपछि पढाइमा लापर्बाही गरेपनि फायर गर्न कसैले नसक्ने कानुन बनाइएकाले शिक्षकलाई कुनै डर छैन । अनि कुन शिक्षकले राम्ररी पढाउँछ ? एक प्याट्ट लाएरपनि तर्साउन नपाउने बालमैत्री नियम लागु गरेपछि सरकारी स्कूलमा पढ्ने बिध्यार्थीलाई पनि डर छैन । अनि कुन बिध्यार्थीले ध्यान दिएर पढ्छ ? बढि पुल्पुल्याएपछि पुल्पुल्याएकै ब्यक्तिहरुबाट कुनै दिन आफैलाई उल्टै डर वा भयको स्थिति उत्पन्न हुन्छ । यो दुर्भाग्य हो र निभर्यवादको चरम परिणाम हो । नेपालका सरकारी शिक्षण संस्थाहरुबाट अहिले यहि खतरा सरकारलाई आइलागेको छ । पढाउनमा लापर्बाही गर्दै हिँडेर रिजल्ट नराम्रो आएपनि आन्दोलन गर्दै, अनसन बस्दै,  बर्षेनी तलब बढाइमाग्दै खाएको कुराबाट यो भनाइको सत्यता पुष्टि हुन्छ । निजी संस्थाहरुमा कार्यरतहरु किन आमरण अनसन बसेको पाइँदैन ? कारण सिम्पल छ । राम्रो काम गर्नेहरुलाई राम्रो सुबिधा दिएकै छ र खुशी पनि छन । नराम्रो काम गर्नेले अनसन बस्छ भने फायर गरिदिने हो । नराम्रो काम गर्ने कसिंगर मान्छेले बेकारमा सुबिधामात्र धेरे खोजीहिँड्छ र अनसन बस्छ र मर्छ भने के मतलब ? कुच्चाले बढार्नुपर्ने कसिंगर आँफै उडिहिँड्छ भने उड्न दिनुपर्छ । यस्ता ठगाहा मान्छेले बैतर्नी नदी त अवश्य तर्न सक्दैन, तर उसलाई मर्न दिनुमा नै अरुलाई धेरै पुण्य मिल्छ किनकि सुबिधा बढाइदिएर बचाउन खोज्यो भने आँफैलाई पापको भारी आइलाग्छ । तन मन लगाएर पढाउन खोज्ने सरकारी शिक्षकहरुलाई पनि केहि पुल्पुलिएका सरकारी बिध्यार्थीहरुबाट यस्तै खतरा आइलागेको छ ― शिक्षकको टाउकामा टेक्न खोज्ने, शिक्षकको लागि पढिदिएको जस्तो ब्यब्हार गर्ने र फेल गरिदिने आदि इत्यादि ।

२.३. श्रोत साधनको अभावमा

श्रोत साधनहरुको अभावमा जति भय भएपनि आफ्नो लक्ष्य प्राप्तीमा असफल भइन्छ ।

२.४. अवसरको अभावमा

  जति प्रतिभाशाली र भयवादी भएपनि कतिपय ब्यक्तिहरु अवसरको अभावमा आफ्नो लक्ष प्राप्तीमा असफल हुन्छन । बेलैमा पुस्तक उपलब्ध नभएर, वा पढाउने नभएर वा गरीबीको कारणले यस्ता दुखद घटनाहरु घट्छन ।

३. भयका श्रोतहरु

मुख्य गरेर निम्न लिखित अवस्थाहरुमा कुनैपनि ब्यक्तिमा भय उत्पन्न हुन्छ ।

३.१. लोभवाद, धोकोवाद वा लक्ष्यवाद

कसैलाई केहि कुराको लोभ भयो भने उसलाई त्यो लोभ गरेको कुरो गुम्छ कि भन्ने भय उत्पन्न हुन्छ । पुरस्कारको आशा पनि लोभ नै हो । कुनै काम गर्ने धोको लिनु वा लक्ष्य लिनु पनि लोभ नै हो र यो लोभले ब्यक्तिमा भय उत्पन्न हुन्छ ।

३.२. भोकोबाद-अस्तित्वबाद-आवश्यकतावाद

भोक लाग्नु प्राकृतिक प्रक्रिया हो । त्यसैले, अस्तित्वको लागि वा बाँच्नको लागि केहि कुरो खोजेर वा कमाइ गरेर खानै पर्ने आवश्यकता हुन्छ, नत्र मरिन्छ । यसरी, अस्तित्व समाप्त हुने कारणले मान्छेमा डर उत्पन्न हुन्छ ।

३.३. बाह्य श्रोत

कसैले कसैको भलाईको लागि गाली गरेर वा पिटेर भय उत्पन्न गराउन सक्छ । उदाहरणको लागि, छोराछोरी नबिग्रिउन भनेर आफ्नो अभिभावकले यो प्रकारले भय उत्पन्न गराउन सक्छन । कसैले आफ्नो स्वार्थपुर्तिको लागि अरु ब्यक्तिहरुमा भय उत्पन्न गराउन सक्छ, जस्तैः– आफूसंग बिहे नगरे मारिदिने धम्की दिनु पनि पिढितको लागि भयको बाह्य श्रोत हो ।

४. भयका प्रकारहरु

असर, प्रकृति र प्रेरणाको आधारमा भयलाई निम्न लिखीत प्रकारहरुमा वर्गिकरण गर्न सकिन्छ ।

४.१. असरका आधारमा

असरको आधारमा भयलाई निम्न दुइ प्रकारमा बिभाजन गर्न सकिन्छ ।

४.१.१. सकारात्मक भयवाद

भयका कारणले भय पिडितलाई फाइदा हुन्छ भने त्यो सकारात्मक भयवाद हो । उदाहरणको लागि, केहि कुराप्रति भय राख्नु र त्यसप्रति होशियार गर्नु, फेल भइन्छ कि भन्ने डरले बेसरी पढ्नु सकारात्मक भय हो । कसैलाई सम्झाउँदा, गाली गर्दा वा पिट्दा उसको पढाइ राम्रो हुन्छ भने त्यो पनि सकारात्मक खालको भय हो ।

४.१.२. नकारात्मक भयवाद-आतंकवाद

कसैले आफ्नो स्वार्थ पूरा गर्नको लागि अरुमा डर उत्पन्न गराउँछ र भयबाट पिढित ब्यक्तिलाई भयका कारणले केहि फाइदा हुँदैन भने त्यो आतंकवाद हो । यस्तो खालको भयले पिढकलाई मात्र फाइदा हुन्छ । सकारात्मक भय पनि अत्याधिक भयो भने आतंकमा परिणत हुन्छ । तर यस्तो खालको भयले पिढकलाई फाइदा हुनुको सट्टा घाटा हुन्छ किनकि अत्याधिक भयका कारण पिढित ब्यक्ति आतंकित हुन्छ र पिढकको लक्षित कार्य गर्नबाट ऊ निरुत्साहित हुन्छ । फलस्वरुप, पिढकको उद्देश्य असफल हुन्छ । उदाहरणको लागि, एउटा अल्छि बिध्यार्थीले राम्रो पढोस भनेर अत्याधिक त्राश देखाउँदा त्यो बिध्यार्थीको पढाइ झन बिग्रन्छ भने पिढकको उद्देश्य असफल भएको मानिन्छ ।

४.२. प्रकृतिको आधारमा

प्रकृतिको आधारमा भयलाई निम्न दुइ प्रकारमा बर्गिकरण गर्न सकिन्छ ।

४.२.१. मानसिक भय

फेल भइन्छ कि भनेर डराउनु, कसैलाई केहि कुरा गर्न लगाउन राम्रो मुखले सम्झाउनु, गाली गर्नु, मारिदिने धम्कि दिनु, मुद्दा हाल्नु, नैतिक रुपमा गिराएर, लाज सरम उत्पन्न गराएर वा मौखिक तरीकाले डर देखाउनु मानसिक भयका बिभिन्न रुपहरु हुन ।

४.२.२. भौतिक भय

कसैलाई भौतिक रुपमा आक्रमण गर्नु भौतिक भय हो । कुट्ने, पिट्ने जस्ता कार्यहरु भौतिक भयका उदाहरणहरु हुन ।

४.३. प्रेरणाको आधारमा

प्रेरणाको आधारमा भयलाई दुइ प्रकारमा बाँड्न सकिन्छ ।

४.३.१. स्व–भय  आफैँबाट प्रेरित भयलाई स्व–भय भन्न सकिन्छ, जस्तैः– म फेल हुन्छु कि, मेरो धोको वा लक्ष्य पूरा नहुने पो कि, अभिभावक, शिक्षक वा अरुले गाली पो गर्छन कि, कुट्छन कि भनेर आफैँ डराउनु स्व–भय हो । तर स्व–भय पनि अत्याधिक भयोभने आतंकवाद वा स्किट्स्फ्रिनिया भन्ने रोगमा परिणत हुनसक्छ । तर स्व–भय पाल्ने ब्यक्तिहरु नै यो बिश्वमा सबैभन्दा सफल ब्यक्ति भएका छन ।

४.३.२. पर–भय

अरुबाट प्रेरित भयलाई पर–भय भनिन्छ, जस्तै ः– छोराछोरीहरुलाई अभिभावकले र बिध्यार्थीहरुलाई शिक्षकहरुले तर्साउनु सकारात्मक खालको पर–भय हो । ब्यक्तिगत स्वार्थको लागि अरुले तर्साउँछन भने यस्तो नकारात्मक भयपनि पर–भय हो ।

५. भयका स्तरहरु

भयका स्तरहरु मुख्य गरेर तिन प्रकारका हुन्छन ।

५.१. निम्न स्तरको भय

कसैलाई राम्रो मुखले सम्झाउनु, उसको लक्ष्य वा कर्तब्य प्रति सजग वा सचेत गराउनु निम्न स्तरको भय हो ।

५.२. मध्यम स्तरको भय

कसैलाई गाली गर्नु, नैतिक रुपमा गिराएर, लाज सरम उत्पन्न गराएर डर देखाउँदा उत्पन्न हुने भय मध्यम स्तरको भय हो ।

५.३. उच्च स्तरको भय

कसैलाई भौतिक आक्रमण गर्नु वा मुद्दा हालेर कार्यबाहि गर्नु उच्च स्तरको भय हो ।

६. निर्भयवादी सरकारी स्कूलहरुको पुच्छर किन संधै बांगो ?

जसलाई स्व–भय छैन र अल्छि गर्छ त्यस्तालाई जाँगरिलो बनाउन पर–भय आवश्यक हुन्छ । कोर्स सकिँदैन कि, बिध्यार्थीहरुले पढाएको बुझ्दैनन कि, बिध्यार्थी बिग्रिन्छन कि वा फेल हुन्छन क्रि, राम्ररी पढाएन भने जागिर पो उड्ने हो कि भनेर डर नहुने शिक्षकहरुलाई राम्रो पढाइ गर्न लगाउनको लागि पर–भयको ओखति दिनुभन्दा अरु कुन उत्तम उपाय छ ?

सबैलाई त नभनौँ, तर धेरै जसो कलिला बिध्यार्थीहरुलाई आफ्नो भविष्यको बारेमा चिन्ता वा डर नहुनु स्वाभाविक कुरा हो । डर नभएपछि उनिहरु लापर्बाही गर्छन, परिश्रम गर्दैनन । जसको कारण उनिहरुको भविष्य त बिग्रन्छ नै, तर स्कूलको रिजल्ट पनि बिग्रन्छ । यसरी लापर्बाही गर्ने बिध्यार्थीहरुका कारण स्कूलपनि संगै सती जानुपर्ने हुन्छ । त्यसैले, यस्ता बिध्यार्थीहरुलाई डर देखाएर सजग गराउने कुराको जिम्मेवारी शिक्षक र अभिभावकको हुन्छ । यो प्राकृतिक नियम हो । सरकारी स्कूलहरुको रिजल्ट शून्यतिर जानुको मुख्य कारण शिक्षक र बिध्यार्थी दुवैमा भय नहुनु नै मुख्य कारण अवश्य हो । भयबिहिन वा लक्षबिहिन बिध्यार्थीहरुलाई कि त शिक्षकले, कि त अभिभावकले डर देखाएर पढ्नमा परिश्रमी बनाउन सक्छन । तर पढ्ने बिध्यार्थीहरु मात्र भयवादी भएर हुँदैन । भयको कारणले उनिहरुले राम्ररी पढ्न खोज्लान, तर पढाउने शिक्षकहरुले राम्ररी पढाएनन भने बिध्यार्थीहरु बर्बाद हुन्छन । त्यसैले, शिक्षकहरुलाई पनि भय हुन आवश्यक छ । तर शिक्षकहरुलाई कसले डर देखाएर पढाउनमा परिश्रमी बनाउने ? सरकारले र अभिभावकले हो । तर कसरी ? सरकारी स्कूलहरुको लागि यो एउटा ठूलो भालुको कन्पट बनेको छ ।

६.१. निरिक्षण शुन्य, शिक्षक मैत्री शिक्षा र भयवाद

सरकारद्वारा संचालित नेपाल आयल निगमका सरकारी कर्मचारीहरु हात धुने र नुहाउने भत्तो समेतको सुबिधा त लिन्छन, तर हाजिर गरेर अफिसमै नबसेपछि नेपाल आयल निगम अहिले घायल निगममा परिणत भएको तथ्य कसलाई थाहा छैन ? बिध्युत प्राधिकरण अहिले डुब्न लागेको छ , किनकि हाजिर गरेर काम नै नगरी कर्मचारी टाप कसेको कारण भनिएको छ । यस्तो लापर्बाही गर्ने सरकारी कर्मचारीहरुलाई राम्रो काम गराउनको लागि निरिक्षण गर्न आवश्यक छ भन्ने ठानिएकाले हुनुपर्छ अहिले बिध्युत प्राधिकरणले आफ्ना अफिसहरुमा सि.सि.टि.भि. जडान गर्न लागेको हालसालैको समाचार हामीले सुनेकै हो ।

त्यस्तै, सरकारी शिक्षण संस्थाहरुमापनि निरिक्षण गर्नु भनेको पठनपाठन राम्रो गराउनको लागि भय उत्पन्न गर्नु हो । निरिक्षण बिध्यार्थी र शिक्षक दुवैलाई हुनुपर्छ । निजी स्कूलहरुमा हेर्ने हो भने प्रत्येक शिक्षकले पढाइरहेको छ कि छैन, कसरी पढाउँदैछ, लापबार्ही पो गर्दै छ कि भनेर प्रिन्सिपल वा भाइस प्रिन्सिपलहरुले निगरानी गरिरहेका हुन्छन । बिध्यार्थीहरुलाई कुन शिक्षकले कसरी पढाइरहेको छ, नियमित रुपमा पढाइरहेको छ कि छैन भनेर जासुसी पाराले भित्रभित्रै सोधिरहेका हुन्छन । निजी स्कूलहरुमा किन शिक्षकहरुले मेशिन जतिकै खटेर पढाउँछन किनकि लापबार्ही गरेको थाहा हुने बितिकै जागिरबाट फायर हुने डर हुन्छ । जसले राम्रो पढाउँछ, उसको तलब र सुबिधा अवश्य बढाइन्छ । प्रिन्सिपल र भाइस प्रिन्सिपलहरु किन त्यति धेरै खटेर शिक्षकहरु र बिध्यार्थीहरुलाई निरिक्षण गर्छन ? कारण सिम्पल छ । उनिहरुलाई पनि स्कूलका संस्थापकहरुले निरिक्षण गरिरहेका हुन्छन । लापर्बाही गरेको थाहा भयो कि जागिरबाट फायर हुने डर हुन्छ । संस्थापकहरुले किन स्कूललाई निरिक्षण गरिरहन्छन ? त्यसको कारण पनि सिम्पल छ । स्कूलको पठनपाठन बिग्रयो भने लगानी डुब्छ भन्ने डर ।

तर जिल्ला शिक्षा कार्यालयहरुमा त्यति धेरै सुबिधा दिएर बिध्यालय निरिक्षक (बि.नि.) हरु राखेको पाइन्छ, तर यि  बिध्यालय निरिक्षकहरुले कुनै दिन कुनै स्कूलहरु निरिक्षण गरिहिँडेको कसैले देखेको छ ? कुनै बिध्यार्थी वा शिक्षकले अहिलेसम्म यि बिध्यालय निरिक्षकहरुको नाकमुख देखेको छ ? जसले काम नै गर्दैन त्यसलाई कसैलेपनि कामी भन्दैन । जसले बिध्यालयहरु निरिक्षण नै गर्दैन भने त्यसलाई बि.नि. किन भन्ने ? छापामार शैलीमा सरकारी बिध्यालयहरुको पठनपाठन निरिक्षण गर्दै हिँड्नुपर्नेमा शिक्षा कार्यालयमा बसेर कुन पार्टीको मान्छेलाई कति पैसा लिएर कुन स्कूलमा नियुक्त गर्नुपर्ने हो भनेर पैसाको निरिक्षण गर्दै बस्ने भनेर आरोप खेपिरहेका पै.नि.हरुलाई सरकारले के कामको लागि राखेको ? हाजिरी जवाफमा ‘बि.नि. को अर्थ के हो ?’ भनेर सोधियो भने कुन सरकारी बिध्यार्थीले उत्तर दिन सक्छ ? उसले बि.नि. नै देखेको छैन । बिध्यालय नै निरिक्षण नगर्ने बि.नि. पद खोलेर नेपाली जनताको राजस्वको पैसा नास गर्ने सरकारले सरकारी स्कूलको रिजल्टचाहिँ राम्रो खोज्ने ? ठिकै छ, बि.नि.हरु त पै.नि. मात्र रहेछन, तर श्रोत ब्यक्तिहरुको काम के ? ठिकै छ, श्रोत ब्यक्तिहरुको काम श्रोतकेन्द्र भित्रका स्कूलहरुको पठनपाठनसंग सम्बन्धीत रहेनछ, तर बिध्यालय ब्यब्स्थापन समिति राख्नुको अर्थ के ? ‘शिक्षकहरुले नियमित रुपमा पढाउँदै छन कि छैनन, बिध्यार्थीहरुले राम्ररी पढ्दै छन कि छैनन भनेर अनुगमन गर्नु हो कि आफ्नो मान्छेलाई शिक्षक पदमा नियुक्त गर्नलाई झगडा गर्नुमात्र हो ?’ भन्ने जनप्रश्नमा ख्याल नगर्ने सरकारले सरकारी स्कूलको रिजल्ट राम्रो किन खोज्दै हिँड्ने ?

निजि बिध्यालयहरुमा बिध्यार्थीहरुले राम्रो पढ्दै छन कि छैनन, कुन बिध्यार्थी लापर्बाही गर्दैछ भन्ने कुरो थाहा पाउन प्रत्येक दिन बिभिन्न कक्षाहरु घुमेर प्रिन्सिपलहरुले चियाइरहेका हुन्छन । यति सम्म कि अवल दर्जामा गनिएका केहि निजी स्कूल र कलेजहरुमा प्रत्येक कक्षामा र कक्षा बाहिरपनि सि.सि.टि.भि. जडान गरिएको हुन्छ । शिक्षकहरुले रुटिन अनुसार क्लास लिए कि लिएनन, कसरी पढाउँदैछन, आज कति पढाए, कसरी पढाए, कुन बिध्यार्थी ध्यान दिएर पढ्दैछ, कुन लापर्बाही गर्दैछ आदि पत्ता लगाउनु नै सि.सि.टि.भि. राख्नुको मुख्य उद्देश्य हो । यस्तो कडाइका साथ निरिक्षण भएपछि पढाइ कसरी राम्रो हुँदैन ? निजि स्कूलहरुमा शिक्षक र बिध्यार्थी दुवै भयवादी हुन्छन । भयकै कारणले हरेक निजि शिक्षण संस्थाहरु सफलताको शिखर चुम्न सफल भइरहेका छन भन्दा पाप कसरी लाग्छ ?

सरकारी कर्मचारी भनेको सरकारको ज्यामी (खेतालो) हो । खेतालालाई राम्ररी काम गर्न लगाउन उसलाई घरिघरि निरिक्षण गर्नैपर्छ । खेतालो लगाउने मान्छे आज खेतमा आउँदैन भन्ने थाहा हुने बितिकै, केहि कर्तब्यपरायण खेताला बाहेक, जुनसुकै खेतालाले लापबार्ही गर्छ भन्ने कुरो लाटालाई पनि थाहा छैन ? राम्ररी पढाउन प्रोत्साहन स्वरुप बर्षेनी तलब बढाइदिएको छ, पोशाक भत्तो दिएको छ, तर सुबिधा बढाइदिए अनुसार राम्रो पढाउँदै छन कि छैनन, सुबिधा बढाइदिएको सालदेखि रिजल्ट राम्रो आउन थाल्यो कि थालेन, कि पहिलाकै जस्तो बांगाको बांगै मात्र छ  भनेर सरकारी शिक्षकहरुलाई निरिक्षण गर्न नजान्ने, तर रिजल्ट नराम्रो आयो भनेर २०६९ सालमा मात्र रिसाउन जान्ने सरकारी बुध्दिलाई अधोगति बुध्दि भन्ने कि अगति बुध्दि भन्ने ? यस्तो भएपछि सरकारको लगानी डुब्छ कि डुब्दैन ? केहि अपवाद स्कूलहरुमा बाहेक, प्रधानाध्यापकहरुले न त शिक्षकहरुलाई दैनिक निरिक्षण गर्छन, न त बिध्यार्थीहरुलाई नै । किन कडाइका साथ निरिक्षण हुँदैन सरकारी स्कूलहरुमा ? कारण सिम्पल छ । एक पटक नियुक्त भइसकेपछि जागिरबाट फायर हुने डर नै नभएपछि किन पसिना चुहाएर काम गर्ने ? अर्को कुरो, ज्यान दिएर पढाउने र अल्छि गर्ने शिक्षक दुवैको तलब बराबर भएपछि कसले किन बढि खटेर काम गर्ने ? अझ अर्को कुरो, स्कूलको पठनपाठन नराम्रो भएर रिजल्ट बिग्रयो भने सरकारको लगानी त डुब्ने हो, कुनै ब्यक्तिको खल्तिको पैसा डुब्ने होइन ।

‘बाहृ बर्षमा उन्युँ फूल्यो, गुहुको गन्ध चल्यो ।’ निरिक्षण सरकारी स्कूलहरुमा पनि हुन्छ, तर बाहृ बर्षमा एक पटक । त्यो पनि बि.नि. हरु होइन, जिल्ला शिक्षा अधिकारी जाँगरिलो खालको रहेछ भने मात्र । जिल्ला शिक्षा अधिकारी हाम्रो स्कूलमा निरिक्षण गर्न आउँदैछ भन्ने खबर मोबाइलबाट थाहा हुने बितिकै अरु बेला स्कूलमा अनुपस्थित मात्र भइराख्ने, उपस्थित भएपनि राम्ररी नपढाउने, कक्षामा गएरपनि सुतेर बस्ने शिक्षकहरुपनि डरले थुर्थुर भएर अति जाँगरिलो र ज्ञानी भएर पढाउँछन । तर जि.शि.अ. अबदेखि निरिक्षणमा आउँदैन भन्ने कुरो थाहा पाउने बितिकै फेरि उन्युँको फूल खैरो सोरसको सोरस नै रहन्छ, र गन्हाउन थाल्छ । एउटा जि.शि.अ. ले जिल्लाभित्रका शयौँ र टाढा टाढाका स्कूलहरुलाई दैनिक निरिक्षण गर्न संभव नै हुँदैन । निरिक्षणको समयमा लापर्बाही गरेको पत्ता लागेपनि एक दुई शब्द गाली गर्नु बाहेक त्यस्ता शिक्षकहरुलाई जागिरबाट फायर गर्ने अधिकार नै हुँदैन जि.शि.अ. सा’ब लाई । कुनैपनि स्कूललाई दैनिक निरिक्षण गर्न प्रधानाध्यापकलाई मात्र संभव छ, तर उसले निरिक्षण नै नगरेपछि र गरेपनि नटेर्ने शिक्षकहरु भएपछि, एक्लो बृहस्पति जि.शि.अ. ले कसरी भ्याउँछन जिल्लाभरिका शयौँ स्कूल प्रत्येक दिन निरिक्षण गर्न ? यसरी निरिक्षणको भय नभएपछि सरकारी स्कूलहरुमा कुकुरको पुच्छर बाँगाको बांगै कसरी हुँदैन ? अनि कसरी राम्रो रिजल्ट निस्कन्छ ? ज्यामितीय भाषामा भन्ने हो भने यो स्वयंसिध्द तथ्य हो ।

निरिक्षण गर्ने पनि तरीका हुन्छ । राम्रो पढाओस भनेर पोशाक भत्तो ७५०० दिने, तर भत्तो दिए अनुसार पढायो कि पढायो कि पढाएन भनेर अनुगमन गरेर कार्यबाही गर्नु पर्नेमा नपढाइ बसेपनि पोशाक नलगाएमा मात्र कार्यबाही गर्नुको अर्थ के हो ? स्कूल समयभरि पूरै खटेर पढाउने शिक्षकले हाजिर गर्न नभ्याएको वा बिर्सेको पनि हुन सक्छ । हाजीर गरेन भनेर उसलाई कार्यबाही गर्नु उचित हो ? आउने बितिकै हाजिर गर्ने तर ठगेर बस्नेलाई कार्यबाही नगर्नु उचित हो ? हाजिर गरोस कि नगरोस तर पढायो कि पढाएन, नियमित रुपमा पढाउँछ कि पढाउँदैन भनेर बुझ्नु राम्रो निरिक्षण होइन र ? कुनै कुनै शिक्षक मादक पदार्थ सेवन गरेमात्र राम्रो पढाउन जाँगर चल्ने खालका पनि हुन्छन । जे होस, यस्ता अपवादहरुलाई छाडेर मा.प.से. गर्ने शिक्षकले नियमित रुपमा पढाउँछ कि पढाउँदैन । राम्रो पढाउँछ कि पढाउँदैन । त्यो कुरो बुझ्नु असल निरिक्षण होइन र ? मा.प.से. नगर्नेले चरम लापबार्ही गर्दै हिँडेपनि वास्ता नगर्नु उचित निरिक्षण हो ? १० बजे नै आएर हाजिर ग¥यो कि गरेन, ४ बजे सम्म बस्यो कि बसेन भनेर निरिक्षण गर्नुको कुनै तुक देखिदैन । १० बजे नै आएर हाजिर गरेपनि गफ गर्दै बसेर अर्को घण्टी लाग्ने बेलामा मात्र कक्षामा जाने शिक्षकले कति पढाउलान ? कुन शिक्षक महिनाको कति दिन आउँछ, कुन शिक्षक स्कूल आएरपनि पढाउँदैन, कुन शिक्षक घण्टि लागेको कति समयपछि आएर पढाउँछ, कति पढाएर जान्छ भनेर बिध्यार्थीसंग सोध्नु असल निरिक्षण होइन र ?

लंगडो सरकारी निरिक्षणको अर्को अपांगता भनेको बिध्यार्थीको निरिक्षण नहुनु हो । बिध्यार्थीलाई निरिक्षण नगर्ने, छाडा छोडने, अनुशासन बिहिन बनाउने र शिक्षकको टाउकामा टेक्ने नीति ल्याउने, तर शिक्षकलाई मात्र निरिक्षण गर्दा पढाइ राम्रो हुन्छ र ? एक हातले ताली अवश्य बज्दैन ।

६.२. बिध्यार्थीलाई अनुशासन बिहिन बनाउने बाल मैत्री शिक्षा र भयवाद

किन बिश्वयुध्दहरु भइरहन्छन ? भन्ने अल्बर्ट आइन्स्टाइनको चिठीको जवाफमा मनोबिज्ञानका पिता सिगमण्ड फ्रोइडले एक ठाउँमा भनेका छन — मान्छे पनि पशु नै हो र उसलाई नियम कानुनको डर छैन वा कसैको डर छैन भने उसले आफ्नो पशू बानी ब्यहोरा देखाइहाल्छ र अराजक बन्छ । अनुशासन बिनाको जीवन अराजकता हो । सिगमन्ड फ्रोइडको शब्दमा भन्ने हो भने ‘डेथ इन्स्टिंक्ट’ हो । अराजकताले दुर्घटना निम्त्याउँछ । यो दुर्घटनामा सरकारी स्कूलहरु परेको परेकै छन । अनुशासनमा बस्नको लागि कसैको वा केहि कुराको डर हुन आवश्यक छ । किन त्यति धेरै खर्च गरेर जुनसुकै देशमा प्रहरीहरु राखिन्छन ? अराजकहरुलाई ठेगान लगाएर देशमा अनुशासन कायम गर्नु हो । जसलाई कुनै कुराको डर छैन, त्यो अराजकले अरुलाई बाधा गर्छ र आफूपनि बिग्रिन्छ । बिध्यार्थीमा अनुशासन छैन भने जति जाँगरिलो शिक्षक पनि राम्रो पढाउनबाट निरुत्साहित हुन्छ । बिध्यार्थीले आफ्नो टाउकामा टेक्छ भने कुन शिक्षकले राम्रो पढाउन सक्छ ? यस प्रकार, एकदुइ जना अनुशासन बिहिन बिध्यार्थीहरुका कारण पढ्ने चाहने बिध्यार्थीहरुपनि निरुत्साहित शिक्षकको लापर्बाहीको शिकार बन्न पुग्छन र स्कूलको रिजल्ट बिग्रन्छ । बालमैत्री नीतिका कारण अनुशासन बिहिन बिध्यार्थीहरुले टाउकामा टेकेकै कारण ओखलढुंगाका जि.शि.अ. लोक बहादुर लोप्चनको सहयोगमा त्रिभूवन मा.बि.का सरकारी बिध्यार्थीहरुलाई ठिक पार्न प्रहरीहरुको दैनिक अनुगमनको सहारा लिनुपरेको समाचार हामीले नसुनेको हो र ? पुल्पुल्याइएका शिक्षकहरुलाई मात्र होइन, पुल्पुल्याइएका बिध्यार्थीहरुलाई पनि कार्यबाही गर्नुपर्ने रहेछ भन्ने कुराको पुष्टि यो घटना एउटा प्रमाण होइन र ?

किन केहि अवल दर्जामा गनिएका निजी स्कूल र कलेजहरुमा प्रत्येक कक्षामा र कक्षा बाहिरपनि सि.सि.टि.भि. जडान गरिएको हुन्छ ? यसको उद्देश्य हो ― कुन कुन बिध्यार्थीहरु अनुशासन बिहिन छन पत्ता लगाउनु र सजायँको कठघरामा ल्याउनु र पठनपाठन राम्रो गराउनु  । किन कराँतेका ब्ल्याकबेल्ट बाउन्सरहरु राखिन्छ निजी स्कूलहरुमा ? अनुशासन तोड्ने र शिक्षकहरुलाई हेप्ने बिध्यार्थीहरुलाई मरम्मत गरेर पढाइ राम्रो गराउनु नै यसको मुख्य उद्देश्य हो । अर्को कुरो, सि.सि.टि.भि. को क्यामराले नदेख्ने स्थानमा बसेर बदमास गर्नेहरुलाई बाउन्सरहरुले निरिक्षण गरिरहेका हुन्छन । बदमास छात्राहरुलाई महीला बाउन्सरहरुको र छात्रहरुलाई पुरुष बाउन्सरहरुको मुक्का र फ्लाइङ किक भेटेपछि कुन बिध्यार्थीले बदमास गर्छ र पढाइ राम्रो हुँदैन ? शायद जे कुराको पनि बेफाइदा भएर होला, कहिले काहिँ यस्तो खालको भौतिक भय अन्जानमा अधिक भएर बदमास बिध्यार्थीहरु अस्पतालहरुमा भर्ना हुन पुगेका तिता यथार्थहरु पनि छन । तर रिजल्ट हेर्ने हो भने त्यस्तै निजी स्कूलहरु किन नेपालकै अवल दर्जाका शिक्षण संस्थामा पर्छन ? भयवादी दर्शन नै सफलताको सुत्र भएर होइन होला त ?

यसको ठिक उल्टो, केहि अपवाद बाहेक, सरकारी स्कूलहरुमा न त बिध्यार्थी कक्षामा सुसेल्दै बस्दा कसैले याद गर्छ, न त मनपरी बोल्दै बस्दा नै, न त होमवर्क नगर्दा नै, न त शिक्षकलाई जिस्क्याउँदा नै । बालमैत्री नियम लागु गरेर बिध्यार्थीहरुलाई पुल्पुल्याएका कारण शिक्षकले एक प्याट्ट लाउन पनि नपाउने नियम भएपछि लापर्बाही गर्ने बिध्यार्थीलाई के को डर लाग्छ र राम्ररी पढ्छ ? अनि कसरी सरकारी रिजल्टको पुच्छर बांगाको बांगै हुँदैन ?

६.३. स्थायी जागिर प्रथा उन्मुलन, शिक्षक सरुवाको सवाल, र भयवाद

शिब कुमार दास (शिक्षक मासिक, मंसिर, २०७०, पाना ) का अनुसार, स्थायी शिक्षकहरुकै कारण यो देशको सरकारी स्कूलको पढाइ बिग्रेको हो । त्यसैले, स्थायी कुरा बन्द गर्नुपर्छ । शिक्षाविद्व डाक्टर बिध्या नाथ कोइराला (शिक्षक, भदौ, पाना ४४–४५, २०७०) का अनुसार, हलो जोत्न नजान्ने गोरु र हलो जोत्दा हिँड्न नजान्ने गोरुलाई फेर्नै पर्ने हुन्छ । यो सिध्दान्त लागु भयो भने सरकारी स्कूलको पढाइ अत्यन्तै राम्रो हुन्छ भन्ने कुरामा दुइ मत नहोला । तर सरकारी स्कूलमा यो नियम कसले लागु गर्ने ? राम बहादुर सिंह, नेपाल शिक्षक युनिअन, सुर्खेत प्रतिनिधि (शिक्षक, भदौ, पाना ४०, २०७०) ले भनेजस्तै सरकारी स्कूलहरुमा पढाइ राम्रो गराउन लापर्बाही गर्ने सरकारी शिक्षकहरुलाई अपायक ठाउँमा सरुवा गरेर भय उत्पन्न गराएर पढाइ राम्रो गराउन सकिन्छ । तर लापर्बाही शिक्षकको रिपोर्ट कसले गर्ने जि.शि.अ. लाई ? चाहेरपनि राजनैतिक दवाबका कारण जि.शि.अ. ले सरुवा गर्न त सक्छ ? एउटा प्रश्न त तेर्सिगयो । जि.शि.अ.ले सरुवा गराउन सफल भएपनि, अपायक ठाउँमा सरुवा गरेको रिसले लापर्बाही शिक्षकले सरुवा भएको स्कूलमा झन लापबार्ही नगर्ला भन्न सकिन्छ ? अझ अनौठो कुरो त, राजनैतिक संरक्षणको कारण सिराहा जिल्लाका तिन जना प्रधानाध्यापकहरुको सरुवा कार्यबाही पुरस्कारको रुपमा मात्र प्रमाणित भएको खबर हामीले नसुनेको होइन ।

गभिर अपराध गरेको बाहेक पढाइमा लापबार्ही गरेकै कारणले फायर गर्ने सरकारी नियम नै छैन । राम्ररी पढाओस भनेर अध्याधिक सुबिधा दिएर नियुक्ती गरेको शिक्षकले लापर्बाही गरेर नपढाउनुलाई सरकारी शिक्षा नीतिले जघन्य शैक्षिक अपराध देख्नु पर्नेमा हत्या, बलात्कार आदि अपराधलाई मात्र जघन्य अपराध देखेपछि पठनपाठनमा लापर्बाही गर्ने सरकारी शिक्षकलाई कार्यबाही कसले गर्ने ? ‘म कसैको हत्या पनि गर्दिन, कसैलाई बलात्कारपनि गर्दिन, तर संधै अल्छि लाग्ने कारणले राम्ररीचाहिँ पढाउँदिन । पढाउने कुरामा लापबार्ही गर्नु नेपालको कानुनमा जघन्य अपराध नठहरिएपछि मलाई कसले फायर गर्नसक्छ ?’ भन्नेहरु धेरै छन । फायर नै भएपनि राजनैतिक संरक्षणका कारण पुर्नबहाली भएपछि कुकुरको पुच्छर बांगाको बांगै कसरी हुँदैन ? सरुवा गराएपनि राजनैतिक संरक्षणका कारण केहि समयपछि आफ्नै घर पायक स्कूलमा आइहाल्छ भने के को डर ? कुकुरको पुच्छर कसरी बांगाको बांगै भएन त ? अनि कसरी रिजल्ट शुन्यतिर झर्दैन ?

६.४. चरम राजनीतिकरण, चरम राजनैतिक संरक्षण, चरम शिक्षक लापर्बाही र भयवाद

सरकारी शिक्षण संस्थाहरुमा योग्यताको होइन, रामनीति र राजनीतिको मात्र राम्रो कदर हुन्छ भन्ने आरोप नौलो होइन : भारतीय एउटा च्यानलले त्यहाँका सरकारी शिक्षकहरुलाई बिना कारण यस्तो ब्यंग्य गरेको पक्कै पनि होइन । ‘मिस, भारतका प्रधानमन्त्रिका नाम क्या है ?’ शिक्षिकाको उत्तर थियो, ‘पत्ता नहि (थाहा छैन) ।’ ‘अ्यापल (स्याउ) का स्पेलिङ क्या होता है ?’ भन्ने प्रश्नको जवाफ थियो ― ‘ए, पि, इ, एल (apel) ।’ ‘बिल्ली’’ को अंग्रेजीमे क्या बोल्ता है (बिरालालाई अंग्रेजीमा के भनिन्छ) ?’ भन्ने प्रश्नको जवाफमा एकजना शिक्षकको उत्तर थियो, ‘ लग्ता है रैट(rat)।’

गोल्ड मेडलिस्टहरुलाई फेल पार्ने, तर आफ्नो देशको प्रधानमन्त्रिको नाम समेत थाहा नपाउने र क्याट (बिरालो) लाई अंग्रेजीमा रैट (र्याट) ‘मुसो’ जस्तो लाग्छ भन्ने उम्मेदवारहरुलाई राजनैतिक नियुक्ति गरेर रिजल्टचाँहि राम्रो खोज्ने ? सरकारी नीति र राजनैतिक आडकै कारणले नै पढाउनमा लापर्बाही गरेपनि फायर हुन नसक्ने संभावनाको बाटो सरकारले नै खनिदिएपछि किन सरकारी शिक्षकले राम्ररी पढाउँने ?

आँफै सरकारी शिक्षकहरुलाई पुल्पुल्याउने नीति ल्याउने, राजनीतिकरण गरेर पढाइ बिगार्ने अनि राम्रो रिजल्ट खोज्दै हिँड्न लाज शरम लाग्दैन ? हाम्रा शिक्षाविद र नीति निर्माणकर्ताहरुलाई यो कुरो थाहा नभएको हो कि बुझ पचाएका हुन (आफ्नोपनि राजैतिक नियुक्ति भएकाले) ? लाटालाटीले पनि थाहा पाउने यस्ता कुरा पनि पत्ता लगाउन नसक्ने शिक्षाविद र शिक्षा नीति निर्माणकर्ताहरुलाइ ‘कुरी कुरी’ को डर छैन ? ‘कुरी कुरी’ को डर नै नभएपछि कसरी कुकुरको पुच्छर सोझिन्छ ?

६.५. तल्लो कक्षा र माथिल्लो कक्षाबीचको असमान सरकारी पठनपाठन र भयवाद

निजी स्कूलहरुमा नर्सरी देखि कक्षा १० सम्म समानरुपमा पढाइ भएको हुन्छ । अर्थात, तल्लो कक्षामा जति राम्रो पढाइ भएको हुन्छ, त्यति नै राम्रो माथिल्लो कक्षामा पनि हुन्छ । तल्ला कक्षाहरुमा राम्रो पढाइ भएको कारणले माथिल्लो कक्षामा पढ्नेहरुको आधार बलियो भएको हुन्छ र एस.एल.सी. केन्द्रित भएपछि झन इन्टेन्सिभ कक्षा संचालन भएका कारण पढाइ अझ राम्रो भएको हुन्छ ।

सरकारी स्कूलहरुमा, निर्भयका कारण तल्ला कक्षाहरुमा पढाइ राम्रो हुँदैन र कोर्श सकिँदैन भन्ने अभिभावकहरुले लगाएको आरोप नसुनेको होइन । एस.एल.सी. लाई लक्षीत गरेर माथिल्ला कक्षाहरु, खास गरेर कक्षा ९ र १०, मा मात्र भयवाद लागु गरेर राम्रो पढाएर के गर्नु ? तल्लो कक्षामा गुणन र भाग नै नपढाइएका बिध्यार्थीलाई कक्षा ९ र १० मा जति राम्रो पढाएपनि हातमा लाग्यो के हुन्छ ? बिध्यार्थीहरुले त पढ्थे नि, तर बार्षिक परीक्षा हुने बेला सम्ममा पनि गुणन र भागका शीर्षकहरुसम्म बिषय शिक्षकले पाठ पु¥याएकै थिएनन भने के हुन्छ ? पुर्याउनुपर्छ भन्ने डर नै नभएपछि कसरी कुकुरको पुच्छर बाँगो हुदैन ? तल्ला कक्षामा लापर्बाही गर्ने शिक्षकलाई बेवास्ता गर्ने, तर मरिहत्ते गरेर पढाउने माथिल्ला कक्षाको शिक्षकलाई मात्र ‘तिम्रो बिषयमा बढि फेल भए’ भनेर स्पष्टिकरण लिँदा राम्रो रिजल्ट आउँछ ?

६.६. उदासिन सरकारी अभिभावक र भयवाद

सरकारी स्कूलहरुमा धेरैजसो अभिभावकलाई आफ्ना छोराछोरी बिग्रिन्छन कि भन्ने डर नभएको पाइन्छ । त्यहि कारणले आफ्नो बच्चाबच्चीको पढाइको बारेमा बुझ्न स्कूलमा नआएको तथ्य घाम जतिकै छर्लंग छ । यसको कारण सिम्पल छ । आफ्नो खल्तिको पैसा गएको छैन । लगानी डुब्छ भन्ने डर नै छैन । बिभिन्न सुबिधाको बहानामा सरकारले प्रत्येक बिध्यार्थीलाई बर्षको करिब १०,००० बराबरको सुबिधा दिएकै छ (राम्रो पढेपनि नपढेपनि) । तर लापर्बाही गर्ने सरकारी अभिभावकले पनि यदि महंगो खर्च गरेर नीजी बिध्यालयमा आफ्नो बच्चो पढाएको भए दिनहुँ आफ्नो बच्चाको प्रगति बिवरण अवश्य बुझ्छ । लगानीको भय नै नभएपछि कुन अभिभावकले आफ्ना छोराछोरीहरुलाई राम्रो पढ्न दवाब दिन्छ ? अनि कुन सरकारी बिध्यार्थीले राम्रो पढ्छ ? अनि कसरी सरकारी स्कूलहरुमा कुकुरको पुच्छर सिधा हुन्छ ? जुन अभिभावक भयवादी छ, उसले आफ्ना छोराछोरीहरुलाई निरिक्षण गरिराखेको हुन्छ । पैसा छ भने निर्भयवादी सरकारी स्कूलमा होइन, भयवादी निजी स्कूलहरुमा भर्ना गर्छ । यो सत्य कुरो हो कि होइन ?

६.७. फेल पार्न नहुने सरकारी नियम र भयवाद 

जुन बिध्यार्थी राम्ररी पढ्दैन, लापर्बाही गर्दै हिँड्छ, त्यो बिध्यार्थीलाई सजायँ स्वरुप फेल पार्ने अनिवार्य नियम निजी स्कूलहरुमा हुन्छ किनकि एकजना लापर्बाही गर्ने बिध्यार्थीले फेल गरेको कारण स्कूलको समग्र नतिजामा असर पर्छ । फेल पार्ने नियम कक्षा १ मा मात्र होइन १० मा वा ११ र १२ कक्षामा पनि हुन्छ । यहि भयको कारणले नीजी बिध्यार्थीहरु राम्ररी पढ्छन (बिध्यार्थी कम भएका कुनै कुनै बिध्यालयमा आमदानी बढाउन पास गराउनु भिन्नै कुरो) । तर सरकारी स्कूलहरुमा कक्षा १ देखि १० सम्म फेल पार्नै नपाइने नियम ल्याइएको छ । नपढेपनि फेल भइँदैन रहेछ भन्ने थाहा पाएपछि कुनचाहिँ निर्भयवादी बिध्यार्थीले पास गर्ने तरीकाले पढ्छ ? सेन्ड–अप टेस्ट किन गरिन्छ ? कुन कुन बिध्यार्थीले राम्ररी पढ्छन र एस.एल.सी. पास गर्न सक्छन भनेर छान्ने काम नै हो । तर सेन्ड–अप टेस्ट संचालन ग¥यो कि कार्यबाही गर्ने र जुनसुकै बिध्यार्थीलाई एस.एल.सी. दिन लगाउनुपर्ने नियम बनाउने, अनि पास प्रतिशत कम भए स्कूललाई कार्र्यबाही गर्ने ? यो कस्तो सरकारी नियम हो ?

नपढ्ने र लापर्बाही गर्दै हिँड्ने बिध्यार्थीलाई किन पास गराउने ? भन्ने प्रश्न गर्दा सरकारी प्रशिक्षकहरुको उत्तर आउँछ ‘उसलाई पास गर्न सक्ने तरीकाले पढाउनु प¥यो ।’ ‘जोसुकैले पास गर्छन, तर पास गर्न सक्ने तरीकाले पढाउनुप¥यो’ भनेर सजिलो रेडिमेड जवाफ खल्तिमा बोकेर हिँड्ने शिक्षा कार्यालयका मान्छेहरुलाई ‘लौ, तपाइँहरु जुनसुकै बिध्यार्थीहरुलाई कसरी पास गर्ने गरी पढाउनु हुँदोरहेछ, हेरिहालौँ त’ भन्न पनि नमिल्ने । कसैले पनि सबै कुरा जान्न सक्दैन भन्ने कुरो भगवानलाई पनि थाहा छ, तर कोर्शमै नभएको प्रश्न सोध्न पाउने नियम पनि बनाउनु सबैलाई पास गर्न सक्ने गरी कि फेल पार्ने गरी प्रश्न सोधिएको हो ? उदाहरणको लागि, विज्ञानमा ‘सिमेन्ट’ को शीर्षक छ, तर ‘आर.सि.सी.’ भन्ने शब्द नै छैन, तर एस.एल.सी. मा यसको पूरा रुप सोध्ने ? ‘फ्लोरेसेन्ट ल्याम्प’ को शीर्षक छ, तर ‘सि.एफ.एल.’ को कुरो नै छैन, तर एस.एल.सी. मा सि.एफ.एल. को पूरा रुप सोध्ने ? ‘कृतिम भू–उपग्रह’ को शीर्षक नै छैन, तर यसका दुइवटा कार्यहरु सोधेर फेल पार्ने अनि सरकारी बिध्यार्थीहरु बढि फेल भए भनेर रुँदै सराप्दै हिँड्ने ? जथाभावी प्रश्न सोध्दै हिँड्ने हो भने त्यहि प्रश्नकर्तापनि अर्काले बनाएको प्रश्नपत्र लिएर परीक्षामा बस्यो भने फेल हुन्छ कि हुँदैन ?

ठिकै छ, कक्षा १० सम्म त जसरी भएपनि फेल नपारिदिउँला, तर एस.एल.सी. मा चाहिँ बेसरी फेल पार्ने नियम कस्तो सरकारी नियम हो ? प्राक्टिकलमा फेल पार्नै नहुने नियम राख्ने, भरसक २० अंक भन्दा कम नदिनु भन्ने नियम बनाउने, त्यो नियम थाहा पाएपछि बिध्यार्थीले प्राक्टिकलको मतलब नै नगर्ने, अनि सैदान्तिक परीक्षामा भने बेसरी फेल पार्ने यो कस्तो एस.एल.सी. नियम हो ? यस्तो सरकारी शैक्षिक नियम बनाउनेहरु बौलाहा मात्र छन कि बहुलाएका हुन ? आँफै बौलाहा नियम बनाउने अनि रिजल्ट राम्रो खोज्दै हिँड्नु झन सत्र बौलाहा हुनु हो कि होइन ? ‘जोसुकैले एस.एल.सी. पास गर्छन, तर पास गराउन सक्ने तरीकाले कपि काट्नु प¥यो नि’ भन्ने रेडिमेड जवाफ कसले दिने ? ‘जोसुकैले पास गर्न सक्छन, तर पास गर्नसक्ने गरी पढाउनुप¥यो नि’ जस्तो सजिलो कुरा गरेर जागिर पचाउने शिक्षाकर्मी र शिक्षाविदहरु हुञ्जेलसम्म हाम्रो शैक्षिक सरकारी कुकुरको पुच्छर कहिल्यै पनि सोझिँदैन भन्ने मेरो सजिलो ठम्याइ छ ।

७. निस्कर्ष

नीजी स्कूलहरुको सबै कुरो (ड्रेस सिस्टम, अंग्रजी माध्यम, स्कूलमा राजनीती गर्न नपाउने, मोबाइल चलाउन नपाउने आदि) कुरो अनुकरण गर्न जान्ने, तर निजी स्कूलहरुको सफलताको सुत्र भयवाद अनुकरण गर्न नजान्ने सरकारी स्कूलहरुको हातमा लाग्यो के हुन्छ ? यो प्रश्नको उत्तर हुन्छ – हातमा लाग्यो शून्य, अर्थात कुकुरको पुच्छर फेरि बांगै । यो बैज्ञानिक भविष्यबाणी हो , शंके धामी र अंके ज्योतिषि वा घर बसी नेपाल देख्नेको भबिष्यबाणी होइन । यो भबिष्यवाणीमा जसलाई बिश्वास लाग्दैन, उसले अब आउने रिजल्टहरु हेरे थाहा हुन्छ । ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ भन्ने लक्ष्मी प्रसाद देवकोटाको उद्देश्य लिनुपर्नेमा ‘उद्देश्य के लिनु ? पेन्टे भूँडी भर्नु एक’ भन्ने भैरब अर्यालको जय भूँडी उद्देश्य मात्र लिएपछि राम्रो सरकारी रिजल्ट कसरी आउँछ ? अनि किन रुँदै चिच्याउँदै हिँड्ने ? अझपनि चेतना कसरी नभया ! 

 श्री लुम्फाबुङ मा.बि., पाँचथर

tejmanmail@gmail.com

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %