आठौं विरुवा बजार महोत्सव सकियो

Read Time:4 Minute, 56 Second

भलिबलको उपाधि आयोजकलाई

मनोज घर्ती मगर

पोखरा,५ चैत – बालकन्या युवा क्लब विरुवा अर्चले–६ स्याङ्जाको आयोजना तथा दीपिका इन्टरनेशनल प्रालि र नमस्ते रेष्टुरेण्ट जापानको मुख्य प्रायोजनमा सञ्चालित आठौं विरुवा बजार महोत्सव बुधबार एक सकिएको छ । 

  महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको स्व. गिरिजाप्रसाद कोइराला स्मृति कप राष्ट्रिय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक बालकन्या युवा क्लब ए ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा न्यू शान्ति प्रगतिशील युवा क्लब आरुखर्कलाई ३–१ को सोटमा पराजित गर्दै आयोजक टीम बालकन्या युवा क्लबले सो उपाधि हात पारेको हो ।

धारमा खेलाइएको सो प्रतियोगितामा जनहित युवा क्लब छेक्मा तृतीय भयो। उपाधि विजेता आयोजक टीमले नगद ४० हजार, उपविजेता टीमले नगद ३० हजार तथा तृतीय भएको टीमले नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै आयोजक टीम बालकन्या युवा क्लबका अमृत केसी बेस्ट प्लयेर,  जनहित युवा क्लब छेक्माका गुराँश राना बेस्ट स्पाइकर, बालकन्याकै विजु राना बेस्ट लिफ्टर, बालकन्याका महेश खड्का बेस्ट ब्लकर, बालकन्याकै सन्दीप खड्का बेस्ट डिफेण्डर तथा न्यू शान्ति प्रगतिशील युवा क्लब आरुखर्कका रमेश केसी बेस्ट सर्भर घोषित भए। बेस्ट प्लयेरले नगद १५ सय तथा अन्य विधाका खेलाडीले जनही पाँच सय रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा १७ टीमको सहभागिता रहेको प्राविधिक संयोजक एवं अन्तर्राष्ट्रिय भलिबल खेलाडी टहलसिंह थापामगरले जानकारी दिए ।

उनीहरूलाई प्रमुख अतिथि नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय आर्थिक विभाग प्रमुख एवं युवा उद्यमी खुमाप्रसाद अर्याल, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति केदार काफ्ले, क्लबका अध्यक्ष युवराज केसी, प्रतियोगिता संयोजक राजकुमार गुरुङ, महोत्सवका सहसंयोजक दुलबक्स मियाँ, निवर्तमान अध्यक्ष रनबहादुर खड्का, सल्लाहकार तेजेन्द्र सुनार, मुख्य प्रायोजकद्वय देवेन्द्र केसी र दीलिप खत्री, भलिबल खेलको दोस्रो पुरस्कार प्रायोजक विष्णुप्रसाद पोखरेल, राजेन्द्र केसीलगायतले पुरस्कार वितरण गरेका थिए । महोत्सवमा विविध साँस्कृतिक कार्यक्रमअन्तर्गत बुधबार लोक तथा दोहोरी गायकगायिका दुर्गा गुरुङ, तारापति सुवेदी, जीवन दाहाल, कालिका रोक्कामगर, बालकृष्ण वाग्ले, शंकर विक, दीलिप खत्री, गणेश रानामगर, ओम गुरुङलगायतले गीत तथा सुनिल राई, कुसुम गुरुङ, अमन गुरुङलगायत भिक्टोरिया एक्टिङ एण्ड डान्स ट्रेनिङ सेन्टर दमौलीका कलाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।  

होचापुड्का सङ्घका कलाकार, लालुमाया पाख्रिन, सागर खनाल, लीला त्रिपाठीलगायतले पनि नृत्य प्रस्तुत गरेका थिए भने नेपाली जादुगर बलराम सरकारले अद्भूत जादु देखाएका थिए । चित्रेभञ्ज्याङको इन्द्रेणी युवा क्लबले प्रत्यक्ष कौडा गीत र नृत्य प्रस्तुत गरेको थियो। सो अवसरमा महोत्सवको भलिबल संयोजक अनिल राना, नृत्य तथा गायन संयोजक अब्बु मियाँलाई पनि सम्मान गरिएको थियो । बालकन्या युवा क्लबका अध्यक्ष युवराज केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महोत्सव संयोजक एवं क्लबका संरक्षक राजकुमार गुरुङले गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %