भिम राना मगर
तनहुँ
दमौली , चैत्र ९ – मिति २०७० साल चैत्र ८ गते शनिबारका दिन तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा पाँचौं मगर चलचित्र महोत्सव २०७० सम्मान तथा चलचित्र प्रदर्शन गरी भव्यताका साथ सम्पन्न भयो ।
सो कार्यक्रम मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की राना मगरको सभापतित्वमा सन्चालन मगर चलचित्रकर्मी संघ जिल्ला समिति तनहुँका सचिव श्री सुमन थापा मगरले गरेका थिए ।
नेपाल आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका उपाध्यक्ष झकबहादुर थापा मगरको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त कार्यक्रममा बिसेश अतिथि नेपाल राष्ट्रिय मगर संघका निवर्तमान अध्यक्ष याम बहादुर आले मगर, सत्यवती उच्च मा.वि.का प्राध्यापक तथा नेपाल राष्ट्रिय मगर संघ जिल्ला समिति तनहुँका अध्यक्ष श्री इन्द्र बहादुर आले मगर थिए ।
त्यस्तै नेपाल मगर लेखक संघ जिल्ला समिति तनहुँका अध्यक्ष गीता थापा मगर, नेपाल मगर संघ जिल्ला समितिका उपाध्यक्ष खड्क आले मगर , नेपाल मगर संघ जिल्ला समितिका निवर्तमान सह–सचिव तीलबहादुर थापा मगर , मगर संघ हङकङका अध्यक्ष चन्द्र ज्योती आले मगर र नेपाल मगर संघ जिल्ला समिति तनहुँका सल्लाहकार नीलबहादुर थापा मगर अतिथि थिए । उनिहरू सबैले शुभकामना मन्तव्य समेत व्यक्त गरेका थिए ।
उक्त महोत्सवको औपचारिक कार्यक्रममा मगर भाषा तथा विषयवस्तुमा निर्मित प्रथम चलचित्र लंघनमा नायिकाको भूमिका निभाएकी मगर संघ हंगकंगका बर्तमान अध्यक्ष चन्द्र ज्योती आले मगर लगाएत तनहुँबासी कलाकारहरु,’ल्हेसान’ तथा ‘बन्कर वाङ्च’ का कलाकारहरुलाई प्रशंसापत्रसहितले सम्मान गरियो ।
त्यसैगरी पाँचौ मगर चलचित्र महोत्सव २०७० मा छनौट भएका चलचित्र तथा वृत्तचित्रका निर्माता, निर्देशक तथा स्थानीय कलाकार पुर्णबहादुर थापा मगर (सुगा) लाई पनि प्रशंसा पत्रले सम्मान गरियो ।
उक्त महोत्सवमा श्याम थापा मगरको ‘वाङ्म मुले’ र रुपलाल बूढा मगरको ‘गाउला’ प्रदर्शन गरिएको थियो । उता वृत्तचित्रमा भिम राना मगर द्वारा निर्मित ‘यउनाट’ र नवोदित चलचित्रकर्मी सुमन थापा मगरको लघु–वृत्तचित्र ‘ल्हेसान’, ‘बन्कर वाङ्च’ प्रदर्शन गरिएको थियो । साथै मगर चलचित्रकर्मी संघद्वारा निर्मित ‘करिम’ पनि प्रदर्शन गरिएको थियो ।
(फोटो :चन्द्र ज्योती आले मगरको फेशबुक बाट)