महेश कुमार खाती , तस्वीर : jukson.com
पोखरा, १५ जेठ – पत्रकार मनोज घर्तीमगरद्धारा लिखित ‘भर्तीको फन्दा’ पुस्तकको लोकार्पण तथा परिचर्चा कार्यक्रम विहिबार पोखरामा सम्पन्न भएको छ ।
नेपाली कसरी लाहुरे बने, कसरी गोर्खाली कहलिए ? तथा उनीहरुलाई किन बिभेद गरियो भन्ने लगायत थुप्रै विषय समेटिएको पुस्तकको पोखरामा लोकार्पण तथा परिचर्चा गरिएको हो । मगर, गुरुङ, राई, लिम्बुलाई मात्रै छानिछानी ब्रिटिस सेनामा किन गरियो होला भर्ती ? लडाइँको मैदान छाडेर भाग्ने सैनिकलाई ‘भगौडा’ र ‘कायर’ भनिन्छ । नालापानीको युद्ध छाडेर भाग्ने बलभद्र कुवँरलाई बेलायतले ‘बहादुर‘ भन्नुभित्र के स्वार्थ लुकेको थियो ? लगायतका रहस्यहरु ‘भर्तीको फन्दा’मा छ ।
जक्सन डट कम पोखराले गरेको कार्यक्रममा नागरिक दैनिकका पश्चिमाञ्चल ब्यूरो प्रमुख केशवशरण लामिछाने, फोटो पत्रकार कृष्णमणी बराल, भलिबल खेलाडिद्धय मञ्जु गुरुङ र सिपोरा गुरुङ, कास्की आवाज दैनिकका अध्यक्ष सरस्वती गुरुङ, व्यवसायी सीता बराल, भलिबल प्रशिक्षक टहलसिंह थापा र वैभब पौडेलले संयुक्त रुपमा पुस्तकको बिमोचन गरेका हुन् ।
शुक्रबार साप्ताहिकका पोखराका सम्बादाता घर्तीमगरको विहिबार जन्मदिनको अबसरमा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै कवि तथा संस्कृतिकर्मी तिर्थ श्रेष्ठले लाहुरेको ईतिहास खोतल्न पुस्तकले ठुलो भुमिका खेल्ने दाबी गरे । उनले नेपालीलाई लाहुरे किन बनाईयो, किन विभेद गरियो भन्ने लगायतका दस्तावेज जिवित राख्न पुस्तक सफल भएको बताए । ‘फन्दामा पारेर लाहुरे बनाईयो ईतिहास पुस्तकले दिनेछ’ श्रेष्ठले भने, ‘नेपालीलाई प्रशस्त फन्दामा पारिएको छ, यो पुस्तकले ईतिहासको फन्दा देखाउने विश्वास गरेको छु ।’
परिचचाकार र्याण्डम रिडर्स सोसाईटि पोखराका अध्यक्ष गनेस पौडेलले भर्तीको फन्दा किताब ‘युद्ध जितेर हारेको इतिहास’ को दस्तावेज भएको , उनले पुस्तकमा अहिलेसम्म नखोलिएका थुप्रै रहस्यसहित लाई बाहिर ल्याइएकाले किताब अत्यन्तै महत्वपूर्ण दस्तावेज भएको दावी गरे । नेपाली इतिहासहरु बेलायत र अन्य देशका जासुसीले गरेको रिपोटको आधारमा लेखिएकाले धेरैजसो गलत भएकाले यो किताबले इतिहास पुनरलेखनमा बाटो देखाएको सुनाए ।
अर्का परिचर्चाकार सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठले जन्मको हिसाबले मनोज पोखरेली नभएपनि कर्मले पोखरेली भएको बताउँदै पुस्तकले लाहुरेको गाथा बोकेको बताए । ‘प्याजको पत्रजस्तै लाहुरेको जीन्दगी हुन्छ’ उनले थपे, ‘पुस्तकले ब्रिटेनमा नेपाली भर्तीको कथादेखि लिएर लाहुरेको जीवन भोगाई भन्ने छ ।’ उनले पुस्तक पढ्नै पर्ने दस्तावेजको रुपमा आएको कार्यक्रममा बताए ।
राज्यसत्ता डट कमको आयोजनामा केही साताअघि हङकङमा लोकार्पण गरिएको पुस्तकको पहिलो पटक पोखरामा सार्वजनिक तथा परिचर्चा गरिएको हो । २ सय २४ पृष्ठको पुस्तकको प्रकाशक रीता गुरुङ रहेकी छिन् । पुस्तकको दोश्रो मुद्रण भएको छ । एक दशकदेखि पत्रकारितामा क्रियाशील युवा पत्रकार मनोज घर्तीमगरले लामो समय अनुसन्धान गरि पुस्तक लेखेको हुन् । उनी नागरिक दैनिक, शुक्रबार साप्ताहिक र रिपब्लिका दैनिकको प्रकाशक संस्था नेपाल रिपब्लिक मिडियामा आबद्ध छन् ।
लेखक घर्तीमगरले नेपाल सरकारकै सहमतिमै ब्रिटेनले पहिलो र दोस्रो विश्वयुद्धलगायत थुपै क्षेत्रीय युद्धमा ब्रिटिस सेनामा छानिछानी मगर, गुरुङ, राई, लिम्बु लगायतलाई किन होमिदियो ? यसभित्र केकस्था स्वार्थ लुकेका थिए भन्नेलगायत ‘गोर्खा भर्तीको दुई सय वर्षे सिंहावलोकन’ समेत पुस्तकमा गरेका छन् । लेखक मनोज घर्तीमगरले आफु पनि लाहुरेको सन्तति भएको बताउँदै नेपालीलाई ब्रिटेनले गरेको विभेद तथा अपमानको बिषयमा खोज गर्दै जाँदा पुस्तक तयार भएको बताए ।
नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुन थालेको सन् २०१५ मा दुई शताब्दी पुग्दैछ । नेपाल र बेलायत (ब्रिटेन) बीच दौंत्य सम्बन्ध जोडिएको सन् २०१६ मार्च ४ मा दुई शताब्दी पूरा हुँदैछ ।