भैरब आङ्ला ,धरान
किरात याक्खा छुम्माको केन्द्रीय कार्यालय भवन निर्माणका लागि सुनसरीको धरानमा शिलान्यास भएको छ । किरात याक्खा छुम्माका केन्द्रीय वरिष्ठ सल्लाहकार गणेश देवानको प्रमुख आतिथ्यमा सिलान्यास सम्पन्न भएको हो ।
धरान १६ को जोरसखुवामा ६० लाख लागतमा खरिद गरिएको दुई कट्ठा जमीनमा पाँच तले भवन निर्माण गर्ने अभियोजना रहेको प्रमुख अतिथि देवानले जानकारी गराए ।
उनले अन्य जातीय संघसंस्थाहरुले अहिलेको एकात्मक राज्यको संरचनाअनुसार अहिलेको राजधानी काठमाडौंमा आ आफ्नो केन्द्रीय भवनहरु निर्माण गरिरहेको बेला कियाछुले संघीय राज्यको अवधारणाअनुसार धरानमा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको बताए ।
धरान भावी संघीय राज्य लिम्बुवानभित्र पर्ने र लिम्बुवानभित्रको याक्खावान जाने जाने मूलगौडा धरान नै भएको हुँदा किरात याक्खा छुम्माको केन्द्रीय भवन निर्माण धरानमा गरिएको र भवन निर्माणका लागि याक्खाहरुले एकै दिनमा ४० लाख प्रदान गरेर आफ्नो जातीय उत्थानप्रति समर्पित एकता देखाएका थिए ।
भवनको शिलान्यास कार्यक्रममा किरात याक्खा जातिको धार्मिक संस्कार र विधिअनुसार मुन्धुम फलाकेर, चिण्डोमा मर्चा, कोदो र पानी राखेर सेचन गर्दै केई ढोल नाच्दै सम्पन्न गरिएको थियो । कुनै पनि शुभकार्यमा केई बजाउने याक्खा संस्कार रहेको केन्द्रीय कार्यालय जग्गा व्यवस्थापन तथा भवन निर्माण समितिका अध्यक्ष नेत्र यायोक्हाङ याक्खाले बताए ।
भवन निर्माण समितिका सहसंयोजक मानबहादुर सुखिमबाट स्वागत मन्तव्य, कोषाध्यक्ष टंक लिम्बुखिम याक्खाले भवन निर्माणबारे प्राविधिक जानकारी र कियाछु केन्द्रीय उपाध्यक्ष लहरु छाला याक्खाले आगामी कार्य योजनाबारे अवगत गराएका थिए । कार्यक्रममा धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेश खतिवडाले जनजातीय सांस्कृतिक शहर धरानमा याक्खा जातिले आफ्नो केन्द्रीय भवन धरानमा बनाउनु धरानका लागि खुशीको कुरा भएको बताउँदै भवन निर्माणका लागि आवश्यक सहयोग गर्न धनपा तयार रहने प्रतिबद्धता व्यक्त गरे ।
सुनसरी जिल्लास्थित विभिन्न जातीय संस्थाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न सो कार्यक्रममा वि शिष्ट अतिथिका रुपमा उपस्थित कियाछुका केन्द्रीय अध्यक्ष भूपाल जिमी, महासचिव दीपक याक्खा र कोषाध्यक्ष भूपेन्द्र देवानले पनि आआफनो धारणा राखेका थिए ।
तस्वीर : गोपाल देवान