आत्मनिर्भर बन्दै मगर महिलाहरु

Read Time:7 Minute, 30 Second

कमल चौधरी

बुटवल

  हाम्रो समाजमा महिलाहरुलाई त्यति स्वतन्त्रता छैन् । उनीहरुलाई विशेष गरी घरभित्रको चुलो चौकामा सीमित राखिने गरिन्छ । तर पनि समय परिवर्तनशील तथा समाज नै प्रगतिशील भएको यो बेला महिलाहरु पनि घरभित्रको घेरालाई तोड्दै बाहिरी समाजमा पुरुष सरह नै काम गरी आफ्नो जीविकोर्पाजन गर्न थालेका छन् । जसले उनीहरु पनि कोही भन्दा कम छैनन् भन्ने सन्देश दिइरहेका छन् । यस्तै उदाहरणीय काम गरेर देखाएका छन्, नेपाल मगर महिला संघ नगर समितिले । उनीहरुले सामुहिक प्रयासबाट नै आत्मनिर्भर हुन सफल भएका हुन् । एकल प्रयासमा धेरै कुरा सम्भव नहुने भएको कारणले सामुहिक लगानीसँगै काम गर्दै गरेको अनुवभ उनीहरुले सुनाउन्छन् ।

सुरुसुरुमा त आफूलाई कुनै समस्या पर्यो की श्रीमानको मुख ताक्नु पर्ने अवस्था थियो तर आजभोली आफूले काम सिकेपछि श्रीमानको मुख ताक्नु नपर्ने केसरी गाहा मगरले बताईन् । शंकरनगर घर भई विगत ३ बर्ष देखि ढाकाका कपडा  बु्न्ने पेसामा लागेकी केसरी गाहामगरले सुरुमा त आफूलाई निकै गाह्रो भए पनि अहिले निकै सजिलो भएको अनुभव राखिन् ।

   २९ बर्षिय गाहामगरले ढाकाका कपडा बनाउने एउटा रोजगारीको थलो जस्तै बनेको बताइन् । कुनै बेला आफूसँग पैसा नहुँदा श्रीमानले देलान् र कुनै काम गरुला, घर खर्च र छोरा छोरीलाई नास्ता खर्च दिनलाई पनि श्रीमानसँग सोध्नु पथ्र्यो तर आज भोली यी सबै समस्याबाट आफू मुक्त भएकोले निकै खुसि भएको बताईन् ।

वि.स.  २०६७ साल देखि नेपाल मगर महिला संघ बुटवलले सुरु गरेको ढाका कपडा बुन्नेमा गाहामगर मात्र नभएर उनी जस्तै ४ जना महिलाहरुको दैनिक आर्थिक अवस्थामा परिवर्तन आएको छ ।

बुटवल ८ ट्राफिक चोक निवासी ४३ बर्षिय विभा सिंजालीमगरले भनिन् – “ढाकाका कपडा बुन्न लाग्दा घरमा सामान्य घर खर्च चलाउन र केही रकम सहकारीहरुमा जम्मा गर्न सफल भएकी छु ।” जुनसुकै सामान्य मानिसले तालिम लिएपछि ढाकाका कपडा बुन्न सकिने उनले बताईन् । सुरुमा त बल भन्दा दिमागलाई नै खियाउने काम भएकोले झन्झट हुन्छ तर काम गरि रहँदा पछि बानी परेपछि समय गएको थाहै नहुने बताईन् । उनले मासिक  काम गरेअनुसार ९ हजार देखि १० हजार सम्म कमाई हुने गरेको बताईन् । उनले भनिन्–“ फाईदा त छ । एक जनाले बिहान १० बजे देखि साँझा ४ बजे सम्ममा बुन्ने हो भने पूर्वेली सल हाप, गाद, कछाड, महिलाको सेतो सल, कालो लुङ्गी, ठूलो पूर्वेली सल जस्ता २ देखि ३ वटा सम्म बुन्न सकिन्छ ।”

  एउटाको मुल्य ५ सय देखि ७ सय सम्म पर्ने गरेको सिंजालीमगरले बताईन् । त्यस्तै बुटवल ११ कालिकानगर निवासी ४५ बर्षिय मिना बलाल यो पेसाबाट निकै खुसि  भएको अनुभव साटिन् । उनले दिनभरी घरमा खाली बसेर नै समय बिताउनु भन्दा यहाँ काम गर्न आउँदा समयको सदुपयोग भएको बताईन् । उनले भनिन्–“हाम्रो लागि छोरा र श्रीमान बिदेशमा दुख गरेर सम्पत्ति कमाउनु हुन्छ भने नेपालमा नै बसेर महिलाहरुले पनि केही गर्न सक्नु पर्छ ।” उनले घर दिन भरी सिरियल र नाटक हेरेर समय बिताउनु भन्दा काम गर्दा साथीहरुलाई चिनिने र दुई पैसा आम्दानी हुने गरेको बताईन् । उनले आफुले कमाएको पैसाले घर खर्च चलाउन, एउटी छोरीलाई खाना खर्च जुटाउन सकेको र श्रीमान र छोराले कमाएको पैसा बैङ्कमा जम्मा गर्ने गरेको बताईन् ।

उनीहरुले उत्पादन गरेका कपडाहरुलाई बिक्री वितरण गर्न खासै गाह्रो नभएको बताए । नेपाल मगर महिला संघ नगर समिति बुटवलले थालनी गरेको ढाका कपडा  नेपाल बाहिर विभिन्न देशहरु हङ्कङ्, जापान, बेलायत, दुबै, मलेसिया लगायतका देशहरुबाट कपडाको माग आउने गरेको बताए । मगर, गुरुङ्ग समुदायको मौलिक भेषभुषा, संस्कृतिहरु मगर पहिचान, भेषभुषा उत्पादन गर्ने र मगर दिदी बहिनीहरुलाई रोजगारी दिने उद्देश्यले सञ्चालन गरेको संघकी अध्यक्ष ओमी पुनले बताइन् । उनले छिटै नै साडी, रुमाल, टोपी, झोलाहरु उत्पादन गर्ने लक्ष्य राखेको बताइन् ।

विशेषगरी पूर्वेली सल हाप, गाद, कछाड, महिलाको सेतो सल, कालो लुङ्गी, ठूलो पूर्वेली सल, सर्टहरु आफूहरुले बनाउने गरेको नेपाल मगर महिला संघ रुपन्देही जिल्ला समितिका सहसचिव समेत रहेकी केसरी गाहामगरले बताईन् ।

  त्यस्तै विगत २ बर्ष देखि ढाकाका कपडा बुन्दै आएकी मिलनचोक –११ निवासी कृष्ण ढेंगाले आफूहरुलाई तालिम दिएर सक्षम बनाएको भन्दै आफूहरु नेपाल मगर महिला संघ नगर समिति प्रति निकै आभारी रहेको बताईन् । उनले ढाकाका कापडाको बिक्री बितरणले राम्रो अम्दानी हुने र आफ्नो मगर समुदायको सामाजिक संस्कृतिक पहिरनहरुको संरक्षण हुने गरेको बताईन् । उनले भनिन्– “नेपाल मगर महिला संघ नगर समितिले संचालन गरेकोले संस्था र व्यक्ति दुबैलाई फाईदा छ ।”

यसरी नेपाल मगर महिला संघ नगर समिति बुटवलद्वारा सञ्चालित  यस प्रकारको उद्योगहरुलाई नेपाल सरकारको तर्फबाट विकास तथा प्रवद्र्धन गर्नमा ध्यान पुर्याए वार्षिक रुपमा विदेशी कपडामा मात्रै खर्च हुने भारी रकममा कमी हुनुको साथै देशको आन्तरिक उद्योगले फष्टाउन मौका पाउने थियो । संघले गरेको यस्तो उदाहरणीय कामको हामीहरुले पनि सिको गर्ने हो की ?

(चौधरी बुटवल बाट निक्लने अर्धसाप्तहिक संघीय एक्सप्रेस संग आबद्द छन्)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %