मनोज घर्तीमगर
सुनाखरी सुनागाभा गु“रास जस्तो यो मन
साट्न आउनु धम्पुसैमा हिमाल जस्तो जोवन
पर्यटकीय गाउँ धम्पुसको यो गीत रेडियो र पोखराका केबुल टिभीमा बज्न थालेपछि धम्पुसको परिचय बाक्लियो । अन्नपूर्ण, माछापुच्छे«, मनास्लु, धौलागिरी र मर्दी हिमालको शिरदेखि फेदसम्म हेर्नका लागि धम्पुस पुग्नेको ओइरो लाग्यो । पोखरा आसपासका सुन्दर गाउँका बारेमा गीत बन्न थालेपछि गीत त चल्ने नै भए, पर्यटकहरु पनि आउन थाले । त्यसैले त अहिले पोखरा र यस आसपासका गाउँका बारेमा गीत बनाउन तछाडमछाड भईरहेको छ । त्यसैले त गायक सन्तोष कोन्मेलाई यतिबेला आफ्नो गाउँ बरालडाडाँको बारेमा गीत बनाउन भ्याईनभ्याई छ । शब्द र संगीत आफ्नै रहेको यो गीतको उनले छयाङ्कन भ्याईसकेका छन् । ‘आफ्नो गाउँलाई चिनाउनको लागि थोरै भए पनि सघाउन पुगोस भनेर यो गीत तयार पारेको हुँ उनी भन्छन् ।
सन्तोष मात्रै हैन पछिल्लो सयम पोखरा आसपासका धेरै गाउँका गीत बनिसकेका छन् । अझै केही गाउँका गीत बन्दैछन् । केही गाउँका गीत बन्नेवाला छन् । गाउँलाई चिनाउन र प्रचारका लागि सजिलो माध्यम गीत भएकोले धेरैले आफ्नो गाउँघरलाई गीतमा उतारेका छन् । ‘आफ्नो गाउँलाई देशविदेश चिनाउन धेरैले गाउँका गीत बनाउने गरेका छन्’ थुप्रै गाउँका गीतको म्यूजिक भिडियो निर्देशन एवं कोरियोग्राफी गरेकी जसु गुरुङ भन्छिन्‘विशेष गरि आन्तरिक पर्यटकलाई आकर्षण गर्न पनि यस्ता गीत बनाईने गरिएको छ ।’ गाउँको धार्मिक, साँस्कृतिक, प्राकृतिक र सामाजिक पक्षलाई उजागर गरि आफ्नो पहिचान देखाउन पनि गाउँका गीत र भिडियो बनाउने गरिएको उनको बुझाई छ ।
चर्चाको हिसाबले मुस्ताङको मार्फा गाउँको बारेमा बनाईएको गीत ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ बोलको गीत पछि पोखराका आसआसमा गाउँका गीत लेख्ने र बन्ने क्रम बढेको हो । वसन्ती लालचनको शब्द र सुतीला थापाको संगीत रहेको यो गीतले त्यसयाताका निकै चर्चा पारिएको छ । पृथ्वी गुरुङले यो गीतको म्यूजिक भिडियो बनाएपछि झन् चर्चामा आएको हो ।
पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएको गीत हो –‘सिक्लेलसको मेलैमा, सिधै नजर लगाउने को होला भेट भाको बेलैमा’ गुरुङ भाषाको ‘रिमे म्यूमै सै’ फिल्ममा रहेको यो जति चर्चित छ त्यति धेरै प्रचार भयो सिक्लेस गाउँ । विभिन्न रेडियो र टेलिभिजनबाट बज्ने यो गीत अहिले सबैले गुनगुनाउछन् । कान्तिपुर टेलिभिजनको काउनडाउनमा चार पटकसम्म नम्बर एकमा पर्न सफल यो गीतले सिक्लेसलाई निकै चिनाएको छ । यसपछि त झन् गाउँका गीत बनाउन यतिबेला तछाडमछाड नै चलेको छ । धम्पुस, घान्द्रुक, रुपाताल, तप्राङ, आर्थर, भदौरे, भाचोक, लान्द्रुक, ताङतिङ, सिक्लेस, खुँदी, गल्याम, भिचोक, कुइवाङ, कोल्मा, ल्वाङ, सावेद गाउँ, थाकखोला, भुजुङ, याङ्जाकोट, तप्राङ , स्याक्लुङकोट लगायतका थुप्रै गाउँका गीत बनेका छन् । यी गीतले एकातिर गाउँ चिनाउने काम गरेका छन् भने अर्कातिर कलाकार । यति मात्रै हैन यस्ता गीतले संगीतमा नयाँ आयाम समेत थपेका छन् । ‘गाउँका गीत बन्नु राम्रो कुरा हो’ करिब डेढ दर्जन गाउँका गीत लेखि सकेका कवि एवं गीतकार रमेश श्रेष्ठ भन्छन्‘गाउँको प्रमोशनका लागि यस्ता गीतले ठूलो सहयोग गरेका छन् । गाउँको भिजुअल गर्दा त राम्रो कुराको मात्रै गरिएको हुन्छ ।’
सामान्यतया एउटा गीतको म्यूजिक भिडियो बनाउनका लागि ७० हजारदेखी एक लाख ५० हजारसम्म खर्च हुन्छ । धेरैजसो गाउँका गीतमा नृत्य गर्ने युवतिहरु गाउँकै हुन्छन् । यसले नयाँ कलाकारलाई पनि फाईदा भएको छ । गाउँको चर्चा गरेर बनाईएका प्राय सबै गीतमा गायिकाले नै स्वर भनेरका छन् । पोखरा आसपासका गाउँहरुको कुनै पनि गीत गायकको एक्लो स्वरमा बनेका छैनन् । दोहोरी टाइपका गीतमा केटा र केटीको स्वर भए पनि धेरै गाउँका गीतमा गायिकाको स्वर छ । यसले गायिकालाई राम्रै फाईदा भएको बताउँछिन् शान्ति गुरुङ । ‘मैले पनि धेरै गाउँका बारेमा लेखिएका गीत गाएको छु, पछिल्लो समय मैले गाएको ल्वाङ गाउँको गीत निकै चर्चामा छ’ थुप्रै गाउँका गीतमा स्वर भरेकी शान्ति भन्छिन्‘कमाई पनि हुने, चर्चा पाइने मात्रै हैन गाउँका लागि पनि केही योगदान दिएको महसुस हुन्छ ।’