भाजपाको जीत र नेपालमा दक्षिणपन्थी प्रवृति

Read Time:13 Minute, 23 Second

बलदीप प्रभाश्वर चामलिङ

भन्नेहरुले भनिरहेका छन्– भारतमा क्षेत्रीय दलहरु हराए तर जातीय पार्टी उदाए, त्यो पनि हिन्दु जातीवादी दल । हुन पनि हिन्दुत्वको रक्षा र विस्तारको लागि स्थापना भएको अर्धसैनिक प्रकृतिको संगठन राष्ट्रिय स्वयमसेवक संघ (आरएसएस) को राजनीतिक साखा (पोलिटिकल विंङ) को रुपमा भारतीय जनता पार्टी (भाजपा) स्थापना भएको हो । भारतीय उपमहाद्वीपमा हिन्दु राष्ट्रवादलाई कायम गराउने आरएसएसको मुल मन्त्रबाट नै अघोषितरुपमा यो पार्टी निर्देशित भएको छ । आरएसएस इतिहासमा तीन पल्ट भारतमा प्रतिबन्ध हुदै फुकुवामा परेको संगठन हो । यस संगठनको सदस्य नाथुराम गोड्सेले महात्म गान्धीलाई हत्या गरेपछि, ईन्दिरा गान्धीले संकटकाल लागु गरेताका र वावरी मस्जित भत्काईदाको समयमा यो संगठनको गतिविधि माथि प्रतिवन्ध लगाइएको थियो । यद्यपि त्यो संगठन भारतमा कृयाशील छ र पर्दा पछाडिबाट यसैले भाजपालाई हाँकिरहेको छ ।
हिजो तिनै आरएसएसको अर्धसैनिक जवानको रुपमा तालिम प्राप्त गरेको ठिटो नरेन्द्र मोदी आज नाटकीयरुपमा भारतको प्रधानमन्त्री बनेको छ । काग्रेसजस्तो उच्च घरानाको वंशीय राजनीतिलाई उछिनेर सामान्य परिवारबाट नरेन्द्र मोदी उदय हुनुभनेको उसको लागि ज्यादै ठूलो उपलब्धि हो । यस जीतको हर्षले उनी विजय भाषणहरुमा भक्कानिए पनि । संसद भवन परिसरका सिढीसम्मलाई उनले ढोग गरे । सार्क देशकै समकक्षीहरुलाई निमन्त्रणा गरेर सपथ खानु भनेको विजयको रवाफ पनि छिमेकीलाई प्रदान गर्नु हो ।
पृष्ठभूमि जे भएपनि भाजपाले हिन्दुराष्ट्रवादको नारालाई भन्दा पनि आर्थिक विकासको मुद्दालाई प्राथमिकता दिएर चुनावमा होमिए । पार्टीले नरेन्द्र मोदीलाई अगाडि सारेर आर्थिक विकासको नारालाई यसरी उछाले कि भाजपा हिन्दु साम्प्रदायिक पार्टी हो भनेर भन्नेहरु पनि अन्ततः भाजपालाई नै भोट हाल्न पुगे । जनताले हिन्दुराष्ट्रवादलाई उछालोस भनेर होइन कि भारतलाई भ्रष्टाचारबाट मुक्त बनाएर सम्पन्न राज्य बनाओस भनेर भोट हाले । गुजरातलाई अर्थिकरुपले सबल बनाएको व्यक्तिले सिंंगो भारतलाई पनि त्यसरी नै विकास गरिदिन सक्छ भन्ने कुराको प्रचारात्मक संन्देश चुनावी अभियानमा दिइयो । चुनावी प्रचारमा “गुजरात मोडल”को नारा पनि जोडतोडले आयो । उता चुनावी मैदानमा मोदीको व्यक्तित्वलाई टकराव दिने पात्र अरु कुनै पार्टीमा देखिएन । उसको प्रतिद्वन्दी काग्रेसले राजनीतिमा लामो अनुभाव नभएका युवा राहुल गान्धीलाई अगाडि सार्नु पनि मोदीको लागि लाभ थियो ।
जे होस् भाजपाको यो जीतले कट्टर हिन्दुराष्ट्रवादीहरुलाई एक प्रकारको साम्प्रदायिक गौरानुभूति प्रदान गरेको छ भने गरिखाने साधारण भारतीय जनताप्रति विकासको आशा र अपेक्षाको लहर ल्याइदिएको छ । यहि दुई खेमाबीचमा संन्तुलन कायम गरेर अगाडि बढ्नुपर्ने मोदीको चुनौती हो ।
वास्तवमा मोदीको विजयमा भारतीय जनताको मनोविज्ञान प्रतिविम्बित हुन्छ । भारतीय जनता अझै गरिबीको रेखामुनि नै रहेछ र भारत जतिसुकै ठूलो प्रजातान्त्रिक मुलुक भएपनि त्यहा भ्रष्ट प्रशासन रहेछ भन्ने कुराको पुष्टी यो निर्वाचनबाट हुन्छ । गरिब भारतीय जनताको प्रताडित मानसिकतालाई भाजपाले गुजरात मोडलको विकासको नाराले राम्रोसंग भजाउन पुगे । राहत खोजिरहेको जनताकोे कुण्ठालाई भाजपाले आफ्नो जीतमा अनुवाद गरे । हिजो केजरीवालहरु दिल्ली विधायक सभामा उदाएर आउनुले पनि उही भारतीय जनताको दशालाई उजागर गर्दछ । भारत बाहिर जस्तो देखिएपनि त्यहा धनी र गरिबको खाडल अझै फराकिलो रहेछ भन्ने कुरा दर्शन्छ ।
मोदीले विजयी सभाहरुमा स्वयमले पनि भन्ने गर्दै आएको छ, “ मैले चुनावी अभियानमा यस्तो जनता पनि देखे कि उस्को शरिरमा थोत्रो फाटेको लुगा थियो तर उसको काधमा भारतीय जनता पार्टीको नया झण्डा थियो । यो उस्को भाजपा प्रतिको विश्वास हो । त्यसकारण भाजपाको सरकार तिनै गरिवहरु प्रति समर्पित छ ।” हुनपनि त्यत्रो विशाल जनताहरुलाई सरकारले भन्दापनि विभिन्न धार्मिक गुरुहरुले आध्यात्मिक अनुशानद्वारा बाँधेर राखेको समाजमा आर्थिक विकासको विषमता हुनु स्वभाविक हो । भारतमा अझै यस्ता जनतापनि छन् जो सरकार भनेको आफ्नो धार्मिक गुरु हुन् कि राष्ट्रपति–प्रधानमन्त्री हुन् त्यो छुट्याउन सक्दैन । भाजपाको चुनावी अभियानमा तिनै हिन्दुधार्मिक गुरुहरुले पनि सहायक तर निर्णायक भूमिका खेली दिए । जस्तो कि रामदेवले आफ्ना भक्तजन तथा समर्थकहरुलाई भाजपालाई नै भोट हाल्न उर्दी नै गरेका थिए ।
भाजपाले यो चुनावको नतिजालाई ऐतिहासिक प्रतिष्ठासंग गासेको छ । उस्को यो विजयको कारक आर्थिक विकासको नारा भएको हुदा खुलेर हिन्दुत्वको प्रवर्धनमा लाग्न अप्ठेरो नै पर्दछ । तर सांकेतिकरुपमा हिन्दुत्वलाई स्थापित गराइरहने कामहरु भने उनले गर्नसक्छ । जस्तो मोदी विजय भएपछि हिन्दुहरुको पवित्र स्थल वराणसीमा गएर गंगाको पुजाआरधना गरे । विजय पछि शक्ति–हैसियतमा यहा आएर त्यासो गर्नु र अन्य ठाउ छाडेर यहि वराणसीबाट पनि विजय प्राप्त गर्न उम्मेदवारी दिनु वास्तवमा हिन्दुत्व प्रतिको प्रतिकात्मक संदेश नै हो ।
जेभएपनि यो भारतको आन्तरिक मामला हो । हामीले त छिमेकीको नाताले परबाट दृष्टिगोचर लागाउने मात्र हो । तर यता नेपालमा अझै त्यस्ता जमातहरु पनि देखिन थालेको प्रतित हुन्छ जो नेपाल गणतन्त्र भएको र धर्मनिरपेक्ष राज्य भएको कुरालाई अझै स्वीकार्न सकिरहेका छैनन् । भाजपाको सरकारले यस तर्फ सोचोस वा नसोचोस नेपालमा अब धर्मनिरपेक्ष राज्य र गणतन्त्रको मुद्दामा पुनविचार हुन्छ भनेर प्रसंङ्ग कोट्याउन थालिसकेको छ । नेपालमा केहि त भाजपाको त्यो जीतले उत्साही पनि बनेका छन् । भाजपा सरकारले हिन्दु राज्यसंगै राजतन्त्रको पुनरागमन गरिदेओस भन्ने लाछि कामना पनि गरिरहेका छन् । यो हाम्रो लागि ज्यदै दुर्भाग्यको कुरा हो ।
भाजपाको जीतबाट नेपालमा केही दक्षिणपन्थीहरु उत्साहित भएका छन् । त्यो अरु कारणले नभएर हिन्दुत्वको भावनाले हो । भाजपा सरकारले हिन्दुराज्य र राजतन्त्र पुनस्थापना गर्न सहयोग गर्छ भन्ने अपेक्षा यहाका कट्टरपन्थीहरुले लिएका छन् । यो सोच राख्नु राष्ट्रियताको हिसावले ठूलो अपराध हो । यो भनेको वैदेशिक हस्तक्षेपलाई निमन्त्रणा गर्नु हो ।
भारतमा सरकार परिवर्तनसंगै त्यसको असर नेपाली राजनीतिमा पर्न दिनु भनेको हाम्रो नालायकीपन हो । यसरी सोची हाल्नु पनि हाम्रो लघुताभाष हो । राष्ट्रिय मुद्दामा हामी एक हुने हो भने कुनैपनि विदेशी चलखेल हुनसक्दैन । विदेशी चलखेल त्यो वेला हुन्छ जुन वेला स्वदेशी शक्तिहरुमा विभाजन हुन्छ । राष्ट्रिय शक्तिहरुबीचको विभाजनको ग्याप नै वैदेशिक हस्तक्षेपको जननी हो । अब यति वर आइसकेपछि हिन्दुअधिराज्य र राजतन्त्रको पुनस्थापनालाई मुद्दा बनाएर नेपालका शक्तिहरुबीचमा विभाजनको ग्याप सृजना गर्नुको के तुक हुन्छ । यसले त मुलुकलाई अझ द्वन्दतर्फ धकेल्छ ।
धर्मनिरपेक्षता र गणतन्त्रलाई उल्टाउनको लागि भाजपा सरकारसंग गुहार माग्नुको अब कुनै अर्थ छैन । यदि यस्तो गरिहालेता पनि भाजपा सरकारले त्यसमा खुलेर साथ दिन मुश्किल नै पर्दछ । यो ममलामा हात हाल्नु उस्को लागि पनि प्रत्युत्पादक नै हुनजान्छ । उसलाई यो मामलामा विरोध र असहयोग गर्ने उस्कै मुलुकका शक्तिहरु हुनेछन् । भाजपाको यो विजय हैसियतलाई भत्काउन उस्कै विपक्षीले विभिन्न उस्को खोट र गल्तीहरु नियालेर बसिरहेका हुनेछन् । नेपाल हिन्दुराज्य हुनुपर्छ भन्ने कुरामा हस्तक्षेप गर्नु उस्को कुनै नैतिक धरातल हुने छैन किनकी उस्ले आफ्नै मुलुकलाई हिन्दु राज्य कायम गर्न सक्दैन । वाबरी मस्जित भत्काएको ठाउमै उस्ले राम मन्दिर बनाउन पनि उस्लाई त्यति सहज छैन ।
आखिर धर्मनिरपेक्षता भनेको कुनै धर्मको निषेध होइन, बरु सबै धर्मको कदर हो । धर्मनिरपेक्षता भनेको राज्यसत्ता मात्र कुनैपनि धर्मबाट तटस्थ रहने भन्ने हो । तर समाजबाटै धर्मलाई बन्देज लगाउनु पर्छ भन्ने होइन । राज्यसत्ता(सरकार) धर्मबाट निरपेक्ष रहन्छ तर समाज धर्मसंग सापेक्ष रहन्छ । नेपालको सन्दर्भमा पनि धर्मनिरपेक्षता भनेको हिन्दुधर्मको निषेध गर्न खोजिएको होइन । सबै धर्मलाई एकै चोटी राज्यसत्ताले च्यापेर अगाडि बढ्दा निपक्षतामा विवाद आउने भएको हुनाले नै धर्मनिरपेक्षताको अवधारणा आएको हो । यो कुरा किन बुझ्न चाहन्नन् केही नेपालका दक्षिणपन्थीहरु ? नेपाल आफैमा बहुजातीय तथा बहुधार्मिक मुलुक हो । साम्प्रदायिक सद्भाव कायम गर्न धर्मनिरपेक्षता बाहेक अर्को उत्तम विकल्प के हुन सक्छ ? हिन्दु विशेषण जोडिएको राजतन्त्रमा भन्दा गणतन्त्रमा नै सबैको अपनत्व कायम हुन्छ । राज्यका सबै वस्तु तथा व्यवस्थाहरु वंशीय होइन बरु सार्वजनिक हुन्छ भन्ने गणतन्त्रको सुन्दर अवधारण नै हरेक सभ्य नागरिकको प्रवृति हुने भएको हुदा कुनैपनि स्वरुपका राजतन्त्र स्वीकार्य हुनसक्दैन । त्यसकारण उता भाजपाको उदयलाई यता नेपालमा हिन्दुराज्य र राजतन्त्रको पुनरस्थापना जोडेर हेर्नु हाम्रो दृष्टिकोणमा विसंगति आउनु हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %