राज्यसत्ता ब्यूरो
हङकङ, २० बैशाख – विमोचन नहुँदै चर्चामा रहेको किताब ‘भर्तीको फन्दा’ का लेखक मनोज घर्तीमगर शनिबार हङकङ आइपुगेका छन् । युवा पत्रकार समेत रहेका लेखक घर्तीमगरलाई राज्यसत्ता डटकमको यूनिटसहित हङकङ नेपाली महासंघको तर्फबाट उपाध्यक्ष रीता गुरुङ, मगर संघ हङकङको तर्फबाट महासचिव विक्रम थापामगर लगायतले स्वागत गरेका थिए ।
यसैबिच मगर संघ हङकङले जोर्डनमा शनिबार साँझ एक कार्यक्रमकाबिच लेखक घर्तीमगरलाई स्वागत गरेको छ । संघका अध्यक्ष चन्द्रज्योती आलेमगरले खाता लगाई स्वागत गरेपछि उपाध्यक्ष प्रेम थापा, राज्यसत्ताका अध्यक्ष भिम थापामगर, हेम सोमैमगर लगायतले पनि स्वागत गरेका थिए ।
एक दशकदेखि पत्रकारितामा क्रियाशील युवा पत्रकार मनोज घर्तीमगरले लामो समय अनुसन्धान गरि ‘भर्तीको फन्दा’ किताब लेखेको हुन् । उनी नागरिक दैनिक, शुक्रबार साप्ताहिक र रिपब्लिका दैनिकको प्रकाशक संस्था नेपाल रिपब्लिक मिडियामा आबद्ध छन् । लेखक घर्तीमगरले नेपाल सरकारकै सहमतिमै ब्रिटेनले पहिलो र दोस्रो विश्वयुद्धलगायत थुपै क्षेत्रीय युद्धमा ब्रिटिस सेनामा छानिछानी मगर, गुरुङ, राई, लिम्बु लगायतलाई किन होमिदियो ? यसभित्र केकस्था स्वार्थ लुकेका थिए भन्नेलगायत ‘गोर्खा भर्तीको दुई सय वर्षे सिंहावलोकन’ समेत गरेका छन् ।
नेपाल क्लब हङकङकी अध्यक्ष, हङकङ नेपाली महासंघकी उपाध्यक्ष रीता गुरुङ प्रकाशक रहेको उक्त किताब राज्यसत्ता डटकमको आयोजनामा ११ मे २०१४ अपरान्ह् ४ बजे हङकङको Henry G. Leong Yaumatei Community Hall को 1/F मा विमोचन हुने राज्यसत्ता डटकमका भिमबहादुर थापामगरले जानकारी दिए । कार्यक्रमलाई सफल बनाउन हङकङमा प्रचारप्रसार र तयारी तिव्र रुपमा बढिरहेको उनले बताए । किताब विमोचन कार्यक्रममा सहभागी हुन लेखक घर्तीमगर जेठएयरलाइन्स बाट बैशाख २० गते शनिबार हङकङ आइपुगेसकेका छन् ।
नेपाली युवा ब्रिटिस सेनामा भर्ती हुन थालेको सन् २०१५ मा दुई शताब्दी पुग्दैछ । नेपाल र बेलायत (ब्रिटेन) बीच दौंत्य सम्बन्ध जोडिएको सन् २०१६ मार्च ४ मा दुई शताब्दी पूरा हुँदैछ । यसबीचमा नेपाल–बेलायत सम्बन्धको कडी गोर्खा सैनिकबारे बेलायती आंफैले थुप्रै ठेली लेखे, आफ्नो गुणगान र गोर्खा सैनिकको बहादुरी बखान भरेर । तर, ब्रिटेनका तर्फबाट थुपै्र नरसंहारकारी युद्ध लडेका गोर्खाली योद्धाको मनोदशा, उनीहरुले देखाएको वीरता, भोगेका पीडाबारे खासै किताबहरु नलेखिएका बेला युवापत्रकार मनोज घर्तीमगरले यो गहन क्षेत्रमा कलम चलाएका छन् ।
लेखक घर्तीमगरले ‘भर्तीको फन्दा’ किताबमा नेपाली कसरी लाहुरे बने, कसरी गोर्खाली कहलिए ? लगायत थुप्रै विषयको रहस्य खोतलेका छन् । नेपाली विश्वयोद्धा मगर, गुरुङ, राई, लिम्बूलगायत युवाका विषयमा लेख्न नेपाली बुद्धिजीवीले कञ्जुस्याइँ गरिरहेका बेला उनले लेखेको यो किताबले नयाँ बहस सिर्जना हुने अपेक्षा गरिएको छ ।
‘१३ वर्ष टेक्दा नटेक्दै लाहुर पलायन भएका मगर, गुरुङ, राई, लिम्बु लगायत समुदायका हजारौँ युवा युद्धभूमिमै लापत्ता भए, चाँडै भर्ती लागेकाले यी समुदायका युवाले पढ्न पाएनन्, त्यसैले विद्धान इतिहासकार पनि निस्केनन्’ लेखक घर्तीमगरले भने,‘अन्य जातिका स्वनामधन्य विद्वान–इतिहासकारले यसतर्फ सोधिखोजी गर्न कन्ज्जुस्याई गरे । लेखिएका एकाब किताबमा पनि हाम्रोसमुदायबारे सतहि कुरा लेखिए ।’
उनले ब्रिटेनले नेपालीलाई (विशेषगरी मगर, गुरुङ, राई, लिम्बू) वीर लडाकु भनेर विश्वभर चिनाउनुमा के स्वार्थ लुकेको थियो ? लाहुरेले कमाएको करोडौँ राजस्वमा यो देशका शासकले किन सधैँ गर्व गरे ? नेपालीजनले लाहुरेले हातमा बाँधेको सिकोफाइभ घडी र उसको हाइपाई जीवनशैली अनि लाहुरेनीका शरीरमा झकिझकाउ गरगहनामात्रै किन देखे ? यस्ता थुप्रै प्रश्नको उत्तर खोज्दै किताब लेखेको बताए । ‘केही खोज, केही अनुसन्धान, केही विश्लेषण अनि विश्वयुद्ध र अन्य क्षेत्रीय युद्ध लड्ने केही गोर्खा सैनिकका जीवनका पानालाई किताबमा लिपिबद्ध गरेको छु’ उत्साहित हुँदै उनले भने,‘आशा छ, यो किताबले गोर्खाली इतिहास जान्न चाहने जिज्ञासु, इतिहासका विद्यार्थी, अनुसन्धाता र आम पाठक सबैनिम्ति उपयोगी हुनेछ । गोर्खा सैनिकबारे यस्ता अनगिन्ति इतिहास छन् जुन लेखिन जरुरी छ ।’
उनले यस किताबले गोर्खा भर्तीसम्बन्धी नयाँ बहस सिर्जना गर्यो र गोर्खा सैनिकबारे थप किताब लेख्न बाटो देखायो भने उपलब्धि सम्झिने बताए । विमोचन बैखाश २८ गते हङकङमा हुने भए पनि किताब बजारमा आइसकेको छ । पोखरामा गैह्रापाटनस्थित हिमालयन रिडर्स कर्नर ,महेन्द्रपुलस्थित गोर्खापत्र बाजेको पुस्तक पसल र काठमाडौंमा बागबजारस्थित सांग्रिला बुक्सबमा किताब पाइन्छ ।