हुम सुनारी
साउदी ,२६ अप्रिल २०१४ – नेपाली सेवा समाज, साउदी जेद्धाको आयोजनामा सरफिया जेद्धा स्थित लक्की दरवार रेष्टुरेन्टको सभाहलमा नेपाली सेवा समाज जेद्धाले समयानुकुल मिलाई नयाँ बर्ष २०७१ को शुभकामना आदान प्रदान तथा नेपाली सेवा समाज जेद्धाको ७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरि मनाएकोछ ।
नेपाली सेवा समाज, जेद्धाका अध्यक्ष सादुराम ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली कन्सुलेट, जेद्धाका कन्सुलर सुधिर भट्टराईको प्रमुख आतिथ्यमा र कन्सुलेट कै सहचारी टंक राईको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा साउदी जेद्धामा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कर्यक्रम हालै पुनर्गठित नेपाली सेवा समाजको कार्य समिति तथा सल्लाहकार समितिको परिचयबाट आरम्भ गरिएको थियो ।
संस्थाका सदस्य कृष्ण प्रसाद दुलालको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रम संस्थाका संस्थापक सदस्य, निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार कृष्ण कुमार श्रेष्ठले संस्थाको स्थापनाकालदेखि हालसम्म भए गरेका सामाजिक गतिविधिहरुको संछिप्त जानकारी प्रस्तुत गरेका थिए । शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथि कन्सुलर सुधिर भट्टराईले जेद्धामा जनरल कन्स्युलेट खोल्ने प्रक्रियाले चांडै पूर्णता पाउने जानकारी गराएका थिए । कार्यक्रममा सहभागी सबै अतिथिहरुले नव वर्ष २०७१ को शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पदमपोखरी मकवानपुरका रक्त क्यान्सर पिडित १९ महिनाकी बालिका सम्वृद्धि तिमिल्सिनाको लागि सा.रि.२३७०/- अथवा लगभग एकसट्ठी हजार ६ सय रुपैयाँ भन्दा बढी आर्थिक सहयोग संकलन भएको छ । थप सहयोगको लागि संस्थाले विभिन्न पेशाकर्मीहरुमा अनुरोध पनि गरेको छ ।
कार्यक्रमको दोस्रो चरणमा स्थानीय नेपाली कलाकारहरुद्वारा सांगीतिक प्रस्तुतिहरु मार्फत मनोरन्जन प्रदान गरेका थिए | साँस्कृतिक प्रस्तुति राख्ने स्थानीय कलाकारहरुमा दिनेश क्षेत्री, जगत तामाङ, रमेश श्रेष्ठ र राम किराँती राई थिए । कार्यक्रम संस्थाका उपाध्यक्ष दिनेश क्षेत्रीद्वारा संचालन भएको थियो भने कार्यक्रमको अन्त्यमा सहभागी सबैलाई आयोजकले रात्रिभोजको पनि व्यवस्था गरेको थियो ।