उठेको रकमले अपाङ्गलाइ सहयोग गरिने ।
मुक काजी गुरुङ
हङकङ ०४ में २०१४ का दिन भारतीय गोर्खा भूपू सैनिक संघ हङकङले युनलोंगस्थित थिएटर हल अडियोटोरियममा “भारतीय गोर्खा भूपू सैनिक सांझ-२०१४” भब्यताका साथ सम्पन्न गरेका छन ।
कार्यक्रमको शुरुवात संघका अध्यक्ष जजिन चाम्लिङको अध्यक्षतामा छोटो औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो । संघकै सल्लाहकार यामबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम संयोजक संघकै मिडिया प्रवक्ता मुककाजी गुरुङ थिए ।
हङकङ नेपाली महिला संघकी अध्यक्ष टिका गुरुङ,यसैगरि कार्यक्रमलाई प्रायोजन गर्नुहुने मूख्य प्रायोजक दाताहरु मगर संघ हङकङकी अध्यक्ष चन्द्र ज्योति मगर, नेपाली आर्ट्स एण्ड कल्चरका अध्यक्ष तथा हङकङ नेपाली महासंघका महासचिव नन्द चङ्सु, तमु राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष दुर्गा गुरुङ(मिलन),ब्रिटिश गोर्खा भूपूका उपाध्यक्ष भिमराज गुरुङ,लिङ्मा कन्स्ट्रक्शन कम्पनीका कृष्ण राज भण्डारी, संघका वरिष्ठ उपाध्यक्ष मन प्रसाद गुरुङ, उपाध्यक्ष कलजित गुरुङ,संघकै क्वार्टर मास्टर चित्र बहादुर थापा, प्रिस्टाईन किन्डर गार्टेन युनलोंगका सञ्चालक जग्दिश कुमार आले लगायत बिशेष अतिथिको रुपमा मञ्चमा आसिन थिए ।
प्रमुख अतिथि सल्लाहकार याम बहादुर बुढाथोकीले रिबन काटेर कार्यक्रमको उद्द्घाटन गरेका थिए भने मञ्चमा आसिन अतिथि तथा प्रायोजकहरुलाई खादा लगाई सम्मान पनि गरिएको थियो । कार्यक्रम उद्द्घाटन पश्चात प्रमुख अतिथि लगायत अध्यक्ष जजिन चाम्लिङले कार्यक्रमलाई बिशेष रुपमा आर्थिक सहयोग गर्ने प्रायोजक दाताहरु, सह-प्रायोजक र कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शक महानुभावहरुलाई धन्यवाद ब्यक्त गरेका थिए । उक्त औपचारिक कार्यक्रमलाई सचिव दुर्जोधन लिम्बुले सञ्चालन गरेका थिए ।
उद्द्घोषक देवराज राईद्वारा सञ्चालित दोस्रो चरणको सांस्कृतिक कार्यक्रमको शुभारम्भ संघकै सदस्य कलाकार सुरेश राईले “बल गरेर हुदैंन त्यो मन मोड भन्दिन म, माया गर्छौ थाहा छ मलाई छोड भन्दिन म” भन्ने गीत गाएर गरेका थिए। दोस्रो प्रस्तुति नेपालबाट आमन्त्रित एक खुट्टाले मात्र छमछमी नाच्ने नृत्याङ्गना रोमा न्यौपानेले “डांफे झैं नाचेर” भन्ने गीतको बोलमा आकर्षक नृत्य प्रस्तुत गरिन ।
आफ्नो प्रस्तुति पस्कनु अगाडि संघर्षमय जीबन बिताईरहेकी रोमाले हङकङबासी नेपालीहरुको माया लिएर फर्कन्छु भन्ने सन्देशले पनि दर्शकहरुको मनलाई जित्न सफल भईन र केहि समयमा नै दर्शकहरुले कार्यक्रम स्थलमा नै आर्थिक सहयोग गर्न थाले । यसैगरि कार्यक्रम संयोजक मुक काजी गुरुङको छोरी कश्मिना गुरुङ स्टेजमा देखा परिन र गुरुङ चलचित्रको मिठासपूर्ण गीत “सपनीमा देख्ने बिपनीमा कहिल्यै नदेख्ने” भन्ने गुरुङ गीतको बोलमा नाचिन र अत्याधिक दर्शकहरुको माया बटुल्न सफल भईन । त्यसपछि नव गायक कुशल थलङले सिन्दुर भर्नु एउटा कुरा, बिधाताले दिएको मानिसको हाम्रो जिन्दगी भन्ने सेन्टिमेन्टल गीत गाउंदै दर्शकहरुलाई आनन्दित तुल्याएको महशुस गर्न सकिन्थ्यो ।
लगत्तै चर्चित लोक दोहोरी गायिका जुना श्रीषमगरले मनमा गहिरो चोट, जिस्क्यो मोटी भनेर र पञ्चे बाजाको गीतले भूपू लगायत अन्य दर्शकहरुलाई स्टेजमा आउंन बाध्य तुल्याए र नाचे धित मर्ने गरि । क्रमिक रुपमा हिन्दी रिमिक्समा स्थानीय कलाकार प्रतिमा लिम्बुले धमाका नृत्य पस्किन र कार्यक्रमको ढुकढुकी चर्चित तथा ब्यस्त लोक गायक रामजी खांणले प्यार हुन्छ, फूलफुलेर पहेंलै भयो आधी जोबन हांसखेलमै गयो भन्ने गीत गाए र दर्शकहरुको अत्याधिक माया पाउंन सफल रहे। पुन: नृत्याङ्गना रोमा न्यौपाने “बारुली कम्मर” भन्ने गीतको बोलमा एक खुट्टाको भरमा दर्शकहरुलाई अपत्यारिलो प्रस्तुत पस्किन र पुन: दर्शकहरुबाट आर्थिक सहयोगको लाम नै लाग्यो । यसैगरि नेपालबाट आमन्त्रित मध्येका अन्तिम कलाकार लिजा राईले एकल गीत “दिलवाले” पस्किन र उनीलाई अर्को गीतमा साथ दिन पुन: स्टेजमा नयां प्रतिभा कुशल उपस्थित भए र भेटैमा भयो सोल्टिनीज्यू, गोर्खा पल्टन र ढल्क्यो ढल्क्यो युगल गीत गाए। स्थानीय कलाकार मुञ्जु थापाले राम्दी पुल तर्ने बित्तिकै बांचे भेट र संघकै सदस्य किरण गुरुङले सामूहिक रुपमा “यानी माया” गीत पस्के।
अन्तमा, लोकदोहोरीका चर्चित कलाकारद्वय रामजी खांण र जुना श्रीष मगरले केहि समय तानसेन बजार झिली र मिली भन्ने सालै जो गीत गाउंदै दर्शकहरुलाई नचाउन सफल भएका थिए र क्षण भरमा नै माहौल दोहोरीमा परिणत भएको थियो। “डाली नुग्यो चरीले टेकेर” भन्ने गीतको बोलले दर्शकहरुलाई त नचाए नचाए, कार्यक्रमको निर्धारित समय कटाई सकेको पत्तै भएन ।
(मुक काजी गुरुङ भारतीय गोर्खा भूपू सांझ-२०१४का कार्यक्रम संयोजक हुन)