मनोज घर्तीमगर
पोखरा १४ चैत – पोखराको वसुन्धरा पार्कमा चैत २८ गतेदेखि आगामी वैशाख २ गतेसम्म संचालन हुने ११ औं फेवा नव वर्ष महोत्सव २०७१ का प्याकेजहरु शुक्रवार काठमाडौंमा सार्वजनिक गरिएको छ । संघको आयोजनामा ठमेल स्थित होटल वैशालीमा अयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले ती प्याकेजहरु सार्वजनिक गरे । प्याकेज अन्तर्गत घुमघाम प्याकेज, मधुमास प्याकेज, एड्भ्यञ्जर स्पोर्टस् प्याकेज र शैक्षिक भ्रमण प्याकेज रहेका छन् । यी प्याकेजहरु न्यूनतम दुई हजार सात सय ७७ रुपैयाँदेखि अधिक्तम ४१ हजार सात सय ७७ रुपैयाँ विचका रहेका छन् । यस्ता प्याकेजमा विमानस्थलबाट होटलसम्म पर्यटकलाई लाने लैजाने, व्रेकफास्ट, वेलकम ड्रिंक्स, अल्ट्रालाइट र प्याराग्लाइडिङ शयर जस्ता सुविधाहरु समेटिएका छन् । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष शर्माले काठमाडौंवासीलाई फेवा महोत्सवमा उपस्थित हुन आमन्त्रण गरे ।
महोत्सवका संयोजक एवं संघका प्रथम उपाध्यक्ष भरतराज पराजुलीले नेपाली मौलिक संस्कृतिको संरक्षणको लागि महोत्सव आयोजना गरिएको जानकारी दिंदै अंग्रेजी नयाँ वर्ष जस्तै धुमधामका साथ नेपाली नयाँ वर्ष मनाउन लागिएको जानकारी दिए । संयोजक पराजुलीले फेवा तालको संरक्षणलाई ध्यान दिंदै आयोजना गरिन लागेको महोत्सवले मुख्य गरी आन्तरिक पर्यटकलाई बढी महत्व दिन लागेको बताए । उनले महोत्सवमा सांस्कृतिक समूहहरुको झाँकी, देशविदेशका परिकारहरुको प्रदर्शनी र पर्यटकीय गतिविधिहरु समेटिने जानकारी दिए । यसैगरी संघका अध्यक्ष शर्माले महोत्सवले पोखरा र समग्र नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताउँदै राजधानीवासीको भव्य सहभागिताले महोत्सव सफल बनाउन ठूलो भूमिका खेल्ने बताए । महोत्सवमा आन्तरिक पर्यटकका लागि संघले १५ प्रतिशत छुटको व्यवस्था गरेको समेत उहाँले जानकारी दिए । यसैगरी फेवा महोत्सव विगतमा भन्दा नयाँ र परिष्कृत ढंगले आयोजना गर्न लागिएको तथा नयाँ आकर्षणहरु समेत समावेश गरिने जानकारी दिए ।
यसैगरी नेपाली संस्कृति नरहे नेपालीको पहिचानमै संकट पर्ने बताउँदै महोत्सव संयोजक पराजुलीले संस्कृति संरक्षणको पाटोलाई समेत महोत्सवले विशेष जोड दिएको जानकारी दिए । पोखरालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउने अभियानमा समेत महोत्सवले सघाउने विश्वास आयोजक संस्थाले लिएको छ । पाँच तारे होटलहरुदेखि गाउँ घरमा पाइने खानाका परिकारहरु, विविध सांस्कृतिक गतिविधि, राष्ट्रिय दोहोरी गीत, सांगीतिक बैंण्डहरुको प्रस्तुती र बाल उद्यान महोत्सवका आकर्षण रहेका छन् । पर्यटक दौड र कलर रन जस्ता कार्यक्रम पनि महोत्सवमा समेटिएका छन् । महोत्सवमा खानाका करिव डेढ दर्जन स्टल र तीन दर्जन अन्य विभिन्न खालका पर्यटन, कृषि, संस्कृति एवं व्यापारिक स्टलहरु रहने छन् । महोत्सवबाट अनुमानित ४१ लाख १५ हजार रुपैयाँ आम्दानी र ३९ लाख १५ हजार रुपैयाँ खर्च भई दुई लाख ३५ हजार रुपैयाँ वचत हुने अनुमान गरिएको छ ।
संघले १२ वर्ष अघि आन्तरिक पर्यटन प्रवद्र्धन अभियान संचालन गर्दा पोखरामा आन्तरिक पर्यटकको अकुपेन्सी दर दुई प्रतिशत मात्र रहेकोमा अहिले त्यो बढेर ३० प्रतिशत पुगेको र सन् २०१५ भित्र यसलाई ३५ प्रतिशत पुर्याउने अभियानमा संघ रहेको छ । आन्तरिक पर्यटकको लागि संचालित जाउँ है पोखरा र भारतीय पर्यटकका लागि लक्षित गरी संचालित चलिए पोखरा अभियानले समेत पोखरामा पर्यटक आमगमन दर बढ्दै गएको र नेपाल र भारत बाहेक अन्य मुलुकमा संचालित पोखरा प्युर एण्ड पर्फेक्ट अभियानको असर पनि धेरै सकारात्मक पर्दै गएको संघले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा संघका निवर्तमान अध्यक्ष विप्लव पौडेल, महासचिव लक्ष्मण सुवेदी, सचिव गणेशराज पहारी, कोषाध्यक्ष भेकेन्द्रकुमार श्रेष्ठ, पर्यटन व्यवसायी नारायण पहारी, सदस्य राजेन्द्र ढकाल, होटल व्यवसायी महादेव भण्डारी, सदस्य दीपक श्रेष्ठ, कृषि उपज तथा नर्सरी उपसमितिका संयोजक भरतराज शर्माको पनि उपस्थिति रहेको थियो ।