अंग्रेजलाई हराउने गुमनाम उजिरसिंह मगर

Read Time:12 Minute, 26 Second

मनोज घर्तीमगर /पोखरा

   

‘इतिहास जित्नेहरुको हुन्छ’ मैले थाहा पाएदेखि नै यो आहान सुन्दै आएको छु । नेपाली इतिहास सँधै जित्नेको पक्षमा लेखिएर होला यो आहान खुब चलेको छ । हुन पनि नेपाली इतिहास सँधै जित्नेहरुको पक्षमा मात्रै लेखिएको छ । हार्नेको इतिहास अहिलेसम्म खासै पढ्न पाइएको छैन । जसले वर्तमानमा जित्छ, उसैको भविष्य सुखद् हुन्छ । नेपालको इतिहास खोज्दा धेरैका मुखबाट यस्तै शब्द निस्कन्छन् । तर, कर्णेल उजिरसिंह थापामगर किन अपवाद बने ? जो जितेर पनि इतिहासमा अटाएनन् । उनको पक्षमा इतिहास लेखिएन ? सँधै जित्नेको मात्रै इतिहास लेखिने नेपालमा किन नेपाल–अंग्रेज युद्धमा अंग्रेजी सेनालाई पटकपटक धुलो चटाउने उजिरसिंहको इतिहास मेटियो ।

नेपाल एकीकरण काल होस् वा नेपालमा हुने परिवर्तनका विभिन्न आन्दोलन मगर समुदायको रगत धेरै बगेको छ । तै पनि यो समुदायसँग सम्बन्धित धेरै इतिहास भए पनि लेखिएको छैन । दस्तावेज पाउन त निकै मुस्किल छ । त्यसैले भएका केही इतिहास पनि दन्त्यकथा जस्ता लाग्छन् । यस्तै अभागी पात्र हुन् उजिरसंह थापामगर पनि । मगर अर्थात् बहादुर, वीरहरुका पनि महावीरको उपमा पाएको जाति । तर, यही मगर समुदयामा एउटा यस्तो निर्मम सत्य हो, जसले सबै मोर्चाको युद्ध जिते पनि इतिहास उनीहरुको पक्षमा छैन । कर्णेल उजिरसिंह थापामगर यस्तै अपवाद पात्र हुन् । उनले हारेको इतिहास छैन, तर यिनीबारे इतिहास लेखिएन । मगरबारे लेखिने इतिहासमा मगरहरु सँधै हारिरहेका छन् । यसको चुरोकुरो के हो भन्ने अझै पनि धेरै मगरले भेउ पाउँदैनन् । तर, वास्ताविक कुरा के हो भने, इतिहास बनाएका पात्रले केही लेखेनन् । लेख्न सक्नेहरुले इतिहास बन्नयोग्य काम गरेनन् ।

  १३ वर्ष पुग्दानपुग्दै लाहुरे भएका मगर समुदायका हजारौँ युवा पहिलो र दोस्रो विश्वयुद्ध लगायत अनेकन क्षेत्रीय युद्धभूमिमै लापत्ता भए । चाँडै भर्ती लागेकाले यी समुदायका युवाले पढ्न पाएनन् । पढ्न नपाएपछि विद्धान पनि निस्केनन् । सोधीखोजी गर्ने अनुसन्धाता र इतिहासकार पनि बन्न सकेनन् । त्यसैले त मगरबारे खासै इतिहास लेखिएनन् । जुन समुदायका युवालाई सँधै लड्न ठिक्क भो । अरु समुदायले मगर इतिहासबारे खासै चासो दिएनन् ।

करिब साढे चार सय वर्षदेखि नेपाल एकिकरण होस् वा ब्रिटिस साम्राज्यको रया, विस्तार र समृद्धि अनि भारतीय भूमिको रक्षका लागि लड्दै आएका यी मगरहरु एकमात्र यस्ता ‘अभागी’ हुन्, जसका पूर्खाले आफ्ना सन्तानको सुन्दर भविष्यका लागि भनेर सयौ“ं लडाइ“ जिते । तैपनि तिनकै सन्तानको वर्तमान निकै घिनलाग्दो तरिकाले कुरुप बनाइएको छ ।

सन् १८१४–१६ सम्म चलेको नेपाल–अंग्रेज युद्धमा नेपालले ठूलो हार खायो । यो युद्धमा नेपाली जितको एउटै युद्ध थियो जीतगढीको । नेपाल–अंग्रेजको लडाइ“मा पाल्पासम्म आईसकेको अंग्रेज फौजलाई खेदेर सीमा कटाउने कर्णेल उजिरसिंह थापामगरलाई अंग्रेजले बहादुर देखेनन् र कहिल्यै उनको चर्चा गरेनन् । किन कि अंग्रेजले आफू हारेका इतिहास लेख्न चहाँदैनथे । आफूलाई हराउने सेना नायक कर्णेल उजिरसिंह थापागरलाई सँधै गुमनाम राख्न चहान्थ्यो । आखिर अंग्रेज आफ्नो उद्देश्यमा सफल भयो । नेपाली इतिहासका पण्डितहरुले पनि देशको सीमा रक्षा गर्ने ती सेना नायक उजिरसिंबारे कहिल्यै खोजेनन् । र खोज्ने पनि छैनन् किन कि उनी मगर थिए ।

अंग्रेजलाई नेपालको एक इन्च जमिन पनि कब्जा गर्न नदिई लखेट्ने साँच्चिकै बहादुर, वीरहरुका पनि महावीर कर्णेल उजिरसिंह थापामगरबारे हामीलाई न विद्यालयमा पठाइयो न उनको बहादुरी कतै वर्णन गरियो । त्यसैले त कर्णेल उजिरसिंह थापा मगर नेपाली इतिहासमा सँधै गुमनाम रहे । केही इतिहासका पण्डितहरु उनलाई गुमनाम राखिराख्न चहान्छन् । नेपाली इतिहास भाटगिरी भएको छ । इतिहासले सहि ब्याख्या र विश्लेशण गरोस् । हिजो देशका लागि कसले कति योगदान गरेका सहि मूल्याङ्कन गरोस् ।

जनरल अमरसिंह थापाले अंग्रेजको मातहतमा रहेको बुटवल र स्युराज कब्जा गरी सो तराई प्रदेशलाई लिएर अंग्रेजहरूलाई चिढाएका थिए । अमरसिंह थापाले बुटवल कब्जा गरेको ६ महिनासम्म कुनै खलबल भएन । तैपनि अंग्रेजहरूले आक्रमण गर्ने चार ठाउंहरूमध्ये पाल्पा पूर्वबाट दोस्रोमा पर्दथ्यो । पछि गएर युद्धको तत्कालीन कारण बन्यो । पाल्पालाई अंग्रेजहरूले पहिलो निशान बनाउने आशंकाले पाल्पाको विशेष तयारी भएको थियो ।

कर्णेल उजिरसिंह थापामगर नयनसिंह थापाका जेठा छोरा थिए । नेपाल–अंग्रेज युद्धका बेला कर्नेल उजिरसिंह थापामगरलाई पाल्पाको सुरक्षाको निम्ति खटाइएको थियो । गोरखाको बोर्लाङमा सन् १७९५ मा जन्मिएका उनका बाबु नयनसिंहको सन् १८०६ मा मृत्यु हुँदा उनी ११ वर्षका मात्र थिए । पाल्पामा तैनाथ भएर खटिंदा उजिरसिंह २० वर्षका मात्र थिए । सुरक्षाको लागि उजिरसिंहले गढी निर्माण गराए । उनी ठाउँठाउँमा प्रशस्त गढीहरू बनाएर अंग्रेजहरूलाई झुक्याउन चाहन्थे । सन् १८१४ को अंग्रेजसँगको युद्धमा उजिरसिंह थापामगरलाई ३ हजार सेना दिइएको थियो । अंग्रेजले सन् १८१४ अक्टोबरमा युद्धको घोषणा गरे पनि नेपालमा कहिल्यै उनीहरूले प्रवेश गरे । युद्ध घोषणा भएको २ हप्तापछि जनरल उडले बुटवलतिर बढ्ने आदेश दिएतापनि ढुवानीको व्यवस्था मिलाउँदा ७ हप्ता ढिलो भयो । पाल्पाका राजा पृथ्वीपाल सेनका नोकरहरूले अंग्रेजी सेनालाई छोटो बाटो देखाइदिए । अर्को अंग्रेजी सेना नुवाकोट गढीमा आयो । सो गढीमा उजिरसिंह थापामगर, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान कृपासुर थापा, दलखम्ब थापा, सवुज कम्पनी पाँचसय जवान र गुरूबक्स कम्पनीको दुईसय जवान लिई बसेका थिए । काजी वीरभञ्जन पाण्डे करिब ५०० सेनाका साथ शत्रुलाई छल्न बनेको कोठे गढीमा बसेका थिए । पौष २२ गते अंग्रेजबाट युद्ध सुरु भयो ।

आक्रमणमा पाँच अफिसर र एक सय २८ अंग्रेज सिपाही मरे भने नेपाली ७० जना मारिए । रातभरि नेपाली सेनाले अंग्रेज सेनालाई लखटे । बुटवल नजिक जितपुरबाट हार खानुपर्दा उड चिन्तित थिए । तानसेनतिर बढेको दोस्रो बटालियन पनि हार खाएर फक्र्यो । एक सय गोरा र पाँच सय काला भरिया, ३ हजार काला सिपाही डगडगुवामा गई बसेका थिए । उडले नेपाली सेनालाई तराईमा झारी तोपले भुट्ने विचार गरी लुट मच्चाए । तर, उजिरसिंहले आफ्नो सेनालाई तराई झारेनन् । अर्को वर्ष सन् १८१५ मा उडले कुसुमघाट पुगी गढी निर्माण गरे । जितगढीमा आक्रमण गर्दा नेपाली चुप लागेर बसेका थिए । अंग्रेज किल्ला नजिकै पुगेको बेलामा ३ सय ५० नेपालीले अंग्रेजलाई धपाए । नेपाल–कम्पनी सरकार युद्ध अवधिमा अनेक स्थलहरूमा दुई सरकारका सेनाहरूकोबीच युद्धहरू भए । तर, उजिरसिंह थापाले नेतृत्व गरेका सेनाले मात्र अंग्रेजी सेनालाई जितगढी युद्धमा हराए । जितगढी मात्रै नेपालको सैनिक इतिहासमा अंग्रेजी सेनालाई हराएको गौरवशाली ठाउँ हो । दोस्रो हारबाट जनरल उड आउन सकेनन् ।

कर्नेल उजिरसिंह थापाले तैनाथ लिएको ठाउंमा अंग्रेजले एक इन्च जमीन कब्जा गर्न सकेनन । तर, सन् १८१४–१८१६ सम्म चलेको नेपाल अंग्रेज युद्धमा अंग्रेजी सेनालाई धुलो चटाएका तीनै उजिरसिंह थापामगर किन नेपाली इतिहासमा लेखिएनन् ? किन उनलाई बहादुर भनिएन ? किन उनी राष्ट्रिय विभुती बन्न सकेनन् ? यसको उत्तर कसैसँग छैन ? अनि कर्णेल उजिरसिंह थापामगर किन अपवाद बने जो जितेर पनि इतिहासमा अटाएनन् । सँधै जित्नेको मात्रै इतिहास लेखिने नेपालमा किन अंग्रेजलाई जितेर देश रक्षा गर्ने उजिरसिंहको इतिहास मेटियो । लाग्दैछ– के उनी मगर भएरै इतिहासमा अटाएनन् । मगर यस्तो प्राणी हो जसलाई जिते पनि हराइन्छ । हारेको त हार नै भयो । यस्तै सत्यता छ, मगर इतिहासमा । मगर अर्थात् बहादुर, वीरहरुका पनि महावीरको उपमा पाएको जाति । तर, यही मगर समुदयामा एउटा यस्तो निर्मम सत्य हो, जसले सबै मोर्चामा जिते । करिब साढे चार सय वर्षदेखि नेपाल एकिकरण होस वा ब्रिटिस साम्राज्यको रया, विस्तार र समृद्धि अनि भारतीय भूमिको रक्षका लागि लड्दै आएका यी मगरहरु एकमात्र यस्ता ‘अभागी” हुन्, जसका पूर्खाले आफ्ना सन्तानको सुन्दर भविष्यका लागि भनेर सयौ“ं लडाइ“ जिते । तर तिनकै सन्तानको वर्तमान निकै घिनलाग्दो तरिकाले कुरुप बनाइएको छ । निरन्तर जितेर हार्नुपर्ने मगरहरुको दुर्भाग्पूर्ण शृंखला अझैसम्म रोकिएको छैन । त्यसैले मगरहरुको इतिहास अझै वर्षौसम्म मेटाउन प्रयास गर्न छाडिने छैन । यो गम्भीर परिस्थितिमा मगर समुदाय चखानो र आफ्नो इतिहास लेखनमा आफै अगाडी बढ्नुको विकल्प छैन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %